WFTW Body: 

"तिमीहरु संसारको ज्योति हौ । डाँडामा बसालिएको शहर लुक्न सक्दैन, न त मानिसहरुले बत्ती बालेर डालो मुनि राख्छन्, तर सामदानमा राख्छन्, र त्यसले घरमा भएका सबैलाई उज्यालो दिन्छ । तिमीहरुको ज्योति मानिसहरुका सामुन्ने यसरी चम्कियोस् कि तिनीहरुले तिमीहरुका असल कामहरु देखून् र स्वर्गमा हुनुहुने तिमीहरुका पिताको महिमा गरुन्" (मत्ती ५ः१४-१६) ।

येशूले प्रयोग गर्नुभएको अर्को दृष्टान्त वा शब्दचित्र ज्योति हो । येशूको समयमा तिनीहरुले बत्ती प्रयोग गर्थे । बत्तीको सलेदो एकदमै सानो चीज हो (आजकल बल्ब एकदमै सानो चीज हो) । तर यसले पूरै कोठा उज्यालो पार्छ । सलेदोको आकार वा बल्बको आकार महत्वपूर्ण थिएन, तर त्यसबाट निस्कने ज्योतिको तीव्रता महत्वपूर्ण थियो । फेरि पनि जोड मात्रामा होइन तर गुणस्तरमा छ । शून्य वाटका बल्बहरु हुन्छन् जसले यति मधुरो उज्यालो छर्छन् कि तपाईंले तिनीहरु द्वारा केही पनि देख्न सक्नुहुन्न, र त्यस्तै उही आकारका शक्तिशाली बल्बहरु हुन्छन्, जस्तै हेलोजन बल्बहरु, जसले सम्पूर्ण गल्लीलाई उज्यालो पार्छ । बल्ब धेरै कम वाट वा धेरै उच्च वाटको हुनसक्छ । महत्वपूर्ण कुरा यसको आकार होइन, तर यसको शक्ति हो - शक्तिको तीव्रता जसद्वारा यसले कुनै चीजलाई उज्यालो पार्नसक्छ । अनि येशू भन्नुहुन्छ, "तिमीहरु संसारको ज्योति हौ ।"

संसार अन्धकारमा छ, र ममा त्यो अन्धकारको कुनैपनि अंश हुनुहुँदैन । यदि म बल्ब हुँ र संसारको अन्धकार ममा छ भने, म फुटेको बल्ब जस्तै हुँ । धेरै मण्डलीहरुमा फुटेको बल्ब जस्ता ख्रीष्टियानहरु छन् । एक समय तिनीहरु बलिरहेका थिए, तर अब तिनीहरु फुटेका छन्ः तिनीहरु पछाडि हटेका छन् र अब तिनीहरुको ज्योति चम्किरहेको छैन । त्यो ज्योति के हो ? यहाँ भनिएको छ, "मानिसहरुका सामु तिमीहरुको ज्योति यसरी चम्कियोस् कि तिनीहरुले तिमीहरुका सुकर्महरु देखून् र स्वर्गमा हुनुहुने तिमीहरुका पिताको महिमा गरुन् ।" ती दिनहरुमा, सलेदोलाई जलाउनसक्ने तेलबाट निरन्तर बल्ने बत्तीबाट उज्यालो आउँदथ्यो, र तेल पवित्र आत्माको चित्र हो ।

पवित्र आत्माले अभिषेक भएको व्यक्तिको एउटा चिन्ह भनेको उसले असल काम गर्छ । प्रेरित १०ः३८ मा भनिएको छ कि जब येशू पवित्र आत्मा र शक्तिले अभिषेक हुनुभयो, उहाँले असल काम गर्दै हिंड्नुभयो । आज धेरै तथाकथित "अभिषिक्त" प्रचारकहरु जस्तै उहाँ आफ्नो सेवकाईको लागि मानिसहरुबाट पैसा उठाउँदै हिंड्नुभएन । उहाँ त्यसको ठीक विपरीत हुनुहुन्थ्यो । उहाँ राम्रो काम गर्दै हिंड्नुभयो, र उहाँले त्यसको लागि कहिल्यै पैसा लिनुभएन । उहाँले नमाग्दा पनि मानिसहरुले स्वेच्छाले उहाँलाई उपहारहरु दिए र उहाँले ती स्वीकार गर्नुभयो, तर उहाँले आफ्नो आवश्यकताहरु कहिल्यै पनि कसैलाई बताउनु भएन । कुनै शुल्क बिना नै उहाँ राम्रो काम गर्दै जानुभयो ।

उहाँले भन्नुहुन्छ, "तिमीहरुको ज्योति मानिसहरु माथि यसरी चम्कियोस्, ताकि तिनीहरुले तिमीहरुका असल कामहरु देखून् र तिमीहरुको होइन, तर परमेश्वरको महिमा गरुन् !" यदि तपाईं आफ्नो लागि सम्मान पाउन, आफ्नो लागि महिमा पाउनको लागि राम्रो काम गर्नुहुन्छ भने, वास्तवमा त्यो अन्धकार हो । अनि धेरै ख्रीष्टियानहरुले गर्ने धेरै असल कामहरु वास्तवमा आफ्नै सम्मान प्राप्तिका लागि आफ्नै बारेमा गर्ने विज्ञापनहरु हुन् । तिनीहरुको संगठन वा तिनीहरुको सेवकाई वास्तवमा अन्धकार हो किनभने स्वर्गमा हुनुहुने पितालाई जाने कुनै महिमा छैन । बरु, महिमा त्यो विशेष संस्था वा त्यो विशेष व्यक्तिलाई आउँछ । तर येशूले भन्नुभयो, "मानिसहरुले तिमीहरुका असल कामहरु देखून् र स्वर्गमा हुनुहुने तिमीहरुका पिताको महिमा गरुन् ।" त्यो साँचो ज्योति हो, जहाँ एक व्यक्तिले असल काम गरिरहेको हुन्छ र त्यसको परिणामस्वरुप, ख्रीष्टको महिमा हुन्छ, व्यक्तिको होइन ।

ज्योति प्रकट गर्नुको अर्थ यही हो । यूहन्ना १ः४ मा, यो ज्योतिलाई यसरी वर्णन गरिएको छः "येशू ख्रीष्टमा जीवन थियो, र त्यो जीवन मानिसहरुको ज्योति थियो ।" त्यसैले ज्योति कुनै सिद्धान्त, शिक्षा, वा विशेष सन्देश होइन - यो एउटा जीवन हो । यो पवित्र आत्मा मार्फत हामीबाट निस्कने येशूको जीवन नै हो । हामीबाट निस्कने येशूको जीवन ज्योति दिइराख्ने एउटा पुरानो बत्ती जस्तै हो जुन तेलले बालिएको थियो ।

येशूले यूहन्ना ८ः१२ मा स्पष्टसँग भन्नुभयो, "म संसारको ज्योति हुँ; मलाई पछ्याउने कहिल्यै अन्धकारमा हिंड्नेछैन ।" यूहन्ना ८ः१२ अनुसार जब कुनै व्यक्ति अन्धकारमा हिंडिरहेको हुन्छ, हामी निस्सन्देह भन्नसक्छौं कि त्यो व्यक्तिले येशूलाई पछ्याइरहेको छैन । यदि तपाईंले भन्नुहुन्छ, "ठीक छ, म अहिले अलि अँध्यारो छु," कारण यो हो कि तपाईंले येशूलाई पछ्याइरहेको नहुनसक्छ । कृपया अन्धकारमा हिंड्नुलाई परमेश्वरको इच्छाको बारेमा अनिश्चित हुने कुरा ठानेर भ्रमित नबन्नुहोस् । येशू पनि पिताको इच्छाको बारेमा अलमल्ल हुनुभयो, गेतसमनीको बगैंचामा बिचलित हुँदै । त्यसैले उहाँले एक घण्टा प्रार्थना गर्नुभयो, "पिता, तपाईंको इच्छा के हो, म यो कचौरा पिऊँ कि नपिऊँ ?" त्यो अन्धकार होइन । अन्यौलता विश्वासको जीवनको भाग हो, तर अन्धकार अर्कै कुरा हो, येशूको जीवनको विपरीत कुरा । येशूले भन्नुभयो, "मलाई पछ्याउने मानिस कहिल्यै अन्धकारमा हिंड्नेछैन तर त्यसले जीवनको ज्योति पाउनेछ, किनकि म संसारको ज्योति हुँ ।"

त्यसपछि उहाँले भन्दै जानुभयो कि उहाँ निश्चित समयको लागि मात्र संसारको ज्योति हुनुहुन्छ । "जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ" (यूहन्ना ९ः५) । उहाँ संसारमा कति समयसम्म हुनुहुन्थ्यो ? उहाँ संसारमा साढे ३३ वर्षसम्म हुनुहुन्थ्यो । त्यति मात्रै ।

मानिसहरु अति आत्मिक हुनसक्छन् र भन्लान्, "के अहिले ख्रीष्ट संसारमा हुनुहुन्न र ?" ठीक छ, यदि तपाईंले यूहन्ना १७ः११ पढ्नुभयो भने, उहाँले भन्नुहुन्छ, "म अब यस संसारमा छैन ।" हामी हाम्रो अति आत्मिकताबाट मुक्त हुनुपर्छ । क्रुसको पूर्वसन्ध्यामा, येशूले यो पृथ्वी छोडेर स्वर्ग जानुभन्दा ठीक अघि, उहाँले भन्नुभयो, "म अब संसारमा छैन । तर यी चेलाहरु यहाँ संसारमा छन् । तिनीहरु संसारमा छन्, तर म अब यहाँ छैन । म तपाईंकहाँ आउँदैछु, पवित्र पिता, त्यसैले अब उपरान्त म संसारमा छैन ।" त्यसैले जब उहाँले यूहन्ना अध्याय ९ मा भन्नुभयो, "जबसम्म म संसारमा छु," उहाँले त्यो साढे ३३ वर्षको अवधिको बारेमा कुरा गर्दैहुनुहुन्थ्यो जहाँ उहाँले जीवन प्रकट गर्नुभयो । उहाँ स्वर्गमा जानुभएपछि, आज संसारको ज्योति को हुनुहुन्छ ?

मत्ती ५ः१४ ले भन्छ, "तिमीहरु संसारको ज्योति हौ ।" यदि कसैले मलाई सोध्यो भने, "संसारको ज्योति को हो ?", भन्नुपर्ने धर्मशास्त्रीय जवाफ हुनेछ, "म । म येशूलाई पछ्याउने अरुहरुसँगै संसारको ज्योति हुँ ।" के तपाईंले कहिल्यै यसरी साेंच्नुभएको छ ? के तपाईंले कहिल्यै "म र येशूलाई पछ्याउने अरुहरु" भन्दै "संसारको ज्योति को हो ?" भन्ने प्रश्नको जवाफ दिने बारेमा सोंच्नुभएको छ ? त्यही नै सही जवाफ हो ।

"आहो, मलाई नहेर । केवल येशूलाई हेर ।" भन्न धेरै सजिलो छ । तर उहाँ पृथ्वीमा हुनुहुन्न ! उहाँले भन्नुभयो, "म संसारमा रहुन्जेल मात्र संसारको ज्योति हुँ ।" धेरै ख्रीष्टियानहरुले धर्मशास्त्र राम्ररी पढेका छैनन्, र उनीहरुको दिमागमा धेरै प्रकारका गलत विचारहरु आउँछन् जुन उनीहरुको आफ्नै बुझाइबाट आउँछन् र पूर्णरुपमा गलत हुन्छन् । जसरी परमेश्वरले आफ्नो जीवनलाई पूर्ण रुपमा प्रकट गर्न ती साढे ३३ वर्षको अवधिमा येशू ख्रीष्टमा १००% निर्भर रहनुभयो, त्यसरी नै उहाँ अहिले पनि त्यही ज्योतिलाई पूर्ण रुपमा प्रकट गर्न आफ्नो मण्डली - पृथ्वीमा रहेका उहाँका चेलाहरुमा निर्भर हुनुहुन्छ ।

"मानिसहरुले तिमीहरुका असल कामहरु देखून् र स्वर्गमा हुनुहुने तिमीहरुका पिताको महिमा गरुन् ।"