"तिमीहरु पृथ्वीका नुन हौ" (मत्ती ५ः१३) । येशूले यो कुरा भीडलाई भन्नुभएन । याद गर्नुहोस् कि डाँडाको उपदेश मुख्यतया उहाँका चेलाहरुका लागि हो र भीड सुन्दै बसेका थिए । भीडहरु पक्कै पनि पृथ्वीका नुन होइनन् - तिनीहरुसँग नुन हुँदैन । तर चेलाहरु पृथ्वीको नुन हुनुपर्छ । येशू शब्दचित्रहरु प्रयोग गर्नमा निपुण हुनुहुन्थ्यो, र पवित्र आत्माको प्रेरणा र प्रकाशको खोजी गर्दा त्यसको पछाडिको अर्थ बुझ्न उहाँले हामीलाई नै छोड्नुभयो । "तिमीहरु पृथ्वीका नुन हौ, तर यदि नुन बेस्वाद भयो भने, यो कसरी नुनिलो हुन्छ ? नुन त अब केही कामको छैन, बाहिर फ्याँकिनु र मानिसहरुका खुट्टाले कुल्चिनु बाहेक ।"
उहाँका चेलाहरु सधैं सानो संख्यामा हुनेछन् भनेर देखाउन उहाँले यो चित्र प्रयोग गर्दै हुनुहुन्छ । यदि तपाईंसँग भात र तरकारीको प्लेट छ भने, त्यो भात र तरकारीको सम्पूर्ण प्लेटमा कति नुन हाल्नुहुन्छ ? तपाईंले आधा चम्चा पनि हाल्नुहुने छैन । सम्पूर्ण प्लेटको स्वाद सही बनाउन तपाईंलाई धेरै कम नुन चाहिन्छ । तर यदि नुन स्वादहीन छ भने, त्यसमा २० चम्चा हाल्दा पनि स्वादमा कुनै फरक पर्दैन । त्यसैले मुख्य कुरा मात्रा होइन, गुणस्तर हो । जब येशूले भन्नुहुन्छ, "यदि नुन बेस्वाद भएको छ भने" (मत्ती ५ः१३), उहाँले नुनको मात्राको बारेमा कत्ति पनि कुरा गरिरहनु भएको छैन ।
खानाको सापेक्षमा नुनको मात्राको अनुपात संसारको जनसंख्याको सापेक्षमा पृथ्वीमा साँचो चेलाहरुको अनुपात जत्तिकै छ (र कहिलेकाहीं मण्डलीमा मानिसहरुको संख्या पनि) । साँचो चेलाहरु धेरै कम छन् ।
तर ती साँचो चेलाहरुलाई मात्र पृथ्वीको नुन भनिन्छ । तिनीहरुकै कारणले गर्दा पृथ्वी न्यायबाट जोगिएको छ । परमप्रभुले नाश गर्छु भनी भन्नुभएको दुष्ट शहर सदोमको बारेमा एकपटक अब्राहामले परमेश्वरसँग प्रार्थना गरे । उनले परमप्रभुलाई सोधे (के उहाँले अझै पनि यसलाई नष्ट गर्नुहुनेछ भन्ने बारेमा), "मानौं प्रभु तपाईंले सदोममा दशजना मात्र धर्मी मानिसहरु भेट्टाउनुहुन्छ ?" (उत्पत्ति १८ः३२), परमप्रभुले भन्नुभयो, "यदि त्यो शहरमा दश जना धर्मी मानिसहरु छन् भने म सदोमलाई नष्ट गर्नेछैन ।" शहरलाई विनाश हुनबाट जोगाउन दश जना पर्याप्त थिए, तर त्यहाँ दशजना पनि थिएनन्, त्यसैले यो नष्ट गरिएको थियो ।
यर्मियाको समयमा, परमप्रभुले त्यो संख्या अझ घटाउनुभयो । यर्मियाले त्यस्तो समयमा अगमवाणी गरिरहेका थिए जब इस्राएललाई बेबिलोनी राजाले कैदमा लान लागेका थिए (त्यो परमेश्वरको दण्ड थियो), तर त्यसभन्दा पहिले, यर्मिया अगमवाणी गर्न गए । उहाँले ४० वर्षसम्म प्रचार गर्नुभयो र चेतावनी दिनुभयो, तर तिनीहरुले उहाँको कुरा सुनेनन् । परमप्रभुले यर्मियालाई भन्नुभयो, "यरुशलेमको सडकहरुमा जा र हेर, यदि तिमीले न्याय गर्ने र सत्य खोज्ने एक मानिस (दश जना होइन, केवल एक जना मानिस) भेट्टाउन सक्यौ भने, म सम्पूर्ण शहरलाई क्षमा गर्नेछु" (यर्मिया ५ः१) । अचम्मको कुरा छ, त्यहाँ एकजना पनि धर्मी मानिस थिएन, र त्यसैले सम्पूर्ण शहर कैदमा गयो ।
धेरैजसो परमेश्वरले त्यसरी नै वरिपरी हेरिरहनुभएको हुन्छ । बेबिलोनको समयमा इजकिएल पनि एक अगमवक्ता थिए र परमेश्वरले इजकिएल मार्फत भन्नुभयो, "मैले ती सबै मध्ये एक जना मानिस खोजें जो मेरो लागि खाडीमा उभिउन र पर्खाल बनाउन सकून ताकि भूमिलाई म नष्ट नगरुँ, तर मैले कोही पनि पाइँन" (इजकिएल २२ः३०) । परमेश्वरले पनि त्यही शब्द बोल्नुभयो, मात्रा होइन, गुणस्तर । उहाँले १०,००० मानिस खोजिरहनु भएको थिएन । उहाँले केवल एक जना मानिस मात्रै खोज्दैहुनुहुन्थ्यो ।
यदि एकजना मानिस पूर्ण हृदय भएको र क्रान्तिकारी छ भने परमेश्वरले के गर्नसक्नुहुन्छ भन्ने कुरा अचम्मको छ । पुरानो नियममा मोशालाई विचार गर्नुहोस् - जसद्वारा परमेश्वरले २० लाख इस्राएलीहरुलाई छुटकारा दिन सक्नुभयो । इस्राएलमा अगुवा हुन योग्य अरु कोही थिएन । एलियाको समयमा, बाल देवताको अगाडि घुँडा टेक्ने ७००० मानिसहरु थिए (मूर्ति पूजा नगर्ने ७००० विश्वासीहरुको चित्र), स्वर्गबाट आगो बर्साउनसक्ने मानिस (एलिया) एकजना मात्र थिए । आज पनि त्यही अनुपात छ । तपाईंले ७००० विश्वासीहरु मध्ये केवल एक जना विश्वासी भेट्टाउन सक्नुहुन्छ जसले आफ्नो सेवकाई वा प्रार्थना मार्फत स्वर्गबाट आगो बर्साउन सक्छ ।
७००० ले भन्न सक्लान्, "म यो गर्दिन, र म त्यो गर्दिन ।" उनीहरुको गवाही नकरात्मक छ । "म चलचित्र हेर्दिन, म पिउँदिन, म जुवा खेल्दिन र म चुरोट पिउँदिन ।" तिनीहरुले बाल देवता पुज्दैनन्, तर स्वर्गबाट आगो कसले ल्याउन सक्छ ? एलिया जस्तै परमेश्वरको सामुन्ने बाँच्ने व्यक्ति; एलियासँग नुन थियो ।
नयाँ नियममा पनि त्यस्तै छ । यदि प्रेरित पावल कहिल्यै अस्तित्वमा नभएको भए मण्डलीले कति क्षति भोग्नुपथ्र्यो, र हामीले कति क्षति भोग्नुपथ्र्यो, के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? धर्मशास्त्रमा कति कुराहरु छुट्थे होलान् ? उनी एक जना मानिस थिए ! अवश्य पनि, एक जना मानिस असफल भएमा परमेश्वरको काममा बाधा पर्ने छैन (परमेश्वरले अरुलाई प्रयोग गर्न सक्नुहुन्थ्यो), तर धर्मशास्त्रमा हामी के देख्छौं भने परमेश्वरले प्रायः १०,००० सम्झौता गर्नेहरु मार्फत भन्दा पूर्ण हृदय भएको एक व्यक्ति मार्फत धेरै कुरा पूरा गर्नुहुन्छ । येशूले आफ्ना चेलाहरुलाई "तिमीहरु नुन जस्तै हौ" भनेर भन्दै गर्दा उहाँले जोड दिनुभएको कुरा यही हो । "हामी धेरै थोरै छौं !" भनेर कहिल्यै गुनासो नगर्नुहोस् ।