WFTW Body: 

बिमार हाम्रो आत्मिक शिक्षाको पाठ्यक्रमहरु मध्येको एक हो जसमा हाम्रो पार्थिव यात्रा पूरा गर्नु अघि हामीले स्नातक गर्नुपर्दछ । हाम्रो अग्रदूत येशूले पनि यस पाठ्यक्रममा स्नातक गर्नुभयो । पवित्रशास्त्रलाई पूर्वाग्रह रहित हेरौंः

यशैया ५३ः३ ले भन्छ, "उहाँलाई मानिसहरुले तुच्छ ठाने र तिरस्कृत गरे, एक पीडा भोग्ने मानिस जसलाई बिमार के हो भनेर थाहा थियो" (होल्म्यान क्रिष्टियान स्याण्डर्ड बाइबल) ।

यो भूमिमा श्राप परेको कारण मानिसमा रोग आउँदछ । फलस्वरुप, हामीलाई पसिना आउँछ, र काँडा इत्यादी बाट चोट पुग्दछ । (उत्पत्ति ३ः१७-१९ हेर्नुहोस्)

पापले श्रापित यस पृथ्वीमा जब येशू आउनुभयो, उहाँको शरीरमा पनि पसिना आयो र काँडाले चोट लागेको थियो, र उहाँ कहिलेकाहीँ विरामी पनि हुनुभयो । बाइबलले भन्छ कि "येशू बिमारसँग परीचित हुनुहुन्थ्यो" (यशैया ५३ः३ एम्प्लीफाइड बाइबल शाब्दिक अनुवाद) । (तलको नोट हेर्नुहोस्)

शारीरिक रुपमा हामीले अनुभव गर्ने सबै अनुभव गर्न येशूले पनि रोगको अनुभव गर्नुपर्ने थियो । यस्तो पीडा उहाँको पार्थिव शिक्षाको भाग थियो (हिब्रू ५ः८) । येशू पनि हामी जस्तै सबैथोकमा परीक्षित हुनुभएको थियो भन्ने कुरा जान्नु, गम्भीर प्रलोभनमा पर्दा हाम्रो लागि सान्त्वना भए झैं, जब हामी बिमार हुन्छौं, यो तथ्य थाहा पाउनु हाम्रो लागि ठूलो सान्त्वना हो (हिब्रू ४ः१५) ।

र यसैले, परमेश्वरले हामीलाई हाम्रो आत्मिक शिक्षाको एक भागको रुपमा "बिमारसँग परीचित" हुन अनुमति दिनुहुन्छ । अनि जब हामी बिरामी हुन्छौं, हाम्रो प्रभुले हामीलाई "उहाँले जित्नु भएझैं विजयी भएको" चाहनुहुन्छ - कुनै आत्मग्लानि राख्ने होइन, सहानुभूतिको खोजी गर्ने होइन, कसैसँग कुनै माग राख्न होइन, कहिल्यै गनगने वा उदास हुने होइन, तर सधै उज्यालो र हर्षित हुन, प्रभुको प्रसंशा र धन्यवाद दिँदै (प्रकाश ३ः२१) । पृथ्वीमा हाम्रा सबै दिनहरु यसरी नै बाचौं । यसको लागि उहाँको अनुग्रह पर्याप्त छ ।

येशू पनि कहिलेकाहीँ बिरामी हुनुहुन्थ्यो भन्ने तथ्यले निर्णायक रुपमा प्रमाणित गर्छ कि रोग सधैं पापको कारणले हुँदैन किनकि येशू पापरहित हुनुहुन्थ्यो । प्रभुको प्रसंशा गर्नुहोस् जे हामीसँग येशू भित्र छ, एक अद्भुत अग्रदूत, जसले हामीलाई प्रलोभनमा मात्र होइन तर बिमार हुँदा पनि सहानुभूति दिनसक्नुहुन्छ !

पावल र तिनका सहकर्मीहरु, तिमोथी, इपाफ्रोडाइटस र ट्रोफिमसले पनि "बिमार" पाठ्याक्रममा पृथ्वीमा तिनीहरुको आत्मिक शिक्षामा स्नातक गरे (हेर्नुहोस् २ कोरिन्थी १२ः७-९, १ तिमोथी ५ः२३, फिलिप्पी २ः२७, २ तिमोथी ४ः२०) ।

परमेश्वरले पावललाई गलातीको क्षेत्रमा एक पटक रोगबाट रोक्नुभयो, किनकि पावलले त्यहाँ प्रचार गरेको र मण्डली खडा गरेको चाहनुहुन्थ्यो । पावलले सुरुमा गलातिया हँदै एशिया माइनरमा जाने योजना बनाएका थिए, तर हामी पढ्छौं कि उहाँलाई गलातियाबाट टाढा जानबाट "पवित्रआत्मा द्वारा रोकिएकोे" थियो (प्रेरित १६ः६) । आत्माको यो संयम कुनै अलौकिक दर्शन द्वारा होइन, तर परमेश्वरले पावललाई गलातियामा बिरामी हुन अनुमति दिनुभएको थियो, ताकि उसले यात्रा गर्न नपाओस् । गलातियाका विश्वासीहरुलाई उहाँको पत्रमा हामी यो स्पष्टरुपमा देख्दछौं, जहाँ उहाँले भन्नुहुन्छ कि उहाँ तिनीहरुलाई प्रचार गर्न गलातियामा रोकिनुको कारण उहाँ बिरामी हुनुहुन्थ्यो (गलाती ४ः१४,१५) !

परमेश्वरले हामीलाई बिरामी हुन दिनुको अर्को कारण हो (कहिलेकाहीँ) ताकि हामी बिरामी भएका संसारका अरुहरुसँग राम्रोसँग सहानुभूति देखाउन सकौं । अन्यथा संसारका धेरैले के भोग्दछन् भन्ने हामीलाई केही थाहा हुँदैन ।

तर परमेश्वरले उहाँको कृपामा हामीलाई निको पनि पार्नुहुन्छ (फिलिप्पी २ः२५-२७) । परमेश्वरले जसरी येशूको हेरचार गर्नुभयो, उहाँले हाम्रो पनि हेरचाह गर्नहुनेछ । त्यसैले हामी बिरामी हुँदा उहाँसँग चंगाईको लागि आग्रह गर्नसक्छौं ।

तर हामी रोगबाट पूर्ण स्वतन्त्रता दाबी गर्न सक्दैनौं जसरी हामीले पापबाट पूर्ण स्वतन्त्रता दाबी गर्नसक्छौं ।

के येशू हाम्रो कुल व्यक्ति - आत्मा, प्राण र शरीरको उद्घारको लागि मर्नुभयो ? हो, उहाँले पक्कै गर्नुभयो ।

तर हामीले वास्तविकताको सामना गर्नुपर्छ, र भ्रम र छलको संसारमा जीउनुहुन्न ।

ख्रीष्टको उद्घारको प्रभाव नयाँ गरी जन्मनेहरुको निम्ति आत्मामा अहिले नै सुरु भएको छ । त्यहाँ हाम्रो आत्मामा, हामी मरेकोबाट बौरी उठाइएका छौं र नयाँ सृष्टी तुल्याइएका छौं (एफिसी २ः१-६, २ कोरिन्थी ५ः१७) ।

तर हाम्रो प्राण (मन, भावना र इच्छा) र शरीर अझसम्म नयाँ तुल्याइएका छैनन् । क्रुसमा गरिएको ख्रीष्टको कामको भरपुर फाइदा हामीले ती दुई क्षेत्रमा अझै प्राप्त गर्न बाँकी नै छ । हाम्रो मन विस्तारै र क्रमशः नविकरण गर्न सकिएला, यदि पवित्रआत्मालाई हामीले संसारको मूल्य प्रणालीबाट हामीलाई परमेश्वरको दृष्टिकोणमा परिवर्तन गराउन अनुमति दिदछौं (रोमी १२ः२) ।

यद्यपि हाम्रो शरीर परिवर्तन हुनेछ जब ख्रीष्ट फर्कनुहुन्छ (फिलिप्पी ३ः२१ ले धेरै स्पष्टरुपमा भन्दछ) । जब ख्रीष्ट फर्कनुहुन्छ, हाम्रो शरीरले पूर्ण पुनरुत्थान जीवनको आनन्द लिनेछ, विना रोग र विना मृत्युको । तर परमेश्वरले हामीलाई अहिले पनि उहाँको कृपामा, हाम्रो शरीरमा कहिलेकाहीँ "आउने युगको शक्तिहरु" को थोरै स्वाद लिन अनुमति दिनुहुन्छ (हिब्रू ६ः५), उहाँको अलौकिक निको पार्ने शक्तिको स्वाद । यसरी धेरै विश्वासीहरुले अलौकिक रुपमा आफ्ना रोगहरुबाट निको भएको अनुभव गरेका छन् । र यसैकारण परमेश्वरले ख्रीष्टको शरीरमा केहीलाई निको पार्ने र चमत्कारका कामगर्ने वरदानहरु दिनुभएको छ ।

तर शरीरको निको पार्ने पूर्णतया परमेश्वरको सार्वभौम इच्छा भित्र छ र हामी उहाँलाई कसलाई निको पार्न पर्छ भनेर भन्न सक्दैनौं । न त हामी यसलाई दावी गर्न सक्छौं जब हामी चाहन्छौं, अधिकारको रुपमा, यहाँ र अहिले, जसरी हामी हाम्रा सबै पापहरुको पूर्ण क्षमा दावी गर्न सक्छौं, पश्चताप, स्वीकार र हाम्रो लागि भएको ख्रीष्टको मृत्युमा विश्वासद्वारा ।

हामीले चंगाईलाई अधिकारको रुपमा दाबी गर्न सक्दैनौं र हामीले मुक्ति पाएपछि हाम्रो शरीरमा श्रापको प्रभाव हटेको हुँदैन भन्ने स्पष्ट प्रमाण, मानिसहरुले जतिसुकै प्रार्थना र चंगाई र जीवनको दाबी गरेतापनि सबै विश्वासीहरु अन्ततः मर्छन् भन्ने तथ्यमा देखिन्छ ! पसिना, शारीरिक थकान र निद्रा जस्तै बिमार र मृत्य पृथ्वीमा श्रापको परिणाम हो । यी सबैले ख्रीष्ट नआएसम्म हाम्रो शरीरलाई असर गर्नेछ । हाम्रा आत्माहरु पहिले नै श्रापबाट मुक्त भैसकेका छन् (गलाती ३ः१३,१४), हाम्रो शरीर धुलोको भएकोले अझै पनि पृथ्वीको श्रापबाट प्रभावित छ ।

यशैया ५३ः५ को बारेमा के, जसले भन्छः "उहाँको कोर्राले हामी निको हुन्छौं" ? हामी त्यो पदको आफ्नै व्याख्या नगरौं, तर पवित्रआत्मा आफैंले नयाँ नियममा यस पदको लागि दिनुभएको व्याख्या हेरौंः

१ पत्रुस २ः२४ मा हामी पढ्छौंः "हामी पापको लागि मर्न र धार्मिकतामा बाँच्न सकौं भनेर उहाँले कु्रसमा उहाँको शरीरमा हाम्रा पापहरु बोक्नुभयो, किनकि उहाँको घाउले तिमी निको भयौ" ।

यस पदबाट यो स्पष्ट छ कि यहाँ उल्लेख गरिएको "निको पार्ने" भनेको "पापबाट निको पार्ने" हो र परिणामस्वरुप हामीले प्राप्त गर्ने "स्वास्थ्य" "धार्मिकता" हो । यो पद पाइने अनुच्छेदको सन्दर्भबाट पनि यो कुरा थप प्रमाणित हुन्छ, जसले पाप नगर्ने येशूलाई पछ्याउनेबारे कुरा गरिरहेको छ ।

यशैया ५३ः४ को बारेमा के हो जसले भन्छ, "निश्चय नै उहाँले हाम्रा शोकहरु सहनुभयो, र हाम्रा दुःखहरु बोक्नुभयो", जुन मत्ती ८ः१६,१७ मा यसरी भनिएको छः "जब साँझ पर्यो, तिनीहरुले भूत लागेको धेरै मानिसहरुलाई उहाँकहाँ ल्याए । अनि उहाँले वचनद्वारा आत्माहरुलाई बाहिर निकाल्नुभयो, र सबै बिरामीहरुलाई निको पार्नुभयो । यशैया अगमवक्ताद्वारा बोलिएको वचन पुरा हुन यो भएको थियो, 'उहाँ आफैले हाम्रा दुर्वलताहरु लिनुभयो र हाम्रा रोगहरु लैजानुभयो'" ।

यो अगमवाणी त्यहीँ र त्यसपछि, येशूको सेवकाईको सुरुमा पूरा भएको थियो भनी यस खण्डबाट फेरि स्पष्ट हुन्छ । धेरैले दाबी गरेझैं, येशू क्रुसमा मरेपछि पूरा भएको यो कुनै थोक थिएन । येशूले बिरामीहरुलाई निको पार्नहुँदा यो भविष्यवाणी पुरा भयो । यो कुनै प्रतिज्ञा होइन कि येशूले क्रुसमा हाम्रा सबै रोगहरु हटाउनुभयो ।

त्यसोभए हामी बिरामी हँदा के गर्ने ? पावलको उदाहरण पछ्याऔं । उसले आफ्नो "शरीरमा काँडा" बाट निको हुनको लागि प्रार्थना गर्यो । उसले अन्ततः परमेश्वरबाट सुन्यो, "काँडा हट्ने छैन, तर त्यसमा विजय हुन उहाँको अनुग्रह उसले पाउनेछ" (२ कोरिन्थी १२ः७-९) । इपाफ्रोडाइटसको मामलामा, पावलले प्रार्थना गरिरहे र कृपामा परमेश्वरले उनलाई पूर्णरुपमा निको पार्नुभयो (फिलिप्पी २ः२७) । तर ट्रोफिमसको मामलामा, पावलको प्रार्थनाको बावजुद, उनी निको भएनन् (२ तिमोथी ४ः२०) । तिमोथीको सन्दर्भमा, पावलले तिनको लागि धेरैचोटी प्रार्थना गरेको हुनुपर्छ । तर तिमोथीलाई उसको पेटको रोगले सताइरह्यो । त्यसैले पावलले अन्तमा उनलाई औषधीको रुपमा केही दाखमद्य लिन भने (१ तिमोथी ५ः२३) ।

त्यसैले हामीले सधैं हरेक रोगबाट निको हुनको लागि प्रार्थना गर्नुपर्छ यो आग्रह सहित कि यदि यो निको पार्ने परमेश्वरको इच्छा छैन भने, उहाँले हामीलाई अनुग्रह दिनुभएको होस्, उहाँले दुई मध्ये जे निर्णय गर्नुहुन्छ हाम्रो लागि राम्रो हुन्छ ।

यो पवित्रशास्त्रको सन्तुलित शिक्षा हो । यदि हामीले सत्यलाई प्रेम गर्छौं भने, हामी देख्दछौं कि प्रत्येक एकएक ख्रीष्टीयान समुदायमा बिरामी विश्वासीहरु छन्, तिनीहरुको निको पार्ने पवित्रशास्त्र जेसुकै होस् । तर धेरैले यस तथ्यमा आफ्नो आँखा बन्द गर्दछन् किनभने तिनीहरु पूर्वाग्राही छन् ।

जसको सुन्ने कान छ, त्यसले सुनोस् ।

नोटः यशैया ५३ः३ मा अनुवाद गरिएको हिब्रू शब्द "choliy" को "दुःख" (धेरै अंग्रेजी अनुवादमा) को अर्थ वास्तवमा "बिमारी" वा "रोग" हो । उही शब्दलाई इतिहास ७ः१५, इतिहास २८ः६१ र यशैया १ः५ मा बिमार भनेर अनुवाद गरिएको छ । तर धेरैजसो अनुवादकले सायद विश्वास गर्न सकेनन् कि येशू कहिल्यै विरामी हुनुहुन्थ्यो र त्यसैले तिनीहरुले यशैया ५३ः३ मा शब्दको सही अनुवाद गरेनन् । बरु तिनीहरुले हिब्रू शब्दलार्ई "दुःख" को रुपमा अनुवाद गर्न आफ्नै धर्मशास्त्र प्रयोग गरे । केवल होल्मन बाइबल र एम्प्लीफाइड बाइबल (माथि उल्लेखित) ले माथि उल्लेखित शब्दको सही अनुवाद "बिमार" को रुपमा दिने साहस गरेको छ । हिब्रू शब्द "choliy" को अर्थ "बिमारी" हो भन्ने स्पष्ट प्रमाण हामीले अर्को पद (यशैया ५३ः४) मा उही शब्द कसरी प्रयोग गरिएको छ भनी हेर्छौं । यहाँ हिब्रूमा यसलाई फेरि "दुःख" को रुपमा अनुवाद गरिएको छ । तर जब यो पद मत्ती ८ः१७ मा नयाँ नियममा उल्लेख गरिएको छ, यसलाई त्यहाँ "astheneia" (ग्रीक) जसको अर्थ रोग वा बिमार भनेर अनुवाद गरिएको छ ।

हेर्नुहोस् http://bible.cc/matthew/8-17.htm