WFTW Body: 

यस्तो शानदार सुसमाचार र परमेश्वरको अपार कृपालाई ध्यानमा राख्दै, हाम्रो प्रतिकृया कस्तो हुनुपर्छ ?

सबैभन्दा पहिले, हामीले आफ्नो शरीरलाई दिनहुँ परमेश्वरलाई जीवित बलिदानको रुपमा प्रस्तुत गर्नुपर्छ (रोमी १२ः१) । परमेश्वरले हाम्रो पैसा चाहनुहुन्न । उहाँले हाम्रो शरीर चाहनुहुन्छ । पुरानो नियमको होमबलि जस्तै, हामीले हाम्रो शरीर यसो भन्दै अर्पण गर्नुपर्छ, "हे प्रभु, मेरा आँखा, मेरो जिब्रो, मेरा हात, मेरा खुट्टा, मेरा कान, मेरा शारिरीक जोशहरु छन्, म वेदीमा सबै थोक राख्छु ।" त्यसपछि, दोस्रो, हामीले उहाँलाई हाम्रो दिमागलाई नवीकरण गर्न दिनुपर्छ (रोमी १२ः२) । हामीले हाम्रो दिमागलाई परमेश्वरको वचनसँग संतृप्त हुन अनुमति दिँदा यो हुन्छ । हामी मध्ये धेरैलाई फोहोर विचारहरुको साथ ठूलो समस्या छ । किन ? किनभने विगतमा हामीले आफ्नो दिमागलाई सांसारिक तवरले सोच्न प्रयोग गर्यौं । अब परमेश्वरले हाम्रो सोच्ने तरिका परिवर्तन गर्न चाहनुहुन्छ, ताकि हामीले उहाँको सोचाइ अनुसार सोच्न थालौं । यसरी हाम्रो दिमाग बिस्तारै नवीकरण हुन्छ ।

जब हामी नयाँ जन्म लिन्छौं परमेश्वरले जस्तै सबै कुराको बारेमा हामी तुरुन्तै सोच्न थाल्दैनौं । तर त्यस क्षण देखि परमेश्वरले हाम्रो सोच्ने तरिकालाई परिवर्तन गर्न चाहनुहुन्छ ताकि हामीले बिस्तारै सबै कुरालाई उहाँले हेर्ने तरिकाले हेर्न थालौं । के हामीले पैसालाई परमेश्वरले हेर्नु भएझैं हेर्न थालेका छौं ? के हामीले महिलाहरुलाई परमेश्वरले हेर्ने दृष्टिकोणले हेर्न थालेका छौं र संसारका पुरुषहरुले उनीहरुलाई हेरेको जस्तो हेर्दैनौं ? संसारले कि त नारीहरुलाई घृणा गर्छ वा उनीहरुको लालसा गर्दछ । परमेश्वरले त्यस्तो केही गर्नुहुन्न । के हामीले हाम्रा शत्रुहरुलाई येशूले तिनीहरुलाई हेरेझैं हेर्न थालेका छौं ? सांसारिक मानिसहरुले आफ्ना शत्रुहरुलाई घृणा गर्छन्, तर येशूले तिनीहरुलाई प्रेम गर्नुभयो । हरेक क्षेत्रमा हाम्रो दिमाग नवीकरण हुनुपर्छ । जसै हामी परमेश्वरको वचन पढ्छौं र पालन गर्छौं, पवित्रआत्माले हाम्रो दिमागलाई नवीकरण गरेर हामीलाई ख्रीष्टको प्रतिरुपमा रुपान्तरण गर्नुहुन्छ ।

परिवर्तन पहिले भित्रपट्टी हुन्छ । "यस संसारको अनुरुप नहोऊ" (रोमी १२ः२) ले हामीलाई सिकाउँछ कि सांसारिकता हाम्रो दिमागमा उत्पन्न हुन्छ । धेरैले कल्पना गर्छन् कि मानिसले लुगा लगाउने तरिकामा सांसारिकता पाइन्छ । यो होइन । यो पहिले दिमागमा बस्छ । हामी धेरै सरल लुगा लगाउन सक्छौं यद्यपि पैसालाई धेरै माया गर्नसक्छौं । मानिसले बाहिरी रुप हेर्छ, परमेश्वरले हृदय हेर्नुहुन्छ । येशूको साँचो चेलाले परमेश्वरको स्वीकृति खोज्छ । हामीले हाम्रो शरीर र हाम्रो दिमागलाई यसरी परमेश्वरमा समर्पण गर्दा मात्र हामीले हाम्रो जीवनको लागि उहाँको सिद्घ इच्छा बुझ्नसक्छौं (पद २) ।

पावल रोमी १२ मा ख्रीष्टको शरीरको निर्माणको बारेमा कुरा गर्दै जान्छ । सुसमाचारको लक्ष्य व्यक्तिगत मुक्ति होइन तर ख्रीष्टको शरीरको भाग बन्नु हो, जहाँ हामी परमेश्वरले हामीलाई दिनुहुने वरदानहरु प्रयोग गर्छौं - अगमवाणी, सेवा, आदि । यो १ कोरिन्थी १२ मा मात्र होइन, तर यहाँ पनि पवित्रआत्माका वरदानहरुको सूची उल्लेख गरिएको छ (रोमी १२ः६-८) । यहाँ एउटा उपहार उल्लेख गरिएको छ जुन मुश्किलले सायद कुनै ख्रीष्टियानले खोजेका छन् होला, उदारताको वरदान - चर्चमा गरीबहरुलाई र परमेश्वरको कामको लागि पैसाको उपहार दिने (पद ८) ।

अध्याय १२ को बाँकी भागले ख्रीष्टको शरीरमा अन्य मानिसहरु सँग कसरी सम्बन्ध राख्ने भन्ने बारे बोल्छ । "आफ्नो मनमा घमण्ड नगर तर नम्र मानिसहरुसँग संगत गर" (रोमी १२ः१६) । हामीले ख्रीष्टको शरीरमा भएका सबैसँग घुलमिल हुनुपर्दछ, तर विशेष गरी गरीबहरुसँग - किनभने परमेश्वरले यस संसारका गरीबहरुलाई विश्वासमा धनी हुन चुन्नुभएको छ (याकूब २ः५) । "कहिल्यै कसैसँग बदला नलिनुहोस् किनभने बदला परमेश्वरको हो" (पद १९) । जसरी आराधना र महिमा केवल परमेश्वरको हो, त्यसरी नै बदला लिने काम पनि केवल परमेश्वरको हो । अरुबाट आराधना वा महिमा प्राप्त गर्नुभन्दा बढी हामीलाई अरुसँग बदला लिने अधिकार छैन ।

रोमी १३ ले नागरिक अख्तियारहरुको अधीनताको बारेमा बोल्छ । सुसामाचारले हामीलाई सबैभन्दा पहिले परमेश्वरको अधीनमा बस्न सिकाउँछ (रोमी १२ः१,२), त्यसपछि ख्रीष्टको शरीरमा एकअर्काको अधीनमा (रोमी १२ः३-२१), र अन्तमा संसारका अधिकारीहरुको - किनभने तिनीहरु "परमेश्वरका सेवकहरु हुन्" (रोमी १३ः४, ६) । यसैले हामी हाम्रो कर तिर्छौं र हाम्रो देशको कानुनको पालन गर्छौं ।