WFTW Body: 

धेरै मानिसहरु भारतमा हाम्रा मण्डलीहरुमा सामेत हुन चाहन्छन्, किनभने तिनीहरुले हाम्रो बीचमा धेरै अतिथी सत्कार गर्ने उदार मानिसहरु देख्दछन् । तर यदि हामीले त्यस्ता मानिसहरुलाई तुरुन्तै हटाउनलाई सावधानी अपनाएनौं भने धेरै चाँडै भारतका प्रत्येक गरिब व्यक्ति हाम्रो मण्डलीहरुमा सामेल हुन चाहन्छन्, र हामीसँग उल्लेखनीय "मण्डली बृद्धि" हुनेछ । हामी धार्मिकतामा होइन, पैसामा रुचि राख्ने "धर्मान्तरित" व्यक्तिहरु पाउनेछौं ।

आज भारतका धेरै ख्रीष्टियान कामदारहरुका लागि "प्रभुको सेवा गर्नु" एउटा पेशा हो, कुनै बोलावट होइन । मण्डलीमा सामेल भएका धेरै मानिसहरु आर्थिक रुपमा सम्पन्न भएका छन् । यदि उनीहरु आफ्नो जीवनमा धर्मी भएको कारणले परमेश्वरले सम्मानस्वरुप उनीहरुलाई समृद्धि दिनु भएको हो भने, त्यो ठीक छ । तर यदि उनीहरुको समृद्धि मण्डलीमा सामेल भएर प्राप्त गरेको सम्पन्न मानिसहरुसँगको सम्पर्कको कारणले आएको हो भने उनीहरुले परमेश्वरको इच्छालाई पूर्णरुपमा गुमाएका छन् किनभने ख्रीष्टियान धर्म आर्थिक नाफा कमाउने तरिका होइन ।

मण्डली त्याग र दान गर्ने ठाउँ हो - नाफा र कमाईको ठाउँ होइन । यो दुःखद कुरा हो कि आज भारतका धेरै "ख्रीष्टियान कामदारहरु" ले धर्मनिरपेक्ष जागिरमा भएको भए कमाउने भन्दा पाँच देखि दश गुणा कमाउँछन् । धेरै "ख्रीष्टियान कामदारहरु" ले कहिल्यै पनि धर्मनिरपेक्ष काममा एक दिन पनि काम गरेका छैनन् । येशूले कहिल्यै पनि पहिले देखि नै धर्मनिरपेक्ष काममा काम नगरेको कसैलाई आफ्ना प्रेरितहरु हुन बोलाउनु भएन । आज भारतमा धेरैका लागि ख्रीष्टियान काम ठूलो नाफाको स्रोत बनेको छ । गैर-ख्रीष्टियानहरुले तिनीहरुलाई हेर्छन र भन्छन्, "यो व्यक्ति पैसा कमाउन ख्रीष्टियान कामदार बनेको छ ।" अनि तिनीहरु सही छन् ! हामी तिनीहरुको मुख कसरी बन्द गर्ने ? तबमात्र जब ख्रीष्टियान कामदारहरुले देखाउन सक्छन् कि उनीहरुले ख्रीष्टियान काममा भन्दा धर्मनिरपेक्ष काममा बढी पैसा कमाउन सक्थे ।

प्रेरित अध्याय ५ मा, सबैजना आफ्नो सम्पत्ति बेचेर गरिबहरुलाई बाँड्नको लागि प्रेरितहरुलाई दिइरहेका बेला, हननिया र सफिराले सोचे, "हाम्रो पैसा हामीसँग राखेर हामी कसरी आत्मिक देखिन सक्छौं ?" त्यसैले जब तिनीहरुले आफ्नो जग्गा बेचे, तिनीहरुले आफ्नो सबै पैसा दिएनन् । तिनीहरुको आफ्नो सबै पैसा नदिनुमा तिनीहरुको पाप थिएन । परमेश्वरले खुशी साथ दिनेहरुलाई प्रेम गर्नुहुन्छ र कसैको पैसा चाहनुहुन्न । पत्रुसले हननियालाई भने, "जब तपाईंको जग्गा बेचिएको थिएन, तिमीलाई मन लागे अनुसार गर्नलाई यो तिम्रो नै थियो । अनि बेचेपछि पनि त्यो पैसा तिम्रो नै थियो" (प्रेरित ५ः४) । हननियाको पाप कपट थियो - पूर्ण हृदय भएको नाटक गर्नु । यदि उसले भनेको भए, "हामीले त्यो जग्गा ५०,००० रुपैयाँमा बेच्यौं । तर हामीलाई लाग्छ कि हामीले त्यसको २०% मात्र दिनुपर्छ । बाँकी हामी आफ्नै आवश्यकताको लागि राख्न चाहन्छौं । त्यसैले यहाँ १०,००० रुपैयाँ छ ।" पत्रुसले हननियालाई आशिर्वाद दिने थिए - र उनी र उनकी श्रीमती जीवित रहने थिए । हननियाले कहिल्यै केही भनेनन् । उसले मुख नखोली झूट बोल्यो, केवल अरु सबै पूर्ण हृदय भएका मानिसहरुसँग लाइनमा उभिएर । तर पत्रुस विवेकी थिए । हननिया र सफिरा दुबैको पर्दाफास उनीद्वारा भयो र तिनीहरु कपटको कारणले मरे ।

आज परमेश्वरले किन त्यस्तो व्यवहार गर्नुहुन्न ? किनभने त्यसोगर्दा मण्डलीहरुमा धेरै थोरै मात्र जीवित रहनेछन् । हननिया र सफिरा एकदमै शुद्ध र शक्तिशाली मण्डलीको बीचमा थिए - र त्यसैले तिनीहरु मरे । यदि तिनीहरु कुनै मृत, शारीरिक मण्डलीमा (जस्तै कोरिन्थीको मण्डली) भएको भए, तिनीहरु त्यहाँ एल्डरहरु पनि हुन सक्थे । यदि तपाईं घमण्डी र पाखण्डी हुनुहुन्छ भने, पूर्णतातर्फ अघि बढिरहेको मण्डलीमा सामेल हुनु खतरनाक हुन्छ । परमेश्वरले तपाईंलाई प्रहार गर्नुहुनेछ र कुनै न कुनै तरिकाले तपाईंलाई तिनीहरुको बीचबाट हटाउनु हुनेछ । तर आजकल त्यस्ता मण्डलीहरु धेरै छैनन् । त्यसैले आज तपाईं धेरैजसो मण्डलीहरुमा बाँच्नुहुनेछ । यदि तपाईं जीवित रहन र घमण्डी हुन र पाखण्डी हुन चाहनुहुन्छ भने, सामेल हुनको लागि मृत मण्डलीको छनौट गर्नुहोस् ।