हामी जो मण्डलीहरुका नेतृत्व गरिरहेका छौं, क्रुसको बाटोमा हिँड्दै हाम्रा मण्डलीहरुमा अरुहरुका लागि उदाहरण बन्नुपर्छ । हामीमा तिनीहरुको अगुवा बन्ने होइन तर सेवक बन्ने ठूलो चाहना हुनुपर्छ, जसरी येशू आफैं हुनुहुन्थ्यो । येशूले भन्नुभयो, "पृथ्वीका राजाहरु र ठूला मानिसहरुले मानिसहरुमाथि प्रभुत्व जमाउँछन्; तर तिमीहरु माझ यो फरक छ । तिमीहरु माझ जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरुको सेवक हुनुपर्छ । र जो सबैभन्दा महान हुन चाहन्छ, त्यो सबैको दास हुनुपर्छ । किनकि म, मसिह पनि, यहाँ सेवा पाउन होइन, तर अरुलाई सेवा गर्न आएको हुँ" (मर्कूस १०ः४२-४५) ।
हामीले कहिल्यै पनि हाम्रो पद वा अगुवाको रुपमा कुनै पनि पदवीलाई प्रेम गर्नु हुँदैन (मत्ती २३ः१०) । हामीले आफूलाई मण्डलीका अन्य दाजुभाइ दिदीबहिनीहरु भन्दा कुनै पनि हिसाबले ठूलो भएको कल्पना गर्नु हुँदैन । वास्तवमा, हामीलाई मण्डलीका सबैलाई आफूभन्दा बढी महत्वपूर्ण मान्ने आज्ञा दिइएको छ, बढी आत्मिक छन् भनेर होइन (त्यो असम्भव छ) तर बढी महत्वपूर्ण मान्दै (फिलिप्पी २ः३) ।
हामी अरुको निम्ति अगुवा बनिसक्नु भन्दा पहिले तिनीहरुको सँगी भाइ हुनुपर्छ । ६५ वर्षको उमेरमा मण्डलीहरुलाई लेख्दा प्रेरित यूहन्नाले आफूलाई "म यूहन्ना, तिमीहरुको भाइ..." भनेर सम्बोधन गर्छन् (प्रकाश १ः६) । दुर्भाग्यवश, धेरै अगुवाहरुले आफूलाई केवल अगुवाको रुपमा मात्र सोच्छन् । हामीले मण्डलीमा सधैं सामान्य भाइहरुको रुपमा रहनको लागि परमेश्वरको अनुग्रह खोज्नुपर्छ । र यदि हामी यसरी बाँच्ने हो भने, हामीले सधैं परमेश्वरसँग घनिष्ठ "आमनेसामने" सम्बन्धमा बाँच्नुपर्छ ।
परमेश्वरले दिनुभएको आत्मिक अधिकार, हामीले अरुमाथि कहिल्यै दाबी गर्नु हुँदैन वा अरुलाई अधीनमा बस्न बाध्य पार्नु हुँदैन । हामीले अरुलाई हाम्रो आज्ञा पालन गर्न कहिल्यै बाध्य पार्नु हुँदैन, र हामीले कसैसँग यो प्रयास गर्नु हुँदैन (२ तिमोथी २ः२४,२५) । यदि परमेश्वरले हामीलाई समर्थन गरिरहनु भएको छ भने, हामीले कहिल्यै पनि हाम्रो स्थानको बचाउ गर्न पर्दैन, किनकि परमेश्वर आफैंले हाम्रो रक्षा गर्नुहुनेछ र हाम्रो अधिकार स्थापित गर्नुहुनेछ । यद्यपि, यदि कसैले अरुमाथि आफ्नो अधिकार स्थापित गर्न खोजिरहेको छ भने, त्यो उसको अधिकार परमेश्वरबाट दिइएको होइन भनेर स्पष्ट प्रमाण हुनेछ ।
एक आत्मिक अगुवाले आक्रमण गरिँदा वा निन्दा हुँदा कहिल्यै पनि आफ्नो बचाऊ गर्दैन वा आफूलाई निर्दोष ठहराउने कोसिस गर्दैन । बाइबलले भन्छ, "ख्रीष्ट तिमीहरुको उदाहरण हुनुहुन्छ । उहाँको पाइलामा हिँड... अपमानित हुँदा उहाँले कहिल्यै जवाफ दिनुभएन; जब उहाँले दुःख भोग्नुभयो, उहाँले बदला लिने धम्की दिनुभएन; उहाँले आफ्नो मुद्दा सधैं निष्पक्षरुपमा न्याय गर्नुहुने परमेश्वरको हातमा छोड्नुभयो" (१ पत्रुस २ः२१, २३) ।
येशूले कहिल्यै पनि मानिसहरु माथि आफ्नो शासन स्थापित गर्न मानिसहरुसँग संघर्ष गर्नुभएन । उहाँले आफ्नो रक्षा गर्ने र उहाँलाई प्रमाणित गर्ने काम परमेश्वरमा छोड्नुभयो । मण्डलीका सबै अगुवाहरुले यही बाटो हिँड्नुपर्छ । यदि हामी आफैं परमेश्वरको अख्तियारमा बाँच्यौं भने, हामी सुरक्षित रुपमा हाम्रो मुद्दा परमेश्वरको हातमा छोड्न सक्छौं । हाम्रो विरुद्धमा हुने सबै निन्दा, आलोचना र कुरा कटाईलाई हामीले बेवास्ता गर्नसक्छौं, किनकि परमेश्वरको प्रतिज्ञा छ कि उहाँ आफैंले आफ्ना सेवकहरुलाई यस्ता आक्रमणबाट बचाउनुहुनेछ । आत्मिक अगुवालाई आक्रमण गर्न अरुले बनाएको कुनै पनि हतियार कहिल्यै सफल हुनेछैन (यशैया ५४ः१७) । मैले मेरो जीवनमा यसको वास्तविकता बारम्बार अनुभव गरेको छु । यस्ता अनुभवहरु लिन पाउनु धन्यको कुरा हो ।
यस्ता आत्मिक सोंच भएका अगुवाहरुको ठूलो अभाव भएको कारणले आज मण्डलीले धेरै दुःख भोगिरहेको छ । येशूले एकपटक आफूकहाँ आउने भीडलाई हेर्नुभयो र तिनीहरुप्रति धेरै टिठ्याउनु भयो । "मानिसहरु गोठालो नभएका भेडाहरु जस्तै थिए र तिनीहरुका समस्याहरु यति ठूला थिए कि तिनीहरुलाई के गर्ने वा मद्दतको लागि कहाँ जाने भन्ने बारेमा थाहा थिएन" (मत्ती ६ः३६ - लिभिङ् बाइबल) । आज पनि अवस्था त्यस्तै छ । हामीलाई त्यस्ता अगुवाहरुको अत्यन्त आवश्यकता छ जसमा गोठालोको हृदय र सेवकको आत्मा छ, ती मानिसहरु जो परमेश्वरको भय मान्दछन् र उहाँको वचनमा काम्छन् - मण्डलीमा खाँचोमा परेका मानिसहरुलाई मद्दत गर्न सक्छन् ।
हामीले मानिसहरुलाई कहिल्यै पनि हाम्रो प्रशंसक बन्न दिनु हुँदैन । नत्र तिनीहरु कहिल्यै पनि आफ्नो व्यक्तिगत सम्बन्धमा ख्रीष्टलाई शीर बनाउनलाई हुर्कने छैनन् । हामीले कहिल्यै पनि कसैलाई आफूसँग जोड्नु हुँदैन । बरु, हामीले सबैलाई परमेश्वरको मुहारको सामुमात्र जिउन आग्रह गर्नुपर्छ । तिनीहरुले गर्ने कामहरुमा हाम्रो अनुमोदन खोज्नु हुँदैन । र यदि हामीले कसैलाई हामीसँग जोडिएको पायौं भने, हामीले उसलाई तुरुन्तै हटाउनु पर्छ । हामीले अरुलाई सल्लाह दिँदै गर्दा हामीले उनीहरुलाई हामीसँग असहमत हुने र उनीहरु आफैंले गर्न सक्ने तरिकाले काम गर्ने स्वतन्त्रता पनि दिनुपर्छ । र यदि, फलस्वरुप, उनीहरु मामिलाहरु उल्ट्याउँछन् भने, हामी उनीहरुलाई मद्दत गर्न छिटो हुनुपर्छ, र उनीहरुलाई कहिल्यै भन्नु हुँदैन, "मैले तिमीलाई भनेको थिएँ ।" एक साँचो आत्मिक अगुवाले यसरी प्रतिक्रिया दिनेछन् ।
"आत्माले भरिपूर्ण होओ.. र ख्रीष्टको भयमा एक-अर्काको अधीनमा बस" (एफिसी ५ः१८,२१) ।
येशूले आफ्नो पार्थिव परीस्थिति र आफ्ना पार्थिव आमाबुबाको अख्तियारमा ३० वर्षसम्म समर्पित हुनुभएको तरिकामा हाम्रो उदाहरण हुनुहुन्छ । यी क्षेत्रहरुमा विश्वासयोग्य रहेपछि मात्र, उहाँको बुबाले उहाँलाई आफ्नो बप्तिष्मामा यो प्रमाणपत्र दिनुभयो "यिनी मेरा प्रिय पुत्र हुन् जसमा म धेरै प्रसन्न छु" । हामी अगुवाहरु पनि यही बाटोमा जानु पर्छ ।
बाइबलले भन्छ, "आफ्ना अगुवाहरुको आज्ञा पालन गर र तिनीहरुको अधीनमा बस, किनकि तिनीहरुले लेखा दिनुपर्नेले जस्तै गरी तिमीहरुको आत्माको हेरचाह गर्छन् । तिनीहरुले यो काम करकापमा होइन तर खुशीसाथ गरुन्, किनकि करकापको काम तिमीहरुको लागि बेफाइदाको हुनेछ ।" (हिब्रू १३ः१७) । अनि त्यो आज्ञा अगुवाहरुको लागि पनि हो । संसार र मण्डली दुबैमा परमेश्वरले हामीलाई राखिदिनुभएको परिस्थितिमा र परमेश्वरले राखिदिनुभएको कुनै पनि अख्तियारको अधीनमा हामी समर्पित हुनुपर्छ । त्यसपछि हामीले पनि परमेश्वरबाट यस्तै गवाही पाउन सक्छौं, कि हामीले उहाँलाई खुशी पारिरहेका छौं ।
हामीले कहिल्यै पनि कसैलाई हाम्रो अधीनमा बस्न माग गर्न हुँदैन । यदि हामी अगुवा भएको कारणले मात्र अरुबाट समर्पणको माग गर्छौं भने, यसले हामीलाई असुरक्षित छौं र वास्तवमा परमेश्वरलाई चिन्दैनौं भन्ने संकेत गर्दछ, किनकि परमेश्वरले मानिसहरुलाई उहाँको अधीनमा बस्न वा उहाँको विरुद्धमा विद्रोह गर्नलाई स्वतन्त्रता दिनुहुन्छ, र हामी परमेश्वर भन्दा ठूला छैनौं । त्यसैले अगुवाको रुपमा हामीलाई कसैबाट समर्पणको माग गर्ने कुनै अधिकार छैन । हामीलाई सेवा गर्न बोलाइएको हो, समर्पणको माग गर्न होइन ।
हाम्रो व्यक्तित्वको शक्तिले कसैलाई पनि हाम्रो अधीनमा नराख्नमा हामी होसियार हुनुपर्छ । बलियो विचार भएको अगुवाले आफ्नो व्यक्तित्वको शक्तिले मण्डलीमा अरुलाई आफ्नो नियन्त्रणमा राख्न धेरै सजिलो हुन्छ ! त्यो दुष्ट हो । त्यस्तो प्राणको शक्तिलाई मार्नुपर्छ । मण्डलीका मानिसहरुले हामीसँग असहमत हुन स्वतन्त्र महसुस गर्नुपर्छ । हामीसँग कोही पनि डराउनु हुँदैन । येशूले पत्रुसलाई आफूलाई हप्काउन समेत अनुमति दिनुभयो (मत्ती १६ः२२) । आफैंलाई सोध्नुहोस् कि के तपाईंका भाइहरु तपाईंलाई हप्काउनलाई स्वतन्त्र छन् ? यदि होइन भने, तपाईंले आफ्नो स्व-अभिमानबाट मुक्ति पाउनको लागि काम गर्नुपर्नेछ र येशू यस पृथ्वीमा हिँड्दाखेरिको जस्तै हुन आफूलाई नम्र बनाउनुपर्नेछ ।
हामीले मण्डलीलाई कहिल्यै पनि तानाशाहले जस्तो गरेर चलाउनु हुँदैन, जहाँ दाजुभाइ दिदीबहिनीहरु धेरै नियम र कानुनहरुको बोझ मुनि बस्छन् । यसले मण्डलीलाई एक कानुनी क्लब बनाउनेछ, जहाँ साँचो ईश्वरीय दाजुभाइ दिदीबहिनीहरुले कहिल्यै घर जस्तो महसुस गर्ने छैनन् । तर, यसको सट्टा, शारीरिक 'हो भन्ने मानिस' (जसले तपाईंलाई स्पष्टरुपमा पालना गर्छन्) ले शक्ति पाउनेछन् । त्यो दुष्ट हो ।
हाम्रा मण्डलीहरुमा धेरै नियमहरु बनाएर हामी अरुमा पवित्रता उत्पादन गर्न सक्दैनौं । हामीले वचन प्रचार गर्नुपर्छ, तर मानिसहरुलाई कुनै विशेष ढाँचा अनुरुप चल्न बाध्य पार्नु हुँदैन । यदि मानिसहरुले व्यक्तिगत विश्वास बिना हामीलाई खुशी पार्नलाई मात्र काम गर्छन् भने, तिनीहरुका कार्यहरु केवल मृतकार्यहरु मात्र हुनेछन्, चाहे ती कार्यहरु मानिसको नजरमा "धार्मिक" र राम्रो नै किन नदेखियोस् ।
मृतकार्यहरु ती कार्यहरु हुन् जुन मानिसहरुलाई खुशी पार्न वा प्रभावित पार्न गरिन्छ । तर सबै मृतकार्यहरु परमेश्वरको लागि अस्वीकार्य छन् । परमेश्वरले स्वीकार गर्ने कामहरु ती हुन् जुन केवल उहाँलाई खुशी पार्नको लागि गरिन्छ । यदि हामीले दाजुभाइ दिदीबहिनीहरुलाई यस्ता कामहरु गर्न अगुवाइ गर्ने हो भने, तिनीहरुलाई स्वतन्त्र छोड्नुपर्छ, जसरी परमेश्वरले आदम र हब्बालाई अदनको बगैंचामा स्वतन्त्र छोड्नुभएको थियो । साँचो पवित्रता केवल परमेश्वरको आदरको भयमा मात्र सिद्ध हुनसक्छ (२ कोरिन्थी ७ः१), कुनै पनि मण्डली अगुवाको डरमा होइन ।
यदि परमेश्वरले तपाईंका मण्डलीका साना भाइहरुलाई सेवाको कार्यमा उठाउनुहुन्छ, जहाँ मानिसहरुले तपाईंलाई भन्दा उनीहरुमाथि बढी भरोसा राख्छन्, त्यसो हुँदा तपाईंले यसलाई परमेश्वरको कामको रुपमा स्वीकार गर्नुपर्छ, र कृपापूर्वक यस्ता अभिषिक्त साना भाइहरुलाई मण्डलीमा प्रमुखता दिनुपर्छ । अन्यथा तपाईंले आफूलाई परमेश्वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ ।
यदि तपाईं प्रेमिलो सांसारिक पिता हुनुहुन्छ भने, तपाईं निश्चित रुपमा तपाईंका छोराछोरीले तपाईंले भन्दा बढी शिक्षा पाऊन् भन्ने चाहना राख्नुहुनेछ । एक साँचो आत्मिक पिताको चाहना पनि त्यस्तै हुनेछ, कि उनका आत्मिक छोराछोरीहरु आत्मिक रुपमा उनीभन्दा अगाडि बढून् । यदि तपाईंसँग तपाईंले सेवा गर्नेहरुका लागि त्यस्तो चाहना छैन भने, तपाईं आत्मिक पिता हुनुहुन्न । त्यसो भए तपाईं अगुवा हुन अयोग्य हुनुहुन्छ । त्यसपछि तपाईं आफ्नो क्षेत्रमा ख्रीष्टको शरीरको निर्माणमा बाधा बन्नुहुनेछ ।
अधिनायकवादी मनोवृत्ति भएका र मण्डलीका आफ्ना साथीहरुलाई पक्षपात देखाउने अगुवाहरुले यस्तो पापपूर्ण आचरणको लागि परमेश्वरको न्यायबाट बच्न सफल भएको कल्पना गर्न सक्छन् । तर प्रभुले सबै कुराको हिसाब राख्नुहुन्छ र त्यस्ता मामिलाहरुको सही रेकर्ड राख्नुहुन्छ । उहाँको तोकिएको समयमा, उहाँले त्यस्ता अविश्वासी अगुवाहरुलाई कडा रुपमा न्याय गर्नुहुनेछ । तब सबैले देख्नेछन् कि प्रभुले त्यस्तो अगुवाहरुलाई पनि छोड्नुहुन्न जो ढोंगी छन्, वा जसले आफ्नो बगालमाथि प्रभुत्व जमाउँछन्, वा जसले अरुमाथि कठोरताका साथ शासन गर्छन, इत्यादि । परमेश्वरमा कुनै पक्षपात छैन ! त्यसकारण, "जसले आफूलाई खडा छु भनी सोंच्छ, ऊ होसियार रहोस्, नत्रता ऊ लड्छ" (१ कोरिन्थी १०ः१२) ।
हिब्रू १२ः२६-२८ ले हामीलाई बताउँछ कि "परमेश्वरले हल्लाउन सकिने सबै कुराहरु हल्लाउनुहुनेछ र हटाउनुहुनेछ, ताकि हल्लाउन नसकिने कुराहरु रहिरहून् !"
हाम्रो वरिपरी, ख्रीष्टियान जगत्मा, महान प्रचारकहरुलाई हामीले पापमा फसेको देख्छौं, र नयाँ नियमको ढाँचा पछ्याउने मण्डलीहरु विभाजित र मूलसम्मै हल्लाइएको देखिन्छ । यदि हामीले आज भइरहेको सबै हल्लाइने कुराहरुको बीचमा, एकातिर ख्रीष्टियान जगतमा हामीले देख्ने सांसारिकता र सम्झौताको बीचमा, अर्कोतिर पाइने सबै कानुनवाद र फरिसीवादको बीचमा ख्रीष्टको शरीरलाई अटल बनाउन चाहन्छौं भने, हामीले परमेश्वरको सेवा गर्नुपर्छ, "श्रद्धा र विस्मयका साथ - किनकि हाम्रा परमेश्वर भष्म पार्ने आगो हुनुहुन्छ" (हिब्रू १२ः२६) ।
हाम्रो जीवनको अन्त्यसम्मै हामी सधैं नम्रताको बाटोमा हिँडिरहौं । आमेन ।