यस हप्ता, हामी महान आज्ञाको दुबै पक्षहरु पूरा गर्नुको अर्थ के हो भन्ने हाम्रो अध्ययनलाई जारी राख्छौं । गत हप्ता हामीले चेलापनको पहिलो सर्त ख्रीष्टको लागि सर्वोच्च प्रेम हेर्यौं, जहाँ हामी ख्रीष्टलाई हाम्रा आमाबुबा भन्दा, हाम्रा पत्नीहरु भन्दा, हाम्रा छोराछोरी भन्दा बढी, हाम्रो रगतको सम्बन्धमा वा मण्डली भित्रका हरेक दाजुभाई र दिदीबहिनीलाई भन्दा बढी माया गर्छौं, र हाम्रो आफ्नै जीवनभन्दा बढी ।
चेलापनको दोस्रो सर्त लूका १४ः२७ मा उल्लेख गरिएको छः "जो आफ्नो क्रुस बोकेर मेरो पछि आउँदैन, त्यो मेरो चेला हुन सक्दैन" ।
फेरि येशू निरपेक्ष हुनुहुन्छः "सक्दैन" ।
हरेक दिन क्रुस बोक्नुको अर्थ के हो ? उहाँले भन्नुभयो "आफ्नो क्रुस", मैले येशू ख्रीष्टको क्रुस बोक्नुपर्ने छैन, र मैले अरु कसैको क्रुस बोक्नुपर्ने छैन, तर मैले आफ्नै क्रुस बोक्नुपर्छ । येशूले लूका ९ः२३ मा यसरी व्याख्या गर्नु भयो, "यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैंलाई इन्कार गर्नुपर्छ, र दिनहुँ आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनु पर्छ" ।
लूका ९ः२३ मा "दिनहुँ" भन्ने शब्द थपिएको छ, जुन लूका १४ः२७ लाई पनि लागु हुँदछ । यदि हामीले हाम्रो जीवनको हरेक दिन क्रुस उठाएर ख्रीष्टलाई पछ्याउन पर्नेछ भने, यसको अर्थ ख्रीष्ट आफैंले दिनहुँ क्रुस बोकेको हुनुपर्छ । अन्यथा उहाँले मलाई कसरी आग्रह गर्न सक्नुहुन्छ कि मैले आफ्नो क्रुस बोकेर दिनहुँ उहाँलाई पछ्याउनु पर्छ ?
प्रभु येशूको साढे तेत्तीस वर्षको जीवनको दौरान एउटा भित्री क्रुस थियो, जुन उहाँले कलवरीमा बोक्नुभएको भौतिक क्रुसमा परिणत भयो । हामीले यो भित्री क्रुस के थियो भनेर बुझ्नु आवश्यक छ, किनकि यदि मैले मेरो जीवनमा त्यो क्रुस ग्रहण गरिन भने - म चेला बन्न सक्दिन ।
आज हामी "क्रुस" शब्द धेरै प्रयोग गर्दैनौं किनकि यो इसाइ धर्मको प्रतीक भएको छ । मानिसहरु सँग सुनको क्रुस र हात्तीको दाँतको क्रुसहरु छन्, तर जुनदिन येशूले यसको बारेमा बोल्नुभयो, यो रोमीहरुले आविष्कार गरेको मानिसहरुलाई मृत्यदण्ड दिने सबैभन्दा डरलाग्दो माध्यम थियो । आज अझै उपयुक्त प्रतीक जल्लादको डोरी, बिजुली कुर्सी, वा टाउको छिनाल्ने मशीन हुनसक्छ । क्रुस मृत्यदण्डको प्रतीक थियो, एक व्यक्तिलाई मृत्यदण्ड दिँदै गरेको किनकि ऊ अपराधी हो । केवल अपराधीहरुलाई क्रुसमा टाँगिएको थियो ।
येशूले हामी भित्र भएको एउटा कुराको बारेमा बोल्दै हुनुहुन्थ्यो जुन हामीले उहाँलाई पछ्याउने हो भने हरेक दिन मार्नुपर्छ । त्यो के हो ? येशूले हाम्रो आत्म-जीवनलाई संकेत गर्दै हुनुहुन्थ्योः "यदि कसैले उसको आफ्नो जीवन (उसको आत्म-जीवन) लाई माया गर्छ भने, उसले यसलाई गुमाउनेछ" ।
यो क्रुस त्यही हो जुन हामीले बोक्नुपर्छ, जहाँ हाम्रो आत्म हरेक दिन टाँगिन्छ । जहाँ हामी भन्छौं, गेथसेमनीको बगैंचामा येशूका शब्दहरुमा, "मेरो इच्छा होइन तर तपाईंको इच्छा" । मेरो आत्मबल मेरो इच्छामा पाइन्छ । म मेरो इच्छा पूरा गर्न चाहन्छु, जुन कुराले मलाई खुशी पार्छ । यही सबै पापको जरा हो, यदि त्यसलाई मारेको छैन भने मैले क्रुस उठाइरहेको छैन ।
यो हरेक दिन गर्नुपर्ने कुरा हो । तब मात्र म चेला बन्न सक्छु । मैले हरेक दिन ती शब्दहरु भन्नै पर्छ भन्ने छैन, तर मेरो मनोवृति हुनुपर्छ, "म आज कुनै पनि क्षेत्रमा मेरो इच्छा पूरा गर्नेछैन । म परमेश्वरको इच्छा पूरा गर्नेछु " । यो एउटा कुरा हो जुन येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो, "तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूराहोस्" ।
स्वर्गमा, कुनै पनि स्वर्गदूतले आफ्नो इच्छा पूरा गर्दैनन् । परमेश्वरले तिनीहरुले के गरुन् भन्ने चाहनुहुन्छ ती हेर्न तिनीहरु सधैं परमेश्वरलाई हेरी बस्छन्, र तिनीहरुले स्वर्गमा हरेक दिन यही गर्छन् । यदि हाम्रा दिनहरु पृथ्वीमा स्वर्गका दिनहरु जस्तै हुनुपर्ने हो भने, यदि हाम्रो जीवन स्वर्गीय जीवन हुनुपर्ने हो भने, यहाँ रहस्य छः "तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूराहोस्" ।
अर्को शब्दमा भन्नुपर्दा, प्रभुप्रतिचेलाकोमनोवृत्तिहो, "प्रभुमकुनैपनिकुरामाआफ्नोइच्छाअनुसारगर्नचाहन्न । मलाई मन परेको सँग बिहे गर्न म चाहन्न; म आफूलाई मनलाग्ने काम लिन चाहन्न; मेरो इच्छा लागेको ठाउँमा म बस्न चाहन्न; म जान्न चाहन्छु तपाईंको इच्छा के छ हरेक क्षेत्रमा । जब कसैले म सँग नराम्रो व्यवहार गर्छ, म चाहन्छु तपाईंले इछ्याएको तरीकाले मैले प्रतिकृया दिन सकुँ, मेरो शरीर, मेरो आत्म-जीवनको तरिकाले प्रतिकृया दिन चाहन्न" ।
यही हरेक दिन क्रुस उठाउनुको अर्थ हो, र उहाँले भन्नुहुन्छ यदि तिमीले त्यसो गरेनौं भने तिमी पूर्णरुपमा "मेरो चेला हुन सक्दैनौं" ।
मत्ती २८ मा येशूले महान आज्ञाको अर्को आधा भाग दिनुभएको थाहा पाउँदा, के तपाईंले भेट्नुभएको विश्वासीहरु प्रत्येक दिन क्रुस उठाउने, हरेक दिन आफैंमा मर्ने तरिकामा हिँडिरहेका छन् भनी देख्नुहुन्छ ? के तपाईं आफैले त्यो गर्दै हुनुहुन्छ ? मत्ती २८ः१९ मा दिइएको आज्ञालाई ख्रीष्टियानहरुले कत्तिको गम्भीरताका साथ लिइरहेका छन् भन्ने कुराको यो प्रमाण हो ।