"यसैले, हे छोराहरु हो, मेरो कुरा सुन; किनकि मेरा मार्गहरु पछ्याउनेहरु धन्य हुन् । शिक्षालाई ध्यान देओ र ज्ञानी बन, अनि यसलाई नत्याग । त्यो मानिस धन्य (सुखी) हो जसले मेरो कुरा सुन्छ (अर्थात् मेरा वचनहरु ध्यानपूर्वक सुन्छ) र मेरा ढोकाहरुमा प्रतिदिन पर्खिरहन्छ..."(हितोपदेश ८ः३२-३४) । परमेश्वरको वचनमा 'धन्य' शब्दको अर्थ सधैं 'सुखी' वा 'आनन्दित' भन्ने हुन्छ । बुद्धिका आफ्नै नियमहरु हुन्छन् र यदि तपाईंले ती नियमहरु पालन गर्नुभयो भने तपाईं सुखी हुनुहुनेछ । यस खण्डमा "प्रतिदिन पर्खिरहने" कुरा किन भनिएको छ ? किनभने म परमेश्वरको सम्पूर्ण ज्ञान एकै पटकमा प्राप्त गर्न सक्दिनँ; हामी यसलाई केवल दिन-प्रतिदिन मात्र हासिल गर्न सक्छौं । मत्ती ६ः३४ मा येशूले भन्नुभयो, "एक दिनको लागि त्यसै दिनको दुःख-कष्ट नै पर्याप्त हुन्छ ।" हरेक दिन हामी मानिसहरु, हाम्रा परिस्थितिहरु, दियाबलस र हाम्रो शरीरका अभिलाषाहरुबाट आउने निश्चित मात्राको दुष्टताको सामना गर्नेछौं । अनि यदि म ज्ञान प्राप्त गर्न चाहन्छु भने, मैले हरेक दिन क्रुस उठाउनै पर्छ । येशूले भन्नुभयो, "उसले आफैलाई इन्कार गरोस् र हरेक दिन आफ्नो क्रुस उठाओस्," ताकि मेरो दैनिक भागमा आउने दुष्टता (जसले बाँकी मावजातिलाई झैं मलाई पनि भ्रष्ट र अशुद्ध पार्नुको साटो) ज्ञानमा परिणत होस् ।
के तपाईंलाई थाहा छ, हीरा कोइलाबाट बन्छ ? यो कोइलाकै जस्तो पदार्थ हो । यो वास्तवमा कार्बन नै हो, जुन धेरै शताब्दीहरुसम्म पृथ्वीको अत्याधिक चापमा परेको हुन्छ । कोइला बनाउने पदार्थ र हीरा बनाउने पदार्थ एउटै हो । प्रश्न चाहिँ कालो र कुरुप कोइलालाई बहुमूल्य र महत्वपूर्ण वस्तुमा रुपान्तरण गर्ने कुरामा हो । यसमा लुकेको दृष्टान्त यो हो कि यदि मैले हरेक दिन क्रुस बोकें भने, मेरो दैनिक जीवनमा प्रकट हुने दुष्टतालाई परमेश्वरको बुद्धि र महिमामा रुपान्तरण गर्न सकिन्छ । धन्य हुन् ती व्यक्ति जसले हरेक दिन बुद्धिको ढोकामा सुन्छन् र हेर्छन्, किनकि बुद्धि एकै पटकमा पुरै प्राप्त गर्न सकिँदैन । एफिसी ५ः१५-१६ मा बुद्धिको बारेमा यसरी भनिएको छः "यसकारण, तिमीहरु कसरी हिँड्छौ भन्ने कुरामा होसियार होऊ; मूर्खहरु जस्तो होइन तर बुद्धिमानहरु जस्तो भएर हिँड । समयको सही सदुपयोग गर, किनकि हरेक दिन दुष्टताले भरिएको हुन्छ ।" यहाँ भनिएको कुरा यही हो - हरेक दिन दुष्टताले भरिएको हुन्छ । त्यसैले, हरेक दिन तपाईंलाई प्राप्त हुने यस समयको पूर्ण सदुपयोग गर्नुहोस् । मर्ने एउटा पनि अवसर नगुमाउनुहोस् । यदि तपाईंले एउटा पनि अवसर गुमाउनुभयो भने, तपाईंले परमेश्वरको महिमाको केही अंश गुमाउनुहुनेछ । तपाईंको भागमा आउने कुरालाई स्वीकार गर्नुहोस्, किनकि परमेश्वरले नै त्यसको निर्धारण गर्नुभएको हो । उहाँले यो अचानक वा हठात् निर्णय गर्नुभएको होइन । आज तपाईंमाथि आइपरेको दुःख वा कष्टको अंश, तपाईंको लागि अप्रत्याशित भए पनि, परमेश्वरका लागि भने अप्रत्याशित हुँदैन । यो त्यही अंश हो जुन हामी जन्मनुअघि नै हाम्रो लागि तोकिएको थियो, ताकि हामीले बुद्धि प्राप्त गर्न सकौं ।
ज्ञान कसरी प्राप्त गर्ने भन्ने कुरा बुझ्नेहरु धेरै कम छन्, किनभने तिनीहरु क्रुसको मार्ग बुझ्दैनन् । "धन्य हुन् ती मानिस जसले मेरो कुरा सुन्छन् जसले मेरा ढोकाहरुमा दिनहुँ पहरा दिन्छन् र मेरा चौकोसहरुमा प्रतिक्षा गर्छन् ।" ठीक त्यसरी नै, जसरी कुनै प्रशिक्षार्थी (इन्टर्न) प्रबन्ध निर्देशकको ढोका बाहिर बसेर केही सुन्ने प्रतीक्षा गरिरहेको हुन्छ । हरेक दिन ज्ञानको प्रतीक्षा गर्दै त्यसरी नै रहनुहोस् । दिनभरि हाम्रो मनोवृत्ति यस्तै हुनुपर्छः "हे प्रभु, आज मलाई ज्ञान दिनुहोस् । यति मात्र । म तपाईंलाई दुःखकष्टबाट मलाई मुक्त गरिदिनुहोस् भनी माग्दिनँ । म तपाईंसँग मेरो जीवनको बाटो सजिलो बनाइदिनुहोस् भनी माग्दिनँ । हे प्रभु, मलाई ज्ञान दिनुहोस् । आजका लागि तपाईंले मेरो निम्ति बनाउनुभएको योजना पूरा गर्न मलाई सहायता गर्नुहोस् ।"
परमेश्वरले तपाईंलाई आशिष दिनुभएको छ भन्ने कुरा तपाईंलाई कसरी थाहा हुन्छ ? हितोपदेश ८ः३५ अनुसार, यो त्यसबेला हुन्छ जब तपाईंले परमेश्वरको बुद्धि प्राप्त गर्नुहुन्छ । पदोन्नति वा राम्रो जागिर पाउनु वा यस संसारको कुनै भौतिक कुरा प्राप्त गर्नुमा यो निहित छैन । छैन । यो त्यसबेला हुन्छ जब तपाईंले बुद्धि पाउनुहुन्छ । तब तपाईंले प्रभुको अनुग्रह प्राप्त गर्नुभएको हुन्छ । यो त्यसबेला हुन्छ जब तपाईंले परमेश्वरको धैर्य, पवित्रता, शान्तिप्रियता र लचकता (अरुको कुरा सुन्ने वा झुक्ने तत्परता) जस्ता गुणहरु, जो बुद्धिका विशेषताहरु हुन्, आफूमा धारण गर्नुहुन्छ (याकूब ३ः१७) ।
हितोपदेश ८ः३६ मा मार्जिन बाइबलमा लेखिएको छ, "जसले मलाई गुमाउँछ, उसले आफैंलाई हानि पुर्याउँछ ।" यसको अर्थ यो हो कि यदि हामीले जीवनको यात्रामा ज्ञान प्राप्त गर्न सकेनौं भने, हामीसँग जेसुकै भए पनि, यहाँसम्म कि बाइबलको ज्ञाननै किन नहोस्, हामीले वास्तवमा आफ्नो जीवन खेर फाल्छौं । हामीले ठूलो जागिर पाएका हुन सक्छौं वा कुनै मण्डलीको सम्मानित सदस्य भएका हुन सक्छौं; तर यदि हामीले यस पार्थिव जीवनमा परमेश्वरको ज्ञान प्राप्त गर्न सकेनौं भने, हामीले जीवनको मुख्य कुरा नै गुमाउँछौं । यदि मैले परमेश्वरले मलाई प्राप्त गर्नका लागि तोक्नुभएको कुनै एक दिनको ज्ञानको अंश गुमाएँ भने, मैले त्यसलाई सधैंका लागि गुमाएको हुन्छु । म त्यसलाई फेरि कहिल्यै प्राप्त गर्न सक्दिनँ । हिजो परमेश्वरले मलाई जुन ज्ञान प्राप्त गराउन चाहनुहुन्थ्यो, त्यो म अब फेरि पाउन सक्दिनँ । त्यो गइसकेको छ । परमेश्वरले मलाई हरेक दिन निश्चित मात्रामा ज्ञान प्राप्त गर्ने व्यवस्था गर्नुभएको छ, र यदि मैले त्यो प्राप्त गरिनँ भने, मैले त्यो गुमाएको हुन्छु । मैले त्यसलाई अनन्तकालका लागि गुमाएको हुन्छु । म आजको र भोलिको समय पाउन सक्छु, तर हिजोको समय भने फिर्ता पाउन सक्दिनँ । स्वयम परमेश्वरले पनि मलाई त्यो समय फिर्ता दिन सक्नुहुन्न । त्यसैले भनिएको छ कि हामीले समयको सदुपयोग गर्नुपर्छ किनभने दिनहरु खराब छन् । म हरेक दिन त्यो खराब परिस्थितिलाई बुद्धिमा बदल्न सिक्न सकूँ ।