WFTW Body: 

हम्रो सामर्थ्य र घमण्ड परमेश्वरले तोड्नुहुने एउटा अर्को तरिका चाहिँ अगुवाहरुद्वारा हामीलाई सच्याउनु हो । प्रायः सबै विश्वासीहरुले सुधारलाई ग्रहण गर्नलाई धेरै अप्ठ्यारो पाउँदछन् । दुुई वर्षको बालकलाई पनि सुधारलाई ग्रहण गर्र्न सजिलो हुँदैन - मुख्यतया सार्वजनिक रुपमा दिइएको सुधारलाई ।

तपाईले आनन्दित हुँदै अन्तिम पटक सामूहिक सुधारलाई स्वीकार्नु भएको कहिले थियो ? के तपाईले जीवनमा एक पटक मात्रै भएपनि स्वीकार्नु भएकोछ ? यदि छैन भने, तपाई आत्मिक अधिकार विहिन हुनुहुन्छ भन्नु आश्चर्यजनक होइन ।

पत्रुस र यहूदा इस्करियोत विचको ठूलो भिन्नता यहि थियो । जब मुर्खतापूर्ण तवरले पत्रुसले प्रभुलार्ई क्रुसमा नजानु भनेर भने, प्रभुले कडारुपमा उसलाई हप्काउनुभयो, "ए शैतान, मेरो सामुन्नेबाट हटिजा" । त्यो येशूले कुनै मानिसलाई दिनुभएको सबैभन्दा कडा हप्काई थियो । फरिसीहरुलाई उहाँले केवल "सर्पहरु" मात्रै भन्नुभयो । तर पत्रुसलाई "शैतान" भन्नुभयो । येशूको कडा हप्काई उहाँको सबैभन्दा नजिक हुनेहरुको लागि आरक्षित थियो । उहाँले त्यो व्यक्तिलाई धेरै हप्काउनुहुन्छ जसलाई उहाँले औधी प्रेम गर्नुहुन्छ (प्रकाश ३ः१९)।

तत्पश्चात, धेरै चेलाहरु प्रभुको शिक्षामा अपमानित भएको ठान्दै थिए र तर्कदै थिए, प्रभुले उहाँको चेलाहरुलाई के तिमीहरु पनि जान चाहन्छौ भनी सोध्नुभयो । त्यो व्यक्ति पत्रुस नै थियो जसले त्यसपछि यसो भन्दै उत्तर दियो "हे प्रभु, हामी कसकहाँ जाऔं? तपाई सँग अनन्त जीवनका वचन छन्" (यूहन्ना ६ः६०, ६६-६८) । त्यो अनन्त जीवनको वचन के थियो जुन पत्रुसले सुनेको थियो ? "ए शैतान, मेरो सामुन्नेबाट हटिजा"!

के हामीले सुधारको वचनलाई अनन्त जीवनतिर डोर्याउने वचनको रुपमा देख्दछौं ?

त्यसरी नै पत्रुसले सुधारलाई देख्यो र त्यसले नै उसलाई त्यो व्यक्ति बनायो जुन व्यक्ति ऊ बन्यो ।

यद्यपि त्यहाँ अर्को अवसर पनि थियो जब पत्रुसले प्रभुबाट सुधार ग्रहण गरे । पत्रुसले प्रभुलाई अन्तिम भोजमा भनेको थियो कि अरु चेलाहरुले इन्कार गरेपनि उसले इन्कार गर्ने छैन । प्रभुले तुरुन्तै जवाफ दिनुभयो, आउने १२ घण्टामा तिमीले तीनचोटी मलाई इन्कार गर्नेछौ । तर पत्रुस त्यो जवाफ देखि रिसाएनन् । ऊ त्यही व्यक्ति थियो जसलाई प्रभुले छान्नुभयो र पेन्तिकोसको दिनमा प्रमुख प्रेरित र वक्ता बनाउनुभयो ।

किनकि पत्रुसले आफैलाई सुधारको निम्ति नम्र बनाउनु भयो, परमेश्वरले उहाँलाई उच्च पार्नुभयो । आफ्नो अनुभवबाट सिकेर, पत्रुसले अब हामी सबैलाई आग्रह गर्नुहुन्छ १ पत्रुस ५ः५, ६ मा कि हामीले आफैलाई सधैँ नम्र तुल्याउनुपर्छ । आफैलाई नम्र पारेर हामीले कहिल्यै पनि केही गुमाउँदैनौ । एक दिन परमेश्वरले हामीलाई उच्च पार्नुहुन्छ ।

सुधार प्रतिको पत्रुसको मनोवृतिको ठीक विपरीत, यहूदा इस्करियोतको सुधार प्रतिको मनोवृतिलाई हेर्नुहोस् । जब एउटी आइमाइले येशूको शिरमा बहुमूल्य अत्तर खन्याइन्, यहूदाले भन्यो कि यसरी पैसा खर्च गर्नु नोक्सानी हो, त्यो पैसा त गरीबहरुलाई दिन सकिन्थ्यो (यूहन्ना १२ः५, मत्ती २६ः१०-१३) । येशूले विस्तारै यहूदालाई सच्याउनुभयो र यिनलाई केही नभन, किनकि यिनले त असल काम गरेकी छे भन्नुभयो । तर यहूदा रिसायो ।

लगत्तै अर्को पदमा (मत्ती २६ः१४), हामीले पढ्छौ कि यहूदा तुरुन्तै मुख्य पुजाहारीकहाँ गयो र येशूलाई पक्राइदिने सहमति गर्यो । यही धेरै महत्वपूर्ण समय हो । यहूदालाई चोट परेको थियो, किनकि येशूले उसलाई सार्वजनिक रुपमा सच्याउनु भएको थियो ।

केवल येशूले आइमाइको कार्य प्रतिको यहूदाको मूल्याङ्कन सही नभएको कुरा मात्रै भन्नुभएको थियो । तर उसलाई दुखित तुल्याउनलाई त्यति नै काफी थियो । जब तपाई तोडिनु भएको हुन्न, एउटा सानो कुरा पनि तपाईलाई दुखित तुल्याउन काफी हुन्छ ।

तर यहूदाको प्रतिक्रियाको अनन्त परिणामलाई हेर्नुहोस् । र पत्रुसको प्रतिक्रियाको अनन्त फललाई हेर्नुहोस् । दुबैजना सुधारको निम्ति परीक्षित भएका थिए - एकजना असफल भयो, अर्को चाहिँ सफल भयो ।

हामी पनि आज त्यसरी नै परीक्षित भइरहेका छौं ।

यदि सार्वजनिक सुधारले हामीलाई अपमानित तुल्याउँदछ भने, यसले यही प्रमाणित गर्दछ कि हामीले मानिसहरुको आदर खोज्दैछौं । यदि त्यस्तै हो भने, अहिले थाहा पाउनु असल हो, ताकि हामीले आफैलाई यस्तो आदरको खोजी गर्ने कुराबाट शुद्ध राख्न सकौं । हामी मानिसको विचारको दास कत्तिको छौं भन्ने कुरा हामीलाई देखाउनको लागि परमेश्वरले यस्तो खाले अवस्था आउन दिनुभएको हुनसक्छ । अब हामीले आफैलाई शुद्ध पार्न सक्छौं र स्वतन्त्र हुनसक्छौं ।

त्यसैले पत्रुसको सुधार प्रतिको मनोवृति हामीले हरपल अँगालौ - चाहे प्रभुले प्रत्यक्ष रुपमा उहाँको आत्माद्वारा सच्याउँदा होस् वा अरु कुनै व्यक्ति द्वारा होस् । अनन्त जीवनको लागि हामी सबैको निम्ति बाटो यही नै हो । यदि हामीले आफैलाई नम्र तुल्यायौं भने हामीले परमेश्वरबाट अनुग्रह प्राप्त गर्दछौं र उहाँले सही समयमा हामीलाई उच्च पार्नुहुन्छ ।