अध्याय ४० बाट सुरु हुने यशैयाको पुस्तकको पछिल्लो भागमा ख्रीष्टियानहरुका लागि केही शानदार प्रतिज्ञाहरु छन् । यशैयामा दुई भागहरु छन्, पहिलो ३९ अध्यायहरु पुरानो नियमका पहिलो ३९ पुस्तकहरु सँग मेल खान्छन्, र अर्को २७ अध्यायहरु नयाँ नियमका २७ पुस्तकहरुसँग मेल खान्छन् । यशैयाको अन्तिम २७ अध्यायहरु मूलतः नयाँ करारका भविष्यवाणीहरु हुन् - ती मध्ये धेरैले ख्रीष्टलाई जनाउँछन् र धेरैले हामीलाई येशूका पाइलाहरु पछ्याउनको लागि भनिएका छन् - र त्यसैले यशैया अध्याय ४० देखि ६६ मा केही शानदार प्रतिज्ञाहरु छन् जुन मूलतः नयाँ करारमा हामीसँग सम्बन्धित छन् ।
यशैया ६६ः१-२ ले येशू ख्रीष्टको साँचो मण्डली निर्माणको चित्रण गर्दछ, जसको विरुद्धमा नरकका ढोकाहरु कहिल्यै विजयी हुने छैनन् । "स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो, तिमीहरुले मेरो लागि बनाउने घर कहाँ छ ? तिमी मानिसहरु जसले आफूलाई नयाँ गरी जन्मेको ख्रीष्टियान भन्छौ, तिमीहरुले मेरो लागि बनाउने मण्डली कहाँ छ ?"
जब परमप्रभुले भन्नुहुन्छ, "यस्तोलाई म हेर्नेछु," उहाँले त्यो व्यक्तिको वर्णन गर्दै हुनुहुन्छ जसलाई उहाँले आफ्नो मण्डली निर्माण गर्न कृपाको नजरले हेर्नुहुनेछ, जसको विरुद्धमा नरकका ढोकाहरु विजयी हुने छैनन् । एउटा मण्डली जसको विरुद्धमा शैतानले क्रोध, कामवासना, व्यभिचार, झुट, चोरी र आदमको जातिमा पाइने अन्य सबै घृणित थोकहरुले घुसपैठ गर्न सक्दैन ।
"म नम्र र पश्चातापी आत्मालाई हेर्नेछु" (यशैया ६६ः२) । उहाँले खोजिरहनु भएको पहिलो गुण नम्रता र पश्चाताप हो, वा टुटेको आत्मा हो । परमेश्वरले ती मानिसहरुलाई हेर्नुहुन्छ जसले आफूलाई सानोे भन्ठान्छ, कम आत्मसम्मान होइन । येशूमा कम आत्मसम्मान थिएन । उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो । उहाँले चेलाहरुलाई भन्नुभयो, "म तिमीहरुको प्रभु र गुरु हुँ । तिमीहरुले मलाई त्यही भन्छौ र म त्यही हुँ" (यूहन्ना १३ः१४) । उहाँ को हुनुहुन्थ्यो भन्ने बारेमा उहाँलाई कुनै शंका थिएन । उहाँलाई थाहा थियो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो । उहाँमा कुनै पनि प्रकारको कम आत्मसम्मान थिएन । तर उहाँमा यति ठूलो नम्रता थियो कि उहाँले अरुलाई पनि आफूले सेवा गर्नुपर्ने मानिसहरुको रुपमा हेर्नुहुन्थ्यो, र उहाँले तिनीहरुको खुट्टा धुनुभयो । के तपाईंलाई थाहा छ उहाँले यहूदा इस्करियोतको खुट्टा पनि धुनुभयो ? त्यो नम्रता हो, केही घण्टामा तपाईंलाई धोका दिने व्यक्तिको खुट्टा धुनु । उहाँमा कुनै कम आत्मसम्मान थिएन, तर उहाँले तल्लो स्थानमा रहने छनौट गर्नुभयो । उहाँले आफूलाई कम महत्वपूर्ण सोंच्नुहुन्थ्यो । हाम्रो अरुसँगको सम्बन्धको बारेमा, फिलिप्पी २ः३ ले भन्छ, "अरुलाई आफूलाई भन्दा बढी महत्वपूर्ण ठान ।" त्यो सबैभन्दा ठूलो गुण हो, टुटेको हृदय । दुःखमा टुटेको हृदय किनकि हामी ख्रीष्ट जस्तो छैनौं । परमेश्वरले त्यस्तो खाले व्यक्तिहरुलाई हेर्नुहुन्छ ।
यशैया ६६ः२ मा परमेश्वरले खोज्नु भएको दोस्रो गुण भनेको, "मेरो वचनमा काम्ने हो ।" येशूका आज्ञाहरुको सन्दर्भमा यो कुरा विचार गर्नु धेरै महत्वपूर्ण छ । जब तपाईं डाँडाको उपदेश पढ्नुहुन्छ, के तपाईं परमेश्वरको वचनमा काम्नुहुन्छ ? त्यो वचनखण्डमा जसले भन्छ यदि तपाईं रिसाउनु भयो, र त्यो रिसमा कसैसँग बोल्नुभयो भने तपाईं नरक जान पर्याप्त दोषी हुनुहुन्छ ? तपाईंलाई कामवासना गर्न लगाउने र यौनिक पाप गर्न लगाउने तपाईंका आँखाहरु वा तपाईंका हातहरुलाई काट्नुपर्ने कुरा प्रति तपाईंले पूर्ण दृष्टिकोण राख्नुभएन भने तपाईं नरकमा जानुहुनेछ भन्ने वचनखण्डमा के तपाईं काम्नुहुन्छ ? के तपाईं त्यो वचनखण्डले काम्नुहुन्छ ?
त्यो वचनमा काम्ने धेरै कम ख्रीष्टियानहरु मैले पाउँछु, वर्षौं देखि मैले यसबारे प्रचार गरेको सुन्ने ती व्यक्तिहरुको बीचमा पनि । मलाई यो भन्नुपर्दा दुःख लाग्छ कि केही मण्डलीहरुमा जहाँ मेरो जिम्मेवारी छ, जहाँ मानिसहरुले मलाई २५ वर्षदेखि यी पापहरुको विरुद्धमा प्रचार गरेको सुनेका छन्, तिनीहरु अझैपनि यो वचनहरुमा काम्दैनन् । धेरै ख्रीष्टियानहरुको अवस्था यस्तै छः उनीहरुले ज्ञान पाएका छन्, तर तिनीहरुले यसलाई हल्का रुपमा लिन्छन् । हामीलाई पापबाट छुटकारा दिन ख्रीष्टले क्रुसमा तिर्नुभएको मूल्य देखेर पनि तपाईंले कसरी पापलाई हल्का रुपमा लिन सक्नुहुन्छ ? एउटा भजन छ जुन म प्रायः आफैंमा गाउँछु, जसमा भनिएको छः
जब म परीक्षामा पर्छु मलाई देख्ने तुल्याउनुहोस्, प्रभु मलाई हेर्न सहयोग गर्नुहोस्,
मेरो परमेश्वर एक्लै फैलनु र चोट खानुभएको
र उहाँले बनाउनुभएको पृथ्वीमा रगत बगेको
र यो मेरो पाप हो भनी मलाई महसुस गराउनुहोस्
अरु कुनै पापहरु नभए झैं
त्यो उहाँको लागि थियो जसले संसारको भार बोक्नुहुन्छ
जुन उहाँ मुश्किलले सहन सक्नुहुन्छ ।
म यो धेरै पटक आफैंलाई सम्झाउनको लागि गाउँछु कि कसरी मेरो प्रभु जसले यस ब्रम्हाण्डको भार आफ्नो काँधमा बोक्न सक्नुहुन्थ्यो, मेरो पापको भार बोक्न सक्नुभएन । यसले उहाँलाई कलवरीमा कुल्च्यो - र यही कुराले मलाई पापलाई पूर्णरुपमै घृणा गर्न मद्दत गरेको छ, र मलाई परमेश्वरको वचनमा काम्न बाध्य बनाएको छ । अनि यही कारणले गर्दा मलाई ख्रीष्टियनहरुलाई शिक्षित गर्ने, उनीहरुलाई यो जान्नलाई मद्दत गर्ने कुराको बोझ छ कि आँखाले कामवासना गर्ने जस्ता पापहरु एड्स वा क्यान्सर हुनुभन्दा पनि भयानक छन् ।
जुन दिन तपाईंले यो कुरा बुझ्नुहुन्छ, तपाईं यी पापहरुसँग पूर्णरुपमा लड्नुहुनेछ । तपाईंले एड्स संक्रमित सिरिञ्जहरुसँग मूर्खपूर्ण तवरले खेल्नुहुनेछैन । तपाईं तिनीहरुको बारेमा किन यति धेरै सावधान हुनुहुन्छ, र अझै एड्स भन्दा धेरै खराब कुराको बारेमा किन सावधान हुनुहुन्न ? म तपाईंलाई कारण भन्नेछुः किनकि तपाईं पाप एड्स वा क्यान्सर भन्दा पनि खराब छ भनेर विश्वास गर्नुहुन्न, तपाईं परमेश्वरको वचनमा काम्नुहुन्न । मैले यो विश्वास गर्न सिकेको छु, र त्यसैले म यी पापहरु जस्तै क्रोध, महिलाहरु प्रतिको कामवासना र सम्बन्ध विच्छेद सँग अत्यन्तै होसियार छु । स्वर्गको राज्यमा प्रवेश गर्न, हाम्रो धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकता भन्दा बढी हुनैपर्छ ।
मैले यसलाई गम्भीरतापूर्वक लिने धेरै कम ख्रीष्टियानहरु पाउँछु, र धेरै कम प्रचारकहरु जसले यसलाई गम्भीरतापूर्वक प्रचार गर्छन् । डाँडाको उपदेश पालना गर्नुपर्ने आधारभूत आवश्यकता हो । येशूले भन्नुभयो, "तिमीहरुको धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकताभन्दा बढी नभएसम्म तिमीहरु स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौं" (मत्ती ५ः२०) ।
म यो कुरा मेरो सम्पूर्ण हृदयले विश्वास गर्छु । ख्रीष्टियानहरुले दश आज्ञाभन्दा धेरै माथिको धार्मिकताको गुण देखाएको प्रभुले अपेक्षा गरिराख्नुभएको छ । मूर्तिपूजा भनेको काठ वा ढुंगाको मूर्तिको अगाडि झुक्नु होइन । यो मेरो हृदयमा परमेश्वर बाहेक अरु केही कुरालाई स्थान दिनु हो । शबाथ भनेको शबाथको दिनमा मात्र काम नगर्नु होइन; यो आन्तरिक आरामको जीवन हो । व्यभिचार केवल शारीरिक व्यभिचार मात्र होइन; यो आँखाले कामवासना गर्नु हो । हत्या भनेको केवल कसैको हत्या गर्नु होइन; यो क्रोध हो । र यस्तै आदि सबै आज्ञाहरु सहित, हामीले पछि हेर्नेछौं ।
परमेश्वरको वचनमा काम्न सिकौं ताकि परमेश्वरले हामीलाई आफ्नो मण्डली निर्माण गर्न प्रयोग गर्न सक्नुभएको होस् । परमेश्वरले आफ्नो घर निर्माण गर्न कस्तो व्यक्ति खोज्नुहुनेछ र प्रयोग गर्नुहुनेछ भन्ने कुरा हामीले यशैया ६६ः१-२ मा देखेका छौं । परमेश्वरले हामीलाई सहायता गरुन् ।