मानिसहरुलाई भेडासँग तुलना गरिएको छ । अनि भेडाहरुमा प्रश्न नगरी भीडलाई पछ्याउने प्रवृत्ति हुन्छ । तर येशू आउनुभयो र हामीलाई परमेश्वरको वचनद्वारा सबै कुरा जाँच्न सिकाउनुभयो । फरिसीहरुले मानव परम्परालाई उच्च पारे । हामी परमेश्वरको हरेक वचनद्वारा जिउनुपर्छ - र परमेश्वरको वचन विरुद्ध हुने हरेक मानव परम्परालाई अस्वीकार गर्नुपर्छ (मत्ती ४ः४) ।
येशू फरिसीहरुसँग निरन्तर रुपमा जुन युद्धमा संलग्न हुनुभएको थियो त्यो परमेश्वरको वचन विरुद्ध मानिसहरुको परम्पराको युगौंदेखिको युद्ध थियो । मण्डलीमा, हामी आज त्यही युद्धमा संलग्न छौं । परमेश्वरको वचन नै हामीसँग भएको एक मात्र स्वर्गीय प्रकाश हो । अनि जब पहिलो पटक परमेश्वरले प्रकाश सृष्टि गर्नुभयो, उहाँले तुरुन्तै यसलाई अन्धकारबाट अलग गर्नुभयो । अन्धकार पाप र मानव परम्परा दुबै हो । त्यसैले हामी पाप र मानव परम्परा दुबैलाई परमेश्वरको शुद्ध वचनबाट अलग गर्नुपर्छ - ताकि मण्डलीमा कुनै मिश्रण नहोस् ।
क्रिसमस
क्रिसमसलाई विचार गर्नुहोस् जुन धेरैले येशू ख्रीष्टको जन्म दिनको रुपमा मनाउँछन् । सबै धर्मका पसलेहरु क्रिसमसको प्रतिक्षा गर्छन्, किनकि यो उनीहरुले धेरै नाफा कमाउनसक्ने समय हो । यो एक आध्यात्मिक नभई व्यावसायिक पर्व हो । क्रिसमस कार्ड र उपहारहरुमा लाखौं डलर÷रुपैयाँ खर्च गरिन्छ । यस समयमा मादक पेय पदार्थको बिक्रि पनि बढ्छ ।
के यो साँच्चै परमेश्वरको पुत्रको जन्मदिन हो, वा 'अर्को येशू' को ?
सबैभन्दा पहिले परमेश्वरको वचन हेरौं । बाइबलले हामीलाई बताउँछ कि बेथलेहेममा येशू जन्मनु भएको रात येहूदियाको खेतमा गोठालाहरु आफ्ना भेडाहरु लिएर बाहिर थिए (लूका २ः७-१४) । इस्राएलका गोठालाहरुले अक्टोबर पछि र फेब्रुअरीसम्म रातमा आफ्ना बगालहरु खुल्ला मैदानमा कहिल्यै राख्दैनथे - किनभने यी महिनाहरुमा त्यहाँको मौसम वर्षा र चिसो दुबै थियो । त्यसैले वास्तविक येशू मार्च र सेप्टेम्बरको बीच कुनै समयमा जन्मिनुभएको हुनुपर्छ । त्यसपछि डिसेम्बर २५ 'अर्को येशू' को जन्मदिन हुनुपर्छ जसलाई धर्म परिवर्तन नगर्ने मानिसहरुले एक निर्दोष इसाईजगतमा थोपारेका छन् !
यसबाहेक, यदि हामीलाई येशूको साँचो जन्म मिति थाहा भए पनि, प्रश्न यो हुनेछ कि परमेश्वरले उहाँको मण्डलीले यो उत्सव मनाएको चाहनुभएको थियो कि थिएन । येशूकी आमा मरियमलाई येशूको साँचो जन्म मिति पक्कै थाहा भएको हुनुपर्छ । अनि उनी पेन्टिकोस्टको दिन पछि धेरै वर्षसम्म प्रेरितहरुसँग थिइन् । तर येशूको जन्म मितिको बारेमा कतै उल्लेख गरिएको छैन । यसले के देखाउँछ ? केवल यही कि परमेश्वरले जानाजानी येशूको जन्म मिति लुकाउनुभएको थियो, किनकि उहाँ चाहनुहुन्न थियो कि मण्डलीले यो मनाएको होस् । वर्षमा एक पटक जन्मदिन मनाइनको लागि येशू कुनै साधारण मानिस हुनुहुन्नथियो । उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो "जसको दिनहरुको सुरुवात थिएन", हामीहरुको जस्तो (हिब्रू ७ः३) । परमेश्वर चाहनुहुन्छ कि हामीले येशूको जन्म, मृत्यु, पुनरुत्थान र स्वर्गारोहणलाई वर्षमा एक पटक मात्र होइन हरेक दिन जानौं ।
पुरानो र नयाँ करारहरु बीचको भिन्नताको बुझाइले हामीलाई यो पनि बुझ्न सक्षम बनाउनेछ कि परमेश्वरले आफ्ना सन्तानहरुले अब कुनै विशेष 'पवित्र दिनहरु' किन मनाएको चाहनुहुन्न । पुरानो करार अन्तर्गत, इस्राएललाई केही दिनहरु विशेष दिनहरुको रुपमा मनाउन आज्ञा दिइएको थियो । तर त्यो केवल छायाँ मात्र थियो । अब ख्रीष्ट आउनुभएको छ, परमेश्वरको इच्छा यो छ कि जीवनको हरेक दिन उत्तिकै पवित्र होस् । नयाँ करार अन्तर्गत साप्ताहिक विश्राम दिन पनि रद्द गरिएको छ । त्यसैले नयाँ नियममा कतै पनि पवित्र दिनहरुको उल्लेख गरिएको छैन (कलस्सी २ः१६,१७) ।
त्यसोभए कसरी क्रिसमसले इसाईजगतमा प्रवेश पायो ? उत्तर यो होः शैतान र अपरिवर्तित मानिसहरुको सूक्ष्म कामद्वारा जसरी शिशु बप्तिस्मा, दशांश, पुजारी, तलब पाउने पास्टरहरु र अन्य धेरै मानव परम्पराहरु र पुरानो करारका अभ्यासहरु प्रवेश गरेका छन् ।
जब सम्राट कन्स्टेस्टाइनले चौथो शताब्दीमा ईसाई धर्मलाई रोमको राज्य धर्म बनाए, तब धेरै मानिसहरु हृदयमा कुनै पनि परिवर्तन बिना 'नाममा मात्र' ईसाई बने । र त्यसैले, तिनीहरु सूर्यको पूजासँग सम्बन्धित आफ्ना दुई महान वार्षिक मूर्तिपूजक चाडहरु त्याग्न चाहँदैनथे । एउटा डिसेम्बर २५ मा सूर्य-देवताको जन्मदिन थियो, जुन दिन दक्षिणी गोलार्धमा गएका सूर्यले आफ्नो फिर्ती यात्रा (जाडो संक्रान्ति) सुरु गरेका थिए । अर्को मार्च÷अप्रिलमा वसन्त पर्व थियो, जब तिनीहरुले जाडोको अन्त्य र तिनीहरुको सूर्य देवताले ल्याएको न्यानो गर्मीको जन्म मनाउँथे । तिनीहरुले आफ्नो सूर्य देवताको नाम 'येशू' राखे र आफ्ना दुई महान चाडहरु, अब ख्रीष्टियान चाडहरुको रुपमा मनाउन जारी राखे र तिनीहरुलाई क्रिसमस र इस्टर भने !!
आजको क्रिसमस रीतिरिवाजहरु यूरोपमा ईसाई कालभन्दा पहिलेको समयबाट विकसित भएका छन् - मूर्तिपूजक, धार्मिक अभ्यासहरु, किंवदन्ती र परम्पराहरुसँग जोडिएका छन् । ख्रीष्टको जन्मको सही मिति र वर्ष कहिल्यै सन्तोषजनक रुपमा तय गरिएको छैन; तर जब इस्वी संवत ४४० मा मण्डलीमा पिताहरुले यो घटना मनाउने मिति तय गरे, तिनीहरुले जाडो संक्रान्तिको दिन रोजे जुन त्यस समयका मानिसहरुको मनमा दृढतापूर्वक बसेको थियो - र त्यो उनीहरुरुको सबैभन्दा महत्वपूर्ण पर्व थियो । मूर्तिपूजक भूमिका मानिसहरुमाझ ईसाई धर्म फैलिँदै जाँदा, जाडो संक्रान्ति मनाउने धेरै प्रचलनहरु ईसाई धर्मसँग जोडिन थाले ।
क्रिसमसको उत्पत्तिको बारेमा बताउनको लागि इन्साइक्लोपीडिया ब्रिटानिका (धर्मनिरपेक्ष इतिहासको एक स्रोत) मा निम्न कुराहरु छन्ः
"प्राचीन रोमन पर्व स्याटर्नलिया सायद आधुनिक क्रिसमस उत्सवसँग सबैभन्दा नजिकबाट जोडिएको थियो । यो पर्व जाडो संक्रान्तिको समयमा मनाइन्थ्यो र रोप्ने मौसमको अन्त्यको चिन्ह हुन्थ्यो । धेरै दिनसम्म खेलकुद, भोज र उपहार दिने कार्यक्रमहरु भए, र यो जीवन्त पर्वको सम्झनामा काम र व्यवसाय स्थगित गरियो । अन्तिम दिनहरुमा, मैनबत्ती, मोमबाट बनाइएका फलफूलका मोडेलहरु र मोमका मूर्तिहरुको उपहार बनाउने चलन थियो । क्रिसमस र नयाँ वर्षको उत्सवमा स्याटर्नलियाको प्रभाव प्रत्यक्ष रुपमा परेको छ । पछि क्रिसमस अर्को रोमन उत्सव, अविजेता सूर्यको दिनमा मनाइने तथ्यले यस मौसमलाई सौर्य पृष्टभूमि दियो र यसलाई रोमन नयाँ वर्षसँग जोड्यो, जब घरहरु हरियाली र बत्तीहरुले सजाइन्थ्यो र बच्चाहरु र गरिबहरुलाई उपहारहरु दिइन्थ्यो ।"
(https://www.britannica.com/topic/Winter-Holidays)
यी मूर्तिपूजक प्रथाहरु निम्रोदले सुरु गरेको बेबिलोनी धर्मबाट सुरु भएको थियो (उत्पत्ति १०ः८-१० हेर्नुहोस्) । परम्पराले हामीलाई बताउँछ कि निम्रोदको मृत्यु पछि, उनकी पत्नी सेमिरामिसको एक अवैध सन्तान थियो, जसलाई उनले निम्रोद फेरि जीवित भएको दाबी गर्छिन् । यसरी आमा र बच्चाको आराधना सुरु भयो, जुन शताब्दीयौं पछि नाममात्रका ख्रीष्टियानहरुले 'मरियम र येशू' मा रुपान्तरण गरे ।
यस बाल देवताको जन्मदिन प्राचीन बेबिलोनीहरुले डिसेम्बर २५ मा मनाउने गर्थे । सेमिरामिस स्वर्गकी रानी थिइन् (यर्मिया ४४ः१९), शताब्दीयौं पछि एफिससमा डायना र आर्टेमिसको रुपमा आराधना गरिन्थ्यो (प्रेरित १९ः२८) ।
सेमिरामिसले दाबी गरे कि मरेको रुखको ठूटोबाट रातारात पूर्ण रुपमा बढेको सदाबहार रुख उम्रियो । यसले निम्रोदको पुनरुत्थान र मानवजातिलाई स्वर्गको उपहार ल्याउने प्रतीक थियो । यसरी देवदारुको रुख काटेर त्यसमा उपहार झुण्ड्याउने चलन सुरु भयो । अनि त्यो नै क्रिसमस रुखको उत्पत्ति हो !
परमेश्वरको वचन वा मानिसको परम्परा ?
क्रिसमस मनाउनुको पछाडि परमेश्वरको वचनमा कुनै आधार नभए पनि मानिसहरुको परम्पराहरु पालना गर्ने धेरै घातक सिद्धान्त लुकेको छ । परम्पराको यो शक्ति यति बलियो छ कि अन्य क्षेत्रहरुमा धर्मशास्त्र पालना गर्ने धेरै विश्वासीहरुलाई अझै पनि क्रिसमस मनाउन छोड्न गाह्रो लाग्छ ।
यो अचम्मको कुरा हो कि धेरै विश्वासीहरु धर्मनिरपेक्ष लेखकहरु (माथि उद्धृत गरिएको इन्साइक्लोपीडिया ब्रिटानिकाका लेखकहरु जस्तै) ले पनि स्पष्ट रुपमा बुझेको कुरा स्वीकार गर्न इच्छक छैनन् - कि क्रिसमस मूलतः मूर्तिपूजक पर्व हो । नाम परिवर्तन गर्दैमा यो पर्व ख्रीष्टियान हुँदैन !
हामीले सुरुमा भनेझैं, येशू फरिसीहरुसँग यही मुद्दामा निरन्तर लडिरहनुभएको थियो - मानिसको परम्परा विरुद्ध परमेश्वरको वचन । पापको विरुद्ध प्रचार गरेकोमा भन्दा 'पुर्खाहरुका खोक्रा परम्पराहरु' को विरोध गरेकोमा बढी विरोधको सामना गर्नुभयो । यदि हामी उहाँ जस्तै विश्वासी छौं भने, हाम्रो अनुभव पनि त्यस्तै हुनेछ ।
केवल परमेश्वरको वचन मात्र हाम्रो मार्गदर्शक हो - र ईश्वरीय मानिसको उदाहरण पनि होइन, जुन क्षेत्रमा तिनीहरुले परमेश्वरको वचन पालन गर्दैनन् । "प्रत्येक मानिस झुटो ठहरिए पनि परमेश्वर सत्य ठहरिनुभएको होस्" (रोमी ३ः४) । पावलको शिक्षालाई पनि जाँच्न बेरियालीहरुले धर्मशास्त्र खोजे, र पवित्र आत्माले तिनीहरुलाई यसको लागि प्रशंसा गर्नुभयो (प्रेरित १७ः११) । यो हामी सबैले अनुसरण गर्नको लागि राम्रो उदाहरण हो ।
दाऊद परमेश्वरका आफ्नै हृदय अनुसारका मानिस थिए । तैपनि, चालिस वर्षसम्म, उनले इस्राएलीहरुलाई मोशाले बनाएका काँसाको सर्पलाई पूजा गर्न अनुमति दिए, यो परमेश्वरको लागि घृणित छ भन्ने कुराको महसुस नै नगरी । उनलाई यस्तो स्पष्ट मूर्तिपूजाको बारेमा पनि कुनै ज्ञान थिएन । धेरै कम उमेरका राजा हिजकिया थिए, जसले यो मूर्तिपूजक अभ्यासको पर्दाफास र नाश गरे (२ राजा १८ः१-४) । हामी ईश्वरीय मानिसहरुलाई उनीहरुको जीवनको पवित्रतामा पछ्याउन सक्छौं, तर मानव परम्पराहरुमा तिनीहरुको प्रकाशको अभावमा होइन । हाम्रो सुरक्षा केवल परमेश्वरको वचनको शिक्षा पालन गर्नुमा निहित छ, यसमा थप्नु वा घटाउनुमा होइन ।
अरुको न्याय नगर्नुहोस्
अन्तमाः क्रिसमस मनाउने इमानदार विश्वासीहरु प्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ ?
यो कुरा सम्झन महत्वपूर्ण छ कि क्रिसमस नमनाउँदैमा हामी आत्मिकी हुँदैनौं । अनि यो पर्व मनाउनेहरु शारीरिक विश्वासीहरु होइनन् । आत्मिक मानिसहरु ती हुन् जसले दैनिक आत्म-त्याग र पवित्र आत्माको दैनिक भरणको बाटोमा येशूलाई पछ्याउँछन् - चाहे तिनीहरुले क्रिसमस मनाऊन् वा नमनाऊन् ।
त्यसैले जब हामी यी चाडपर्वहरु मनाउने विश्वासीहरुलाई भेट्छौं, हामीले यो कुरालाई मनन गर्न पर्याप्त दयालु हुनुपर्छ कि उनीहरु यो चाडको मूर्तिपूजक उत्पत्तिको बारेमा अनभिज्ञ हुन सक्छन् । र त्यसैले, जब तिनीहरुले यो मनाउँछन् तब तिनीहरुले कुनै पनि तरिकाले पाप गरिरहेका हुँदैनन् । अर्कोतर्फ, यदि हामीले तिनीहरुको न्याय गर्यौंभने हामीले पाप गरिरहेका हुनेछौं - किनभने हामीलाई सत्य थाहा छ ।
डिसेम्बर २५ सामान्यतया सबैका लागि बिदा हुने र यस वरपरका दिनहरु विद्यालयहरुमा पनि बिदा हुने भएकोले, धेरैले यो अवधिलाई वर्षको अन्त्यमा पारिवारिक पुनर्मिलनको लागि प्रयोग गर्छन् - जुन धेरै राम्रो कुरा हो । अनि केही मानिसहरु डिसेम्बर २५ मा मात्र मण्डली सेवाहरुमा उपस्थित हुने भएकोले, यस मितिमा मण्डलीहरुले सेवा गर्नु असल हुन्छ, ताकि तिनीहरुले त्यस्ता मानिसहरुलाई सुसमाचार प्रचार गर्न सकून् र तिनीहरुलाई बुझाउन सकून् कि येशू मानिसहरुलाई तिनीहरुको पापबाट बचाउन पृथ्वीमा आउनुभयो र उहाँले हाम्रो लागि मृत्यु र शैतानलाई जित्नुभयो ।
ईसाई धर्मको प्रारम्भिक दिनहरुमा, केही ईसाईहरुले शवाथ मनाउँथे - जुन क्रिसमस जस्तै गैर ईसाई यहूदीहरुको धार्मिक पर्व थियो । त्यसैले पवित्र आत्माले पावललाई रोमी १४ अरु ख्रीष्टियनहरुलाई अरुको न्याय गरेर पाप नगर्नको लागि चेतावनी दिनलाई लेख्न प्रेरणा दिनुभयो । यही चेतावनी ती मानिसहरुको लागि उपयोगी छ जसले क्रिसमस मनाउनेहरुको न्याय गर्छन् ।
"विश्वासमा कमजोर भएकोलाई स्वीकार गर, उसको विचारहरुको न्याय गर्ने उद्देश्यले होइन । अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ ? एउटाले एउटा दिनलाई अर्को दिनभन्दा माथि ठान्छ, अर्कोले सबै दिनलाई समान ठान्छ । जसले दिनलाई मान्दछ, उसले प्रभुको लागि मान्दछ, किनकि उसले परमेश्वरलाई धन्यवाद दिन्छ; र जसले मान्दैन उसले प्रभुको लागि मान्दैन, र परमेश्वरलाई धन्यवाद दिन्छ । प्रत्येक व्यक्ति आफ्नो मनमा पूर्णरुपले विश्वस्त हुनुपर्छ । तर तिमी किन आफ्नो भाइलाई दोष लगाउँछौ ? अथवा फेरि, तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको अगाडि उभिनेछौं, र हामी प्रत्येकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं" (रोमी १४ः१२) ।
अनि क्रिसमसको यो अध्ययनलाई निष्कर्षमा पुर्याउन त्यो नै उत्तम वचन हो ।