WFTW Body: 

प्रकाश १२ः१० मा हामी पढ्छौं कि सबै विश्वासीहरुलाई परमेश्वरमा दिनरात लगातार दोष्याउँछ । यो शैतान संलग्न भएको पूर्णकालीन सेवा हो । र यस सेवामा उसका धेरै सहकर्मीहरु छन्, दुःखको कुरा धेरै विश्वासीहरु माझ पनि । आरोपको यस सेवामा शैतानसँग हात मिलाएर कामगर्ने असंख्य विश्वासीहरु छन् ।

आदमले अदनको बगैंचामा पाप गर्ने वित्तिकै, शैतानले आफ्नो "दोष्याउने स्वभाव" आदममा सार्‍यो । अनि यसरी जब परमेश्वर आदमकहाँ आउनुभयो र उनलाई सोध्नुभयो कि के उनले निषेधित फल खाएका हुन्, आदमले गरेको पहिलो काम - आफ्नो पाप स्वीकार गर्नुको सट्टा, आफ्नी पत्नीलाई दोष लगाउनु थियो, "उनी नै हुन् जसले मलाई फल खान दिए" (उत्पत्ति ३ः१२) ।

बाल्यकाल देखि नै हामी सबैले अरुको गल्ती खोज्न र मानिसहरुलाई दोष लगाउन सिकेका छौं । हाम्रो उमेर बढ्दै जाँदा, आरोप लगाउने र दोष लगाउने यो भावना यसको अभिव्यक्तिमा अझ सूक्ष्म र द्वेषपूर्ण हुँदै जान्छ । दुःखद वास्तविकता यो हो कि आरोप लगाउने यो भावना धेरै विश्वासीहरुमा पाइन्छ, तिनीहरु नयाँ गरी जन्मेको धेरै वर्ष पछि पनि !

२ कोरिन्थी ५ः१७ ले भन्छ, "यदि कोही ख्रीष्टमा छ भने, ऊ नयाँ सृष्टि हो; पुराना कुराहरु बितिसकेका छन् । हेर, सबै कुराहरु नयाँ भएका छन् ।"

जब हामी नयाँ जन्म लिन्छौं, अरुप्रतिको हाम्रो दृष्टिकोण नयाँ हुनुपर्छ, येशूको जस्तै दृष्टिकोण, जसले हाम्रो विरुद्धमा पाप गर्नेहरुलाई दोष लगाउनुको सट्टा तिनीहरुको लागि मध्यस्थताको प्रार्थना गर्छन् । यद्यपि, यदि हामी परमेश्वरसँग सहकार्य गर्छौं भने मात्र हामी भित्रको मनोवृत्तिमा यस्तो परिवर्तन हुनेछ । फिलिप्पी २ः१२ ले हामीलाई आदमबाट जन्मजात पाएका सबै गलत दृष्टिकोणहरुबाट "हाम्रो मुक्तिको लागि काम गर्ने" निर्देशन दिन्छ । "आफ्नै मुक्तिको लागि काम गर्ने" आज्ञालाई विश्वासीहरुले गम्भीरतापूर्वक नलिने भएकाले, तिनीहरुले आदमका सन्तानहरु जस्तै व्यवहार गर्न जारी राख्छन्, अरुलाई दोष लगाउँछन् । परमेश्वरका सन्तानहरुको यो दुष्ट व्यवहारद्वारा, प्रभु र उहाँको मण्डली दुबै मानिसहरुको अगाडि धेरै बदनाम हुन्छन् ।

यूहन्ना ८ः४ मा, हामी फरिसीहरुले व्यभिचारमा पक्राऊ परेकी एक गरिब महिलालाई दोष लगाएको बारेमा पढ्छौं । पापको जीवनबाट बचाउनमा तिनीहरुलाई कुनै चासो थिएन । तिनीहरु केवल आफ्नो "धार्मिकता" प्रदर्शन गर्न र त्यो महिला कति भयानक पापी थिइन् भनेर देखाउन चाहन्थे । त्यहाँ उभिएर, तिनीहरुले ती गरिब महिलालाई दोष लगाउने औंलाहरु देखाए, जसरी तिनीहरुका पुर्खा आदमले हब्बालाई गरेका थिए । र यसरी तिनीहरु भित्री अस्तित्वमा आरोप लगाउने शैतानसँग संगतिमा थिए भनेर प्रकट गरे । त्यसैले येशूले फरिसीहरुलाई विशेष रुपमा भन्नुभो कि शैतान तिनीहरुको पिता हो (यूहन्ना ८ः४४) ।

येशू यस्ता महिलाहरुलाई तिनीहरुको पापबाट बचाउन आउनुभयो तिनीहरुलाई दोषी ठहराउन होइन । यूहन्ना ३ः१७ मा, हामी पढ्छौं कि परमेश्वरले आफ्नो पुत्रलाई संसारलाई दोषी ठहराउन होइन, तर संसारलाई बचाउन संसारमा पठाउनुभयो ।

आरोप लगाउनु र ईश्वरीय सुधारमा ठूलो भिन्नता छ । प्रकाश अध्याय २ र ३ मा, प्रभुले यूहन्नालाई पाँचवटा मण्डलीका असफल एल्डरहरुलाई ईश्वरीय सुधार दिन निर्देशन दिनुभयो । त्यसैगरी, पवित्र आत्माले पावललाई कोरिन्थी, गलाती र थेसेलोनिकीमा रहेका मण्डलीहरुलाई ईश्वरीय सुधार दिन निर्देशन दिनुभयो । यस्तो सुधार एक आत्मिक कुरा हो, र परमेश्वरले कहिलेकाहीं आफ्ना अभिषिक्त सेवकहरुलाई आफ्ना मानिसहरुलाई यस्ता सुधार दिन बोलाउनुहुन्छ । तर यस्ता सुधारहरु सधैं प्रेममा दिइनुपर्छ ।

दोष्याउने आत्माको पहिचान गर्न सजिलो छ । यो सधैं ती व्यक्तिहरुप्रति नकरात्मक दृष्टिकोणको साथ प्रस्तुत हुन्छ, जो त्यो व्यक्तिलाई मन पर्दैन । तपाईंले कहिल्यै पनि आफूले माया गर्ने व्यक्तिलाई त्यसरी आरोप लगाउनुहुन्न । उदाहरणका लागि, तपाईंले कहिल्यै पनि अरु मानिसहरुको अगाडि आफ्ना बच्चाहरुलाई आरोप लगाउनुहुन्न । त्यसैले, तपाईंले देख्न सक्नुहुन्छ कि मानिसहरुप्रति प्रेमको कमीले तपाईं भित्रबाट आरोप लगाउने भावना बाहिर आउँछ ।

ईश्वरीय सुधारको सेवा प्रभुले आफ्ना विश्वासी सेवकहरुलाई मात्र सुम्पनुभएको छ, जस्तै प्ररित यूहन्ना र पावल । प्रभुले सबैलाई यस्तो सेवकाईमा बोलाउनुहुन्न । त्यसैले होसियार रहनुहोस् । जब तपाईं "आरोपको सेवा" मा संलग्न हुनुहुन्छ, तपाईं सजिलैसँग आफू सुधारको ईश्वरीय सेवामा छु भनी आफूलाई धोका दिन सक्नुहुन्छ ।

यदि तपाईंले यो आरोप लगाउने आत्मालाई रहनदिनुभयो भने, प्रभुले तपाईंको विरोध गर्नुहुनेछ, जसरी उहाँले फरिसीहरुको विरोध गर्नुभयो । आरोप लगाउने सेवा शैतानको काम हो, र विश्वासीहरुको रुपमा, हाम्रो यसमा कुनै पनि हिस्सा हुनु हुँदैन ।

हामीले सर्वप्रथम यो कुरा बुझ्नुपर्छ कि शैतान र त्यसका दियावलहरुले हामीलाई हाम्रा सँगी विश्वासीहरुमा कुनै न कुनै कुराको लागि दोष लगाउन निरन्तर प्रयास गर्नेछन् । अनि ती दियावलहरुले तपाईंलाई तपाईंका सँगी विश्वासीहरुमा धेरै कमजोरीहरु देखाउनेछन्, ताकि उनीहरुलाई दोष लगाउनलाई तपाईंलाई उक्साउन सकून् । यदि तपाईं यो प्रलोभनमा पर्नुभयो भने, तपाईंले आफूलाई शैतानी शक्तिहरुको प्रभावमा पार्नुहुनेछ । धेरै विश्वासीहरु धेरै रोगहरुबाट पीडित हुनुको एउटा कारण यो हुनसक्छ ।

हामी हाम्रो जीवनबाट आरोपको आत्मालाई पूर्ण रुपमा हटाउनलाई पूर्ण रुपमा कठोर बन्नुपर्छ, जसरी एक शल्यचिकित्सकले बिरामीमा क्यान्सरको वृद्धिलाई शल्यक्रिया गरेर पूर्ण रुपमा हटाउँछ । हामीले स्पष्टरुपमा जान्नुपर्छ कि "आरोपको भावना" कुनै पनि क्यान्सरको भन्दा धेरै खराब छ ।

जन्मदेखि नै, हामी सबैले अरुको गल्ती खोज्ने यो खराब बानी बसालेका छौं । हामीले धेरै वर्ष मानिसहरुको पछाडि आलोचना गर्दै र तिनीहरुलाई आरोप लगाउनको लागि तिनीहरुमा केही न केही गल्ती खोज्दै बिताएका छौं ।

अन्तमाः येशूले फरिसीहरुलाई भन्नुभएको कुरा सम्झौं, पापरहितहरुलाई मात्र अरुलाई ढुङ्गा हान्ने अधिकार छ । त्यसैले हामीमध्ये कोही पनि कसैलाई दोष लगाउन योग्य छैनौं ।

प्रभुले हामी सबैलाई यो शैतानी आत्माबाट पूर्ण रुपमा छुटकारा दिऊन् ।

आमेन ।