(गएको हप्ताबाट जारी.....)
कृपार अनुग्रह
एक विश्वासीको रुपमा धेरै वर्ष सम्म, मैले कृपा र अनुग्रहलाई एउटै कुरा ठानेको थिएँ । तर एक दिन मैले पत्ता लगाएँ कि "कृपा" ले मुख्य रुपमा पापहरुको क्षमालाई जनाउँदछ, जबकि "अनुग्रह" ले हामीलाई पाप र जीवनका परीक्षाहरु जित्नको लागि परमेश्वरले दिनुभएको शक्तिलाई जनाउँदछ (हिब्रू ४ः१६, रोमी ६ः१४, २ कोरिन्थी १२ः९) । र यो "अनुग्रह" ख्रीष्ट मार्फत आयो (यूहन्ना १ः१७) र पेन्टिकोष्टको दिनमा पवित्र आत्मा मानिसमा बास गर्न आउनु भएपछि मात्र उपलब्ध भयो । यो पनि मेरो सन्देशको मुख्य भाग बन्यो ।
ख्रीष्टको मानवता
जहाँ सबै ख्रीष्टियानहरुले ख्रीष्टलाई परमेश्वरको रुपमा आराधना गरे, थोरैले जोड दिए कि उहाँ पनि एक मानिस हुनुहुन्थ्यो जसको उदाहरण हामीले पछ्याउन सक्छौं । उहाँको मानवतालाई जोड दिने केहीले पृथ्वीमा हुनुहुँदा उहाँ परमेश्वर हुनुहुन्थ्यो भनी इन्कार गरे । ख्रीष्ट पूर्णरुपमा परमेश्वर र पूर्णरुपमा मानिस हुनुहुन्थ्यो भनी सन्तुलित धर्मशास्त्रीय दृष्टिकोणको घोषणा गर्ने ख्रीष्टियानहरु भेट्टाउन दुर्लभ थियो । तर मैले देखें कि "ईश्वरीय जीवन जिउने रहस्य" ख्रीष्टलाई मानिसको रुपमा पापमाथि विजय भएको देख्नमा निहित छ (१ तिमोथी ३ः१६, हिब्रू ४ः१५, १६) । यो पनि मेरो प्रचारमा प्रमुख जोड भयो ।
पैसा
जब हामीले १९७५ मा हाम्रो काम सुरु गर्यौं, समृद्घिको सुसमाचार (जसलाई आज हामीले धेरै सुनेका छौं) प्रचलित थिएन । तर ख्रीष्टियानहरुले आज तिनीहरुले गरे झैं पैसाको मोह गर्थे । पैसालाई माया गर्नेहरुले परमेश्वरलाई घृणा गर्छन् भनेर येशूले सिकाउनु भयो (लूका १६ः१३) । तर मैले कुनै पनि प्रचारकले यो सन्देश प्रचार गरेको सुनिन । धेरै जसो मण्डलीहरुले आफ्ना सदस्यहरुलाई दशांश तिर्न मात्र सिकाए । तर दशांश पुरानो करारको व्यवस्थाको अंश थियो जुन ख्रीष्टमा खारेज गरिएको थियो । मैले प्रभुलाई खुशीसाथ, गोप्य र स्वेच्छिक रुपमा दिने स्वतन्त्रताको नयाँ करारको सन्देश प्रचार गरें । मैले देखेको अर्को कुरा यो थियो कि भारतमा मुश्किलले कुनै मण्डलीले (जुन मलाई थाहा थियो) विवाहमा दाइजो माग्ने दुष्ट प्रथाको विरुद्घमा कडा प्रचार गरेको थियो - यो अभ्यास जसले सम्पूर्ण भारतमा महिलाहरुलाई अपमानित गर्यो । मैले यस दुष्ट प्रथाको विरुद्घ कडा प्रचार गरें, र विवाह सन्चालन गर्दा, दुलाहा र दुलही दुबैबाट हस्ताक्षर गरिएको प्रमाणपत्र लिएँ जसमा उनीहरु बीच वा आमाबुबा बीच कुनै पैसा साटासाट नभएको भनेर लेखिएको हुन्थ्यो ।
प्राणर आत्मा
यो प्रचार नगरिएको अर्को विषय थियो । पुरानो नियमको समयमा, मानिसको प्राण र उसको आत्मा बीचको भिन्नताको कुनै स्पष्ट प्रकाश थिएन । तर नयाँ नियमले यी दुई बीच स्पष्ट भिन्नता देखाउँछ (हिब्रू ४ः१२) । धेरैजसो ख्रीष्टियानहरुलाई यो भिन्नता थाहा नभएकोले, तिनीहरु चतुर प्रचारकहरुको मनोवैज्ञानिक युक्तिहरु र पवित्र आत्माका वरदानहरुको भावनात्मक नक्कलहरुद्वारा धोकामा परेका थिए । त्यसैले मैले मानिसहरुलाई सिकाएँ कि के साँचो आत्मिक हो, र के केवल प्राणको हो ।
ख्रीष्टकोस्थानीय शरीर
मैले स्पष्ट रुपमा देखें कि परमेश्वरको अन्तिम लक्ष्य उहाँका सबै सन्तानहरुलाई ख्रीष्टमा एउटै शरीर बनाउनु थियो । नयाँ नियमको मण्डली एउटा शरीर हुनुपर्ने थियो र जमात होइन । एउटा शरीरमा(मानिसको शरीरमा जस्तै), प्रत्येक सदस्य अन्य सदस्यहरु सँग जोडिनेछ र प्रत्येकको एक अद्वितीय कार्य हुनेछ । ख्रीष्ट एक्लै शिर हुनुहुनेछ र अरु सबै सदस्यहरु समान हुनेछन् । मैले देखे कि यो त्यस्तो प्रकारको मण्डली हो जुन परमेश्वरले पृथ्वीको हरेक इलाकामा हेर्न चाहनुहुन्थ्यो । र त्यसैले मैले पृथ्वीमा जहाँजहाँ सम्भव हुन्छ त्यहाँ ख्रीष्टको शरीरको त्यस्ता अभिव्यक्तिहरु निर्माण गर्नलाई मेरो जीवन विताउने निर्णय गरें ।
नयाँ करार
यी सबै सत्यहरु ख्रीष्टको मृत्यु र पुनरुत्थान मार्फत परमेश्वरले मानिससँग गर्नुभएको नयाँ करार सँग सम्बन्धित थिए । पुरानो करारको तुलनामा नयाँ करारको ठूलो महिमा देख्नका लागि विश्वासीहरुका बीचमा सबैभन्दा ठूलो आवश्यकता उनीहरुको आँखा खोलिनु थियो भनी मैले देखें । त्यसैले यो मेरो सबै प्रचारको प्रमुख जोड बन्यो - र यो जारी छ । यी केही प्रमुख सत्यहरु थिए जुन परमेश्वरले मलाई देखाउनुभयो । मैले हरेक सम्भावित माध्यमहरु - प्रचार, पुस्तकहरु, टेपहरु, आदि मार्फत मेरा सँगी विश्वासीहरुलाई घोषणा गर्न खोजें । यी सत्यहरुलाई भारतभर फैलाउने मेरो बोझ थियो । तर परमेश्वरले यी सन्देशहरु अझ अगाडि फैलाउन उपयुक्त देख्नुभयो - अन्य धेरै देशका मानिसहरुलाई पनि ।
सबै महिमा उहाँको नामको मात्र होस् ।