मत्ती ४ः९ मा, शैतानले येशूलाई संसारका सबै राज्यहरु र तिनीहरुका महिमा क्षणभर मै देखायो, र भन्यो, "यदि तपाईंले घोप्टो परेर मलाई आराधना गर्नुभयो भने म यी सबै तपाईंलाई दिनेछु" । उसले सधैं यही चाहेको थियो, र त्यही कुराले उसलाई शैतान बनायो । ऊ मानिस सृष्टि हुनुभन्दा धेरै अगाडि देखि नै परमेश्वरद्वारा सृष्टि गरिएका स्वर्गदूतहरुको प्रमुख थियो, सुन्दर, बुद्धिले भरिपूर्ण, ब्रम्हाण्डमा उच्चस्थान पाएको । हामी यशैया १४ र इजकिएल २८ मा यस सर्वोच्च स्वर्गदूतको इतिहास पढ्छौं । हामीलाई उनको नाम थाहा छैन, केवल उनलाई बिहानको तारा भनिन्छ (यशैया १४ः१२), जसलाई ल्याटिनमा "लुसिफर" भनेर अनुवाद गरिएको छ । त्यसैले त्यो उपाधि उनमा लगाइयो, तर त्यो उनको नाम होइन । हामीलाई उसको नाम थाहा छैन, तर स्वर्गदूतहरुको यो प्रमुखले चाहन्थ्यो कि स्वर्गदूतहरुले परमेश्वरको आराधना नगरुन् तर उसको आराधना गरुन् । यशैया १४ मा उसले त्यही भन्छ, "म आफूलाई परमेश्वर जस्तै बनाउनेछु" । पापको उत्पत्ति यसरी भयो भनेर सम्झनुहोस्ः जब कोही आराधना चाहन्थ्यो, जब कोही परमेश्वरको विरुद्धमा विद्रोह गर्न चाहन्थ्यो, र जब कसैको हृदय घमण्डले भरिएको हुन्थ्यो र स्वर्गदूतहरुले उसको प्रशंसा गरेको चाहन्थ्यो ।
यो नै पापको उत्पत्ति हो । संसारको पहिलो पाप हत्या वा व्यभिचार थिएन; यो अरु मानिसहरुले तपाईंको प्रशंसा गरुन् भन्ने चाहना थियो । यदि तपाईंमा त्यो इच्छा छ भने, तपाईं जो भएपनि, चाहे तपाईंले आफूलाई ख्रीष्टियान वा प्रचारक भनेतापनि, यदि तपाईं मानिसहरुले ख्रीष्टको होइन तर तपाईंको प्रशंसा गरुन् भन्ने चाहनुहुन्छ भने, तपाईं शैतानले हिँडेको बाटोमा हिँडिरहनुभएको छ । यो खतरनाक ठाउँ हो किनकि यसले अन्ततः नर्कमा पुर्याउँछ । शैतानले त्यतिबेला त्यो पाउन सकेन; ऊ स्वर्गबाट फ्याँकिएको थियो, तर अब उसले फेरि त्यो हासिल गर्न खोज्छ । "घोप्टो पर", शैतानले भन्छ, "र मलाई आराधना गर" । तर येशूले भन्नुभयो, "शैतान हटिजा," मत्ती ४ः१०, "किनकि यस्तो लेखिएको छ कि तैंले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस् र उहाँको सेवा गर्नेछस्" । हामीले आराधना गर्नुपर्ने एक मात्र व्यक्ति हुनुहुन्छ । हामी गौरवशाली प्राणीहरु र परमेश्वरका महान सेवकहरुको आराधना गर्ने कुरामा गल्ती गर्न सक्छौं । प्रकाश २२ः८ मा, महान् प्रेरित यूहन्नाले पनि यो गल्ती गरे । प्रकाशका पुस्तकमा प्रकट गरिएका अद्भुत कुराहरु देखेपछि उनले एक स्वर्गदूतलाई देखे र उनको आराधना गर्नलाई घोप्टो परे । कल्पना गर्नुहोस्, यदि ९५ वर्षको उमेरमा प्रेरित यूहन्ना, जसले प्रभुलाई यति लामो समय देखि चिनेका थिए, परमेश्वरको शक्तिशाली सेवकको प्रशंसा गरेर गल्ती गर्न सक्छन् भने, हामी मध्ये जोकोहीले त्यो गल्ती गर्न सक्छौं । हाम्रो परमेश्वरसँगको सम्पर्क कुनै सेवक मार्फत हुनेगरी हामीले परमेश्वरको कोही पनि शक्तिशाली सेवकको अत्यधिक प्रशंसा गर्नुहुँदैन ।
जहाँसुकै होस् प्रचारक वा पास्टर परमेश्वर र मानिसहरुको बीचमा दोस्रो मध्यस्थकर्ता बन्न खोज्छ भने, तपाईं होसियार हुनुपर्छ । पुरानो नियमका अगमवक्ताहरु ती मानिसहरु थिए जसले परमेश्वरको इच्छा मानिसहरुलाई बताउँथे, तर नयाँ करारमा, परमेश्वर र मानिसको बीचमा एक मात्र मध्यस्थकर्ता हुनुहुन्छ, र त्यो येशू ख्रीष्ट हुनुहुन्छ । ख्रीष्ट र तपाईं बीच दोस्रो मध्यस्थकर्ता हुन तपाईंलाई पास्टर, प्रचारक वा परमेश्वरको कुनै पनि मानिसको आवश्यकता पर्दैन । तपाईंलाई मरियमको आवश्यकता पर्दैन । तपाईंलाई अरु कसैको आवश्यकता पर्दैन । तपाईं सिधै येशूकहाँ जान सक्नुहुन्छ, र उहाँ मार्फत पिताकहाँ जान सक्नुहुन्छ । तर हामी पनि गल्ती गर्न सक्छौं, जसरी यूहन्नाले गरे । प्रकाश २२ मा, हामी यस शक्तिशाली स्वर्गदूतको विश्वासयोग्यता पनि देख्छौं । उसले भन्छ, "त्यसो नगर; मेरो आराधना नगर ।"
कहाँ छन् ती प्रचारकहरु, पास्टरहरु र ख्रीष्टियान अगुवाहरु जसले अरु ख्रीष्टियानहरुलाई आफूसँग जोडिन दिँदैनन्, जसले तिनीहरुलाई टाढा धकेल्छन् र भन्छन्, "मसँग नलाग, ख्रीष्ट आफैंसँगै जोडिन खोज" ? त्यो परमेश्वरको साँचो मानिस हो जसलाई तपाईं कुनै पनि डर बिना पछ्याउन सक्नुहुन्छ - जसले तपाईंलाई उहाँसँग नजिकिन दिन अस्वीकार गर्छ र तपाईंको लागि परमेश्वरको इच्छा खोज्न अस्वीकार गर्छ तर तपाईंलाई भन्छ, "परमेश्वर तपाईंको पिता हुनुहुन्छ । सिधै उहाँकहाँ जानुहोस्, र उहाँले तपाईंलाई आफ्नो इच्छा देखाउनुहुनेछ ।" किनकि हिब्रू ८ः११ मा परमेश्वरको नयाँ करारको प्रतिज्ञा छ, "तिनीहरुले हरेक मानिसलाई, आफ्नो भाइलाई 'प्रभुलाई चिन' भनेर सिकाउने छैनन्, तर साना देखि ठूलासम्म सबैले मलाई चिन्नेछन् ।" यसको अर्थ यो हो कि नयाँ जन्म पाएको व्यक्ति, ख्रीष्टमा एक बच्चा, परमेश्वरको सबैभन्दा महान्, शक्तिशाली सेवकसम्म, सबैले उहाँलाई व्यक्तिगत रुपमा चिन्न सक्छन् । त्यसैले स्वर्गदूतले भन्छ, "मेरो आराधना नगर । म तिम्रा दाजुभाइहरु मध्ये एक हुँ, म एक सहकर्मी सेवक हुँ, र तिमीले परमेश्वरको आराधना गर्नुपर्छ ।"