WFTW Body: 

मत्ती ६ः५-८ मा हामीलाई कसरी प्रार्थना नगर्ने भनेर सिकाउनुभएपछि - कपटीहरुले जस्तो होइन, अर्थहीन तवरले दोहोर्‍याएर होइन, र प्रार्थनाको लम्बाइले होइन, तर हाम्रो पितालाई हामीलाई के चाहिन्छ भनेर थाहा छ भनी विश्वास गर्दै - येशूले हामीलाई कसरी प्रार्थना गर्ने भनेर बताउनुहुन्छ । मैले देख्छु, जस्तै मैले ख्रीष्टियानहरुलाई देखेको छु, येशूका यी साधारण भनाइहरुमा धेरै कम मानिसहरुले ध्यान दिन्छन्, जुन एक बच्चाले पनि बुझ्न सक्छ । उहाँले हामीलाई प्रार्थना कसरी नगर्ने भनेर सिकाउनुभयो, र धेरै मानिसहरुले यसलाई गम्भीरतापूर्वक लिएका छैनन्, र उहाँले हामीलाई प्रार्थना कसरी गर्ने भनेर सिकाउनुभएको छ, र यति धेरै मानिसहरुले पनि गम्भीरतापूर्वक लिएका छैनन् ।

उहाँले हामीलाई आँखा चिम्लेर दोहोर्‍याउनुपर्ने प्रार्थना दिइरहनुभएको थिएन । यदि तपाईंले हरेक वाक्यलाई साँच्चिकै भन्नुभएको हो भने त्यसलाई दोहोर्‍याउनुमा कुनै हानि छैन । तर येशूले हामीलाई हाम्रा सबै प्रार्थनाहरु हुनुपर्ने विशेषता भएको नमूना सिकाउँदै हुनुहुन्थ्यो ।

येशूले भन्नुभयो जब तिमी प्रार्थना गर्छौ, यसरी प्रार्थना गर - "स्वर्गमा हुनुहुने हाम्रा पिता" । येशूले भन्नुभएको पहिलो कुरा यो हो कि जब तपाईंले परमेश्वरसँग कुरा गर्नुहन्छ, उहाँलाई पिता भनेर बोलाउनुहोस् । पुरानो नियममा कसैले पनि परमेश्वरलाई हेरेर "पिता" भन्ने हिम्मत गर्न सक्दैनथ्यो । पुरानो नियमको प्रार्थना सधैं, "हे परमेश्वर, सर्वशक्तिमान प्रभु, आदि" हुन्थ्यो किनभने परमेश्वर ब्रम्हाण्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो र उहाँका मानिसहरु कारखानाका साना मानिसहरु जस्तै थिए । तपाईं प्रमुख कार्यकारी अधिकृतसँग आफूलाई मन लागेको तरिकाले कुरा गर्न सक्नुहुन्न । तर नयाँ करारमा, हामी परमेश्वरका सन्तानहरु हौं, र एक प्रमुख कार्यकारी अधिकृतको छोरा जसरी उसको बुबाको कार्यालयमा हिँड्न सक्छ र उहाँलाई "बुबा" भन्नसक्छ, त्यसरी नै हामीले परमेश्वरको सन्तान हुनुको विशेषाधिकार बुझ्नु आवश्यक छ । यो मौलिक रुपमा फरक छ !

यद्यपि, धेरैजसो ख्रीष्टियानहरुको सन्दर्भमा यो सत्य हो कि तिनीहरुले परमेश्वरलाई "पिता" भनेर पुकार्दैनन्; तिनीहरुले उहाँलाई "हे परमेश्वर" भनेर पुकार्छन् । यसमा केही गलत छैन । उहाँ परमेश्वर हुनुहुन्छ, र उहाँलाई परमेश्वर भनेर सम्बोधन गर्नु सही छ; तर यदि तपाईंले उहाँलाई केवल परमेश्वर भनेर सम्बोधन गर्नुहुन्छ तर पिताको रुपमा चाहिँ होइन, त्यहाँ केही कुरा गलत छ ।

पुरानो नियममा, परमेश्वरको एउटा नाम थियो, यहोवा (अथवा याहवे (यसको सही उच्चारण कसैलाई थाहा छैन किनभने हिब्रू वर्णमालामा कुनै स्वर व्यञ्जनहरु थिएनन्)) । जहाँसम्म मेरो कुरा छ, यो एकदमै महत्वहीन छलफल हो, किनकि म परमेश्वरलाई यहोवा वा याहवे भन्दिन ! म उहाँलाई बुबा भन्दछु ।

उहाँ मेरो पिता हुनुहुन्छ किनभने येशूले हामीलाई "हाम्रा पिता" भन्दै प्रार्थना गर्न सिकाउनुभयो । रोमी ८ मा, हामी सिक्छौं कि पवित्र आत्मा हाम्रो हृदयमा आउनुहुन्छ र "अब्बा ! पिता !" भनी कराउनुहुन्छ (रोमी ८ः१५) । तैपनि यदि तपाईंले मानिसहरुले गाउने केही गीतहरु हेर्नुभयो भने, जस्तै "मलाई मार्गदर्शन गर्नुहोस्, तपाईं हे महान् यहोवा," के तिनीहरु आफ्नो पितासँग कुरा गर्दैछन् ? उहाँ यहोवा हुनुहुन्छ, तर हामीले उहाँलाई हाम्रो पिताको रुपमा सम्बोधन गर्न सिक्नुपर्छ ।

यदि मेरा छोराछोरीहरु मेरो नजिक आएर "श्री पूनेन" भने भने, मलाई लाग्नेछ कि उनीहरुमा केही गडबडी छ । उनीहरुले किन मलाई श्री पूनेन भनेर बोलाइरहेका छन् ? उनीहरुले मलाई बुबा भनेर बोलाउनुपर्छ । जब म परमेश्वर कहाँ आउँछु, म उहाँलाई यहोवा वा याहवे भन्दिन, यद्यपि त्यो उहाँको नाम हो । म "पिता" भन्छु किनभने उहाँ मेरो पिता हुनुहुन्छ । म उहाँको सन्तान भएको छु ।

परमेश्वरको सन्तान बनाइएको त्यो वास्तविकताले धेरै ख्रीष्टियानहरुलाई प्रहार गरेको छैन, र यो किनभने तिनीहरुले आफूलाई पवित्र आत्माको अगाडि सुम्पँदैनन् । जब पवित्र आत्माले कुनै व्यक्तिलाई भर्नुहुन्छ, उहाँले गर्नुहुने पहिलो काम भनेको उसलाई "अब्बा पिता" भनेर कराउन लगाउनु हो, जसको अर्थ हो "बुबा" । के तपाईंलाई पनि यस्तो भएको छ ? यो धेरै नै महत्वपूर्ण छ । यो यस्तो कुरा होइन जुन कसैले तपाईंलाई भन्न तालिम दिन्छ । यो स्वचालित, एक भित्री पुकार हो । त्यो भित्री वास्तविकता तब आउँछ जब पवित्र आत्मा एक व्यक्तिको हृदयमा आउनुहुन्छ, जब ऊ नयाँ गरी जन्मन्छ । यदि ऊ आत्माले भरिएको छ भने, उसले साँच्चै परमेश्वरलाई आफ्नो पिताको रुपमा चिन्छ । ख्रीष्टियान जीवनमा सबैभन्दा महत्वपूर्ण कुराहरु मध्ये एक हो, परमेश्वरलाई पिताको रुपमा चिन्नु र उहाँलाई पिता भन्नु । तपाईं उहाँलाई प्रभु भन्न सक्नुहुन्छ, र तपाईंले उहाँलाई परमेश्वर भनी भन्न सक्नुहुन्छ । तर तपाईंले प्रार्थना मुख्यतया "अब्बा पिता" लाई गर्नुपर्ने हो ।

हाम्रा पिता मात्र होइन, तर येशूले "स्वर्गमा हुनुहुने हाम्रा पिता" लाई प्रार्थना गर्न भन्नुभयो । हामीले कुनै पार्थिब पितालाई प्रार्थना गरिरहेका छैनौं । मेरो पार्थिव पिताले मलाई धेरै माया गर्न सक्नुहोला, तर उहाँ कठिन परिस्थितिमा मलाई मद्दत गर्न असहाय हुनसक्नुहुनेछ । स्वर्गमा हुनुहुने मेरो पिता असहाय हुनुहुन्न; उहाँले ब्रम्हाण्ड चलाउनुहुन्छ । उहाँ भारतको प्रधानमन्त्री भन्दा धेरै शक्तिशाली हुनुहुन्छ ! तपाईंको पिता भारतको प्रधानमन्त्री भएको सोच्नुहोस् त । यदि तपाईंलाई कुनै समस्या भएको भए, तपाईंको आफ्नो बुबालाई फोन गरेर यसबारे बताउनु पथ्र्योे । ठीक हो, तपाईंको स्वर्गमा बस्नुहुने बुबा यस संसारका जोकोही भन्दा पनि सामर्थी र शक्तिशाली हुनुहुन्छ । तपाईं आफ्ना समस्याहरु लिएर उहाँकहाँ किन जानुहुन्न ?

येशूले यस प्रार्थनाको पहिलो वाक्यमा विश्वासको आधार तयार पार्न खोज्दै हुनुहुन्थ्यो । "स्वर्गमा हुनुहुने हाम्रा पिता" ले प्रार्थना सुरु गर्नुभन्दा पहिले मेरो हृदयमा यो कुरा स्पष्ट पार्छ कि म जससँग कुरा गर्दैछु उहाँ मेरो स्वर्गीय पिता हुनुहुन्छ, एक पिता जसले मलाई गहिरो प्रेम गर्नुहुन्छ । यो पिता स्वर्गमा हुनुहुन्छ, र उहाँ सर्वशक्तिमान हुनुहुन्छ । यी दुई सत्यहरु, परमेश्वरले मलाई असाध्यै प्रेम गर्नुहुन्छ, उहाँ परमेश्वर शक्तिशाली हुनुहन्छ, मेरो विश्वासको आधार हुन् । उहाँले कुनै पनि समस्या समाधान गर्न सक्नुहुन्छ - उहाँले जे पनि गर्न सक्नुहुन्छ - र उहाँले मलाई असाध्यै प्रेम गर्नुहुन्छ । यो विश्वासको सबैभन्दा ठूलो आधार हो ।

त्यसपछिका छ वटा अनुरोधहरुमा, यदि तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने, तपाईंले याद गर्नुहुनेछ कि पहिलो तीन अनुरोधहरु परमेश्वरसँग सम्बन्धित छन् । जब तपाईं प्रार्थनामा परमेश्वर कहाँ जानुहुन्छ, तपाईंको पहिलो अनुरोध के हुन्छ ? यो लगभग सँधैं आफ्नो वा परिवारको लागि भएको तपाईंले पाउनुहुनेछ । "प्रभु यो आवश्यकता पूरा गरिदिनुहोस्," वा "मेरो ढाड दुखाई निको पारिदिनुहोस्," वा "मलाई जागिर दिनुहोस्," वा "मेरा बच्चाहरुको हेरचाह गर्नुहोस्ः उनीहरुलाई जागिर र विवाहको लागि जोडी प्रदान गरिदिनुहोस्," आदि । यी अनुरोधहरुमा कुनै गल्ती छैन । हामी यी सबै कुराहरुको लागि निश्चित रुपमा प्रार्थना गर्न सक्छौं । परमेश्वरले चाहनुहुन्छ कि हामी हरेक सानो कुराको लागि, साना वस्तुहरुका लागि पनि उहाँकहाँ गएको । यदि तपाईंले आफ्नो साँचोहरु हराउनुभएको छ भने पनि, तपाईंले ती साँचोहरु फेला पार्न मद्दत गर्नुहोस् भनी परमेश्वरसँग अनुरोध गर्नसक्नुहुन्छ ।

तपाईं परमेश्वरसँग हरेक सानो र ठूलो कुरा माग्न सक्नुहुन्छ, तर तपाईं कुनचाहिँलाई प्राथमिकता दिनुहुन्छ ? येशूले भन्नुभयो कि जब तपाईंले प्रार्थना गर्नुहुन्छ, तपाईंले आफ्नो प्राथमिकतामा परमेश्वर र उहाँको आवश्यकतालाई राख्नुपर्छ । "सबैभन्दा पहिले परमेश्वरको राज्यको खोजी गर्नुहोस्" को अर्थ यही हो । येशूले मत्ती ६ः३३ मा यसो भन्नुहुन्छ, "पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी अन्य पार्थिव कुराहरु तिमीहरुमा थपिनेछन् ।" तपाईं ती कुराहरु माग्न सक्नुहुन्छ, तर परमेश्वरको राज्यलाई पहिलो स्थानमा राख्नुहोस्; यही परमेश्वरको तरिका हो ।

येशूले भन्नुहुन्छ कि तपाईंको पहिलो अनुरोध यस्तो हुनुपर्छ, "परमेश्वर, स्वर्गमा हुनुहुने मेरा पिता, तपाईंको नाम पवित्र गरियोस् । मानिसहरुले मेरो नामको बारेमा के भन्छन् भन्ने कुरालाई वास्ता नगर्नुहोस् । त्यो महत्वहीन छ, किनकि मेरो प्रतिष्ठा रद्दीको टोकरीको लागि उपयुक्त छ ।" के तपाईं परमेश्वरको नाम भन्दा आफ्नो नाम र आफ्नो प्रतिष्ठाको बारेमा बढी चिन्तित हुनुहुन्छ ? त्यसोभए येशूले हामीलाई सिकाउनुभए झैं तपाईंले प्रार्थना गरिरहनुभएको छैन । मानौं कसैले तपाईंलाई वा तपाईंको छोरीलाई कलंकित गर्यो, के यसले तपाईंलाई हाम्रो देशमा येशूको नाम अपमानित हुने कुराले भन्दा बढी चिन्तित बनाउँछ ? ख्रीष्टियानहरुले एकअर्कासँग झगडा गर्नु र धेरै गलत काम गर्नुले हामीलाई त्यति चिन्तित पार्दैन । यदि त्यसले हामीलाई पटक्कै सताउँदैन भने, परमेश्वरसँग पिताको रुपमा हाम्रो सम्बन्ध छ कि छैन भन्ने कुरा सोच्न म बाध्य हुन्छु । यदि तपाईं आफ्नो नाम, आफ्नो परिवारको नाम र आफ्ना छोराछोरीहरु (मानिसहरुले तिनीहरुका बारेमा के भन्दछन्) बारे चिन्तित हुनुहुन्छ भने, तपाईंले आफ्नो सोंचलाई पुनस्र्थापित गर्न र यसलाई परमेश्वरमा केन्द्रित गर्न आवश्यक छ ।

येशूले प्रार्थनालाई धेरै महत्व दिनुभयो । लूका १८ः१ मा येशूले भन्नुभएको एउटा कुरा यही थियो कि मानिसहरुले सधैं प्रार्थना गर्नुपर्छ र हार मान्नु हुँदैन - निराश हुनु हुँदैन । प्रार्थनाको बारेमा उहाँले दिनुभएका दुईवटा दृष्टान्तहरुमा येशूले दृढताको बारेमा कुरा गर्नुभयो । यसको एउटा उदाहरण, लूका १८ः१-८ मा विधवा न्यायधीश कहाँ गएको, जसले आफ्नो शत्रुहरुको अगाडि न्याय नपाउन्जेल निरन्तर प्रार्थना गरिरहिन् । उनको प्रार्थना शैतान र हाम्रो शरीरमा रहेका वासनालाई जित्नको लागि हो । अर्को उदाहरण लूका ११ः५-१३ मा छ, जहाँ येशूले परमेश्वरसँग रोटी माग्ने बारेमा कुरा गर्दै हुनुहुन्थ्यो - हामीकहाँ आउने खाँचोमा परेको अर्को व्यक्तिलाई मद्दत गर्ने शक्ति र वरदानको लागि । दुबै दृष्टान्तहरुमा, दृढ रहने कुराको बारेमा जोड दिइएको छ; व्यक्तिले रोटी नपाउन्जेलसम्म ढक्ढक्याइरहन्छ, प्रार्थनाको बारेमा येशूको पूर्ण शिक्षा कहिल्यै हार नमान्नु हो ! परमेश्वर तपाईंको पिता हुनुहुन्छः उहाँले तपाईंको आवश्यकता पूरा गर्नुहुनेछ, उहाँले तपाईंको लागि शत्रुहरुलाई जित्नुहुनेछ, र अरुलाई आशिर्वाद दिन तपाईंलाई आवश्यक पर्ने सबै कुरा उहाँले तपाईंलाई दिनुहुनेछ । हामीले प्रार्थना र विश्वाससाथ परमेश्वरकहाँ जानुपर्छ, यो विश्वास गर्दै कि उहाँले हामीलाई उहाँको महिमाको लागि मागेको कुरा दिनुहुनेछ, आमेन ।