परमेश्वरको वचनले भन्छ कि पतिहरुले आफ्ना पत्नीहरुलाई कसरी प्रेम गर्नुपर्छ भन्ने कुराको उदाहरणको रुपमा मण्डलीप्रतिको येशूको प्रेमलाई हेर्नुपर्छ (एफिसी ५ः२५) । दश प्रतिशत इमानदारीता भएका कुनै पनि पतिले स्वीकार गर्नेछन् कि त्यो वचन पालन गर्न जीवनभर लाग्छ । त्यो हासिल गरिसकेको कुनै पनि पुरुष छैन । दुःखको कुरा यो हो कि धेरैजसो विश्वासीहरुले यो प्राप्त गर्न प्रयास पनि गरिरहेका छैनन् । यदि हामीले प्रयास पनि गरिरहेका छैनौं भने हामी कहिल्यै पनि यो पालन गर्नेछैनौं । बाइबलले "सिद्धतातर्फ अगि बढ" भन्नुको अर्थ यही हो । पतिहरुको एउटा कर्तव्य छः आफ्ना पत्नीहरुलाई ख्रीष्टले मण्डलीलाई प्रेम गरेझैं प्रेम गर्ने । तिनीहरुले यस क्षेत्रमा पूर्णतातर्फ अगि बढ्नुपर्छ ताकि प्रत्येक वर्ष उनीहरुले आफ्ना पत्नीहरुलाई अझ पूर्ण रुपमा प्रेम गरेको पाउन सकून्, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र उनलाई पवित्र पार्नको लागि आफूलाई अर्पण गर्नुभयो ।
जब ख्रीष्टले मण्डलीमा असफलता देख्नुभयो, उहाँले त्यो असफलतालाई कसरी सच्याउनुभयो ? धेरैजसो पतिहरुले गर्ने तरिकाले होइन । धेरैजसो पतिहरुले आफ्ना पत्नीहरुमा भएको असफलतालाई "तिमीहरु ठीकसँग व्यवहार गरिरहेका छैनौं" जस्ता कडा, कठोर शब्दहरु वा त्यस्तै अन्य दुष्ट शब्दहरु प्रयोग गरेर सच्याउन खोज्छन् । येशूले त्यसो गर्नुभएन । जब उहाँले मण्डलीलाई दाग वा चाउरी बिना सिद्ध, पवित्र र निर्दोष बनाउन चाहनुभयो, उहाँले के गर्नुभयो ? उहाँले उसलाई पवित्र बनाउन आफ्नो जीवन त्याग गर्नुभयो । के तपाईंले आफ्नी श्रीमतीको लागि कहिल्यै त्यसो गर्ने सोच्नुभएको छ ? त्यो परमेश्वरको तरिका हो । सम्पूर्ण मानवजाति उल्टो छ, विपरीत दिशामा गइरहेको छ । तपाईंले परमेश्वरको तरिका पछ्याउँदा तपाईंको विवाह राम्रोबाट उत्कृष्ट हुनेछ । जब तपाईं एक पतिको रुपमा आफ्नी श्रीमतीमा गल्ती देख्नुहुन्छ, तपाईंले येशूलाई पछ्याउनु पर्छ । तपाईंले आफ्नो वरपरका सबै मानिसहरुले गरिरहेको जस्तो गर्नु हुँदैन ।
त्याग्न सबैभन्दा गाह्रो कुरा हाम्रो अहंकार हो, यो पहिचान जसलाई "म" भनिन्छ, सिंहासनमा बस्ने महत्वपूर्ण व्यक्ति हो । जब उसकी श्रीमतीले अपेक्षा गरेजस्तो काम गर्दिनन् तब उनी सिंहासनमा बस्ने राजाले झैं रिसाउँछन् र दुखित हुन्छन् । यो तपाईंको 'आत्म' हो जुन उनलाई पवित्र बनाउनको लागि त्याग्नु आवश्यक छ । दुर्भाग्यवश, केही पतिहरु मात्र यस बाटोमा जान इच्छुक छन् । तपाईं यस बाटोमा नजाँदा तपाईंको विवाह अवश्य पनि तल झर्दै जानेछ । तर यदि तपाईं साँच्चै यसरी जान इच्छुक हुनुहुन्छ भने, तपाईंले आफ्नी श्रीमतीलाई प्रेम गर्न खोज्नु पर्छ र यसलाई गम्भीरतापूर्वक लिनु पर्छ । प्रेमको अर्थ शब्दकोशमा नखोज्नुहोस् । बरु ख्रीष्टको उदारहणमा प्रेमको अर्थ खोज्नुहोस्, तपाईंको सम्बन्धमा ख्रीष्टले जस्तै मर्न तयार हँुदै । यो पतिहरुको रुपमा हाम्रो बोलावट हो ।
येशू हाम्रो अगुवा हुनुहुन्छ, तर संसारले नेतृत्व बुझेको अर्थमा होइन । के तपाईंलाई थाहा छ पृथ्वीमा उहाँको अन्तिम दिनहरुमा हामी येशूलाई कहाँ भेट्टाउँछौं ? उहाँकी दुलहीको चरणमा, उनको खुट्टा धुँदै । अर्को शब्दमा, यदि पति पूर्णताको उचाइमा पुगेको छ भने, ऊ आफ्नी पत्नीको चरणमा हुनेछ, उनको खुट्टा धुँदै, उनलाई मद्दत गर्दै, र उनलाई पवित्र बनाउनको लागि शुद्ध पार्दै । उनको खुट्टा धुनुको अर्थ के हो ? यो फोहोर काम गर्नु हो । अवश्य पनि , त्यहाँ मूर्ख पत्नीहरु छन् जसले यसको फाइदा उठाउँछन् र आफ्ना पतिहरु माथि प्रभुत्व जमाउँछन् । येशू मानिसहरु हिँडेर जानको लागि ढोकाको मुखमा राख्ने चट्टाई हुनुहुन्थेन, हुनुहुन्थ्यो त ? जब हामी भन्छौं कि पतिले आफ्नी पत्नीको खुट्टा धुनुपर्छ र फोहोर काम गर्नुपर्छ, केही महिलाहरुले गलत बुझ्छन् । तिनीहरुका पतिहरु सबै प्रकारका अनौठा, फोहोर काम गर्ने नोकरको रुपमा समाप्त हुन्छन् । मेरो मतलब त्यो होइन । येशू ढोकाको मुखमा राख्ने चट्टाई हुनुहुन्थेन । यदि तपाईंले येशूलाई आफ्ना चेलाहरुसँग बसिरहेको भेट्टाउनुभयो भने, अगुवा को हो भन्ने कुरामा कुनै शंका हुनेछैन । त्यहाँ स्पष्ट नेतृत्व थियो । तपाईं कहिल्यै पनि सोच्नुभएको थिएन होला कि पत्रुस र मत्ती अगुवा थिए । पतिहरुको पनि यही स्थान हुनुपर्छ । अगुवा र सेवक हुनुको सावधानीपूर्ण सन्तुलन हामीले येशूबाट सिक्नुपर्छ । त्यस्तो प्रकारको नेतृत्वको लागि तपाईंलाई बुद्धि चाहिन्छ, जुन प्रभुले मात्र प्रदान गर्न सक्नुहुन्छ, यदि तपाईंले उहाँसँग प्रार्थनामा माग्नुभयो भने ।
येशू एक गोठालो हुनुहुन्छ जो आफ्नो बगालको अघिअघि जानुहुन्छ । उहाँले तिनीहरुलाई पछाडिबाट लात हान्नुहुन्न । येशूले धेरै उपदेश दिनुभएन । उहाँ आफ्नी दुलहीको लागि अनुसरण गर्नुपर्ने उदाहरण हुनुहुन्थ्यो । पति त्यस्तै हुनुपर्छ, येशू जस्तै उदाहरण, आफ्नी पत्नीलाई डार्याउने गोठालो । जब तपाईंकी श्रीमती ठेस खान्छिन्, मेरो प्रिय भाइ, आफैंलाई सोध्नुहोस्, 'के म मेरा भेडाहरुलाई, मेरी श्रीमतीलाई, जसलाई परमेश्वरले मलाई सुम्पनुभएको छ, सही तरिकाले डोर्याइरहेको छु ?' तपाईंकी श्रीमतीको पछाडि अरु साना थुमाहरु-बच्चाहरु आउनेछन् । तिनीहरु सबै एउटै मानिस, गोठालोमा निर्भर छन् । यदि पतिमा आत्म-नियन्त्रण छैन भने, भेडा र थुमाहरुले कसरी व्यवहार गर्ने आशा गर्नुहुन्छ ? यदि उसले डर र कम्पनका साथ आफ्नो मुक्तिको लागि काम गरिरहेको छैन, र यदि उसले येशूलाई पछ्याएको छैन भने, घर कुन दिशामा जानेछ ? परमेश्वरले चाहनुभएको दिशाको विपरीत दिशामा, बाँकी मानवजाति जस्तै ।
त्यसोभए, यदि हामी विवाहलाई राम्रोबाट उत्कृष्ट बनाउन चाहन्छौं भने, हामीसँग त्यस्ता पतिहरु हुनुपर्छ जसले येशूलाई पछ्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छन् । यो उनको शौख, उनको जीवनभरको जोश, उनको पूर्ण-समय जागिर पनि हुनुपर्छ, केवल कहिलेकाहीं मात्र गर्ने काम होइन जुन उनले मण्डलीको सभामा गर्छन् । यस प्रकारको विवाह चेलाहरुको लागि हो, केवल ती व्यक्तिहरुको लागि होइन जो मरेर स्वर्ग जान चाहन्छन् ।