द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च चेलाहरू
WFTW Body: 

मण्डली ख्रीष्टको शरीर हो र यो केवल हरेक हप्ता जम्मा हुने विश्वासीहरुको भेला मात्र होइन । हामीले यो सुनिश्चित गर्नुपर्छ कि हामीले निर्माण गरिरहेको शरीर त्यो नै हो, केवल "धार्मिक ख्रीष्टियान समूह" मात्र होइन । कुनै पनि मानिसले धार्मिक समूह आयोजना गर्न सक्छ । यद्यपि, ख्रीष्टको शरीर निर्माण गर्न परमेश्वरबाट अनुग्रह र अभिषेक चाहिन्छ - र यसको लागि हामीले आफूलाई इन्कार गर्नुपर्छ, दैनिक मर्नुपर्छ, र पवित्र आत्माले भरिनुपर्छ ।

पुरानो करार अन्तर्गत इस्राएलीहरु एउटा जमात थिए, शरीर थिएनन् । आज पनि धेरै ठूला मण्डलीहरु जमात हुन्, शरीर होइनन् । केही साना घरेलु मण्डलीहरु अलि राम्रा छन् - तिनीहरु क्लब हुन् तर शरीर होइनन् । तर येशूले आफ्नो शरीर निर्माण गर्दै हुनुहुन्छ ।

ख्रीष्टको पहिलो शरीर मानिसले डुँड (गाईवस्तुको लागि दाना खाने कुण्ड) मा सुतिरहेको देखेको थियो । त्यो अपमानजनक जन्मको निन्दा नै गोठालाहरुले ख्रीष्टको शरीरलाई चिन्ने संकेत थियो (लूका २ः१२ हेर्नुहोस्) । फेरि पनि, निन्दाको रुपमा, ख्रीष्टको शरीर अन्ततः कलवरीमा एक अपराधीको क्रुसमा झुन्ड्याइयो । जन्मदेखि मृत्यसम्म, ख्रीष्टको पहिलो शरीरलाई धर्मनिरपेक्ष संसारका साथै धर्मको संसारबाट पनि निन्दाको पहिचान दिइयो ।

आज ख्रीष्टको शरीरको कुनै पनि साँचो अभिव्यक्तिले संसार र बेबिलोनी ख्रीष्टियान जगतबाट उस्तै निन्दा भोग्नेछ । यदि हाम्रो स्थानीय मण्डलीमा 'ख्रीष्टको निन्दा' को त्यस्तो आवरण छैन भने, हुनसक्छ हामी सम्झौतावादी बनेका छौं, र 'बेबिलोनको छाउनी बाहिर' गएका छैनौं (हिब्रू १३ः१३) । यद्यपि ख्रीष्टको निन्दा र हाम्रो आफ्नै पाप वा मूर्खता वा मनतातोपनको परिणामस्वरुप हुने कुनै पनि निन्दा बीच ठूलो भिन्नता छ । हामीले एउटालाई अर्को ठानेर गल्ती गर्नु हुँदैन ।

येशूको बारेमा लेखिएको थियो कि "उहाँमा कुनै आकर्षण थिएन ..... उहाँ घृणित र अपमानित हुनुभयो" (यशैया ५३ः२,३) । उहाँको महिमा उहाँको भित्री जीवनमा थियो - अनुग्रह र सत्यताले भरिएको - जुन धेरैजसो मानिसहरुबाट लुकेको थियो (यूहन्ना १ः१४) । हाम्रा स्थानीय मण्डलीहरु पनि आकर्षक हुनुहुँदैन - न त संसारको लागि न त बेबिलोनी ख्रीष्टियान जगतको लागि । मण्डली केवल ती व्यक्तिहरुका लागि आकर्षक हुनुपर्छ जो इश्वरीय जीवनको खोजीमा भित्र आउँछन् । पवित्र वासस्थानको पाल भित्रपट्टि सुन्दर पर्दाहरु थिए । तर बाहिरी आवरण गाढा खैरो भेडाको छालाले बनेको थियो जुन धुलो र माटोले ढाकिएको थियो । सुन्दरता सबै पाल भित्रको भित्री पर्दामा थियो । ख्रीष्टकी दुलही पनि "आफ्नो भित्री जीवनमा महिमित" छिन् (भ.सं. ४५ः१३) । अनि "त्यसको भित्री महिमामाथि (निन्दाको) आवरण हुनेछ" (यशैया ४ः५) ।

यो त्यही ठाउँ हो जहाँ मण्डलीका अगुवाहरुको ठूलो जिम्मेवारी हुन्छ । तिनीहरुले मण्डलीलाई अगाडि बढाउने तरिकाले मण्डली मानिसहरुले सम्मान नगरेका येशू जस्तै हुनेछ कि हुनेछैन, वा संसारले प्रशंसा र सम्मान गर्नेछ कि गर्नेछैन भन्ने कुरा निर्धारण गर्नेछ । यदि हामीले संसारबाट वा अन्य शारीरिक वा प्राणमा सिमित ख्रीष्टियानहरुबाट प्रशंसा खोज्यौं भने, हामी निश्चितरुपमा बेबिलोनको निर्माण गर्नमा सिमित रहनेछौं । जब हामी सामान्यतया ख्रीष्टियान जगतमा लोकप्रिय र स्वीकृत हुन्छौं, हामी निश्चित हुनसक्छौं कि हामीले येशूको पाइला पूर्णरुपमा छुटाएका छौं ।

येशूले भन्नुभयो, "धन्य हौ तिमीहरु जब मानिसहरुले मेरो खातिर तिमीहरुको निन्दा गर्नेछन् र खेदो गर्नेछन्, र झुटा बोलेर तिमीहरुका विरुद्धमा सबै किसिमका खराब कुरा भन्नेछन् । रमाओ र खुसी होओ, तिमीहरु भन्दा अघिका अगमवक्ताहरुलाई तिनीहरुले त्यसरी नै सताए" (मत्ती ५ः११, १२) । हेरोद र उनका सिपाहीहरु २० शताब्दी अघि ख्रीष्टको त्यो पहिलो शरीर, बालक येशूलाई मार्न उत्सुक थिए । आज धेरै ठाउँहरुमा ख्रीष्टको शरीरको सुरुवातलाई नष्ट गर्न उत्सुक धेरै छन् । परमेश्वरको आवाज प्रति संवेदशील भएर र परमेश्वरले भन्नुभएको कुरा छिटो पालन गरेर योसेफले त्यो शरीरलाई सुरक्षित राखे (मत्ती २ः१३-१५) । ख्रीष्टको मण्डलीमा जिम्मेवारी पाएका हामीहरु पनि योसेफ जस्तै हुनुपर्छ । हामी 'श्रोता' हुनुपर्छ - पवित्र आत्माले हामीलाई भन्नुभएको कुरा सुन्ने, र हामीलाई भनिएको कुरा पालन गर्नमा छिटो हुनुपर्छ । यदि हामीले सुनेनौं र पालन गरेनौं भने, हाम्रो इलाकामा रहेको ख्रीष्टको शरीरले कुनै न कुनै रुपमा क्षति भोग्नेछ - र अन्तिम दिनमा हामी यसको लागि जिम्मेवार हुन सक्छौं । यस विषयमा हामीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्छ, किनकि हाम्रो जिम्मेवारीमा समर्पित प्रत्येक आत्माको लागि हामीले परमेश्वरलाई लेखा दिनुपर्छ (हिब्रू १३ः१७) ।