“ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको लागि आफूलाई अर्पण गर्नुभयो”(एफिसी ५ः२५) । मण्डली निर्माण गर्न, जसरी येशूले मण्डलीलाई प्रेम गर्नुभयो त्यसरी नै हामीले मण्डलीलाई प्रेम गर्नुपर्दछ । हाम्रो पैसा वा समय दिनु मात्र पर्याप्त छैन । हामीले आफैंलाई – हाम्रो आफ्नै जीवन दिनुपर्छ । जब परमेश्वरले मानिसप्रति आफ्नो प्रेमको वर्णन गर्न चाहनुभयो, उहाँले आफ्नो प्रेमलाई केवल एउटा पार्थिव उदाहरणसँग तुलना गर्न सक्नुभयो – भर्खरै जन्मेको बच्चाको लागि आमाको प्रेम (यशैया ४९ः१५ हेर्नुहोस्) । यदि तपाईंले आमालाई हेर्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि उनको बच्चाको लागि उनको प्रेम पूर्णरुपमा बलिदानको आत्माले भरिएको हुन्छ । बिहान सबेरै देखि राति अबेरसम्म, र रातभरि एउटी आमाले आफ्नो बच्चाको लागि बलिदान, बलिदान, र बलिदान दिन्छिन्; र बदलामा उनीले केही पाउँदिनन् । उनी आफ्नो बच्चाको लागि वर्षौं वर्ष पीडा र असुविधा सहन्छिन्, खुशी साथ, बदलामा केही आशा राख्दिनन् । परमेश्वरले हामीलाई पनि त्यस्तै प्रेम गर्नुहुन्छ । र यही आचरण उहाँले हामीलाई प्रदान गर्न चाहनुहुन्छ । तर संसारमा कतै पनि त्यस्तो संगती भेट्टाउन असम्भव छ जसको बारेमा इमान्दारीपूर्वक भन्न सकियोस् कि तिनीहरु सबैले एक अर्कालाई त्यस्तै प्रेम गर्छन् । धेरैजसो विश्वासीहरु आफूसँग सहमत हुने र आफ्नो समूहमा सामेल हुनेहरुलाई मात्र कसरी प्रेम गर्ने भनेर जान्दछन् । तिनीहरुको प्रेम मानवीय छ र आमाहरुको बलिदानपूर्ण प्रेमबाट धेरै टाढा छ !! तैपनि, ईश्वरीय प्रेम त्यो लक्ष्य हो जसको लागि हामीले प्रयास गर्नुपर्छ । एउटी आमालाई आफ्ना वरपरका अरुले आफ्नो बच्चाको लागि केही त्याग गरिरहेका छन् कि छैनन् भन्ने कुराको वास्ता हुँदैन । उनी खुशीसाथ आफ्नो सबैकुरा त्याग गर्छिन् । त्यसैगरी, मण्डलीलाई आफ्नो बच्चाको रुपमा हेर्ने व्यक्तिलाई आफ्नो वरपरका अरुले मण्डलीको लागि केही त्याग गरिरहेका छन् कि छैनन् भन्ने कुराको केही वास्ता हुँदैन । उसले खुशीसाथ आफूलाई बलिदान दिनेछ, र उसलाई अरु कसैसँग कुनै गुनासो वा माग हुनेछैन । मण्डलीका लागि अरुले त्याग गरिरहेका छैनन् भनेर गुनासो गर्नेहरु आमा होइनन् तर भाडामा लिइएका नर्सहरु हुन् । त्यस्ता नर्सहरुको काम गर्ने समय निश्चित हुन्छ, र अर्को ८ घण्टाको सिफ्टको लागि नर्स समयमै नआउँदा गुनासो पोखाउनेछन् । तर आमाले हरेक दिन ८ घण्टाको सिफ्टमा काम गर्दिनन् । उनी हरेक वर्ष २४ घण्टाको सिफ्टमा काम गर्छिन् – र उनीलाई त्यसबापत पारिश्रमिक पनि मिल्दैन । आफ्नो बच्चा २० वर्षको हुँदा पनि आमाको काम सकिएको हुँदैन !! केवल आमाहरुले आफ्नो बच्चाको लागि हरेक दिन दूध दिन सक्छन् । नर्सहरुले आफूले हेरचाह गर्ने बच्चाहरुको लागि दूध उत्पादन गर्न सक्दैनन् । त्यसैगरी, मण्डलीमा आमा जस्तै हुनेहरुसँग सधैं आफ्ना आत्मिक सन्तानहरुको लागि हरेक बैठकमा वचन हुनेछ । धेरै एल्डरहरुसँग मण्डलीको लागि कुनै वचन हुँदैन किनभने तिनीहरु नर्स हुन्, आमा होइनन् । आमाले आफ्नो छोराछोरीबाट कुनै पारिश्रमिकको अपेक्षा गर्दिनन् । कुनै पनि बच्चाले आफ्नी आमालाई उनको सेवाको लागि कहिल्यै पैसा दिँदैन । वास्तवमा, यदि तपाईंले आमालाई प्रति घण्टा २० रुपैयाँ (जसरी नर्सहरुलाई दिइन्छ) को दरले दिनुपर्ने ज्याला गणना गर्नुभयो भने, तपाईंले पाउनुहुनेछ कि २० वर्षको उमेरसम्ममा प्रत्येक बच्चाले आफ्नी आमालाई ३० लाख रुपैयाँभन्दा बढीको ऋण तिर्नुपर्ने हुनेछ । कुनै बच्चाले आफ्नी आमालाई यति धेरै ऋण कहिल्यै तिर्न सक्छ ? अब हाम्रो सामु प्रश्न तेर्सिन्छः प्रभु र उहाँको मण्डलीको लागि यसरी काम गर्न को इच्छुक छ – कुनै पारिश्रमिक नलिई, तर येशू नआउन्जेल दिनदिनै, वर्षौं वर्ष आफूलाई अर्पण गर्दै ? यदि परमेश्वरले त्यस्तो आत्मा भएको एकजना मात्र भए पनि भेट्टाउनुभयो भने त्यागको आत्मा बिना सेवा गर्न खोज्ने १०,००० आधा हृदयले पछ्याउने विश्वासीहरुलाई प्रयोग गर्न सक्नेभन्दा अझ बढी उहाँले उसलाई मण्डली निर्माण गर्न प्रयोग गर्नुहुनेछ । जब येशू पृथ्वीमा फर्कनुहुन्छ र तपाईं उहाँको सामु उभिनुहुन्छ, के तपाईंलाई आफ्नो जीवन बिताउने तरिकामा कुनै पछुतो हुनेछ, वा के तपाईं परमेश्वरको राज्यको लागि उपयोगी रुपममा बिताएको जीवनलाई फर्केर हेर्न सक्षम हुनुहुनेछ ? धेरैजना तर्किरहेका छन् र पृथ्वीमा आफ्नो जीवन बर्बाद गरिरहेका छन् । धेरै ढिलो हुनुभन्दा अघि नै उठ्नुहोस्, र परमेश्वरलाई उहाँको मार्ग बलिदानको मार्ग हो भनेर देखाउनको लागि बिन्ती गर्नुहोस् । जसको सुन्ने कान छ उसले सुनोस् ।