परमेश्वर ब्रम्हाण्डमा परम अधिकार हुनुहुन्छ । यसमा कुनै पनि शंका छैन । तर परमेश्वरले पनि अख्तियार सुम्पनुहुन्छ । सरकारी शासकहरु, आमाबुवा र मण्डलीका अगुवाहरु सँग समाज, घर र मण्डलीमा अख्तियार हुन्छ ।
जसरी कसै कसैले विचार गर्दछन्, मण्डली एक लोकतन्त्र हो जहाँ सबै प्रत्यक्ष रुपमा परमेश्वरप्रति मात्र जिम्मेवार हुन्छन्, त्यसो होइन । होइन । त्यहाँ प्रभुद्वारा शरीरमा नियुक्त अगुवाहरु छन्, जसमा हामी समर्पित हुनुपर्छ, र आज्ञापालन गर्नुपर्छ । यो परमेश्वरको इच्छा हो र प्रष्टरुपमा धर्मशास्त्रमा सिकाइएको छ ।
जसरी परमेश्वरको वचनले मानिसहरुलाई शासकहरुको अधीनमा, पत्नीहरुलाई पतिहरुको अधीनमा, छोराछोरीहरुलाई आमाबुबाको अधीनमा र सेवकहरुलाई मालिकहरुको अधीनमा बस्न आदेश दिन्छ, त्यसरी नै यसले मण्डलीमा पनि अधीनताको आज्ञा दिन्छ ।
स्थानीय मण्डलीहरुलाई नेतृत्व गर्न परमेश्वरले एल्डरहरुलाई नियुक्त गर्नुभएको छ । जहाँ एल्डरहरु वास्तवमा मण्डलीमा परमेश्वरबाट राखिएका हुन्छन्, तिनीहरु प्रभुका प्रतिनिधिहरु हुन् र उहाँको अख्तियारको केही प्रयोग गर्दछन् । आफुले पठाएका चेलाहरुलाई प्रभुले भन्नुभयो, "जसले तिमीहरुका कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ, र जसले तिमीहरुलाई अस्वीकार गर्दछ उसले मलाई अस्वीकार गर्दछ" (लुका १०ः१६) ।
परमेश्वरको वचनमा आज्ञाहरु छन् जस्तैः "तिमीहरुका अगुवाहरुको आज्ञापालन गर, र तिनीहरुका अधीनमा बस । किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरुले तिमीहरुका प्राणको हेरचार गर्छन् । यो काम तिनीहरुले आनन्दसाथ गरुन्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरुलाई कुनै लाभ हुँदैन ।" (हिब्रु १३ः१७) ।
परमेश्वरले हामीलाई ख्रीष्टको शरीरको सदस्यहरुको रुपमा सँगती-समूहहरु (मण्डलीहरु वा ख्रीष्टियान कार्यकर्ताहरुको टोली) मा राख्नुहुन्छ । यसमा हामी, परमेश्वरले हामी माथि नियुक्त गर्नुहुने आत्मिक अगुवाहरुमा समर्पित हुन र उनीहरुसँग एउटा टोलीको रुपमा अघि बढ्न बोलाइएका छौं । व्यक्तिगत मामिलाहरुमा यो हाम्रो आत्मिक अगुवाहरु द्वारा आउँछ ।
यदि परमेश्वरले हामीलाई मण्डलीको सँगतीमा वा ख्रीष्टियान कार्यकर्ताहरुको टोलीमा राख्नुभएको छ भने, परमेश्वरले हामीलाई राख्नुभएको नेतृत्वको अधीनमा बस्न र टोलीको मामिलामा उनीहरुलाई पछ्याउन हामी बाध्य छौं । हामीले निश्चित हुन पर्ने एउटै कुरा हो कि परमेश्वरले हामीलाई त्यो टोलीमा राख्नुभएको छ । एकचोटि त्यो मामिला मिलिसकेपछि, त्यहाँ कुनै प्रश्न छैन तर परमेश्वरले हामी हाम्रा अगुवाहरुमा समर्पित र आज्ञाकारी भएको आशा गर्नुहुन्छ । यो धर्मशास्त्रीय सिद्घान्त बुझेपछि ख्रीष्टियान कार्यहरुमा धेरै समस्याहरु समाधान हुन्छन् ।
परमेश्वरको नीज पुत्रको उदाहरण सम्झनुहोस् । एक जवान केटाको रुपमा, हामी पढ्छौं कि उहाँ जोसेफ र मरियमको अधीनमा रहनुभयो (लुका २ः५१) । येशू सिद्घ हुनुहुन्थ्यो । जोसेफ र मरियम थिएनन् । तैपनि सिद्घ व्यक्तिले वर्षाैं सम्म असिद्घ मानिसहरुको अधीनमा रहनुभयो, किनभने त्यो उहाँको लागि परमेश्वरको इच्छा थियो । पिताको इच्छाले येशूको सबै मामिलाहरुलाई अन्तिम रुप दिन्छ । यदि उहाँको पिताले उहाँलाई योसेफ र मरियमको अधीनमा बाँचेको चाहनुहुन्थ्यो भने, उहाँले त्यसै गर्नहुनेथियो - र त्यो पनि, जबसम्म उहाँको पिताले उहाँलाई चाहनुहुन्थ्यो ।
त्यसरी हामी परमेश्वरको सिद्घ पुत्रको उदाहरणबाट पनि देख्छौं, कि एउटै महत्वपूर्ण प्रश्न हो, "के यो सँगतीमा म हुनुपर्छ भन्ने परमेश्वरको इच्छा हो?" । यदि जवाफ 'हो' हो भने परमेश्वर द्वारा नियुक्त नेतृत्वको अधीनमा बस्नु हाम्रो कर्तव्य हुन्छ ।
अख्तियारको विरुद्घमा विद्रोह ब्रम्हाण्डमा गरिएको पहिलो पाप थियो, जब स्वर्गदुतहरुको प्रमुख लुसिफरले उहाँमाथिको परमेश्वरको अख्तियारको विरुद्घ विद्रोह गरे ।
आजको संसारमा दुईवटा कार्यरत आत्माहरु छन् - ख्रीष्टको आत्माले मानिसहरुलाई ईश्वरीय-गठित अख्तियारको अधीनमा बस्न अगुवाई गर्दछ, र शैतानको आत्माले मानिसहरुलाई त्यस्तो अख्तियारको विरुद्घमा विद्रोह गर्न अगुवाई गर्दछ ।
विद्रोहको भावना आज समाजमा, घरमा र मण्डलीमा पनि व्याप्त छ । संसार द्रुतरुपमा परमेश्वरबाट टाढा जाँदैछ, र शैतानको नियन्त्रणमा रहेको यो स्पष्ट संकेत हो । हामी यो शैतानी सिद्घान्तको विरुद्घमा खडा हुन र ख्रीष्टको अधीनताको उदाहरण पछ्याउन ख्रीष्टको शरीरको अंगको रुपमा बोलाइएका हौं ।
परमेश्वरले नियुक्त गर्नु भएको नेतृत्वको अधीनमा बसेर हामी कहिल्यै गुमाउन सक्दैनौं । अर्को तर्फ, हामीले विद्रोह गरेर धेरै गुमाउनु पर्छ ।
परमेश्वरद्वारा नियुक्त नेतृत्वको अधीनमा बस्नुभनेको हामीलाई आत्मिक परिपक्वातर्फ डोर्याउने परमेश्वरको विधि हो । परमेश्वरले हामीलाई बोलाउनु भएको ठाउँमा समर्पित रहेनौं भने हामी आत्मिक रुपमा अगाडी बढ्नेछैनौं ।
परमेश्वरको सार्वभौमिकताको वास्तविकता धेरै विश्वासीहरुले अनुभव गरेर कहिल्यै सिकेका छैनन्, किनभने उसका योजनाहरुमा ऊ जाँचिनु र असफल हुनु के हो भनेर उसले कहिल्यै जानेको छैन, आफ्ना आत्मिक नेतृत्व प्रति नम्र समर्पणको परिणामको रुपमा । कुनै पनि व्यक्तिले प्रभावकारी रुपमा परमेश्वरको सेवा गर्न सक्दैन वा आत्मिक अगुवा बन्न सक्दैन जसले आफ्नो जीवनमा कुनैपनि समयमा अरुको अधीनता थाहा पाएको छैन ।
शैतानले हाम्रो कानमा फुसफुस गरेझैं समर्पण भनेको अपमानजनक र दमनकारी कुरा होइन । यसको विपरीत यो एउटा माध्यम हो जसद्वारा परमेश्वरले हामीलाई आत्मिक रुपमा रक्षा गर्नुहुन्छ । यदि हामीले हाम्रा आत्मिक अगुवाहरुको अधीनमा बस्यौं भने, हाम्रो ख्रीष्टियान जीवनको प्रारम्भिक वर्षहरुमा, जुनबेला हामी अझै पनि परमेश्वरको मार्गहरुबाट अनभिज्ञ हुन्छौं, हामीले आफैंलाई धेरै समस्याहरुबाट बचाउन सक्छौं, र हाम्रो युवावस्थाको जोशमा अरुलाई बहकाउनबाट पनि सुरक्षित हुनसक्छौं । अधीनतामा विताएका ती वर्षहरु पनि त्यो समय हुनसक्छ जब परमेश्वरले हामीलाई उहाँको राज्यको नियमहरु सिकाउनुहुन्छ, हामीलाई आत्मिकरुपमा धनी बनाउँदै ताकि हामीले अरुलाई सेवा गर्न सकौं ।
जब हामी समर्पणको मार्गबाट टाढा रहन्छौं, हामीले कति गुमाउँछौं !