WFTW Body: 

येशूले भन्नुभयो, "आफ्नो लागि पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्नेछ र जहाँ चोरहरुले फोरेर चोर्नेछन् । तर आफ्नो लागि स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ कीरा र खियाले नष्ट गर्दैन, र जहाँ चोरहरुले फोर्न वा चोर्न सक्दैनन्, कारण यो हो, किनकि जहाँ तपाईंको धन हुन्छ, त्यहाँ तपाईंको हृदय पनि हुनेछ (मत्ती ६ः१९-२१) ।" धेरै मानिसहरुले पैसालाई प्रेम गर्नु गलत हो भन्ने कुराको विश्वास गर्दैनन् । पैसा राख्नु पाप होइन, पैसालाई प्रेम गर्नु पाप हो ।

हामीले यो आज्ञा पालन गरेको छौं कि छैनौं भनेर बुझ्न धेरै सजिलो छ । यदि तपाईंको मनले स्वर्गीय कुराहरु भन्दा बढी पार्थिब कुराहरुको बारेमा सोचिरहेको छ भने, यदि तपाईं स्वर्गीय कुराहरु भन्दा आफ्नो पार्थिव सम्पत्ति र घरजग्गाको बारेमा बढी सोच्दै हुनुहुन्छ भने, तपाईं निश्चित हुनसक्नुहुन्छ कि तपाईंको हृदय यस पृथ्वीमा छ, र तपाईंको खजाना पनि यहाँ छ । हामीले यो आज्ञा पालन गरेको छौं कि छैनौं भनेर जान्नको लागि दिनभरि हाम्रो मन कहाँ छ भनेर आफैंलाई सोध्नु पर्छ । हाम्रो कामको बीचमा (वा अरु केही), यदि हामी थोरै आर्थिक नोक्सानीको कारणले धेरै विचिलित छौं वा आर्थिक लाभको कारणले उत्साहित छौं भने, यसले हाम्रो खजाना यस पृथ्वीमा रहेको संकेत गर्न सक्छ ।

मलाई याद छ, धेरै वर्ष पहिले जब कसैले मलाई सानो आर्थिक उपहार दियो, प्रभुले मलाई एउटा प्रश्न सोध्नुभयो, 'के तिम्रो आनन्द बढ्यो ?' मलाई अचानक दोषी भएको महसुस भयो र मैले प्रभुलाई स्वीकार गरें कि यो थोरै पैसा पाएको कारणले नै मेरो आनन्द बढ्यो । त्यो दिन मैले सिकें कि म केवल प्रभुमा रमाउनुपर्छ, पैसामा होइन । मैले यो पनि सिकें कि पैसाको वृद्धिले कहिल्यै पनि मेरो आनन्दमा वृद्धि हुनुहुँदैन । यदि यसले मेरो आनन्द बढाउँछ भने, यसको अर्थ मेरो आनन्द पैसामा छ ।

बाइबलले भन्छ कि सधैं प्रभुमा आनन्द गर, अनि प्रभु सँधै उस्तै हुनुहुन्छ, त्यसैले यदि तपाईंले पैसा कमाउनुभयो वा गुमाउनुभयो भने, प्रभुमा तपाईंको आनन्द बढ्नु वा घट्नु हुँदैन । यो उस्तै हुनुपर्छ । तपाईंले पैसा गुमाउनुभएको कारणले गर्दा तपाईंको आनन्द घट्यो भने, तपाईं पक्का हुनसक्नुहुन्छ कि तपाईंको हृदय त्यहाँ थियो । यदि तपाईंले केही पैसा पाउनुभएको कारणले तपाईंको आनन्द बढ्छ भने, तपाईं पक्का हुनसक्नुहुन्छ कि तपाईंको हृदय त्यहाँ थियो । हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ । उहाँले हाम्रो पार्थिव जीवनको लागि हामीलाई चाहिने सबै कुरा प्रदान गर्नुहुनेछ, तर हामीले यी पार्थिव चीजहरुमा हाम्रो आनन्द खोज्नु हुँदैन । हामी यी पार्थिव चीजहरु प्रयोग गर्न सक्छौं तर तिनीहरुमा हाम्रो आनन्द खोज्नु हुँदैन ।

पैसा एउटा अद्भुत नोकर हो, तर यो एउटा भयानक मालिक हो, आगो जस्तै । उदाहरणका लागि, हामी हाम्रो घरमा आगो बिना बाँच्न सक्दैनौं, खाना पकाउने करामा । तर यदि त्यो चुल्होमा भएको आगो मालिक बन्छ भने, घर जल्नेछ । यो एउटा भयानक मालिक हो, तपाईंको सम्पूर्ण घर जलाउन सक्षम, तर यदि तपाईंले यसलाई नियन्त्रणमा राख्नुभयो भने (जब तपाईंले ग्याँसको नोब घुमाउनुहुन्छ, भन्नुहोस्, "म तिमीलाई कहिले खोल्छु र कहिले बन्द गर्छु भनेर नियन्त्रण गर्नेछु । त्यो निर्णय मैले गर्नेछु । तिमीले होइन, मैले ।" यसरी तपाईं घरको मालिक हुनुहुनेछ ।), तब त्यो एउटा अद्भुत नोकर हो । पैसा त्यस्तै हुनुपर्छ । जसरी हामीलाई आगो चाहिन्छ, त्यसरी नै यस पृथ्वीमा बाँच्नको लागि हामीलाई पैसा चाहिन्छ, तर यो नोकर हुनुपर्छ । तपाईंले भन्नुपर्छ, "पैसा म निर्णय गर्नेछु कि तिमीले मलाई नियन्त्रण गर्नेछैनौ; म तिमीलाई नियन्त्रण गर्नेछु । तिमीले मेरो मनलाई नियन्त्रण गर्नेछैनौ र मलाई सधैं तिम्रो बारेमा सोच्न लगाउने छैनौ । म प्रभु र स्वर्गका चीजहरुको बारेमा सोच्नेछु, तर मैले तिमीलाई प्रयोग गर्नेछु ।" यो आत्मिक मानिसको अवस्था हो ।

सुनलाई सेवकको रुपमा प्रयोग गरियो भने यो धेरै राम्रो कुरा हो । बाइबलले स्वर्गमा पनि सुन हुन्छ भन्छ । तर त्यहाँ, हामी सुनको सडकहरुको बारेमा पढ्छौं । यसको अर्थ तपाईं यसमा हिँड्नुहुन्छ, यो तपाईंको खुट्टामुनि छ । यो स्वर्गीय मनभएको ख्रीष्टियान र पार्थिव मन भएको ख्रीष्टियान बीचको भिन्नता हो । स्वर्गीय मन भएको ख्रीष्टियानले आफ्नो खुट्टामुनि सुन राखेको हुन्छ, यसले उसमाथि शासन गर्दैन, तर एक शारीरिक ख्रीष्टियानले आफ्नो टाउकोमा सुन लगाउँछ र यो सधैं उसको दिमागमा रहन्छ ।

त्यसैले यदि तपाईंको दिमागमा सधैं पैसा छ भने, तपाईंलाई त्यसको मोह छ, चाहे तपाईंलाई त्यो मन परोस् या नपरोस् । यो एउटा केटा जस्तै हो जसले एउटी केटीलाई माया गर्छ र सधैं उसको बारेमा सोची रहन्छ । जो सधैं पैसाको बारेमा सोचिरहन्छ त्यो पैसाको प्रेममा हुन्छ, र पैसाको प्रेम सबै प्रकारका खराबीको जरा हो । पैसालाई माया गर्नलाई तपाईं धनी हुनुपर्दैन । मैले पैसाको मोह नगर्ने भिखारी भारतमा कहिल्यै देखेको छैन । हरेक भिखारीले पैसालाई माया गर्छ । यदि तपाईंले तिनीहरुलाई ५० पैसा दिनुभयो भने तिनीहरुले यसलाई घृणा गर्नेछन् । तिनीहरुले पैसाको मोह गर्छन् र अझ बढी चाहन्छन् । त्यसैले त्यो धन होइन जसले मानिसलाई पैसालाई प्रेम गर्न लगाउँछ । गरिब मानिसहरुले पनि धनी मानिसहरुले जत्तिकै पैसाको मोह गर्छन् ।

यो पनि हो कि तपाईंसँग जतिसुकै सम्पत्ति भए पनि तपाईं पैसाको मोहबाट मुक्त हुन सक्नुहुन्छ । तपाईंको यसको बारेमा भएको दृष्टिकोणको प्रश्न हो । यदि तपाईंको घरमा एउटा नोकर छ, र उसले तपाईंको घर लिन्छ भने, यो भयानक हुनेछ । तपाईंसँग थोरै पैसा हुनसक्छ (एउटा नोकर भए जस्तै), तर उसले तपाईंको घर कब्जा गरेको छ र तपाईंको सोँच माथि शासन गर्छ । अर्कोतर्फ, तपाईंसँग अब्राहामको जस्तै ३१८ वटा नोकर हुनसक्छन्, तर तिनीहरु सबै उनका सेवक थिए र उनको आज्ञा पालन गर्थे । अब्राहामसँग भए जस्तै तपाईंसँग धेरै पैसा हुनसक्छ, र यदि तपाईंले त्यसमाथि शासन गर्नुभयो भने, तपाईंले यसलाई परमेश्वरको महिमाको लागि प्रयोग गर्न सक्नुहुन्छ ।

पैसाको मोह नै सबै खराबीको जरा हो, (प्रसस्त पैसा हुनु आवश्यक छैन) । यो भिन्नता बुझ्नु धेरै महत्वपूर्ण छ । मैले धेरै गरिब मानिसहरुलाई देखेको छु जसले पैसालाई धेरै माया गर्छन्, र मैले धनी मानिसहरुलाई देखेको छु जसले यसलाई माया गर्दैनन् । मैले देखेको छु कि यो तपाईंसँग कति छ भन्ने प्रश्न होइन, तर तपाईं कुन चीजलाई माया गर्नुहुन्छ भन्ने प्रश्न हो । येशूले यही कुराको बारेमा भन्दै हुनुहुन्थ्यो । तपाईंको मन माथिका कुराहरुमा केन्द्रित हुनुपर्छ । स्वर्गमा धन थुपार्नुहोस् । तपाईं के सोचिरहनु भएको छ, तपाईंको हृदय कहाँ छ भनेर जाँच गर्नुहोस्, र तपाईंले कुन चीजलाई प्रेम गर्नुहुन्छ भनेर पत्ता लगाउनुहोस् ।

त्यसपछि येशूले मत्ती ६ः२२ मा पैसाको सम्बन्धमा आँखाको बारेमा कुरा गर्न थाल्नुहुन्छ, "शरीरको बत्ती आँखा हो, र यदि तपाईंको आँखा सफा छ भने, तपाईंको सम्पूर्ण शरीर उज्यालोले भरिएको हुनेछ ।" यसको मतलब यो हो कि तपाईंले पैसालाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्न हो । यदि तपाईंको आँखा खराब छ भने, यसको मतलब यो हो कि तपाईंले पैसालाई धेरै महत्वपूर्ण कुराको रुपमा हेर्नुहुन्छ, पृथ्वीमा तपाईंको जीवनको लागि सबैभन्दा महत्वपूर्ण कुराको रुपमा, र तपाईंको शरीर अन्धकारले भरिएको हुनेछ । "यदि तिमी भित्रको ज्योति अन्धकार हो भने त्यो अन्धकार कति ठूलो हो" । यो अचम्मको कुरा हो कि धेरै मानिसहरु जसका सबै सिद्धान्तहरु सही छन्, र अरुको नजरमा असल ख्रीष्टियान हुन्, जो नियमित रुपमा मण्डली सेवामा जान्छन्, तर तिनीहरुले पैसालाई असाध्यै माया गर्छन् । नयाँ नियमको ढाँचाका मण्डलीहरु भएको दाबी गर्ने तिनीहरुले मृत सम्प्रदायका मानिसहरु पैसाको मोहबाट मुक्त छन् भन्ने कुराको चालै नपाई ती सम्प्रदायहरुलाई पनि तुच्छ ठान्छन् ।

आफैंलाई केही आधारभूत प्रश्नहरु सोध्नुहोस्ः के तपाईं थोरै पैसाहरु पाउँदा उत्साहित हुनुहुन्छ ? के तपाईं पैसा गुमाउँदा निराश बन्नुहुन्छ ? त्यसोभए तपाईंले पैसालाई माया गर्नुहुन्छ । यदि हाम्रो आनन्द प्रभुमा छ भने यो पूर्णरुपमा अप्रभावित हुनेछ । यदि हाम्रो आनन्द पार्थिव चीजहरुमा छ भने, यो हाम्रो आम्दानीमा परिवर्तन हुँदा प्रभावित हुनेछ ।

कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन । "कि उसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ ।" येशूले यहाँ गर्नुभएको यो एकदमै गम्भीर कुरा हो, जसरी येशूले लूका १४ः२६ मा बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीहरुलाई घृणा गर्ने बारेमा बोल्नुहुन्छ । येशू गम्भीर हुनुहुन्थ्यो । येशूले भन्नुहुन्छ कि यदि तपाईं परमेश्वरलाई प्रेम गर्न चाहनुहुन्छ भने, तपाईंले पैसालाई घृणा गर्नुपर्छ (मत्ती ६ः२४) । धनले पैसा, घरजग्गा, स्टक र सेयरलाई जनाउँछ । येशू भन्नुहुन्छ कि यदि तपाईं परमेश्वरलाई प्रेम गर्न चाहनुहुन्छ भने, तपाईंले ती सबैलाई घृणा गर्नैपर्ने हुन्छ । तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ, तर परमेश्वर प्रतिको तपाईंको प्रेम सूर्यको चमक जस्तै सर्वोच्च हुनुपर्छ ताकि पैसाप्रतिको तपाईंको रुचि दिनको उज्यालोमा ताराहरु गायब भएझैं गायब होस् । यदि तपाईंको लागि यो यस्तो छैन भने, तपाईं परमेश्वरको सेवा गर्न सक्नुहुन्न ।

येशूले भन्नुहुन्छ, "यदि तिमीले एउटालाई पक्रिराख्यौ भने, तिमीले अर्कोलाई तुच्छ ठान्छौ ।" त्यो वाक्यमा "परमेश्वर" र "धन" राख्नुहोस् र यो यस्तो पढिनेछः "कसैले पनि परमेश्वर र भौतिक चीजहरु (भौतिक धन, पैसा) को सेवा गर्न सक्दैन । या त उसले पैसालाई घृणा गर्नेछ र परमेश्वरलाई प्रेम गर्नेछ वा परमेश्वरलाई घृणा गर्नेछ र पैसालाई प्रेम गर्नेछ ।" येशूको भनाईको अर्थ यो हो कि जसले पैसालाई प्रेम गर्छ, उसले परमेश्वरलाई घृणा गर्छ । तपाईंलाई पहिले यो थाहा नभएको हुनसक्छ, तर अब थाहा छ । येशूले भन्दैहुनुहुन्छ कि यदि तपाईंले पैसालाई माया गर्नुहुन्छ भने, तपाईं परमेश्वरलाई घृणा गर्नुहुन्छ । तपाईंले परमेश्वरको निम्ति धेरै गीत गाएको कारणले गर्दा तपाईंलाई लाग्छ कि तपाईंले उहाँलाई माया गर्नुहुन्छ, तर येशूले त्यो भन्नुभएको होइन ।

येशूले भन्नुहुन्छ कि यदि तपाईंले परमेश्वरलाई समाइराख्नु भयो भने, तपाईंले परमेश्वरलाई घृणा गर्नुहुनेछ, र यदि तपाईंले पैसालाई समात्नुभयो भने, तपाईंले परमेश्वरलाई घृणा गर्नुहुनेछ । तपाईंसँग पैसा हुनसक्छ र पैसा कमाउन सकिन्छ, तर जुन क्षण तपाईं यसलाई माया गर्न थाल्नुहुन्छ, तपाईंले परमेश्वरलाई घृणा गर्न थाल्नुहुन्छ । परमेश्वरले तपाईंलाई राम्रो जागिर वा पैत्रिक सम्पत्ति दिनुभएको हुनसक्छ जहाँ तपाईंसँग प्रसस्त पैसा छ, र त्यो असल हो । तर यदि तपाईं यसलाई माया गर्नुहुन्छ, र यसलाई पक्रिराख्नुहुन्छ भने, तपाईंले परमेश्वरलाई तुष्छ ठान्नुहुन्छ र तपाईंले परमेश्वरलाई घृणा गर्नुहुन्छ । यदि हामी विश्वासयोग्य भएर प्रभुको सेवा गर्न चाहन्छौं भने हामीले यसलाई बुझ्नु र यसमा सही मनोवृत्ति राख्नु धेरै महत्वपूर्ण हुन्छ ।