"मानौं तिमीहरुमध्ये कसैको साथी छ र त्यो साथी मध्यरातमा तिम्रो घरमा आउँछ, र ऊ प्रतिको शिष्टाचार र प्रेमले, तिमीले उसलाई उसले खाना खाएको नखाएको कुरा सोध्छौ । उसले खाना नखाएको कुरा भन्दा तिमीले आफ्नो फ्रिजमा हेर्छौ र यदि त्यहाँ वा घरको बाँकी भागमा खाना नभएको देख्छौ भने, तिमी के गर्छौ ? तिमी आफ्नो छिमेकी कहाँ जान्छौ ।" (लूका ११ः५)
अब, यो धेरै दुर्लभ छ । सायदै कोही मध्यरातमा आफ्नो छिमेकीकहाँ गएर आफ्नो साथीको लागि खाना माग्न उठाउनेछ, तर यो व्यक्तिले गर्छ । ऊ जान्छ, आफ्नो छिमेकीको घर ढकढक्याउँछ, र भन्छ, "कृपया मलाई तीनवटा रोटी सापट देऊ । म भोलि फिर्ता गर्नेछु, तर अहिले मलाई सापट देऊ । मेरो घरमा मेरो धेरै मिल्ने साथी पाहुना भएर आएको छ, र मसँग उसको लागि कुनै खाना छैन ।" अब, घर भित्रको मानिसले उसलाई भन्छ कि उसलाई वा सुतेका उसका बच्चाहरुलाई बाधा नपुर्याउनु, "तिमी मध्यरातमा हामीलाई बाधा पुर्याइरहेका छौ, हामी सबैलाई उठाइरहेका छौ, र तिमी ढोका ढकढक्याइरहन्छौ ।" तर यो व्यक्ति ढकढक्याइरहनेछ र उसलाई चाहिने कुरा नपाएसम्म उसले आफ्नो छिमेकीलाई सुत्न दिनेछैन ।
प्रभु भन्नुहुन्छ, "यदि यो छिमेकीले तिमीलाई केही नदिए पनि किनकि तिमी उसको साथी हौ, तिम्रो दृढता र तिमी निर्लज्ज भएर ढकढक्याइरहेको कारणले, ऊ उठ्नेछ र तिमीलाई आवश्यक परेको जति दिनेछ ।" यो कति सुन्दर अभिव्यक्ति हो, "तिमीलाई आवश्यक परेको जति" ।
मलाई याद छ जब मैले पवित्र आत्मामा बप्तिस्मा खोजेको थिएँ - पवित्र आत्माको शक्तिमा शिक्षक बनेर परमेश्वरको वचन प्रभावकारी रुपमा उच्चारण गर्नको लागि । जब म ख्रीष्टियान भएँ र परमेश्वरको वचन बाँड्न थालेँ, म धेरै लजालु व्यक्ति थिएँ । मलाई थाहा थियो कि मलाई पवित्र आत्माको शक्ति चाहिन्छ, र यदि मैले पवित्र आत्माको शक्ति पाएँ भने, म अर्को व्यक्तिमा रुपान्तरण हुनेछ । अनि ठ्याक्कै त्यस्तै भयो । यदि तपाईंले आफ्नो लागि होइन, तर अरुको लागि पवित्र आत्माको शक्तिशाली अलौकिक अभिषेकको लागि परमेश्वरलाई यसरी खोज्नुहुन्छ, र तपाईंले ढकढक्याइरहनुहुन्छ, "प्रभु, यी मानिसहरुलाई खुवाउनको लागि मलाई रोटी दिनुहोस् (हामीले यो अभिव्यक्ति लूका ११ः८ मा देख्यौं)," भनेर, परमेश्वरले तपाईंलाई आवश्यक परेजति दिनुहुनेछ (लूका ११ः१३) । म यहाँ पवित्र आत्माको कुरा गर्दैछु । परमेश्वरसँग हामीले के माग्नुपर्छ भनेर येशूले स्पष्ट पार्नुभयो । "अरुको सेवा गर्न मलाई पवित्र आत्माको शक्ति दिनुहोस् । मेरा आवश्यकताहरु पूरा भएका छन्, हामी लूका १८ भन्दा अघि बढिसकेका छौं, अब म अरुको आवश्यकताहरुको बारेमा सोचिरहेको छु ।" त्यो एक साँचो ख्रीष्टियान हो ।
धेरैजसो मानिसहरुले पवित्र आत्माको शक्ति खोज्छन् ताकि तिनीहरुको मेरुदण्डमा केही काउकुती लागेको जस्तो होस्, केही बिजुलीको झट्का वा अनुभव होस्, केही अन्य भाषाहरुमा बोलोस्, वा आफ्नै फाइदाको लागि केही होस् । अरुको लागि आशिष हुन सकियोस् भनेर हामीले पवित्र आत्माको वरदान खोज्नु पर्छ । मलाई याद छ जब मैले परमेश्वरलाई पवित्र आत्माको वरदानको लागि पुकारेको थिएँ । यो अरु मानिसहरुको सेवा गर्नको लागि थियो, र यदि परमेश्वरले मलाई अन्यभाषाहरुको वरदान दिनुभयो भने पनि, यो आफूलाई ताजा राख्नको लागि थियो, किनकि बाइबलले भन्छ कि जसले अन्य भाषामा बोल्छ उसले आफूलाई सुधार गर्छ । म आफूलाई सुधार्न चाहन्थें ताकि म अरुको सेवा गर्दा सधैं ताजा रहूँ । त्यसकारण, अन्य भाषाहरुको वरदान पनि अरुको फाइदाको लागि, आफूलाई ताजा राख्न र आफूलाई निर्माण गर्नको लागि थियो । आत्माको कुनै पनि वरदान मेरो आफ्नै व्यक्तिगत सुधारको लागि थिएन, बरु व्यक्तिगत सुधारको लागि थियो जसले अरु मानिसहरुलाई आशिष मिल्यो ।
हामीले यो कुरा सम्झनु पर्छ कि पवित्र आत्माका सबै वरदानहरु अरुको लागि हुन् । आत्माको फलले मलाई फाइदा पुर्याउँछ । यदि मसँग आनन्द वा शान्ति छ भने, त्यसले मलाई फाइदा पुर्याउँछ, तपाईंलाई होइन । तर, यदि मसँग पवित्र आत्माका वरदानहरु छन् भने, चाहे त्यो अगमवाणीको होस् वा चंगाईको होस् वा अन्य कुनै वरदान, ती सबै वरदानहरुले अरुलाई फाइदा पुर्याउँछन् । हामीलाई यी दुवै चाहिन्छ । तपाईंले परमेश्वरसँग माग्नु आवश्यक छ, र तपाईंलाई विश्वास चाहिन्छ ।
"यदि तिमीहरु दुष्ट भएर पनि आफ्ना छोराछोरीहरुलाई असल उपहार दिन जान्दछौ भने, तिमीहरुका स्वर्गीय पिताले उहाँसँग माग्नेहरुलाई कति धेरै असल कुरा (विशेष गरी पवित्र आत्मा र उहाँका सबै असल वरदानहरु) दिनुहुनेछ ?" (लूका ११ः१३) हामीले विश्वास गर्नुपर्छ कि हामी हाम्रा पिताकहाँ आउँदछौं । हामी कुनै कम्पनीको सीईओकहाँ आएका छैनौं, जो यति टाढा छ कि हामीले सचिव मार्फत उहाँलाई सम्पर्क गर्नुपर्छ । हामी हाम्रा स्वर्गीय पिताकहाँ आउँछौं, र उहाँले हामीलाई के कुराको लागि अस्वीकार गर्नुहुनेछ ? उहाँले हामीलाई कुनै पनि असल कुराको लागि कहिल्यै अस्वीकार गर्नुहुन्न । यदि परमेश्वरले हामीलाई केही दिनको लागि योग्य देख्नुहुन्न भने, हामी पूर्ण रुपमा निश्चित हुनसक्छौं कि त्यो हाम्रो लागि असल छैन ।
प्रेरित पावलको शरीरमा एक पटक रोग लागेको थियो जसलाई उनले शरीरमा काँडा भनेका थिए । उनले यसलाई हटाउनको लागि तीन पटक प्रार्थना गरे (२ कोरिन्थी १२) । परमेश्वरले यसलाई हटाउनुभएन, र उनले महुसस गरे कि यो उनको भलाइको लागि थियो, किनकि यसले उनलाई नम्र र टुटेको अवश्थामा राख्यो । परमेश्वरले सधैं हामीलाई जे असल छ त्यो दिनुहुन्छ, र यदि परमेश्वरले हाम्रो लागि त्यसरी भलाइ गर्नुहुन्छ, हाम्रो लागि अत्यन्त असल हुनुहुन्छ, हामीले के गर्नुपर्छ ? हामी अरु मानिसहरुप्रति असल हुनुपर्छ ।
"प्रभु, म चाहन्छु कि तपाईंले मलाई त्यो दिनुहोस् जसले मलाई मैले सेवा गर्नुपर्ने मानिसहरुको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ ।" जब तपाईंमा तपाईंको मण्डलीका मानिसहरुको लागि बोझ हुन्छ, तिनीहरुलाई ईश्वरीय जीवनमा डोर्याउन, येशूले आज्ञा गर्नुभएको सबै कुरा गर्नको लागि डोर्याउन, तिनीहरुलाई डाँडाको उपदेशको स्तर अनुसार जीवन बिताउनको लागि डोर्याउन, तपाईंले पवित्र आत्माको शक्ति माग्नुहुनेछ, तपाईंले स्वर्गबाट अगमवाणीय वचन माग्नुहुनेछ जसले ती मानिसहरुको आवश्यकता पूरा गर्नेछ र तिनीहरुलाई शैतानको पञ्जाबाट छुटकारा दिनेछ र तिनीहरुलाई ईश्वरीय जीवनमा ल्याउनेछ । यदि तपाईं तिनीहरुलाई पर्याप्त प्रेम गर्नुहुन्छ भने, तपाईं दृढ रहनुहुनेछ ।
के तपाईंलाई लाग्दैन कि यो व्यक्ति, जो मध्यरातमा आफ्नो छिमेकीको घरमा गएको थियो, आफ्नो पाहुनालाई माया गर्थ्यो ? उसले उसलाई औधी माया गरेको हुनुपर्छ त्यसैले ऊ त्यो रात उसको निम्ति खाना ल्याइदिनको लागि दृढ संकल्प गरेको हुनुपर्छ । हामीमध्ये धेरैजसो, यदि पाहुना आएको रात हामीसँग खाना नहुँदो हो त हामीले भन्थ्यौं होला, "मलाई माफ गर्नुहोस्, तर हामीसँग खाना छैन, त्यसैले अब सुतौं, म बिहान तपाईंको लागि केही ल्याउनेछु ।" तर यो व्यक्तिले आफ्नो भोको पाहुनालाई यति धेरै माया गर्थ्यो कि उसले भन्यो, "म आज राती तिम्रो लागि केही ल्याइदिनेछु, चाहे म मेरो छिमेकीको अगाडि निर्लज्ज हुन किन नपरोस् ।" दृढताका साथ परमेश्वरकहाँ गएर, प्रभु यी मानिसहरुको सेवा गर्न मलाई पवित्र आत्माको वरदान दिनुहोस् भनी भन्दै गरेको यो अद्भुत तस्वीर हो ।