उत्पत्ति १३ः७ मा हामी पढ्छौं कि अब्राहामको नोकरहरु र लोतको नोकरहरु बीच झगडा भएको थियो । अब्राहाम र लोतले मिश्र देशको यात्राबाट प्रसस्त सम्पत्ति कमाए र अहिले त्यो सम्पत्तिले समस्या निम्त्याउँछ । धनले सधैं सम्पत्ति निम्त्याउँछ । लोत र तिनकी पत्नी मिश्र देशमा देखेका कुराले प्रभावित भएका थिए । उनीहरु धेरै पैसा कमाउन चाहन्थे । तर अब्राहाम कसैसँग झगडा नगर्ने मानिस थिए । तर उनका नोकरहरुले झगडा गरे ।
"अब्राहामका गाईवस्तुका गोठालाहरु र लोतका गाईवस्तुका गोठालाहरु बीच झगडा थियो । अब कनानी र परिज्जीहरु त्यहाँ बसोबास गरिरहेका थिए ।" त्यो अन्तिम वाक्य किन त्यहाँ समावेश गरिएको छ ? किनकि ती मूर्तिपूजक मानिसहरु यो झगडा हेर्दै थिए । यो कुरा आजको ईसाइजगतको परिस्थितिमा पनि धेरै सान्दर्भिक छ । मूर्तिपूजकहरु देशमा बसोबास गरिरहेका छन् र तिनीहरुले के देख्छन् ? ख्रीष्टियान समूहहरु एक अर्कासँग लडिरहेका छन् । अनि यी सबैको बीचमा के हामी आज अब्राहामको जस्तो ईश्वरीय मानिस भेट्टाउन सक्छौं जसले लोत (पैसालाई माया गर्ने संसारिक व्यक्ति) लाई बोलाउनेछ र भन्नेछ, "तिम्रो र मेरो बीचमा कुनै झगडा नहोस्, हामी दाजुभाइ हौं" (उत्पत्ति १३ः८) ? तिनीहरु दाजुभाइ थिएनन् । अब्राहाम काका थिए, लोत उनका भतिजा थिए । यी ७५ वर्षीय बृद्धले आफ्नो ३५ वर्षीय भतिजाप्रति गरेको दयालु व्यवहार हेर्नुहोस् । "हामी दाजुभाइ हौं !" एक धर्मी मानिस नम्र मानिस हो । उनी ७५ वर्षका थिए, तर उनले आफ्नो जवान भतिजालाई हेरेर भन्न सके, "हामी दाजुभाइ हौं । तिमीहरु मेरै बराबरी हौ । म तिमीहरुलाई पहिलो प्राथमिकता दिनेछु । तिमीहरु जे चाहन्छौ त्यही रोज ।" यरुशलेम त्यस्ता मानिसहरु द्वारा बनाइएको हो । ख्रीष्टियान जगतलाई त्यस्ता अगुवाहरुको आवश्यकता छ - र तिनीहरु सजिलै भेटिँदैनन् ।
आज, हामीसँग धेरै अगुवाहरु छन् जसले आफ्नो अधिकार दाबी गर्छन्, जसले भन्ने गर्थे, "म ७५ वर्षको भएँ, म तिम्रो काका हुँ । मलाई नै परमेश्वरले बोलाउनु भएको हो, तिमीलाई होइन । तिमी भर्खरै मसँग आयौ ।" तर अब्राहामले लोतसँग त्यसरी कुरा गरेनन् । उहाँले लोतलाई भन्नुभयो, "यदि तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु । अनि यदि तिमी बाँया तिर गयौ भने म दायाँ जान्छु । जे चाहन्छौ त्यो पहिले तिमीले लिनु ।" अनि बेबिलोनको आत्मा भएको लोभी मानिस लोतले पहिला पक्रे । उनले सदोमका रमणीय खेतहरु हेरे, त्यहाँ पैसा कमाउने अवसर देखे, र त्यहाँ बस्ने धनी मानिसहरुलाई देखे, र भने, "म त्यहाँ जानेछु र त्यहाँ पनि परमेश्वरको सेवा गर्नेछु" ।
धेरै ख्रीष्टियानहरु र ख्रीष्टियान अगुवाहरु धनी देशहरुमा जान मन पराउँछन् । तर सधैं, तिनीहरु आत्मिक रुपमा हार्छन् । जब अब्राहामले यो निर्णय लिँदै थिए, परमप्रभु (बाबेलमा जस्तै) तल आउनुभएको थियो, उनी र लोत के गरिरहेका छन् भनेर हेर्नलाई । अनि परमप्रभुले देख्नुभयो कि कसरी अब्राहामले ईश्वरीय व्यवहार आफैंले प्रयोग गरे । लोतले उनलाई छोडेर जाने बित्तिकै, परमप्रभुले अब्राहामलाई एउटा धेरै महत्वपूर्ण कुरा भन्नुभयो (उत्पत्ति १३ः१४) ।
परमेश्वरले पहिले उनलाई उनको बुबाबाट (मृत्युद्वारा) अलग गर्नुभयो, र त्यसपछि उहाँले अब्राहामलाई अर्को नातेदारबाट (जो उनको लोभको कारणले उनको लागि बाधा बन्ने थियो) अलग गर्नुभयो । प्रभुले भन्नुभयो, "अब तिमी एक्लै छौ र अब मैले तिमीलाई जहाँ गएको चाहन्छु त्यहाँ लैजान र म तिमीलाई जे बनाउन चाहन्छु त्यही बन्न लगाउन सक्छु । मैले जे भयो ठ्याक्कै त्यही देखें ।" के तपाईंलाई थाहा छ कि परमेश्वरले मानिसहरु बीच हुने हरेक लेनदेनलाई हेर्नुहुन्छ ? उहाँले हाम्रो मनोवृत्ति हेर्नुहुन्छ । के तपाईंले ख्रीष्टियान भएको कारणले कुनै कुरामाथिको आफ्नो अधिकार त्याग्नुभएको छ ? परमेश्वरले तपाईंलाई भन्नुहुन्छ, "मैले त्यो याद गरेको छु ।"
त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो, "यहाँ खडा होऊ र उत्तर, दक्षिण, पूर्व, पश्चिमतिर हेर ।" तिमीले देख्नसक्ने सबै जमिन एक दिन तिम्रा सन्तानको हुनेछ । म त्यो बाचा गर्छु । यो लोतका सन्तानको हुनेछैन । परमेश्वरले ४००० वर्ष पहिले अब्राहामलाई त्यो भन्नु भएको थियो । आज ४००० वर्ष पछि त्यो भूमिलाई हेर्नुहोस् र आफैंलाई सोध्नुहोस् कि त्यहाँ को बसोबास गरिरहेको छ । अब्राहामका सन्तानहरु, लोतका सन्तानहरु होइनन् । परमेश्वरले आफ्नो वचन पूरा गर्नुहुन्छ । हजारौं वर्ष बित्नसक्छ, तर यदि परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, "म यो जमिन तेरा सन्तानलाई सदाको लागि दिनेछु," (उत्पत्ति १३ः१५), तब त्यो ठ्याक्कै त्यस्तै हुनेछ ।
त्यसपछि हामी अध्याय १४ मा देख्छौं कि लोत कसरी समस्यामा परे । परमेश्वरको इच्छाभन्दा बाहिर जाँदा तपाईं सधैं समस्यामा पर्नुहुन्छ । उनी आफ्ना शत्रुहरुको कब्जामा परे । अब्राहामले भन्न सक्थे, "उसलाई ठीकै गरे । त्यो मान्छेले मबाट केही खोसेको छ ।" तर अब्राहामले त्यस्तो प्रतिक्रिया देखाएनन् । त्यहाँ तपाईंले अब्राहामको अर्को परीक्षा भएको देख्नुहुन्छः आफूलाई धोका दिने यो मान्छे समस्यामा परेको सुनेपछि अब्राहामको मनोवृत्ति कस्तो हुनेछ ? जब तपाईंलाई धोका दिने कोही आफैं समस्यामा पर्छ, तब तपाईंले धेरै चाँडै पत्ता लगाउनुहुनेछ कि तपाईं परमेश्वरको मानिस हुनुहुन्छ कि हुनुहुन्न ।
अब्राहामको प्रतिक्रिया थियो, "मलाई लोतलाई मद्दत गर्न जान दिनुहोस् । यो सत्य हो कि लोतले मलाई धोका दियो । तर उसले मलाई केमा ठग्यो ? संसारिक सम्पत्तिको केही फोहोरमा । त्यो केही होइन । मसँग स्वर्गीय सम्पत्ति छ । मलाई जान र उसलाई मद्दत गर्न देऊ ।" अनि अब्राहाम गए र लोतलाई आफैंले बचाए । त्यो एक ईश्वरीय मानिसको मनोवृत्ति हो । केवल त्यस्ता मानिसहरुले मात्र यरुशलेम निर्माण गर्न सक्छन् ।