WFTW Body: 

दुई अन्धा मानिसहरु एक पटक येशूकहाँ आएको कथालाई विचार गर्नुहोस् । मत्ती ९ः२७ मा हामी पढ्छौं कि दुई मानिसहरुले येशूलाई पछ्याउँदै भने “हामी माथि दया गर्नुहोस्,” र येशूले तिनीहरुलाई सोध्नुभयो, “तिमीहरु मैले तिमीहरुको लागि के गरुँ भन्ने चाहन्छौ ?” (अर्को सुसामाचारको समानान्तर खण्डमा यो स्पष्ट हुन्छ ।) तिनीहरुले भने, “हामी चाहन्छौं कि हाम्रो आँखा खोलियोस् !” र त्यसपछि उहाँले मत्ती ९ः२८ मा तिनीहरुलाई एउटा प्रश्न सोध्नुहुन्छ, “के तिमीहरु विश्वास गर्छौ कि म तिमीहरुको लागि यो गर्न सक्छु ?”

त्यो धेरै महत्वपूर्ण प्रश्न हो । तपाईंले परमेश्वरलाई आफ्नो बिन्ती गर्दा उहाँले प्रतिज्ञा गर्नुभएको कुनै पनि कुराको बारेमा प्रभुले सोध्नुहुने यो एक महत्वपूर्ण प्रश्न हो । “प्रभु, म चाहन्छु कि मेरा अन्धा आँखाहरु खोलियोस्,” वा, “म चाहन्छु कि रोग निको होस्,” वा “म चाहन्छु कि कुनै विशेष पापपूर्ण बानीबाट म छुटकारा पाऊँ,” वा “प्रभु, म जागिर पाउन चाहन्छु,” वा “मैले बस्ने ठाउँ खोज्न चाहन्छु ।” हामीले परमेश्वरसँग माग्न सक्ने धेरै कुराहरु छन् । परमेश्वरले हाम्रा सबै आवश्यकताहरु, आत्मिक र शारीरिक, पूरा गर्नुहुन्छ, तर हामीले परमेश्वरलाई हाम्रो विशेष अनुरोध गरेपछि प्रभुले हामीलाई सोध्नुहुन्छ, “के तिमी विश्वास गर्छौ कि मैले यो तिम्रो लागि गर्न सक्छु ?” त्यो येशू बोल्दै हुनुहुन्छ ।

के तपाईंलाई थाहा छ कि प्रभुले हाम्रो लागि आफ्नो क्षमता अनुसार होइन, तर हाम्रो विश्वास अनुसार गर्नुहुन्छ ? यदि तपाईंसँग कुनै कुराको लागि विश्वास छैन भने, प्रभुसँग तपाईंको लागि त्यो भन्दा बढी गर्नसक्ने क्षमता भए पनि, प्रभुले तपाईंको लागि गर्न चाहनु भएको सबै कुरा तपाईंले अनुभव गर्नुहुनेछैन । तपाईंले आफ्नो विश्वासको स्तर अनुसार मात्र मुक्ति अनुभव गर्नुहुनेछ ।

कल्पना गर्नुहोस् यदि पहिलो अन्धा मानिसले भन्छ, “हे प्रभु, यदि तपाईंले एउटा मात्र आँखा खोल्न सक्नुहुन्छ भने म खुशी हुनेछु । त्यो मेरो लागि पर्याप्त छ । म एउटा आँखाले यस पृथ्वीमा बाँच्न सक्छु, र मलाई विश्वास छ कि तपाईंले त्यो गर्न सक्नुहुन्छ ।” प्रभुले उसलाई मत्ती ९ः२९ को पदमा भन्नुभएझैं जवाफ दिनुहुनेछ, “तिम्रो विश्वास अनुसार तिमीलाई होस् ।” प्रभु भन्नुहुन्छ, “मेरो क्षमता अनुसार होइन, तर तिम्रो विश्वास अनुसार ।” यो मानिस त्यो कोठाबाट एउटा आँखा देख्ने र अर्को नदेख्ने भएर बाहिर निस्कनेछ । अब त्यो धेरै असल हो; एउटा अन्धो मानिसको लागि एउटा आँखा मात्रै भए पनि देख्ने हुनु अद्भुत कुरा होे ।

त्यसपछि कल्पना गर्नुहोस् कि अर्को अन्धा मानिस आउँछ, र प्रभुले उसलाई त्यही प्रश्न सोध्नुहुन्छ, “के तिमी विश्वास गर्छौ कि म तिम्रो लागि यो गर्नसक्छु ?” र उसले भन्छ, “हो प्रभु ! मलाई विश्वास छ कि तपाईंले मेरा दुबै आँखा खोल्नसक्नुहुन्छ । तपाईंको लागि के असम्भव छ ?” उसको दुबै आँखा खुल्ला हुन्छ । जसै उसले अर्को अन्धा मानिसलाई भेट्छ (जसको एउटा मात्र आँखा खोलिएको थियो), र त्यो मानिसले सोध्छ, “तिम्रा दुबै आँखा कसरी खोलिए ? यो कुनै झुटो शिक्षा हुनुपर्छ !” यो झुटो शिक्षा होइन; दोस्रो अन्धा मानिससँग पहिलोको भन्दा बढी विश्वास थियो, त्यति मात्र ।

हामी यी दुई आँखालाई हाम्रा पापहरुको क्षमा र हाम्रा पापहरुबाट मुक्ति पाएको रुपमा सोच्न सक्छौं । एउटा व्यक्तिले दुबै पाउँछ; अर्को व्यक्तिले पहिलो मात्र पाउँछ । किन त्यस्तो ? के यो परमेश्वरले त्यो व्यक्तिप्रति पक्षपात गर्नुभएको भएर हो ? के यो त्यो व्यक्ति एक असल व्यक्ति भएको भएर हो ? होइन । ख्रीष्टले उसको लागि गर्ने भनेर गर्नुभएको सबै प्रतिज्ञाको लागि उसलाई केवल विश्वास थियो । एउटा व्यक्तिलाई केवल विश्वास थियो कि ख्रीष्टले उसको पाप क्षमा गर्न सक्नुहुन्छ, र त्यसैले उसले त्यो पायो । अर्को व्यक्तिलाई ख्रीष्टले उसको पाप क्षमा गर्न सक्नुहुन्छ भन्ने कुरामा पनि विश्वास छैन, त्यसैले उसले क्षमा पनि पाउँदैन ।

संसारमा यस्ता धेरै मानिसहरु छन् । एउटालाई विश्वास छ कि ख्रीष्टले उसको पाप क्षमा गर्नुहुनेछ, र उसले क्षमा पाउनेछ । अर्कोलाई “दुबै आँखा” को लागि विश्वास छ, ख्रीष्टले मलाई क्षमा मात्र गर्नुहुने छैन, तर त्यो पापपूर्ण बानीबाट पनि छुटकारा दिन सक्नुहुन्छ । उसले दुबै पाउँछ । अनि जब कुनै व्यक्तिले दुबै कुराको घोषणा गर्छ, कि ख्रीष्टले हामीलाई क्षमा मात्र होइन, तर हामीलाई छुटकारा पनि दिन सक्नुहुन्छ, तब क्षमा मात्र अनुभव गरेका मानिसहरुले त्यो ठूलो छुटकारालाई झुटा शिक्षा भन्नेछन् । तिनीहरु आफैंले यो अनुभव नगरेको कारणले तिनीहरु भन्छन् कि यो असम्भव छ । तिनीहरु भन्छन् कि कुनै पनि मानिसलाई पापबाट मुक्ति पाउन असम्भव छ । तर मानिसहरुको लागि यो असम्भव छ कि छैन भन्ने प्रश्न होइन । प्रश्न यो हो कि के यो परमेश्वरको लागि असम्भव छ ?

येशूले भन्नुभयो कि परमेश्वरको लागि असम्भव केही छैन । मानिसको लागि धेरै कुरा असम्भव छ । परमेश्वरको शक्ति बिना मानिसले पापको क्षमा पाउन पनि असम्भव छ, तर परमेश्वरको लागि, केही पनि असम्भव छैन । कृपया याद राख्नुहोस् कि यदि अरु कसैले अनुभव गरेको कुरा तपाईंले अनुभव गर्नुभएन भने, कारण यो होइन कि उसँग कुनै झुटो शिक्षा छ; तपाईंले उसले जत्तिकै विश्वास नगरेको कारणले यो भएको हुनसक्छ ।

अर्को उदाहरण प्रयोग गर्नलाई, कल्पना गर्नुहोस् कि सबैको घर बाहिर समानरुपमा पानी परिरहेको छ र शहरमा पानीको अभाव छ, त्यसैले मानिसहरुले वर्षाको पानी संकलन गर्न बाहिर कन्टेनरहरु राख्छन् । यदि एक जना मानिसले आफ्नो घर बाहिर सानो कप राख्छ भने, उसले कति पानी पाउनेछ ? केवल एक पूरा कप । यदि अर्को व्यक्तिले आफ्नो घर बाहिर ठूलो बाटा राख्छ भने, उसले कति पानी पाउँछ ? पूरा बाटा ! के पूरा बाटा र पूरा कपमा कुनै भिन्नता छ ? अवश्य छ ! पूरा कप भएको मानिसले भन्न सक्छ, “तिमीले कसरी पूरा बाटा पानी पायौ ? परमेश्वर तिमीप्रति दयालु हुनुभयो, तिम्रो घर अगाडि धेरै पानी पठाइदिनुभयो !” बाटा भएको मानिसले जवाफ दिनेछ, “होइन; तिम्रो घर बाहिर पनि उत्तिकै पानी पर्यो भाइ, तर तिमीले घर बाहिर सानो कप मात्र राखेको थियौ ! त्यो तिम्रो विश्वासको स्तर थियो, र त्यसैले तिमीसँग त्यति मात्र छ !”

हाम्रो विश्वासको अनुपात अनुसार हामी परमेश्वरबाट पाउँछौं । परमेश्वरको आशिष असीमित छ । एफिसी १ः३ ले भन्छ कि उहाँले “स्वर्गीय स्थानहरुमा हरेक आत्मिक आशिषले हामीलाई आशिर्वाद दिनुभएको छ,” पवित्र आत्माको हरेक आशिषले हामीलाई हाम्रा पूर्खा आदमबाट उत्तराधिकारको रुपमा हामीले प्राप्तगरेको हरेक दुष्ट पापपूर्ण बानीबाट छुटकारा दिनुभएको छ । तर आज प्रभुले हामीलाई सोध्नुहुने प्रश्न यो होः “के तिमीले यो विश्वास गर्छौ कि म तिम्रो लागि यो गर्नसक्छु ?”