WFTW Body: 

"धन्य मेलमिलाप गराउनेहरु, किनभने तिनीहरु परमेश्वरका छोराहरु कहलाइनेछन्" (मत्ती ५ः९) । के हामीसँग आफूलाई परमेश्वरका छोराहरु भन्ने अधिकार छ ? यसले यहाँ भन्छ कि हामी आफैंलाई परमेश्वरका छोराहरु भनेर बोलाउने होइनौं; यसले भन्छ कि तिनीहरु परमेश्वरका छोराहरु कहलाइनेछन् । यसको अर्थ यो हो कि जब हामी शान्ति कायम गर्नेहरु हुन्छौं तब परमेश्वरले हामीलाई आफ्ना छोराहरु भन्नुहुनेछ । शान्ति कायम गर्नेहरुको रुपमा हाम्रो प्रतिष्ठा हुनुपर्छ । शान्ति कायम गर्नेहरुको विपरीत समस्या सिर्जना गर्नेहरु हो । तपाईंको मण्डलीमा तपाईंको प्रतिष्ठा कस्तो छ ? सायद तपाईं भन्नुहुन्छ, "म समस्या निम्त्याउने व्यक्ति होइन र शान्ति कायम गर्ने व्यक्ति पनि होइन, म तटस्थ छु ।" त्यसो भए तपाईंलाई परमेश्वरको पुत्र भन्न सकिँदैन ! यहाँ भनिएको छ, "धन्य शान्ति कायम गर्नेहरु, किनभने तिनीहरु परमेश्वरका छोराहरु कहलाइनेछन् ।" शान्ति कायम गर्नेहरु तिनीहरु हुन् जसले सधैं शान्ति खोजिहिँड्छन् ।

येशूको जन्म हुँदा स्वर्गदूतहरु आएर भने, "पृथ्वीमा शान्ति, सर्वोच्च परमेश्वरलाई महिमा, र पृथ्वीमा जो देखि उहाँ प्रसन्न हुनुभएको छ तिनीहरुलाई शान्ति" (लूका २ः१४) । शान्तिको पछि लाग्नेहरुसँग परमेश्वर प्रसन्न हुनुहुन्छ । संसार सबै प्रकारका झैझगडा, रीस, गनगन र गुनासोले भरिएको छ । यदि हामीले यस पृथ्वीलाई स्वर्गको दृष्टिकोणबाट हेर्यौं भने, यसैको कारणले गर्दा हामीले यो अँध्यारोले भरिएको देख्नेछौं । तर यस अन्धकारको बीचमा केही उज्यालोका ठाउँहरु छन् - ती परमेश्वरका सन्तानहरु हुन्, परमेश्वरका छोराहरु, र परमेश्वरका यी छोराहरुको चिन्ह यो हो कि तिनीहरु शान्तिप्रिय हुन्छन् ।

फिलिप्पी २ मा पनि हामीले यही कुरा दोहोरिएको पाउँछौं । हामीले सबै कुरा गनगन, विवाद र गुनासो नगरी गर्नुपर्छ भनेर किन भनिएको छ (फिलिप्पी २ः१४) ? हामीले हाम्रो जीवनको हरेक काम बिना कुनै गनगन, बिना कुनै गुनासो, र बिना कुनै विवाद गर्नुपर्छ - त्यो एकदमै उच्च स्तर हो । तर पद १५ मा भनिएको छ कि हामीले "टेढो र विकृत पुस्ताको बीचमा परमेश्वरका निर्दोष सन्तानहरु" भएर आफूलाई निर्दोष प्रमाणित गर्नसक्ने त्यो एक मात्र तरीका हो । यो अँध्यारो संसारमा हामी ज्योतिको रुपमा देखा पर्नसक्ने एक मात्र तरिका यही हो । त्यो कसरी हो ? अन्धकार के हो ? यो गनगन, रीस, र गुनासो गर्नु हो । ज्योति के हो त ? यी शान्ति कायम गर्ने मानिसहरु हुन् जो गनगन वा गुनासो गर्दैनन् ।

जब येशूले आफ्ना चेलाहरुलाई इस्राएलका मानिसहरु कहाँ पठाउनुभयो, उहाँले सत्तरी जनालाई दुई दुई जना गरी उहाँ आफैं पछि आउनुहुने प्रत्येक ठाउँमा उहाँको अगाडि जान नियुक्त गर्नुभयो (लूका १०ः१) । उहाँले तिनीहरुलाई कुनै पनि शहरमा प्रवेश गर्दा शान्तिप्रिय मानिस खोज्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, "जब तिमीहरु कुनै घरमा पस्छौ, भन, 'यस घरमा शान्ति होस्' अनि यदि त्यहाँ शान्तिप्रिय मानिस छ भने, तिमीहरुको शान्ति उसमाथि रहनेछ । तर यदि होइन भने, त्यो तिमीहरुकहाँ फर्किनेछ । अनि यदि तिमीहरुले शान्तिप्रिय मानिस भेट्टायौ भने, त्यो घरमा बस - घर-घर नजाओ किनभने तिमीहरुले शहरमा त्यस्तो घर मुश्किलले पाउनेछौ" (लूका १०ः५-६) । अर्को शब्दमा, उहाँले भन्नुभएको कुरा यो थियोः "तिमीहरुले शहरमा सायद एउटा मात्र घर पाउनेछौ जहाँ एक जना मानिस शान्तिप्रिय मानिस हो ।" नत्र किन उहाँले तिनीहरुलाई एक घरबाट अर्को घर नजान भन्नुभयो ? यदि त्यहाँ १० वा २० वा ३० वा १०० वटा घरहरु त्यस्ता भए के हुन्थ्यो ? येशूलाई थाहा थियो कि यस्ता घरहरु भेट्टाउन धेरै असम्भव छ । तर त्यस्ता घरहरु ठ्याक्कै त्यस्तै प्रकारका हुन्छन् जहाँ परमेश्वर बास गर्नुहुन्छ ।

के तपाईंको घर शान्तिको घर हो ? के तपाईं एक पतिको रुपमा शान्तिप्रिय व्यक्ति हुनुहुन्छ भनेर भन्न सकिन्छ ? झगडा गर्न सधैं दुईजना चाहिन्छ; यदि एक जनाले झगडा गर्न अस्वीकार गर्छ भने झगडा हुन सक्दैन । यो त ठ्याक्कै त्यस्तै हो जसरी आवाज निकाल्नको लागि तपाईंका दुबै हत्केला एकअर्कासँग ठोक्किनुपर्छ । एक हातले ताली बजाएर तपाईंले आवाज निकाल्न सक्नुहुन्न । यदि एउटा हातले ताली बजाउन अस्वीकार गर्छ भने, अर्को हातले आवाज निकाल्न सक्दैन; झगडा त्यस्तै हो । यदि कसैले (श्रीमान् वा श्रीमती भनौं) झगडा गर्न अस्वीकार गर्छ र आफ्नो रीसलाई मार्छ भने, कुनै झगडा हुँदैन । फलस्वरुप, त्यहाँ शान्ति हुन्छ । त्यसैले म शान्तिको अभावको दोष कहिल्यै अर्को व्यक्तिलाई दिन सक्दिन, चाहे त्यो मेरो मण्डलीमा होस् वा मेरो घरमा वा अन्य कुनै ठाउँमा ।

तपाईंले भन्न सक्नुहुन्न, "मेरी श्रीमतीले शान्ति भंग गर्छिन्" वा "मेरो श्रीमान्ले शान्ति भंग गर्नुहुन्छ ।" किनकि तपाईंले झगडा र लडाईंमा सहयोग गर्नुहुन्छ त्यसैले शान्ति हुँदैन । एउटा हातले अर्को हातसँग मिल्न अस्वीकार गर्दा पनि आवाज निस्कन सक्दैन । त्यसैले मतभेद भएको अवस्थामा, यदि तपाईं शान्तिको खोजीमा हुनुहुन्छ भने, तपाईंले आफैंलाई रोक्नुहुनेछ र अर्को व्यक्तिलाई उसले चाहेजति उत्तेजित हुन दिनुहुनेछ । त्यसपछि त्यहाँ शान्ति आउनेछ ।

यदि म विश्वास गर्छु कि परमेश्वर सार्वभौम हुनुहुन्छ र मलाई मेरो क्षमताभन्दा बाहिरको परिक्षामा पर्न दिनुहुन्न भने, म आफ्नो इच्छालाई मार्न तयार हुनेछ । धेरै मानिसहरुले भन्छन् कि यदि तपाईंले यो बाटो अपनाउनुभयो भने, मानिसहरुले तपाईंको फाइदा उठाउनेछन्, तिनीहरुले तपाईंलाई ढोकामा खुट्टा पुच्छलाई राखिने चट्टाईलाई जस्तै व्यवहार गर्नेछन् र तपाईं माथि हिँड्नेछन् । त्यस्तो होइन । यदि तपाईं १ कोरिन्थी १०ः१३ मा विश्वास गर्नुहुन्छ भने, जहाँ भनिएको छ, "परमेश्वरले तपाईंलाई कहिल्यै पनि तपाईंको क्षमताभन्दा बाहिरको परिक्षामा पर्न दिनुहुनेछैन," तब तपाईंले बुझ्नुहुनेछ कि उहाँले मानिसहरुलाई तपाईंको फाइदा उठाउन दिनुहुने छैन, अनि तपाई निर्धक्क भएर शान्तिको मार्ग पछ्याउनुहुनेछ । हितोपदेशको पुस्तकमा भनिएझैं तपाईंले पाउनुहुनेछ, "परमप्रभुको नाम बलियो धरहरा हो, धर्मीजनहरु दौडँदै त्यसभित्र पस्दछन् र सुरक्षित हुन्छन्" (हितोपदेश १८ः१०) । जब तपाईंले विवाद भेट्टाउनुहुन्छ, येशूको नाममा शरण लिनुहोस् र त्यसपछि तपाईंले हितोपदेश १६ः७ को परिपूर्ति पाउनुहुनेछ, जहाँ भनिएको छ, "जब कुनै मानिसको चाल परमप्रभुलाई मनपर्छ, ऊ परमप्रभुमा आएर लुक्छ, उहाँले उसका शत्रुहरुलाई पनि ऊसँग शान्तिमा राख्नुहुन्छ ।" परमेश्वरले के गर्न सक्नुहुन्छ भन्ने कुरा अचम्मको छ ! मैले त्यो अनुभव गरेको छ । यदि तपाईंले प्रभुलाई खुशी पार्ने प्रयास गर्नुभयो भने, तपाईंले पनि आफ्ना शत्रुहरुलाई समेत वशमा पारेको पाउनुहुनेछ ।

"धन्य शान्ति कायम गर्नेहरु किनभने तिनीहरु परमेश्वरका छोराहरु कहलाइनेछन् ।" परमेश्वरका छोराहरुको अर्थ परमेश्वरका सन्तानहरुको अर्थभन्दा फरक छ । परमेश्वरका सन्तानहरु बालकहरु हुन्; छोरा भनेको परिपक्व व्यक्ति हो जसलाई आफ्नो इच्छालाई कसरी मार्ने र येशूका पाइलामा हिँड्ने भन्ने कुरा थाहा हुन्छ ।