२ कोरिन्थी १०:५ मा प्रेरित पावल "हाम्रो विचारको जीवनमा भएको गढको" बारेमा बताउछन्। हाम्रो शरीरमा भएको अभिलाषाले फोहोर सोचाइ र स्वार्थी सोचाइको ढाँचा बनाएको छ, जुन बलियो गढ जस्तै छन्। त्यसले हामीलाई दिनमा हाम्रो आफ्नै अभिलाषाहरु पूरा गर्दै स्वार्थी भएर जिउन लगाउँछ। र राति, जब हामी सुत्छौ, यी गढहरुबाट खराब विचारहरु आउँछन्। हामी सधै यसरी जिउनु के परमेश्वरको इच्छा हो? होइन। परमेश्वरको इच्छा यो हो कि, हामी हाम्रो हरेक विचार ख्रीष्टको अधिनतामा ल्याऔ। परमेश्वरले दिनुभएको आत्मिक हतियारहरुद्वारा, हामी यि गढहरुलाई भत्काउन सक्दछौ। यी गढहरुलाई भत्काउन महान हतियारहरु मध्ये एउटा हतियार परमेश्वरको वचन हो (२ कोरिन्थी १०:४)। त्यसैले हामी " ख्रीष्टको आज्ञाकारी बन्नलाई हरेक विचार कैद" गर्न सक्छौ।
जब हामी हाम्रो विचारलाई परमेश्वरको वचनले झन् बढि, झन् बढि भर्छौ, हामीले यि गढहरु एकएक गर्दै भत्केको देख्छौ - र यस गढ भित्र भएको सेनाहरु (विचारहरु) पनि नष्ट भएको देख्छौ। एउटा जवान मानिसको रुपमा, मैले पनि तपाईहरुले जस्तै, खराब विचारहरुसँग सङ्घर्ष गरेको छु। मैले मेरो जवानीका दिनहरुमा यो समाधान पाएँ। मैले परमेश्वरको वचन पढेँ, मनन गरे र मेरो मनलाई उहाँको वचनद्वारा भरेँ। हाम्रो विचारहरु फोहोर पानीले भरिएको कचौरा जस्तै हो, किनकी हामीले हाम्रो बदली नभएका दिनहरुमा त्यस भित्र धेरै फोहोर कुराहरु हालेका थियौ। तर यदि हामीले त्यस कचौरामा एक जग सफा पानी हाल्यौ भने, बिस्तारै त्यो पानी पातलो हुँदै पोखिएर जान्छ। त्यसैले त्यस कचौरामा भएको पानी झन् सफा, झन् सफा हुदै जान्छ। यसले धेरै लामो समय लिन्छ। तर हाम्रो विचारमा परमेश्वरको वचनलाई हाल्नाले हाम्रो विचार बिस्तारै सफा हुन्छ, केहि वर्षको अवधिसम्ममा। तर यदि हामीले त्यस कचौरामा थोरै थोरै फोहोर थपिराख्यौँ भने सफा हुने प्रकृया ढिलो हुन्छ। तर हामी परमेश्वरसँग हाम्रो हरेक विचार ख्रीष्टको आज्ञाकारीतामा कैद गर्ने अनुग्रह माग्न सक्छौ।
२ कोरिन्थी ११:२,३ मा पावल बताउछन् कि उनी त्यस कोरिन्थीका विश्वासीहरुलाई " थुमाको विवाहको समयमा" प्रभुकहाँ एउटी चोखी कन्याको रुपमा अर्पण गर्न चाहन्छन्। त्यसैले उनीहरु अरुको प्रेममा नपरुन् भनी उनी सतर्क भए । अब्राहामको दास एलीएजरको को बारेमा सोच्नुहोस्, इसहाकलाई दिनलाई रिबेकालाई लामो यात्रामा लैजादाको कुरा (उर देखी कनाकको लगभग १५०० किलोमिटरको दुरी)। त्यस यात्रामा यदि कोहि सुन्दर पुरुष आएर रिबेकाको प्रेम जित्न खोजेको भए, एलीएजरले रिबेकालाई चेतावनी दिएका हुन्थे, "यी पुरुषहरुतिर आकर्षित नहोऊ। मैले तिमीलाई इसहाक कहाँ चोखी कन्याको रुपमा प्रस्तुत गर्नुपर्छ।" पावल कोरिन्थको मण्डलीलाई ख्रीष्टकहाँ लैजादा त्यसरी नै जोगाएर राख्न चाहन्थे। यो हरेक परमेश्वरको जनमा आफ्नो बगालको लागि हुनै पर्ने पवित्र सतर्कता हो। उनले तिनीहरुलाई भन्नैपर्छ, "तिमीहरु ख्रीष्टको लागि जोगाइएका छौ। पैसा, अनैतिक शारिरिक सम्बन्धद्वारा नखिचिउ। यिनीहरुले तिमीलाई आकर्षित तुल्याउन खोज्छ। तर तिमीले तिनीहरुलाई रोक्नुपर्छ र आफूलाई पवित्र राख्नुपर्छ।" तब पावल यसरी भन्दै जान्छन्, " तर जसरी साँपले आफ्नो धूर्तताद्वारा हव्वालाई धोका दियो, त्यसरी नै कुनै न कुनै प्रकारले तिमीहरूका मनहरू ख्रीष्टप्रति भएको सीधापनाबाट भ्रष् ट हुन्छन् कि भन्ने डर मलाई लाग्छ। "
मानिसहरु कहिले पछि हट्छन् वा बाटो बिराउछन्? उनीहरु कुनै झुटो शिक्षा वा कुनै पन्थमा गाबिएको बेलामा? २ कोरिन्थी ११:३ अनुसार, हामी तब आफ्नो बाटो बिराउछौ जब हामी ख्रीष्टप्रतिको हाम्रो भक्तिलाई गुमाउछौ। हरेक विश्वासी जसले ख्रीष्टप्रतिको आफ्नो भक्तिलाई गुमाएको छ, उसले आफ्नो बाटो बिराएको छ। परमेश्वरको बगालको गोठालोको रुपमा हाम्रो काम भेडाहरुलाई ख्रीष्टको भक्तिमा जोगाइराख्नु हो । यो विश्वासी जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो। शैतानले निरन्तर विश्वासीहरूलाई उत्साहपूर्वक येशूलाई प्रेम गर्नबाट वञ्चित गराउन खोज्छ। यदि हामीले ख्रीष्टप्रतिको हाम्रो उत्कट प्रेमलाई गुमायौं भने प्रचार गर्नु, शिक्षा दिनु वा प्रभुको लागि अरू कुनै सेवामा संलग्न हुनु व्यर्थ छ। प्रभुलाई एफेससको मण्डली र त्यसको दूतको विरुध्द केवल यहि कुराको गुनासो थियो (प्रकाश २:४)।