WFTW Body: 

एफिसी अध्याय ४ मा, हामीलाई एउटा आज्ञा दिइएको छ जसले भन्छ, “क्रोध गर, तर पाप नगर” (एफिसी ४ः२६) । यसको अर्थ के हो भने, तपाईंको जीवनमा हुनुपर्ने रीस पापपूर्ण नभएको रीस हो । त्यसैले जब येशूले पुरानो नियमको स्तर, “हत्या नगर” बाट “क्रोध नगर” सम्मको नियम ल्याउनुभयो, हामीले सही प्रकारको रीस के हो र गलत प्रकारको रीस के हो भनेर बुझ्नु आवश्यक छ ।

जब हामीले कुनै पदलाई बुझ्दैनौं, हामीले हाम्रो आध्यात्मिक शब्दकोष हेर्नुपर्छः वचन देहधारी हुनुभयो – येशू ख्रीष्टको जीवन । येशूले आफूलाई संसारको ज्योति भन्नुभयो र यसले उहाँको बारेमा भन्छ, “उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरुको ज्योति थियो” (यूहन्ना १ः४) । हाम्रा प्रभु येशू ख्रीष्टको जीवन त्यो ज्योति हो जसले धर्मशास्त्रको प्रत्येक पदलाई व्याख्या गर्दछ । त्यसैले जब हामी पढ्छौं, “क्रोध गर, तर पाप नगर” र हामी पापपूर्ण क्रोध र पापरहित क्रोध बीचको भिन्नता छुट्याउन खोजिरहेका छौं, हामीले येशूको जीवनमा रहेको ज्योतिलाई हेर्नुपर्ने हुन्छ ।

येशू कहिले रिसाउनु भयो र कहिले रिसाउनु भएन ? हामी मर्कूश ३ः१–५ मा पढ्छौं कि जब येशू सभाघरमा हुनुहुन्थ्यो, उहाँले हात सुकेको मानिसलाई निको हुनबाट रोक्न खोजिरहेका मानिसहरुलाई क्रोधले हेर्नुभयो । फरिसीहरु पक्षघात भएको मानिसलाई निको पार्नु भन्दा विश्राम दिनको विधि पालना गर्ने कुरामा बढी चिन्तित थिए, त्यसैले उहाँ रिसाउनु भयो । यो सही प्रकारको क्रोध हो – धार्मिक अगुवाहरु र धार्मिक मानिसहरुप्रतिको क्रोध जो मानिसहरुमा भन्दा विधिहरुमा बढी रुचि राख्छन् र पक्षघात भएका मानिसहरुलाई बचाउनु भन्दा निश्चित विधि पालना गर्नमा बढी रुचि राख्छन् ।

आज पापबाट पराजित ख्रीष्टियानहरुमा पक्षघात पाइन्छ, र जब हामीसँग धार्मिक व्यक्तिहरु छन् जो मानिसहरुलाई पापबाट मुक्त गराउने भन्दा बढी तिनीहरुले दशांश तिर्ने कुराको निश्चित गराउनलाई बढी चासो राख्छन् । तिनीहरु फरिसीहरु कै समूहमा छन् जसले हात सुकेको मानिसलाई निको हुन दिँदैनथे र मानिसहरुले दशांस तिर्ने र शबाथ दिनको पालन गर्ने कुराको बढी चासो राख्थे । आज यस्ता धेरै प्रचारकहरु र पास्टरहरु छन्, जसले आफ्नो बगाललाई उनीहरुको जीवनमा पापको शक्तिबाट छुटकारा दिन चाहँदैनन्, बरु उनीहरुले आफ्नो दशांस तिर्दैछन् भन्ने कुराको सुनिश्चित गर्न बढी इच्छुक छन् । येशूले आज त्यस्ता मानिसहरुलाई रिसले हेर्नुहुन्थ्यो किनभने उहाँ मानिसहरुलाई दशांस तिर्न लगाउन पृथ्वीमा आउनुभएको थिएन; उहाँ मानिसहरुलाई तिनीहरुको पापबाट बचाउन आउनुभएको थियो । उहाँ मानिसहरुलाई दशांस तिर्न लगाउन क्रुसमा मर्नुभएन; उहाँ हामीलाई हाम्रा पापहरुबाट छुटकारा दिन क्रुसमा मर्नुभयो ।

हाम्रा मुक्तिदाताको नाम येशू हो र उहाँ हामीलाई हाम्रा पापहरुबाट बचाउन आउनुभयो (मत्ती १ः२१) । जब मानिसहरुले अरुलाई तिनीहरुको पापबाट बचाउनबाट रोक्छन् र भन्छन्, “यस व्यक्तिको कुरा नसुन किनकि उसले पापमाथिको विजयको प्रचार गरिरहेको छ, तर मेरो कुरा सुन किनकि म तिमीलाई दशांस कसरी तिर्ने भन्ने कुरा बताउँछु,” हामी निश्चित हुनुपर्छ कि येशू त्यस्ता व्यक्तिहरु प्रति क्रोध राख्नुहुन्छ । र यदि तपाईं येशू ख्रीष्टसँग संगतीमा हुनुहुन्छ भने, परमेश्वरको सेवकको रुपमा तपाईं त्यस्ता व्यक्तिहरुसँग पनि रिसाउनुपर्छ जसले अरुलाई मुक्ति पाउनबाट रोक्छन् ।

येशू रिसाउनु भएको अर्को उदाहरण यूहन्ना २ मा छ, जब येशू मन्दिरमा जानुभयो र पैसा साट्नेहरुलाई मन्दिरबाट बाहिर निकाल्नुभयो । यसले भन्छ कि उहाँले कोर्रा बनाउनुभयो र पैसा साट्नेहरुको टेबुल पल्टाइदिनुभयो र भन्नुभयो, “यी चिजहरु पर लैजानुहोस् !” उहाँ साँच्चै रिसाउनुभएको थियो र चेलाहरुले त्यो वचन सम्झे जसमा भनिएको थियो, “तपाईंको घरको जोशले मलाई जलाएको छ” (यूहन्ना २ः१५–१७) । जब हामी मानिसहरुले धर्मको नाममा वा ख्रीष्टको नाममा पैसा कमाउँदै र “हामी यी भेंडा र ढुकुरहरु तपाईंलाई बलिदानको लागि बेच्नेछौं तर अवश्य पनि यो तपाईंलाई बजारमा भन्दा अलि बढी महँगो पर्नेछ किनकि हामीले हाम्रो कमिशन पाउनुपर्छ” भन्दै ढुकुर र भेडा बेच्नेहरुले गरिब मानिसहरुको शोषण गरेझैं मानिसहरुले गरिबहरुको शोषण गरिरहेको देख्छौं, परमेश्वरको घरको पवित्रताप्रतिको जोशले हामीमा क्रोध उत्पन्न गराउनुपर्छ ।

येशू कहिले रिसाउनु भएन ? एउटा उदाहरण हो – जब उहाँलाई बालजिबुल (भूतहरुको राजकुमार) भनिएको थियो (मत्ती १२ः२२–२४) । यो तब भयो जब येशूले एक बहिरो र लाटो मानिसबाट भूत निकाल्नुभयो । भीडहरु त्यो देखेर उत्साहित भए, र भन्न थाले, “यो दाऊदको पुत्र हो । हेर, उहाँले कस्तो अद्भुत चमत्कार गर्नुभएको छ र त्यो मानिसलाई मुक्त गर्नुभएको छ !” तर फरिसीहरुले डाह गर्न थाले र तिनीहरुले तुरुन्तै भने “यो मानिस भूतहरुको शासकद्वारा भूतहरु निकाल्दैछ” (मत्ती १२ः२४) । तिनीहरुले येशूलाई शैतान भनिरहेका थिए । तपाईंले प्रभुको सेवा गर्दैगर्दा तपाईंलाई कसैले तपाईंलाई शैतान भनेको कल्पना गर्नुहोस् । तर येशूले जवाफ दिनुभयो, “म केवल एक मानिसको पुत्र हुँ, म केवल एक साधारण मानिस हुँ । यदि तपाईंले मेरो विरुद्धमा बोल्नुभएको छ भने, तपाईंलाई क्षमा गरिएको छ; तर पवित्रआत्माको विरुद्धमा नबोल्न होसियार रहनुहोस्” (मत्ती १२ः३२) ।

मानिसहरुले उहाँलाई शैतान भन्दा उहाँ रिसाउनु भएन । उहाँले भन्नुभयो, “तिमीले मेरो विरुद्धमा बोले पनि ठीक छ, म त केवल मानिसको पुत्र हुँ । तिमीलाई क्षमा भयो ।” जब उहाँलाई तिनीहरुले शैतान भने, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्थ्यो, र उहाँ दुःखी हुनुभएन । उहाँले तिनीहरुलाई क्षमा दिनुभयो । एक साँचो ख्रीष्टियान उसलाई शैतान, सुँगुर, कुकर वा जेसुकै नराम्रो नामले बोलाउँदा पनि कहिल्यै रिसाउँदैन । यसले केही फरक पार्दैन । यदि ऊ ख्रीष्ट जस्तै छ भने उसले तिनीहरुलाई क्षमा गर्नेछ र रिसाउने छैन । उसलाई ती नामहरु लिएर बोलाउने मानिसहरु विरुद्ध कुनै तितोपना वा क्रोध पनि उसले राख्नेछैन ।

धेरै कम ख्रीष्टियानहरु ख्रीष्टजस्तै हुन चाहन्छन्, तर तिनीहरु सबै मरेपछि स्वर्ग जान चाहन्छन् । प्रत्येक ख्रीष्टियान मरेपछि स्वर्ग जान चाहन्छन्, तर तिनीहरु मध्ये कति जना स्वर्ग जानु अघि यस पृथ्वीमा येशू ख्रीष्ट जस्तै बाँच्न चाहन्छन् ? धेरै कम । समस्या यही हो । यी मध्ये धेरै मानिसहरु वास्तवमा ख्रीष्टियान होइनन् । तिनीहरु नामले नै ख्रीष्टियान हुन् किनकि तिनीहरु एक ख्रीष्टियान परिवारमा जन्मेका थिए, तर तिनीहरुले आफ्नो जीवनमा येशू ख्रीष्टको प्रभुत्वमा आत्मसमर्पण गरेका छैनन् र त्यसैले जहाँसम्म परमेश्वरको सवाल छ, तिनीहरु ख्रीष्टियान होइनन् । ख्रीष्ट फेरि आउनुहुँदा तिनीहरु आश्चर्यमा पर्नेछन् जब तिनीहरुले थाहा पाउनेछन् कि तिनीहरु बिल्कुलै ख्रीष्टियान थिएनन्, किनकि ख्रीष्टियान परिवारमा जन्मेर तपाईं ख्रीष्टियान बन्न सक्नुहुन्न । तपाईंले व्यक्तिगत छनौट गर्नुपर्छ ।

यो हामीले बुझ्नु धेरै जरुरी छ । एफिसी ४ः२६ को अर्थ यही हो, “क्रोध गर, तर पाप नगर ।” अनि पाँच पदपछि एफिसी ४ः३१ ले भन्छ, “सबै रिस त्याग ।” यी दुई पदहरु विरोधाभासी देखिन्छन्, जहाँ एक ठाउँमा यसले भन्छ, “क्रोध गर, तर पाप नगर”, र अर्को ठाउँमा यसले भन्छ, “सबै रिस त्याग ।” हामीले कस्तो रिस त्याग्नुपर्छ ? स्वार्थी, आत्मकेन्द्रित र पापी रिस । हामीमा कस्तो रिस हुनुपर्छ ? जुन परमेश्वरमा केन्द्रित छ, जुन परमेश्वरको नामको महिमासँग सम्बन्धित छ । आज पृथ्वीमा परमेश्वरको नामको सम्मान नगरिने कुरामा हामीले बोझिलो महसुस गर्नुपर्छ ।