पहिलो गलत मनोवृत्तिको बारेमा येशूले बोल्नु भएको कुरा रिस थियो । हामीले हाम्रो जीवनमा रिसबाट छुटकारा पाउनुपर्छ । दोस्रो, जुन सबै ख्रीष्टियानहरु (सबै मानिसहरु पनि) मा अर्को प्रमुख समस्या हो, यौनको बारेमा कामुक सोंच – जस्तै जब एक पुरुषले महिलालाई कामवासनाको दृष्टिले हेर्छ । मत्ती ५ः२७–२८ ले भन्छ कि पुरानो नियमको स्तर “शारिरीक व्यभिचार नगर” भन्ने थियो । जब सम्म तपाईंले आफ्नी पत्नी नभएको महिलालाई छुनुहुन्न, र उनीसँग व्यभिचार गर्नुहुन्न, तपाईं ठीक हुनुहुन्छ । त्यो पुरानो नियमको मापदण्ड हो ।
तर येशूले स्तर उच्च पार्नुभयो । जसरी मोशा पहाडमा उक्लेर दश आज्ञा लिएर ओर्ले, त्यसरी नै येशू पहाडमा उक्लेर डाँडाको उपदेश प्रचार गर्नुभयो । उहाँले ती दश आज्ञाहरुको स्तरलाई ती आज्ञाहरुको जिवन्ततामा उच्च पार्नुभयो । उहाँले देखाउनुभयो कि हत्या क्रोध जस्तै हो, व्यभिचार भनेको कामवासनाको दृष्टिले हेर्नु जस्तै हो – अर्को शब्दमा, तपाईं आफ्नो मनमा त्यो महिलासँग व्यभिचार गर्दै हुनुहुन्छ । येशूले भन्नुभयो कि परमेश्वरको नजरमा त्यो व्यभिचार हो, किनकि तपाईंको भित्री जीवन अशुद्ध छ ।
फरिसीहरुको पहिचान यो थियो कि तिनीहरुले आफ्नो बाहिरी जीवन शुद्ध राख्थे – कचौराको बाहिरी भाग मात्रै । एक ख्रीष्टियान जसले आफ्नो बाहिरी जीवन सफा राख्छ तर आफ्नो भित्री विचार अशुद्ध राख्छ, त्यो फरिसी हो, र ऊ नरकको बाटोमा छ चाहे उसले चाल पाओस् या नपाओस् । हामी मध्ये धेरैले यसको गम्भीरता बुझ्दैनौं ।
पछिल्ला (३५) वर्षहरुमा मैले केही पापहरुको विरुद्धमा सबैभन्दा धेरै प्रचार गरेको छु, तर विशेषगरी दुई पापहरु – क्रोध र यौन वासनाका पापपूर्ण, कामुक विचारहरु । मानिसहरुले मलाई सोधेका छन् कि म किन यति धेरै तिनीहरुको विरुद्धमा बोल्छु । म तिनीहरुलाई भन्छु किनभने येशूले यी दुई पापहरुको बारेमा उल्लेख गर्नुभएको थियो जब उहाँले पहिलो पटक भन्नुभयो कि हाम्रो धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकता भन्दा बढी हुनुपर्छ । तपाईंको धार्मिकता तपाईंको वरपरका सबै फरिसीहरु (जो धेरै धार्मिक मानिसहरु हुन्) भन्दा उच्च हुनुपर्छ भनेर भन्नुभएपछि, येशूले उल्लेख गर्नुभएको पहिलो दुई पापहरु क्रोधको क्षेत्रमा, र यौनको वासनापूर्ण सोंचको क्षेत्रमा थिए । मैले तिनीहरुको विरुद्धमा सबैभन्दा बढी प्रचार गर्नुको कारण यही हो ।
मैले यी दुई पापहरुको विरुद्धमा प्रचार गर्नुको दोस्रो कारण यो हो कि यी दुई पापहरु मात्र हुन् जसको बारेमा येशूले डाँडाको उपदेशमा बोल्नुभएको थियो, जहाँ उहाँले भन्नुभएको थियो कि यी पापहरुमा लिप्त हुनुको खतरा नरकमा जानु हो । धेरैजसो मानिसहरुले यो कुरामा विश्वास गर्दैनन् । केवल दुई पटक मात्र डाँडाको उपदेशमा येशूले नरकको बारेमा बोल्नुभएको थियो, त्यो यी दुई पापहरुको सम्बन्धमा थियो (मत्ती ५ः२२ख, २९–३०), त्यसैले यसले हामीलाई जानकारी दिन्छ कि यी दुई पापहरु पक्कै गम्भीर हुनुपर्छ ।
यो धेरै महत्वपूर्ण छ कि येशूले डाँडाको उपदेशमा नरकको बारेमा दुई पटक मात्र कुरा गर्नुभयो जुन क्रोध र यौन वासनाको सोंचसँग सम्बन्धित थियो । त्यसैले यी परमेश्वरको नजरमा गम्भीर पापहरु हुनुपर्छ र आज तिनीहरुको विरुद्धमा पर्याप्त प्रचार भइरहेको छैन । क्रोधलाई जित्ने बारेमा तपाईंले अन्तिम पटक कहिले सुन्नुभयो त्यो सोंच्न सक्नुहुन्छ ? मलाई लाग्दैन कि मैले मेरो सम्पूर्ण जीवनमा यसबारे कुनै सन्देश सुनेको छु । ५०ं वर्षमा म ख्रीष्टियानजगत् वरिपरि घुमिरहेको छु, मैले टेलिभिजन, टेप, सीडि र धेरै मण्डलीहरुमा धेरै प्रचारकहरुलाई सुनेको छु । यद्यपि मैले यौन वासनापूर्ण सोचाइलाई जित्ने बारेमा सन्देश कहिल्यै सुनेको छैन । किन शैतानले प्रचारकहरुलाई यी दुई क्षेत्रहरुमा प्रचार गर्नबाट रोकेको छ ?
पहिलो कारण हो प्रचारकहरु आफैंले विजय प्राप्त गरेका छैनन् । यदि तिनीहरु अझैपनि दास छन् भने तिनीहरुले यसको बारेमा कसरी बोल्न सक्छन् ? दोस्रो, प्रचारकहरु प्रायः आफ्ना मण्डलीहरुमा मानिसहरुलाई बाहिरबाट राम्रो देखाउन र तिनीहरुबाट पैसा संकलन गर्नमा बढी रुचि राख्छन् । त्यसैले यी दुई कुराहरुलाई जोड दिन बढी आवश्यक छ, जसको बारेमा येशूले धेरै कुरा भन्नुभयो । येशूले भन्नुभएको थियो कि यी ती दुई पापहरु हुन् जसले एक व्यक्तिलाई अन्ततः नरकमा पुर्याउँछ र यो धेरै गम्भीर कुरा हो ।
येशूले दश आज्ञाहरु लिनुभयो र ती आज्ञाहरु पछाडि के लुकेको छ भनेर मानिसहरुलाई देखाउनु भयो ।
आफ्नी पत्नी नभएकी महिलाको पछि यौन वासनाले लाग्नु पाप हो भनेर बुझ्नको लागि तपाईं मत्ती ५ मा आउनु पर्दैन । येशूले भन्नुभयो कि जो कोही (र त्यो व्यक्ति विश्वासी होस् वा अविश्वासी, यसले फरक पार्दैन) जसले कुनै महिलालाई वासनाले हेर्छ, उसले पहिले नै आफ्नो हृदयमा उनीसँग व्यभिचार गरिसकेको हुन्छ । वासना भनेको तीव्र इच्छा हो । उहाँले भन्नुभयो कि यो यति गम्भीर छ कि यदि तपाईंको दाहिने आँखाले तपाईंलाई यस क्षेत्रमा ठेस पुर्याउँछ भने तपाईंले यसलाई निकाल्नुपर्छ ! जब तपाईं आफ्नो आँखाद्वारा यौन वासनाको प्रलोभनमा पर्नुहुन्छ तब तपाई कठोर हुनैपर्छ । तपाईं अन्धा मानिस जस्तो व्यवहार गर्नुपर्छ । यसलाई पार गर्ने त्यो एक मात्र तरिका हो । तपाईंले यसलाई हल्का रुपमा लिएर भन्नुहँुदैन, “ठीक छ, म त केवल परमेश्वरले बनाउनु भएको सुन्दरताको तारिफ गर्दैछु ।” यो पापमाथि सिद्धता प्राप्त गर्नलाई धेरै बाटोहरु छन्, र धेरै मानिसहरुले हिंड्छन् । यो जब एक व्यक्तिले यो क्षेत्रमा केही अवधिको लागि लापरवाही गर्छ ऊ शारिरीक व्यभिचारमा पनि फस्नसक्छ, जसरी संसारभरि धेरै पास्टरहरु फसेका छन् ।
मत्ती ५ मा येशूले सिकाउनुभएको कुरा परमेश्वरको भय मान्ने मानिसहरुले जान्दै नजानेका कुनै नयाँ कुरा थिएन । मलाई पक्का छ कि येशूले भन्नुभन्दा पहिले नै वप्तिस्मा दिने यूहन्नाले यो कुरा थाहा पाएका थिए । अय्यूवलाई यो थाहा थियो (अय्यूव ३१ः१,४,११) । परमेश्वरको आदर गर्ने जो कोहीसँग, यदि ऊसँग अय्यूबसँग नभए झैं बाइबल छैन भने पनि, उसले यो निष्कर्ष निकाल्नेछ कि यदि मैले मेरी पत्नी नभएकी महिलालाई यौन वासनाले हेरें भने, यो परमेश्वरको सामु पाप हुन्छ । हामी भित्र केही यस्तो छ जसले हामीलाई यो गलत हो भनी बताउँछ । यो परमेश्वरले तपाईंलाई नदिएको कुरा चोर्नु जस्तै हो । यदि तपाईंसँग बाइबल छैन भने पनि, तपाईंको विवेकले तपाईंलाई भन्नेछ कि जब तपाईंले तपाईंको स्वामित्वमा नरहेको कुरा चोर्नुहुन्छ, त्यो पाप हो । तपाईंलाई त्यो भन्नको लागि कुनै आज्ञाको आवश्यकता पर्दैन । परमेश्वर प्रतिको श्रद्धाले नै तपाईंलाई त्यो बताउनेछ । यो सम्झनु एउटा अद्भुत कुरा हो जसै हामीले येशूले सिकाउनु भएको कुरा हेर्छौं ।
आज धेरै विश्वासीहरुले यौन वासनाको यो विषयलाई कसरी यति हल्कारुपमा लिन सक्छन् ? किनभने परमेश्वरप्रति श्रद्धाको आधारभूत अभाव छ, जुन अय्यूवमा थियो । आजका ख्रीष्टियानहरुसँग बाइबलको ज्ञान छ, तर परमेश्वरप्रति श्रद्धा छैन । बाइबल स्कूलहरुमा जाने र बाइबल अध्ययन गर्दै धर्मशास्त्रमा विद्यावारिधि गर्ने मानिसहरु पनि छन्, तर अझै पनि महिलाहरुको पछि लाग्छन् । यसले हामीलाई के सिकाउँछ ? यसले हामीलाई सिकाउँछ कि धर्मशास्त्रको ज्ञान दिमागमा हुनु र बाइबल सेमिनारीबाट “डिग्री प्राप्त गर्नु” ले तपाईंलाई पवित्र बनाउँदैन । आज अनुवाद र अनुरुपताको प्रसस्ततासँगै बाइबलको ज्ञान धेरै छ । हामीसँग हाम्रो मोबाइल फोन र सिडीहरुमा पनि बाइबल छ, जुन मानिसहरुले आफ्नो कार चलाउँदा सुन्नसक्छन्, आदि । तर यति धेरै ज्ञानको बावजुद पनि परमेश्वरप्रति श्रद्धा धेरै कम छ ।
यदि हामीमा परमेश्वरको श्रद्धा छ भने, डाँडाको उपदेशमा, येशूले सिकाउनु भएको धेरै कुराहरु डाँडाको उपदेश नपढीकन नै जान्न सक्छौं । यी मध्ये केही कुराहरु हामीलाई स्पष्ट छन्ः रिस पाप हो, महिलाहरुप्रतिको वासना पाप हो, र यहाँ लेखिएका अरु धेरै कुराहरु । त्यसकारण, ज्ञानको कमिले गर्दा तपाईं पापमा लागिरहनुभएको होइन; यो परमेश्वरप्रति श्रद्धाको कमिले गर्दा हो । परमेश्वरप्रति श्रद्धा राख्नु बुद्धिको सुरुवात हो । यो ख्रीष्टियान जीवनको “एबिसी” हो र यदि त्यो हामीसँग छैन भने बाइबल अध्ययन वा सन्देशहरु सुन्ने कुनै पनि अनुपातले हामीलाई पवित्र बनाउने छैन ।