द्वारा लिखित :   जैक पूनेन
WFTW Body: 

"धन्य दया गर्नेहरु, किनभने तिनीहरुले दया पाउनेछन्" (मत्ती ५ः७) । येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो, "हे हाम्रा स्वर्गमा हुनुहुने पिता, जसरी हामीले अरुलाई हाम्रो विरुद्धमा गरेको पाप क्षमा गर्छौं, त्यसरी नै हाम्रा पापहरु क्षमा गर्नुहोस् ।" त्यो प्रार्थनाको अर्थ के हो ? यसको अर्थ, यदि मैले कसैलाई मेरो विरुद्धमा गरेको पापको लागि क्षमा गरिन भने, प्रभुले मलाई क्षमा गर्नुहुने छैन । म परमेश्वरसँग प्रार्थना गरिरहेको छु, "प्रभु, मलाई त्यसरी नै क्षमा गर्नुहोस् जसरी मैले यो अर्को व्यक्तिलाई क्षमा गरेको छु ।" तर यदि मैले यो अर्को व्यक्तिलाई क्षमा गरेको छैन भने, मैले साँच्चै प्रभुलाई मलाई क्षमा नगर्न अनुरोध गर्दैछु ।

के तपाईंलाई थाहा छ कि जब तपाईं प्रभुको प्रार्थना गर्नुहुन्छ, तपाईंले अरुलाई क्षमा गरे जस्तै गरी परमेश्वरसँग क्षमा माग्दै हुनुहुन्छ ? जब तपाईंले अरुलाई क्षमा गर्न अस्वीकार गर्नुहुन्छ, तपाईं प्रार्थना गर्दै हुनुहुन्छ, "मलाई त्यही तरिकाले क्षमा गर्नुहोस् जसरी मैले यो व्यक्तिलाई क्षमा गरेको छु; किनकि मैले उसलाई क्षमा गरेको छैन, तपाईंले मलाई क्षमा नगर्नुहोस् ।" अथवा, "मैले उसलाई क्षमा गरिसकें तर उसले म प्रति गरेको व्यवहारको कारणले गर्दा मलाई ऊप्रति भयानक द्वेष छ, त्यसैले प्रभु, जब तपाईंले मलाई क्षमा गर्नुहुन्छ, तपाईंले पनि म प्रति द्वेष राख्नुहोस् ।"

जब मानिसहरुले हामीलाई कुनै तरिकाले हानि पुर्याउँछन् वा चोट पुर्याउँछन्, हाम्रो मनमा दुई विरोधाभासी विचारहरु उत्पन्न हुन्छन् । एउटा दयाको विचार हो र अर्को न्यायको विचार हो । पवित्र आत्माले हामीलाई क्षमा गर्न र दयालु हुन भन्नुहुन्छ, तर हाम्रो शरीरले हामीलाई त्यो व्यक्तिमाथि कठोर हुन र उसको न्याय गर्न भन्छ, र परमेश्वरले उसलाई पनि न्याय गर्नुभएको होस् भनी प्रार्थना गर्न भन्छ । तर याकुब २ः१३ मा भनिएको छ, "किनकि जसले अरुलाई दया देखाएको छैन, त्यसको न्याय पनि दया विना नै हुन्छ ।" यदि म कसैप्रति निर्दयी छु भने, परमेश्वर पनि म प्रति निर्दयी हुनुहुनेछ । अनि न्यायको दिनमा, हामीले एउटा ठूलो आश्चर्य भेट्टाउनेछौं जब परमेश्वरले अरुलाई क्षमा नगर्ने विश्वासीहरु माथि धेरै कठोर न्याय ल्याउनुहुनेछ - तिनीहरु परमेश्वरको राज्यमा प्रवेश गर्ने छैनन् ।

याकूब २ः१३ ले अगाडि भन्छ, "दयाले न्यायमाथि विजय हासिल गर्नुपर्छ ।" यसको अर्थ यो हो कि मेरो हृदयमा कसैलाई न्याय गर्ने र उसलाई दया गर्ने बीच द्वन्द्व हुन्छ, तब न्यायलाई होइन, दयालाई विजयी हुन दिनुहोस् । त्यो परमेश्वरको मानिसको चिन्ह हो । दयाले न्यायमाथि विजय हासिल गर्छ ।

रोमी १२ः१९ ले भन्छ, "आफैंले बदला कहिल्यै नलेऊ" किनभने त्यो परमेश्वरको काम हो । परमेश्वर भन्नुहुन्छ, "बदला लिने काम मेरो हो । यो तिम्रो काम होइन ।" "बदला लिने काम मेरो हो, म बदला लिनेछु," परमप्रभु भन्नुहुन्छ । यदि ऊ तिर्खाएको छ भने, उसलाई केही पिउन देऊ । हामीले बदला लिनु हुँदैन । हामी दयाल हुनुपर्छ र अरुको भलाइ गर्नसक्ने ठाउँमा भलाई गर्न खोज्नुपर्छ । न्यायको दिनमा हामीले थाहा पाउनेछौं कि यदि हामीले अरुलाई क्षमा गरेका छैनौं भने, परमेश्वरले हामीलाई क्षमा गर्नुहुनेछैन । प्रभुको प्रार्थनामा येशूले त्यही निर्देशन फेरि दोहोर्याउनुहुन्छ ।

"यदि तिमीहरुले अरुलाई क्षमा गरेनौं भने, तिमीहरुका स्वर्गीय पिताले तिमीहरुका अपराधहरु क्षमा गर्नहुनेछैन" (मत्ती ६ः१५) । "तिम्रो स्वर्गीय पिता" ले उहाँ पहिले नै तपाईंको स्वर्गीय पिता हुनुहुन्छ र तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ भनी बुझाउँदछ । उहाँले भन्नुभएन, "परमेश्वरले तिमीलाई क्षमा गर्नुहुनेछैन ।" यदि उहाँले "परमेश्वर" शब्द प्रयोग गर्नुभएको भए, हामीेले भन्न सक्थ्यौं कि यो पदले अविश्वासीहरुलाई जनाउँछ । तर ध्यान दिनुहोस् मत्ती ६ः१५ मा "तिम्रो पिता " लेखिएको छ । के परमेश्वर अविश्वासीहरुका पिता हुनुहुन्छ ? होइन ! तर यदि तपाईं परमेश्वरको नयाँ गरी जन्मेको सन्तान हुनुहुन्छ भने, परमेश्वर तपाईंको पिता हुनुहुन्छ । अनि यसले भन्छ "तिमीहरुका पिताले तिमीहरुका अपराधहरु क्षमा गर्नुहुनेछैन ।" किन ? किनभने तिमीहरुले अरु कसैलाई क्षमा गरेनौं ।

यदि तपाईंका अपराधहरु क्षमा भएका छैनन् भने, तपाईं कसरी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नुहुन्छ ? के तपाईंलाई लाग्छ तपाईंको मृत्यु पछि ती क्षमा गरिनेछन् ? के हामी मरेपछि दोस्रो मौका छ ? यदि तपाईं कसैलाई क्षमा नगरी मर्नुभयो भने, अनन्तकालमा तपाईंको भाग्य के हुनेछ ? तपाईं नरकमा जानुहुनेछ भन्ने कुरामा मलाई कुनै शंका छैन, किनकि पृथ्वीमा पाप क्षमा नभएको कोही पनि स्वर्गमा प्रवेश गर्न सक्दैन । मृत्युपछि हाम्रो पाप क्षमा हुने कुनै सम्भावना छैन । तिनीहरु अहिले नै क्षमा गरिनुपर्छ, र त्यसैले अरु प्रति दयालु हुनु धेरै महत्वपूर्ण छ । त्यो तपाईंले अरु कसैलाई गरिरहनुभएको दयालु कार्य होइन । यो वास्तवमा तपाईंले आफैं माथि गरिरहनुभएको दयालु कार्य हो, किनभने तपाईं चाहनुहुन्छ कि परमेश्वर तपाईं प्रति दयालु हुनुभएको ।