WFTW Body: 

लुका १:३४,३५ मा हामी यस्तो पढ्छौँ, जब गब्रिएल मरियमकहाँ आए, उनले सामन्य जसरी नै उनलाई यसरी सोधिन्, "यो कसरी हुनेछ र? किनकि म कुनै पुरुषलाई जान्दिनँ नै"। स्वर्गदूतले जवाफ दिएर भने, "पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको सामर्थ्यले तिमीमाथि छाया पार्नेछ।" पवित्र आत्माले हाम्रो लागि सधैँ परमेश्वरको सामर्थ्य ल्याउनुहुन्छ। प्रेरित १.८ र १०.३८ मा हेर्नुहोस् जहाँ लेखिएको छ; पवित्र आत्मा तिमीहरुमाथि आउनुभएपछि तिमीहरुले सामर्थ्य पाउनेछौ। जसरी परमेश्वरको आत्मा येशूलाइ जन्म दिन मरियममाथि आउनुभयो, त्यसरी नै पवित्र आत्मा मुख्यतः हामीमा ख्रीष्ट देखाउन आउनुहुन्छ। हामीले हाम्रो जीवनमा र परमेश्वरको सेवामा पवित्र आत्माको सेवकाईलाई बुझ्न सक्नलाई यो एउटा स्पष्ट निर्देशन हो । जसरी मरियमको गर्भमा त्यो शरीर बढ्न समय लाग्यो, त्यसरी नै हाम्रो जीवनमा पनि ख्रीष्ट प्रकट हुनलाई समय लाग्नेछ।

लुका १.३७ मा हामी एउटा सुन्दर प्रतिज्ञा देख्छौं, "किनभने परमेश्वरका निम्ति कुनै कुरा पनि असम्भव हुनेछैन।"(परमेश्वरले बोल्नुहुने कुनै पनि शब्द सामर्थ्यहीन हुनेछैन) यदि परमेश्वरले एउटा शब्द बोल्नुभएको छ भने, त्यसमा सामर्थ्य छ भनेर तपाईं निश्चित हुन सक्नुहुन्छ। जब परमेश्वरले भन्नुभयो, "उज्यालो होओस्", त्यहाँ केही भयो।उत्पत्ति १ भरि हामी यो कुरा देख्छौँ कि परमेश्वरको कुनै शब्द सामर्थ्यहीन छैन। यसैकारण हामीले परमेश्वरको वचन अध्ययन गर्नु र यसका प्रतिज्ञाहरूमा दावी गर्नु महत्त्वपूर्ण छ। यहाँ एउटा सामर्थी प्रतिज्ञा छ: "किनकि पापले तिमीहरुमाथि राज्य गर्नेछैन; किनकि तिमीहरु व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।" (रोमी ६.१४)। यदि तपाईं यसलाई विश्वास गर्नुहुन्छ भने यो तपाईंको जीवनमा पनि सत्य हुनेछ, किनभने परमेश्वरबाटको कुनै पनि शब्द सामर्थ्यहीन हुन सक्दैन।

परमेश्वरको लागि सबै कुरा सम्भव छ भनेर हामीले विश्वास गरेको उहाँ चाहनुहुन्छ। त्यसकारण उहाँले यो कुरा दुवै पुरानो र नयाँ करारको शुरूतिरै भन्नुभयो (उत्पत्ति १८.१४ मा लेखिएको छ 'के परमप्रभुका निम्ति कुनै कुरा कठिन छ र?' र लूका १.३७ मा पनि यसरी लेखिएको छ, ' किनभने परमेश्वरका निम्ति कुनै कुरा पनि असम्भव हुनेछैन')। जब हामी हाम्रो इसाई जीवनको सुरुवात गर्छौं तब परमेश्वरको वचनको रूपमा बाइबलमाथिको हाम्रो विश्वास अन्धो विश्वास हुन सक्छ। तर यो विश्वास सधैँ अन्धो विश्वासकै रूपमा रहिरहनु हुँदैन। यदि हामीले पवित्र शास्त्रका प्रतिज्ञाहरूलाई दावी गर्‍यौं भने, हामी हाम्रो जीवनमा यो प्रमाणित गर्न सक्छौँ कि परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। त्यसपछि बाइबल परमेश्वरको वचन हो भन्ने हाम्रो विश्वास प्रमाणित विश्वास हुनेछ, किनकि त्यो बेला हामीले परमेश्वरको कुनै पनि शब्द सामर्थ्यहीन छैन भनेर हामीले चाखेर अनुभव गरेका हुनेछौँ। येशूले कहिल्यै पनि पुरानो नियममाथि प्रश्न उठाउनुभएन। सबै आलोचक र शास्त्रीहरूले भनेका कुराले उहाँ दुखी हुनुभएन। उहाँले त्यसकुरामा विश्वास गर्नुभयो र उहाँले त्यसको सामर्थ्यको अनुभव गर्नुभयो । आज शैतानले यति साधारण विश्वासबाट समेत धेरै मानिसहरूलाई बहकाइरहेको छ। परमेश्वरको वचनलाई विश्वास गर्नु र यसको सामर्थ अनुभव गर्नुको सट्टा उनीहरू आफ्नै चलाखीको प्रयोग गर्छन् र पवित्र शास्त्रको विश्लेषण गर्न खोज्छन् र एक पटक पनि परमेश्वरको सामर्थ्यको अनुभव नगरीकनै आफ्नो सम्पूर्ण जीवन खेर फाल्छन् । तपाईं कसरी जिउन चाहनुहुन्छ?पवित्र शास्त्रको विश्लेषण मात्र गरेर कि यस मार्फत परमेश्वरको सामर्थ्यको अनुभव पनि गर्दै जिउन चाहनुहुन्छ?रोजाई तपाईंको हो।

मरियमले परमेश्वरको वचन स्वीकार गरिन् र भनिन्, "तपाईंको वचनअनुसार नै मलाई होस्।"(लूका १.३८)। म मरियमको निकै ठूलो प्रशंसक हुँ (यद्यपि म एक रोमन क्याथोलिक होइन) किनभने उनी यति ईश्वरीय स्त्री थिइन्। एउटी साँच्चिकै ईश्वरिय स्त्री भेट्टाउनलाइ परमेश्वरले सम्पूर्ण इस्राएललाई हेर्नुभयो; अनि उहाँले मरियमलाई भेट्टाउनुभयो, जो सम्भवतः त्यतिखेर १८ वर्षकी मात्र थिईन् । लूका १:४६-५५ मा पढ्नुहोस् र उनी कति परिपक्व छिन् र उनको गीत कत्तिको पवित्र शास्त्रमा आधारित छ भन्ने कुरा नियाल्नुहोस्। १८ वर्षको उमेरमा नै एउटा व्यक्ति कसरी यति परिपक्व हुन सक्छ भन्ने कुरा निकै आश्चर्यजनक छ, यदि ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भने। परमेश्वरले व्यक्ति छान्ने कुरामा कुनै गल्ती गर्नुहुन्न। मरियमलाई थाहा थियो कि जब नासरतका मानिसहरूले उनी गर्भवती छिन् भन्ने कुरा थाह पाउनेछन् तब उनीहरुले उनको बारेमा अपमानजनक कथाहरू फैलाउने छन् । यो पवित्र आत्माको काम थियो भनेर कसैले पनि पत्याउने थिएनन् । अनि उनी त्यो अपमान सहन पनि राजी भइन्- उनको शरीरबाट येशुको शरीर बाहिर ल्याउनलाई । अब यो कुरा तपाईंको जीवनमा लागू गर्नुहोस्। के तपाईं आफ्नो ठाउँमा ख्रीष्टको शरीर निर्माण गर्न चाहानुहुन्छ?तपाईं त्यसको लागि सम्मान पाउन चाहनुहुन्छ कि तपाईं "ख्रीष्टको निन्दा" भोग्न पनि ईच्छुक हुनुहुन्छ? । परमेश्वर तिनीहरुलाई समर्थन गर्नुहुन्न जो उहाँको काम गरे वापत आदर खोज्छन्। त्यस्ता व्यक्तिहरूले केवल भीड जम्मा गर्ने काम गर्छन्, ख्रीष्टको शरीर निर्माण गर्नर काम होइन। ख्रीष्टको शरीर बनाउने कामले सधैं निन्दा, गलत बुझाइ, जिस्काउने कुराहरु र गफहरु ल्याउनेछन्- जस्तो मरियमले नासरतमा भोगिन्। तर तीमध्ये कुनै कुराले उनलाई सताएन। उनले अझै पनि ख्रीष्टको शरीरलाई बाहिर लिएर आइन्। र यो आज पनि उस्तै हुन्छ।ख्रीष्टको शरीर त्यहाँ अगाडि आउनेछ जहाँ मानिसहरू ' सम्प्रदायिक ईसाइमतको धार्मिक शिविरहरुबाट बाहिर निस्केर उहाँको लागि निन्दा वा सतावट भोग्न ' इच्छुक हुन्छन।