"सबै कुरा उहाँबाटकै हुन्" (रोमी ११ः३६) येशूले भन्नुभयो कि स्वर्गको राज्य आत्मामा दीन हुनेहरुको लागि हो (मत्ती ५ः३) । उहाँले यो पनि भन्नुभयो कि पिताको इच्छा पालन गर्नेहरु मात्र त्यो राज्यमा प्रवेश गर्नेछन् (मत्ती ७ः२१) । स्वर्गको राज्य अनन्त छ, र परमेश्वरको इच्छामा गरिएको कुरा मात्र त्यहाँ पाइनेछ । आत्मामा दीनहरु ती हुन जो आफ्नो मानवीय अपर्याप्तताको बारेमा सचेत छन् र त्यसैले परमेश्वरको इच्छामा पूर्ण रुपमा समर्पित छन् । यस अर्थमा, येशू सधैं आत्मामा दीन हुनुहुन्थ्यो ।
उहाँ परमेश्वरले मानिस जसरी बाँचोस् भनी चाहनुभएको थियो त्यही तरिकाले बाँच्नुभयो - परमेश्वरमा निरन्तर निर्भर रहेर, परमेश्वरबाट अलग रहेर आफ्नो मनको शक्ति प्रयोग गर्न अस्वीकार गर्दै । उहाँका शब्दहरुलाई विचार गर्नुहोस्ः "पुत्रले आफैंले केही गर्न सक्दैन.... म आफ्नै पहलमा केही गर्दिन, तर पिताले मलाई सिकाउनुभएझैं म बोल्छु...म आफ्नै पहलमा आएको होइन, तर उहाँले मलाई पठाउनुभयो...मैले आफ्नै इच्छामा बोलेको छैन, तर मलाई पठाउनुहुने पिताले मलाई के आज्ञा गर्ने र बोल्ने भनी आज्ञा गर्नुभएको छ.... म तिमीहरुलाई जे भन्छु त्यो म आफ्नै पहलमा बोल्दिन, तर ममा रहनुहुने पिताले आफ्नो काम गर्नुहुन्छ" (यूहन्ना ५ः१९,३०;८ः२८,४२;१२ः४९;१४ः१०) ।
येशूले कहिल्यै आवश्यकता देखेको कारणले मात्र काम गर्नुभएन । उहाँले आवश्यकता देख्नुभयो, त्यसको बारेमा चिन्तित हुनुहुन्थ्यो, तर उहाँको पिताले भन्नुभएको बेला मात्र काम गर्नुभयो । उहाँले स्वर्गमा कम्तिमा चार हजार वर्ष पर्खनुभयो, जब संसारलाई मुक्तिदाताको असाध्यै आवश्यकता थियो, र त्यसपछि उहाँको पिताले उहाँलाई पठाउनुहुँदा पृथ्वीमा आउनुभयो (यूहन्ना ८ः४२) । "जब परमेश्वरले तोक्नुभएको सही समय आयो, उहाँले आफ्नो पुत्रलाई पठाउनुभयो" (गलाती ४ः४ लिभिङ बाइबल) । परमेश्वरले सबै कुराको लागि सही समय तोक्नुभएको छ (उपदेशक ३ः१) । परमेश्वरलाई मात्र त्यो समय थाहा छ, र त्यसैले यदि हामीले येशूले जस्तै सबै कुरामा पिताको इच्छा खोज्यौं भने हामी गलत हुनेछैनौं । र जब येशू पृथ्वीमा आउनुभयो, उहाँले आफूलाई जे राम्रो लाग्यो त्यही गर्न मात्र घुम्नुभएन । उहाँको मन पूर्ण रुपमा शुद्ध भए पनि, उहाँले कहिल्यै मनमा आएको कुनै पनि असल विचारमा काम गर्नुभएन । गर्नुभएन । उहाँले आफ्नो मनलाई पवित्र आत्माको सेवक बनाउनुभयो ।
बाह्र वर्षको उमेरसम्ममा उहाँ धर्मशास्त्र राम्ररी जान्नुभएको भए तापनि उहाँले अर्को अठार वर्ष सिकर्मीको रुपमा बिताउनु भयो, आफ्नी आमासँग बसेर, टेबुल र कुर्सीहरु बनाउनु भयो, आदि । उहाँसँग त्यही सन्देश थियो जुन उहाँको वरिपरि नाश हुन लागेका मानिसहरुलाई चाहिन्थ्यो, र तैपनि उहाँ प्रचार सेवकाईमा जानुभएन । किन ? किनभने पिताको समय अझै आएको थिएन ।
येशू पर्खन डराउनुभएन । "जसले विश्वास गर्छ उसलाई हतार हुँदैन" (यशैया २८ः१६) । अनि जब उहाँको पिताको समय आयो, उहाँ आफ्नो सिकर्मीको कामबाट बाहिर निस्कनुभयो र प्रचार गर्न थाल्नुभयो । त्यसपछि प्रायः उहाँले कुनै कुनै कामको बारेमा भन्नुहुन्थ्यो, "मेरो समय अझै आएको छैन" (यूहन्ना २ः४; ७ः६) । येशूको जीवनमा सबै कुरा पिताको समय र इच्छाद्वारा नियमन गरिएको थियो । मानिसहरुको आवश्यकता आफैंमा कहिल्यै पनि येशूको लागि कामको आह्वान थिएन, किनकि त्यो उहाँ आफैंबाट - उहाँको आत्माबाट - बाहिर निस्कने कुरा थियो । मानिसहरुको आवश्यकतालाई ध्यानमा राख्नुपर्ने थियो, तर परमेश्वरको इच्छा चाहिँ पूरा गरिनुपर्थ्यो । येशूले यो कुरा यूहन्ना ४ः३४,३५ मा स्पष्ट पार्नुभयो । आवश्यकता (पद ३५)ः "आफ्नो वरिपरि हेर ! मानव आत्मरुपी विशाल फसलहरु हाम्रो वरिपरि पाकिरहेका छन्, र अब कटनीको लागि तयार छन्....", कार्यको सिद्धान्त (पद ३४)ः "मेरो पोषण मलाई पठाउनुहुने परमेश्वरको इच्छा पूरा गरेर र उहाँको काम पूरा गरेर आउँछ ।" (लिभिङ बाइबल) । येशूले आफ्ना साथीहरुले सुझाव दिएका धेरै राम्रा कामहरु गर्नुभएन, किनकि उहाँलाई थाहा थियो कि यदि उहाँले मानिसहरुका कुरा सुनेर क्षणिक रुपमा राम्रो गर्दा, उहाँले उहाँको पिताले उहाँको लागि राख्नुभएको उत्तम कुरा गुमाउनुहुनेछ ।
एक पटक, जब मानिसहरुले उहाँलाई एउटा विशेष ठाउँमा बस्न बिन्ति गरे, तर उहाँले मान्नुभएन, किनभने उहाँले अन्यत्र जानको लागि उहाँको पिताले भनेको सुन्नुभएको थियो । मानवीय रुपमा भन्नुपर्दा, उहाँ जहाँ हुनुहुन्थ्यो त्यहीं बस्नका धेरै राम्रा कारणहरु थिए, किनभने मानिसहरुले उहाँको सन्देशप्रति असामान्य प्रतिक्रिया जनाएका थिए । तर परमेश्वरका विचारहरु मानिसका विचारहरु जस्ता छैनन् र परमेश्वरका मार्गहरु मानिसका मार्गहरु जस्ता छैनन् (यशैया ५५ः८) । त्यस बिहान सबेरै, येशू एक्लै बाहिर निस्कनुभएको थियो र प्रार्थना गर्नुभएको थियो, र उहाँले पत्रुस र अरुहरुलाई उनीहरुको सुझावहरु सुन्नु अघि आफ्नो पिताको आवाज सुन्नुभएको थियो (मर्कूस १ः३५-३६) । येशू मानव तर्कमा भर पर्नुभएन । उहाँले वचन पालन गर्नुभयो जसले भन्छ, "आफ्नै समझशक्तिमा भर नपर । आफ्ना सबै मार्गहरुमा उहाँलाई सम्झ, र उहाँले तिम्रा मार्गहरु निर्देशित गर्नुहुनेछ" (हितोपदेश ३ः५,६) । उहाँ हरेक कुरामा मार्गदर्शनको लागि आफ्नो पितामाथि भर पर्नुभयो । यशैया ५०ः४ मा प्रभु येशूको अगमवाणीको सन्दर्भमा, हामी पढ्छौं, "हरेक बिहान उहाँले (पिताले) मलाई जगाउनुहुन्छ र मेरो समझलाई उहाँको इच्छाको लागि खोलिदिनुहुन्छ ।" त्यो येशूको बानी थियो । उहाँले बिहान सबेरै र दिनभरि आफ्नो पिताको आवाज सुन्नुभयो, र उहाँको पिताले उहाँलाई जे गर्न भन्नुभएको थियो त्यही गर्नुभयो । उहाँले के गर्ने भनेर निर्णय गर्नलाई मानिसहरुसँग छलफल गर्नुभएन, तर आफ्नो पितासँग प्रार्थनामा भेट गर्नुभयो । प्राणमा सिमित ख्रीष्टियानहरुले मानिसहरुसँग छलफल मार्फत योजना बनाउँछन् । आत्मिक ख्रीष्टियानहरु परमेश्वरबाट सुन्न पर्खन्छन् ।
येशू आफ्नो पिताद्वारा जिउनुभयो (यूहन्ना ६ः५७) । येशूको लागि, परमेश्वरको वचन खाना भन्दा बढी महत्वपूर्ण थियो (मत्ती ४ः४) । उहाँले यसलाई दिनमा धेरै पटक पिताबाट सिधै प्राप्त गर्नुपर्थ्यो । प्राप्त गरेपछि, उहाँले यसको पालन गर्नुभयो । आज्ञाारिता पनि आफ्नो दैनिक भोजन भन्दा बढी महत्वपूर्ण थियो (यूहन्ना ४ः३४) । येशू, पितामा निर्भर भएर जिउनुभयो । दिनभरि उहाँको मनोवृत्ति हुन्थ्यो, "पिता बोल्नुहोस्, म सुन्दैछ ।" उहाँले मन्दिरबाट पैसा साट्नेहरुलाई धपाउनुभएको कुरालाई विचार गर्नुहोस् । येशू मन्दिरमा पैसा साट्नेहरुसँग धेरै पटक रहेर पनि तिनीहरुलाई नधपाएको क्षण थियो होला । पिताले अह्राउनुभएको बेलामा मात्र उहाँले तिनीहरुलाई धपाउनु भयो । प्राणमा सिमित ख्रीष्टियानले पैसा साट्नेहरुलाई सधैं धपाउन चाहने वा कहिल्यै पनि धपाउन नचाहने हुनसक्छ । तर परमेश्वरको नेतृत्वमा हुने व्यक्तिलाई थाहा हुन्छ कि कहिले, कहाँ र कसरी काम गर्ने । येशूले गर्न सक्ने धेरै राम्रा कामहरु थिए, जुन उहाँले कहिल्यै गर्नुभएन, किनभने ती उहाँको लागि उहाँको पिताको इच्छाको दायरा बाहिर थिए । उहाँ सधैं उत्तम कामहरु गर्न व्यस्त हुनुहुन्थ्यो । र ती पर्याप्त थिए । उहाँ पृथ्वीमा असल कामहरु होइन, तर उहाँको पिताको इच्छ पूरा गर्न आउनुभएको थियो ।
"के तपाईंहरुलाई थाहा थिएन कि म मेरो पिताको काममा हुनुपर्छ," उहाँले बाह्र वर्षको उमेरमा योसेफ र मरियमलाई सोध्नुभयो (लूका २ः४६ लिटरल बाइबल) । ती कुराहरु नै थिए जुन पूरा गर्न उहाँ इच्छुक हुनुहुन्थ्यो । जब पृथ्वीको साढे तेत्तीस वर्षको समयमा उहाँ अन्त्यमा पुग्नुभयो, उहाँले साँचो सन्तुष्टिका साथ भन्न सक्नुभयो, "पिता, तपाईंले मलाई भन्नुभएको सबै कुरा मैले गरेको छु" (यूहन्ना १७ः४) । उहाँले संसारभर यात्रा गर्नु भएको थिएन, उहाँले कुनै पुस्तक लेख्नु भएको थिएन, उहाँका चेलाहरु थोरै थिए, संसारका धेरै भागहरुमा अझै पनि धेरै अपूरो आवश्यकताहरु थिए, आदि, इत्यादि, तर उहाँले पिताले उहाँको लागि तोक्नुभएको काम पूरा गर्नुभयो । त्यो, र त्यो मात्र, अन्ततः महत्वपूर्ण छ ।
(जारी रहनेछ ।)