WFTW Body: 

प्रभुको सेवा गर्ने जो कोही पनि शैतानको आक्रमणको निशाना बन्नेछ । हामी परमेश्वरको लागि जति उपयोगी हुनेछौं त्यति नै शत्रुको आक्रमणको सामना गर्नेछौं । हामी त्यसबाट जोगिन सक्नेछैनौं । शैतानले हामीलाई निन्दा, झुटा आरोप र मन गढन्ते कथाहरु मार्फत आक्रमण गर्नेछ ।

मानिसले उहाँको जीवनकालमा येशूको बारेमा भनेका र आज पनि उहाँको बारेमा बोलेका दुष्ट कुराहरुको बारेमा सोच्नुहोस् । तिनीहरुले उहाँलाई एक लोभी र एक पियक्कड (लुका ७ः३४), एक पागल (मर्कुश ३ः२१), भूत लागेको (यूहन्ना ८ः४८) र भूतहरुको शासक (मत्ती १२ः२४) र अन्य यस्तै दुष्ट नामहरु दिए । तिनीहरुले उहाँ बाइबल र मोशाले सिकाएको कुराको विपरीत प्रचार गर्ने विधर्मी हो भने (यूहन्ना ९ः२९) । यसरी तिनीहरुले मानिसहरुलाई प्रभुको वचन सुन्नबाट टाढा थकेले । तर त्यस्ता मानिसहरुलाई जवाफ दिने कुरामा उहाँ कहिल्यै चिन्तित हुनु भएन । उहाँले व्यक्तिगत आरोपको जवाफ कहिल्यै दिनु भएन । हामीले पनि गर्नु हुँदैन । येशूले केवल सैद्घान्तिक प्रश्नहरुको जवाफ दिनुभयो । आज, मानिसहरुले हाम्रा प्रभुको बारेमा अनैतिक कुराहरु पनि भन्दछन् । तर परमेश्वर तिनीहरु माथि न्याय गर्न तल ओर्लनुहुन्न ।

तिनीहरुले पावललाई धोका दिने र झुटा अगमवक्ता भने, जो जताततै नराम्रो सम्प्रदाय भनिएका थिए (प्रेरित २४ः१४, २८ः२२) । त्यसरी तिनीहरुले मानिसहरुलाई पावललाई सुन्न देखि पनि टाढा पुर्याए ।

जोन वेज्ली, चाल्र्स फिन्नी, विलियम बुथ, वाचम्यान नी र परमेश्वरका अन्य हरेक साँचो अगमवक्ताहरुको साथ, चर्चको इतिहास भरिनै परमेश्वरको हरेक महान् मानिसहरुको साथमा यही कथा रहेकोछ ।

के हामी येशू जस्तै बन्नको लागि यस्तो हरेक मुल्य चुकाउन तयार छौं ? वा हामी अझै पनि मानिसहरुको इज्जत खोज्दछौं ?

परमेश्वरले हामीलाई गलत बुझाइ, गलत निर्णय, झुटा आरोप र सार्वजनिक रुपमा अपमानित हुन अनुमति दिएर तोड्नुहुन्छ । त्यस्ता सबै परीस्थितिहरुमा, हामीले हामीलाई उत्पीडन गर्ने मानिसहरुलाई हेर्न अस्वीकार गर्नुपर्छ । तिनीहरु हाम्रा दाजुभाई वा हाम्रा शत्रुहरु हुन सक्छन् । यसले फरक पार्दैन । प्रत्येक यहूदा इस्करियोतको हातको पछाडि, हाम्रो स्वर्गीय पिताले हामीलाई पिउनको लागि कचौरा दिइराख्नुभएको छ । यदि हामीले यस्तो अवस्थामा पिताको हात देख्यौं भने, हामी त्यो कचौरा खुशीसाथ पिउनेछौं, चाहे त्यो तीतो र पीडादायी किन नहोस् । तर यदि हामीले यहूदा मात्रै देख्यौं भने, तब हामीले आफ्नो तरवार निकाल्नेछौं (पत्रुसले गरे जस्तै) र मानिसहरुको कान (वा तिनीहरुको प्रतिष्ठा) वा जे पनि काट्नेछौं ।

जब हामी माथि आक्रमण हुन्छ वा झुटो आरोप लगाइन्छ, परमेश्वरले उहाँको शक्तिशाली बाहुलीमुनि हामीले आफैंलाई नम्र बनाएको चाहनुहुन्छ । यो गर्न सजिलो हुन्छ जब हामीले मानिसको होइन तर परमेश्वरको हात त्यहाँ देख्दछौं ।

विगतका वर्षहरुमा विश्वासीहरुले मेरो र मेरो शिक्षाहरुको बारेमा सबै प्रकारका खराब कुराहरु बोलेको मैले सुनेको छु । उनीहरुले म र मेरा परिवारका सदस्यहरु माथि झुटा आरोप लगाएका छन्, र मेरो विरुद्घ लेख र पुस्तकहरु पनि लेखेका छन् । तर प्रभुले सधैं मलाई तिनीहरुलाई जवाफ दिनु हुँदैन भनी भन्नुभएको छ । त्यसैले म चुप लागेर बसेको छु । फलस्वरुप प्रभुले म र मेरो परिवारका सदस्यहरुमा पवित्रीकरणको ठूलो काम गर्नुभएको छ ! परमेश्वरले खराबीलाई पनि हाम्रो भलाईको लागि काम गर्न लगाउनुहुन्छ ।

मलाई थाहा छ, प्रभुको आफ्नै समयमा उहाँले बादल हटाउन हुनेछ र सूर्यलाई चम्काउनु हुनेछ । तर त्यो समय निर्धारण गर्नुहने उहाँ नै हुनुहुन्छ, म होइन (जसै हामी प्रेरित १ः७ मा पढ्दछौं) । तब सम्म, मेरो कार्य उहाँको शक्तिशाली बाहुली मुनि आफैंलाई नम्र पार्नु हो । कसैको सामु आफैंलाई उचित सिद्घ गर्ने मेरो काम होइन । एक पटक मैले त्यसो गर्न थालेपछि, मसँग अरु केही गर्ने समय हुनेछैन ।

तामाको काम गर्ने अलेक्जेण्डरको बारेमा पावलले भनेझैं, प्रभु आफैंले हाम्रा शत्रुहरुलाई एक दिन तिनीहरुको कामको बदला दिनुहुनेछ (२ तिमोथी ४ः१४) । त्यसकारण हामीले त्यस्ता बदला लिने विषयहरु उहाँको हातहरुमा सुरक्षित रुपमा छोड्नसक्छौं (रोमी १२ः१९) ।

सबै कुरा परमेश्वरमा छोड्नु धेरै असल हो । उहाँले के गरीरहनुभएको छ भनी उहाँले जान्नुहुन्छ र उहाँको नियन्त्रणमा सबै कुरा छ । उहाँले हामीमा येशूको प्रतिमूर्ति बनाउनको लागि चट्टानमा खोप्दै हुनुहुन्छ । चट्टानका कतिपय भागहरु धेरै कडा छन् र ती भागमा खोप्नको लागि उहाँले झुटा आरोप र सतावट प्रयोग गर्नुहुन्छ । यदि हामीले उहाँको खोप्नेकाममा समर्पण गर्याैं भने, हामी अन्तमा आत्मिक अख्तियार भएका ख्रीष्टसमान मानिसहरुको रुपमा अगाडि आउनेछौं ।

जब यहूदाले येशूलाई पक्राए्, येशूले उसलाई "साथी" भनेर भन्नसक्नुभयो, किनकि उहाँले पिताको बाहुलीलाई प्रष्टरुमा देख्नुभयो । यदि हामीले हाम्रा सबै परीस्थितिहरुमा परमेश्वरको सार्वभौमिकता देख्यौं भने, आफैंलाई नम्र बनाउन सजिलो हुन्छ । अनि उचित समयमा हामीलाई उच्च पार्न परमेश्वरलाई सजिलो हुन्छ । हाम्रा काँधहरुबाट दबाब हटाउने र हामीलाई उहाँको अख्तियार दिनको लागि परमेश्वरलाई सही समय थाहा छ । त्यसैले उहाँको प्रतिक्षा गरौं । उहाँको प्रतिक्षा गर्ने कोही पनि कहिल्यै निराश वा लाजमा पर्नेछैन (यशैया ४९ः२३) ।