"धन्य ती नम्रहरु (वा ती जो घमण्ड रहित र नम्र छन्) किनभने तिनीहरुले पृथ्वीको उत्तराधिकार प्राप्त गर्नेछन्" (मत्ती ५ः५) । म विश्वास गर्छु यसले ती व्यक्तिहरुलाई जनाउँछ जो आफ्नो अधिकारको लागि लड्दैनन्, जो दुब्र्यवहार हुँदा बदला लिँदैनन् । येशूका अधिकारहरु खोसिएपछि उहाँले नम्रता के हो भनेर देखाउनुभयो, र उहाँले प्रतिकार गर्नुभएन । उहाँले आफूलाई सराप्नेहरुलाई सराप्नु भएन । उहाँलाई क्रुसमा टाँग्नेहरु माथि परमेश्वरको न्यायको लागि उहाँले प्रार्थना गर्नुभएन । उहाँले मत्ती ११ः२९ मा हामीलाई भन्नुभयो, "मबाट सिक, किनकि म विनम्र र कोमल हृदयको छु - म विनम्र र कोमल हृदयको छु ।" यो शब्दलाई अंग्रेजीमा पूर्णरुपमा अनुवाद गर्न सजिलो छैन, र त्यसैले मानिसहरुले प्रयोग गर्ने धेरै फरक फरक अनुवादहरु छन् - "कोमल" (मेरो बाइबलको किनारामा यसले "विनम्र, नम्र" भन्छ) । सामान्य तस्वीर त्यो हो जो पृथ्वीमा आफ्नो अधिकारको लागि लडिरहेको छैन, किनकि यसले भन्छ कि उसले एक दिन पृथ्वीमा उत्तराधिकार प्राप्त गर्नेछ । यसको लागि लडाई नगर्नेहरुलाई परमेश्वरले पृथ्वी दिनुहुन्छ । यो नै परमेश्वरको बाटो हो ।
आफ्नो अधिकारको लागि लडाई गर्नेहरुलाई होइन, तर जसले आफ्नो अधिकारलाई त्यागिदिन्छ त्यस्तोलाई परमेश्वरले आफ्नो ठूलो आशिष दिनुहुन्छ । येशू क्रुससम्मै तल ओर्लनुभयो; उहाँले आफ्नो सारा अधिकारलाई त्यागिदिनु भयो । उहाँको नम्रता र विनम्रता यसैमा देखिएको थियो, कि उहाँले आफैंलाई मृत्युको विन्दुसम्मै नम्र तुल्याउनु भयो, लज्जास्पद क्रुसको मृत्यु पनि (फिलिप्पी २ः८) । उहाँलाई अपमानित र लाजमा पारिएको थियो, र किनकि उहाँ त्यसरी नै तलसम्म जानको लागि तयार हुनुहुन्थ्यो, त्यो स्तरसम्म, त्यसैले, फिलिप्पी २ः९ मा भन्छ, "परमेश्वरले उहाँलाई उच्च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो जुन नाम हरेक नाम भन्दा माथि छ ।" ख्रीष्ट पिताको दाहिने बाहुलीमा आज बसालिएको कारण त्यो होइन किनकि उहाँ सधैं अनन्तकाल देखिन त्यहिँ हुनुहुन्थ्यो । उहाँ परमेश्वरको रुपमा सधैं त्यहीँ हुनुहुन्थ्यो । तर जसै उहाँ मानिसको रुपमा पृथ्वीमा ओर्लनुभयो, उहाँले पिताको दाहिने बाहुलीमा बस्न पाउने अधिकार कमाउनुभयो । त्यो बुझ्नु धेरै महत्वपूर्ण कुरा हो । उहाँले पिताको दाहिने बाहुलीमा फर्किने अधिकार कमाउनुभयो किनकि उहाँले आफ्नो पार्थिव जीवनमा परमेश्वरको स्वभावलाई निकै परिपूर्णतामा प्रदर्शन गर्नुभयो, एउटा मानिसको रुपमा सबैखाले परीक्षालाई झेल्दै, र उहाँले आफैंलाई मृत्युको विन्दुसम्मै नम्र तुल्याउनुभयो, यहाँसम्म कि क्रुसको मृत्यु पनि । उहाँले आफ्नो अधिकारको लागि लडाई गर्नुभएन र त्यसैले, एक दिन सारा पृथ्वी उहाँलाई दिइनेछ ।
अहिले उहाँलाई एउटा नाम दिइएको छ जुन सबै नाम भन्दा माथि छ, कि येशूको नाममा सबैले घुँडा टेक्नेछन्, स्वर्गमा भएकाहरु र पृथ्वीमा र पृथ्वी मुनिका । त्यो अहिलेसम्म भइसकेको छैन । धेरै मानिसहरुले येशूको नामलाई तुच्छ ठान्छन् र उहाँको नामको अगाडि आज झुक्दैनन् । दियाबलसे गर्दैन, र पृथ्वीका धेरै मानिसहरुले गर्दैनन् । तर एक दिन आउनेछ जब येशूको नाममा प्रत्येकले घुँडा टेक्नेछन् र प्रत्येक जिब्रोले स्वीकार्ने छ कि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ, र सारा पृथ्वी उहाँलाई सुम्पिइने छ । यो उहाँको हुनेछ किनकि उहाँ विनम्र हुनुहुन्थ्यो । र त्यसैले, जसले उहाँलाई नम्रताको त्यो बाटोमा पछ्याउँदछ, येशूले भन्नुभयो, "मबाट सिक" (मत्ती ११ः२९) । केवल एउटै कुरा उहाँले हामीलाई उहाँबाट सिक्नको लागि भन्नुभयो, त्यो थियो विनम्रता र नम्रता । "मबाट सिक, किनकि म भद्र र नम्र छु, हृदयमा विनम्र र कोमल छु ।" यो नै हो जुन हामीले स्वयम् येशूबाट सिक्नु पर्दछ । उहाँले एक पुस्तकबाट सिक्नको लागि भन्नुहुन्न । उहाँले भन्नुहुन्छ, "मतिर हेर र जान कसरी मैले आफ्नो अधिकारको लागि लडिन, कसरी मैले आफ्नो अधिकारलाई त्यागें र म विनम्र र कोमल थिए, र तिमीले आफ्नो प्राणमा विश्राम पाउनेछौ ।" म विश्वास गर्छु धेरै ख्रीष्टियानहरु विश्राममा नहुनु, चिन्तामा हुनु र केही मानसिक विकारहरु हुनु को एउटै कारण छः तिनीहरु विनम्र छैनन् । तिनीहरु केही कुरामा भित्रीरुपमा लडाई गर्दैछन् । तिनीहरुले आफ्नो अधिकार खोज्दैछन्, र त्यसैले तिनीहरु विश्राममा छैनन् ।
नम्रता गुणहरु मध्येको त्यस्तो गुण हो जो सजिलै नक्कल पार्न सकिन्छ । साँचो नम्रता त्यो कुरा होइन जुन अरुले हामीमा देख्दछन् । यो परमेश्वरले हामी भित्र देख्ने कुरा हो - यो भित्रको हो । यो येशूको जीवनमा देखिएको छ । फिलिप्पी २ः५-८ ले भन्छ कि येशूले आफ्ना अवसरहरु र अधिकारहरुलाई परमेश्वरको रुपमा त्याग्नुभयो र दास बन्नुभयो, र मानिसहरुको हातबाट क्रुसमा टाँगिने कुरा स्वीकार गर्नलाई पनि तयार हुनुहुन्थ्योे । हामीले उहाँलाई त्यो नम्रताको बाटोमा पछ्याउनु पर्छ ।
येशूले तीन चरणमा आफूलाई नम्र तुल्याउनु भयो ।
१. उहाँ एक मानिस हुनुभयो
२. उहाँ एक दास बन्नुभयो
३. कु्रसमा, उहाँ एक अपराधीको रुपमा व्यवहार गरिनलाई पनि तयार हुनुभयो
त्यहाँ नै हामीले ख्रीष्टियान जीवनको तीन रहस्यहरु देख्छौंः नम्रता, नम्रता र नम्रता ।
स्वर्गदूतहरु अचम्मित हुँदै हेरेको हुनुपर्छ जब येशूले पृथ्वीमा ३३ वर्ष जिउनुभयो र जब तिनीहरुले उहाँले निकै नम्रतासाथ अरुलाई सेवा गरेको, र धैर्यतासाथ पीडाहरु, अपमानहरु र चोटहरु सहँदै गरेको देखे । तिनीहरु वर्षौं देखि स्वर्गमा उहाँको आराधना गर्न अभ्यस्त थिए । तर जसै तिनीहरुले उहाँको आचरणलाई पृथ्वीमा देखे, तिनीहरुले परमेश्वरको स्वभावबारे अझै सिके - उहाँको कोमलता र नम्रता - जुन तिनीहरुले कहिल्यै देखेका वा बुझेका थिएनन् सारा समय जतिबेला सम्म येशू स्वर्गमा हुनुहुन्थ्यो । अब परमेश्वरले स्वर्गमा स्वर्गदूतहरुलाई त्यही ख्रीष्टको आत्मा हामीद्वारा मण्डलीमा भएको देखाउन चाहनुहुन्छ (जसरी एफिसी ३ः१० ले भन्दछ) । स्वर्गदूतहरुले हामीमा र हाम्रो आचरणमा अहिले के देख्दछन् ? के हाम्रो आचरणले परमेश्वरको लागि महिमा ल्याउँदछ ?
याद गर्नुहोस् कि नम्रता सबैभन्दा ठूलो गुण हो । नम्रताले स्वीकार्दछ कि हामी सबै जे छौं र जे हामीसँग छ त्यो परमेश्वरको उपहार हो । नम्रताले हामीलाई सबै मानव जातिलाई आदर गर्ने र मान्यता दिने तुल्याउँछ, विशेषगरी कमजोर, संस्कार नजानेको, अवकास पाएको र गरीवलाई । केवल त्यही नम्रताको भूमिमा आत्माको फल र ख्रीष्टको गुणहरु बृद्धि हुनसक्छ । त्यसैले तपाईं निरन्तररुपमा आफैंलाई जाँच्दै जिउनुपर्छ, कुनै उच्च विचार वा आदर खोज्ने वा परमेश्वरलाई दिने महिमा लिन खोज्ने विष तपाईंको हृदयमा कुनैपनि समय नछिरेको होस् भनेर निश्चय गर्दै । येशूको नम्रता धेरै मनन गर्नुहोस् । त्यो नै तपाईंलाई मेरो सबैभन्दा महत्वपूर्ण आग्रह हो