WFTW Body: 

येशूले भन्नुभयो, "धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरु, किनभने तिनीहरु भरिनेछन् (अथवा तिनीहरु तृप्त हुनेछन्)" (मत्ती ५ः६) । त्यसैले जब कुनै मानिसले भन्छ, "हे भाइहरु, मैले पापमाथि विजय प्राप्त गर्न धेरै प्रयास गरिरहेको छु, तर मैले त्यो सकेको छैन, म उसलाई यो पदको आधारमा भन्न सक्छु कि ऊ वास्तवमा पवित्र जीवनको लागि भोको र तिर्खाएको छैन । ऊ पापमाथि विजय प्राप्त गर्न साँच्चै हतास छैन ।"

पापमाथि विजय प्राप्त गर्न येशूले कसरी प्रार्थना गर्नुभयो विचार गर्नुहोस् । हामीलाई थाहा छ कि ख्रीष्ट पनि हामी जस्तै पृथ्वीमा परीक्षित हुनुभयो र उहाँले कहिल्यै पाप गर्नुभएन, तर उहाँको लागि यो सजिलो थिएन । येशूले कसरी परीक्षाको सामना गर्नुभयो भन्ने बारेमा हिब्रू ५ ले हामीलाई बताउँछ । हिब्रू ४ः१५ मा हामीलाई भनिएको छ कि उहाँ हामी जस्तै सबै कुरामा परीक्षित हुनुभयो, र त्यसपछि यो भनिएको छ कि उही ख्रीष्ट मल्कीसेदेकको क्रम अनुसार हाम्रो प्रधान पूजाहारी हुनुहुन्छ (हिब्रू ५ः६) । पद ७ मा थप भनिएको छ, "उहाँको शरीरको दिनमा, उहाँले मृत्युबाट बचाउन सक्नेलाई ठूलो स्वरले कराएर र आँसु सहित प्रार्थना र अन्तर्बिन्ती दुबै चढाउनुभयो, र उहाँको धार्मिकताको कारणले उहाँको सुनुवाइ भयो" (हिब्रू ५ः७) । यो गेतसमनीमा उहाँको देहधारणको अन्तिम दिनको बारेमा होइन, तर उहाँ पृथ्वीमा देहधारण गर्नुभएको सम्पूर्ण अवधिको बारेमा हो - साढे तेत्तीस वर्षसम्मः उहाँले प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो ।

अन्तर्बिन्ती भनेको उहाँको पितालाई गरिएको विशेष अनुरोध हो । ती केवल 'मलाई आशिर्वाद दिनुहोस्' भन्ने सामान्य प्रार्थनाहरु थिएनन्, तर ती विशिष्ट अनुरोधहरु थिए । अनि उहाँले यी प्रार्थनाहरु ठूलो स्वरमा रुँदै र आँसु बगाउँदै चढाउनुभयो । प्रार्थना गर्दा उहाँ किन ठूलो स्वरले रोइरहनु भएको र आँसु बगाइरहनु भएको थियो ? के येशूले त्यसरी प्रार्थना गर्नुहुन्थ्यो ? के तपाईं आफ्नो जीवनमा आँसु बगाउँदै प्रार्थना गरेको कुनै समय सम्झन सक्नुहुन्छ ? सायद तपाईंको बच्चा विरामी भएको बेला, वा तपाईंले धेरै चाहनु भएको कुरा गुमाउनु भएको बेला, तपाईंले रोएर प्रार्थना गर्नुभएको हुनसक्छ, तर येशूले त्यस्तो कुनै कुराको लागि प्रार्थना गरिरहनुभएको थिएन । के तपाईंले कहिल्यै ठूलो स्वरले रुँदै प्रार्थना गर्नुभएको छ ? सायद कसैको मृत्यु हुँदा वा केही दुःखद घटना हुँदा, तर येशूले त्यस्ता अवसरहरुमा प्रार्थना गरिरहनुभएको थिएन । यसले भन्छ कि उहाँ मृत्युबाट बचाउन सक्ने (अर्थात् पिता) लाई ठूलो स्वरले रुँदै र आँसु बगाउँदै प्रार्थना गरिरहनुभएको थियो । अनि उहाँको ईश्वरीय भयको कारणले उहाँको प्रार्थना सुनियो ।

धार्मिकताको निम्ति भोकाउनु र तिर्खाउनुको अर्थ के हो भन्ने बारेमा त्यो पदले धेरै कुराहरु सिकाउँछ । येशूसँग हामीलाई भन्दा फरक तरिकाले थालमा पस्किएको धार्मिकता थिएन । उहाँलाई पनि हामी जस्तै यसको लागि संघर्ष र लडाईं गर्नुपर्याे, भोकाउनु र तिर्खाउनु पर्याे किनकि उहाँ पनि हामी जस्तै मानिस हुनुहुन्थ्यो, हाम्रो लागि उदाहरण बन्नको लागि । उहाँले हामीले सामना गर्ने हरेक परिस्थिति, हरेक परीक्षाको सामना गर्नुभयो, र त्यो परीक्षालाई जित्नको लागि हामीले जसरी सामना गर्नुपर्छ, त्यसरी नै उहाँले त्यसको सामना गर्नुभयो । मृत्युबाट बचाउन सक्नेलाई प्रार्थना गर्नुको अर्थ यही हो ।

धर्मशास्त्रले कस्तो मृत्युको बारेमा कुरा गरिरहेको छ ? येशू कलवरीमा जान डराउनु भएन । उहाँले हामीलाई यति धेरै माया गर्नुभयो कि उहाँ हामीलाई हाम्रा पापहरुबाट बचाउन हजारौं कलवरीमा जान इच्छुक हुनुहुन्थ्यो । उहाँ शारिरीक मृत्युसँग डराउनु भएको थिएन । ख्रीष्टियान शहीदहरु छन् जो आफ्नो मृत्युसम्मै गाउँदै गएका छन् । येशू कसरी त्यसबाट डराउन सक्नुहुन्थ्यो ? यसले यो पनि भन्छ कि उहाँको प्रार्थनाको "सुनुवाइ भयो", तर उहाँ शारिरीक मृत्युबाट बचाइनु भएन । त्यसोभए उहाँको प्रार्थनाको सुनुवाइ कसरी भयो ? ती दुबै कथनहरुले संकेत गर्छन् कि यो अर्को प्रकारको मृत्यु थियो जसबाट बच्नको लागि उहाँ प्रार्थना गरिरहनुभएको थियो ।

बाइबलले शारिरीक मृत्यु र आत्मिक मृत्युको बारेमा बताउँछ । याकूब १ ले भन्छ, "जब पाप गरिन्छ, त्यसले मृत्यु निम्त्याउँछ ।" जब तपाईं परीक्षामा पर्नुहुन्छ र झुक्नुहुन्छ, यसले पापतर्फ डोर्याउँछ, र यसको अन्त्य मृत्युमा हुन्छ । त्यही मृत्यु हो जुन येशूले परीक्षाको क्षणमा बचाउन माग गर्दै हुनुहुन्छः कि उहाँले परीक्षाको जवाफ दिँदा कुनै पनि तरिकाले पापको आत्मिक मृत्युको गन्ध पनि नआएकोहोस् - विचार, मनोवृत्ति, मनसाय, शब्द वा कर्ममा । पापको गन्ध आउनु हुँदैन । अनि उहाँ पूर्णरुपमा शुद्ध हुन, पितालाई प्रसन्न पार्न यति उत्सुक हुनुहुन्थ्यो कि उहाँले ठूलो स्वरले रुँदै र आँसु बगाउँदै प्रार्थना गर्नुपर्यो ।

नासरतमा ३० वर्ष र आफ्नो सेवाको साढे तीन वर्ष (आफ्नो शरीरको सबै दिनहरुमा), उहाँले प्रार्थना गर्नुभयो, "पिता, म कहिल्यै पाप गर्न चाहन्न । म कहिल्यै पनि आफ्नै इच्छा अनुसार गर्न चाहन्न, (त्यो नै सबै पापको जरा हो) ।" उहाँले गेतसमनीमा त्यही कुराको लागि प्रार्थना र संघर्ष गर्नुभयो, रगतका ठूला-ठूला थोपाहरु जस्तै पसिना बगाउँदै, किनभने उहाँ कहिल्यै आफ्नो इच्छा पूरा गर्न चाहनुहुन्नथ्यो र उहाँको ईश्वरीय भयको कारणले उहाँको सुनुवाइ भयो ।

त्यसोभए यस पद अनुसार ईश्वरीय भयको चिन्ह के हो ? ईश्वरीय भयको एउटा चिन्ह भनेको तपाईंले कुनै पनि तरिकाले परमेश्वरलाई अप्रसन्न नतुल्याउनको लागि हतास भएर रुनु हो । अनि उहाँ बचाइनु भयो, उहाँको प्रार्थनाको सुनुवाइ भयो, उहाँले कहिल्यै पाप गर्नुभएन । सायद यही कारणले गर्दा हामीले पाप गर्छौं - किनभने हामी यसबाट बच्न त्यति हतास हुँदैनौं । बाइबलले भन्छ, "अनैतिकताबाट भाग ।" यसैमा इश्वरीय जीवन बिताउने रहस्य लुकेको छ । पहिलो कदम हो, "धन्य धार्मिकताको लागि भोकाउने र तिर्खाउनेहरु ।" अनि त्यहाँ एउटा वाचा छः तिमी तृप्त हुनेछौ । यसमा कुनै शंका छैन ।