येशूले हामीलाई सिकाउनु भएको पहिलो तीन अनुरोधहरु हुन्, "तपाईंको नाम पवित्र होस्", "तपाईंको राज्य आओस्", र "तपाईंको इच्छा पूरा होस्" । ध्यान दिनुहोस् कि सबै कुरा परमेश्वरसँग सम्बन्धित छन् । मानिस मूलतः स्वार्थी छ । हामीले आदमबाट पैत्रिकसम्पत्तिको रुपमा पाएको कुरा स्वार्थी जीवन हो जसले हामीलाई मुख्यतया आफ्नो बारेमा सोच्न बाध्य पार्छ, र प्रायः आफ्नो बारेमा मात्र । धेरैजसो मानिसहरुको चिन्ताको विषय म, मलाई र मेरो परिवार नै हो । तिनीहरुले धर्म परिवर्तन गरेको भए पनि, अझै पनि म, मलाई र मेरो परिवार नै हुँदछ । जब तिनीहरुले ख्रीष्टलाई ग्रहण गर्दछन्, तिनीहरुले केवल यति सोच्छन् कि ख्रीष्टले कसरी मलाई, र मेरो परिवारलाई आशिष दिनसक्नुहुन्छ । त्यो ख्रीष्टियान धर्म होइन । येशू हामीलाई स्वार्थी जीवनबाट छुटकारा दिनको लागि आउनुभयो, जुन हाम्रो सबै पीडा र दुःखको मूल कारण हो ।
धेरैजसो ख्रीष्टियानहरु सधैं आनन्दित रहन नसक्नुको कारण तिनीहरु आफैंमा केन्द्रित हुनु हो । जब उनीहरुलाई केही राम्रो हुन्छ, तिनीहरु आनन्दित हुन्छन्; र जब केही चाहेको जस्तो हुँदैन - यदि तिनीहरुले चाहेको जस्तो पदोन्नति पाएनन् भने उनीहरुले आफ्नो आनन्द गुमाउँछन् । किन ? परमेश्वर अझै पनि सिंहासनमा हुनुहुन्छ, तपाईंका पापहरु अझै पनि क्षमा गरिएका छन्, शैतान अझै पनि पराजित छ । तपाईं आनन्दित हुन सक्नुहुन्न किनकि तपाईंले चाहनुभएको केही कुरा तपाईंले पाउनु भएन । हाम्रा सबै समस्याहरुको मूल कारण स्वार्थी जीवनबाट हामीलाई छुटकारा दिनको लागि येशू आउनुभयो ।
के हामीले खाना माग्न सक्छौं ? अवश्य पनि हामीले सक्छौं, मत्ती ६ः११ मा येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो, "हामीलाई आज हाम्रो दैनिक रोटी दिनुहोस् ।" "दैनिक रोटी" मा खाना, लुगा, आश्रय र बालबालिकाको शिक्षा समावेश छ, किनकि उनीहरुले आफ्नो दैनिक रोटी कमाउनको लागि शिक्षित हुन र जागिर पाउन आवश्यक छ । यी कुराहरु माग्नु कुनै गलत कुरा होइन । "हाम्रा पापहरु क्षमा गर्नुहोस्" र "हामीलाई दुष्टबाट छुटकारा दिनुहोस्" पनि राम्रा अनुरोधहरु हुन्, तर हाम्रो सम्बन्धमा यी तीनवटै अनुरोधहरु परमेश्वरको नाम, परमेश्वरको राज्य र परमेश्वरको महिमा खोजेपछि आउँछन् । येशूले हाम्रा प्राथमिकताहरु परिवर्तन गर्दै हुनुहुन्छ ।
प्रार्थना गर्ने सही तरिका भनेको हाम्रो सोचाइमा परमेश्वरको राज्य, उहाँको नाम, र उहाँको इच्छालाई प्राथमिकतामा राखेर प्रार्थना गर्नु हो । अर्को शब्दमा भन्नुपर्दा, मैले मेरो सम्पूर्ण जीवनशैली परिवर्तन गर्नुपर्छ, अब परमेश्वरको नाम, परमेश्वरको राज्य र परमेश्वरको महिमाको सन्दर्भमा सोच्नलाई । त्यो नै साँचो आत्मिक ख्रीष्टियान हो । यो प्रार्थना जो कोहीले पनि दोहोर्याउन सक्छ - सुगाले पनि गर्नसक्छ । तर आत्मिक मानिसहरुले मात्र यो प्रार्थना हृदयबाट गर्न सक्छन्, किनकि आत्मिक मानिसहरुले मात्र इमानदारीपूर्वक भन्न सक्छन् कि जीवनमा उनीहरुको प्राथमिकता भनेको देशमा, मण्डलीमा, आफू र आफ्नो परिवारमा परमेश्वरको नाम पवित्र गरिओस् ।
"परमेश्वरको राज्य चाँडै आउनुपर्छ, मण्डलीमा परमेश्वरको शासन स्थापित हुनुपर्छ, र परमेश्वरको इच्छा मेरो जीवनमा, मेरो परिवारमा, सबैतिर पूरा हुनुपर्छ ।" त्यो नै आत्मिक मानिसको पहिचान हो । यी तीन कुराहरु तपाईंको हृदयमा सर्वोच्च नभएसम्म आफूलाई आत्मिक नठान्नुहोस् । यदि तपाईंको जीवन अझै पनि तपाईंकै वरिपरि केन्द्रित छ भने अरु सबै कुरा अर्थहीन छ । धेरै मानिसहरु, जब तिनीहरुले धर्म परिवर्तन गर्छन्, किनभने तिनीहरुको जीवन पहिले देखि नै स्वार्थी रहेको छ, तिनीहरुले येशूलाई आफ्नो कक्षमा उनीहरुको सेवा गर्न, तिनीहरुका पाप क्षमा गर्न, तिनीहरुको प्रार्थनाको जवाफ दिन, तिनीहरुलाई आशिर्वाद दिन, तिनीहरुलाई समृद्ध बनाउन र तिनीहरुको रोग निको पार्न थपेका छन् । यो ख्रीष्टियान धर्म होइन । यो धर्म थपिएको स्वार्थी जीवन हो । जब ख्रीष्ट साँच्चै आउनुहुन्छ, हामी हाम्रो स्वार्थी जीवनबाट फर्कन्छौं (पश्चाताप गर्छौं) र परमेश्वर केन्द्र बन्नुहुन्छ ।
प्रभुको प्रार्थनाको अन्त्यमा हामीसँग सम्बन्धित तीनवटा अनुरोधहरुमा, येशूले भौतिक चीजहरुको उल्लेख गर्नुहुन्छ (हामीलाई आज दैनिक भोजन दिनुहोस्), तर उहाँले ती कुराहरुलाई "तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्" सँग जोड्नुहुन्छ । म भन्दैछु, "हे मेरा पिता, म स्वर्गदूतहरुले जस्तै पृथ्वीमा तपाईंको इच्छा मेरो जीवनमा पूरा गर्न चाहन्छु, जुन तुरुन्तै आज्ञाकारिता हो; र तपाईंको इच्छा पूरा गर्न मलाई स्वास्थ्य चाहिन्छ, त्यसैले मलाई दैनिक रोटी दिनुहोस् ।" के तपाईं परमेश्वरको इच्छा पूरा गर्ने हेतुले दैनिक रोटीको लागि प्रार्थना गर्दै हुनुहुन्छ, वा आफ्नै इच्छा पूरा गर्नको लागि ? के यो पाप गर्नको लागि हो, वा परमेश्वरलाई खुशी पार्नको लागि हो ? हाम्रो प्रार्थना यस्तो हुनुपर्छ, "आज मलाई सुस्वास्थ्यको लागि मेरो दैनिक रोटी र परमेश्वरको लागि बाँच्नको लागि शक्ति दिनुहोस् ।"
अर्को ध्यान दिनुपर्ने कुरा के छ भने यो सम्पूर्ण प्रार्थनामा "म" र "मेरो" शब्दहरु हराएका छन् । के यो रोचक छैन र, हाम्रो आफ्नै प्रार्थनामा तपाईंले "म" र "मेरो" धेरै पटक पाउनुहुनेछ, तर प्रभुले हामीलाई प्रार्थना गर्न सिकाउनु भएको प्रार्थनामा यी शब्दहरु पूर्णरुपमा गायब छन् । उहाँ भन्नुहुन्छ, "हामीलाई दिनुहोस्" - "प्रभु, यो केवल मेरो मात्र होइन, म मेरो भाइको बारेमा पनि सोच्छु, उसलाई आफ्नो दैनिक रोटी चाहिन्छ ।" "हामीलाई क्षमा गर्नुहोस्" - "मलाई मात्र क्षमा नगर्नुहोस्, मेरो भाइलाई पनि क्षमा गर्नुहोस् ।" "हामीलाई उद्धार गर्नुहोस्..." साँच्चै आत्मिक मानिस त्यो मानिस हो जसको जीवन परमेश्वरमा केन्द्रित हुन्छ, र जब आफूलाई विचार गर्ने कुरा आउँछ, उसले आफ्नो बारेमा मात्र होइन, तर आफ्नो वरपरका मानिसहरुको बारेमा पनि सोच्दछ - अरु जो परमेश्वरको परिवारको पनि हिस्सा हुन् । परमेश्वर ठूलो परिवारको हिस्सा हुनुभएकोले उहाँले अरुको बारेमा पनि सोच्नुहुन्छ ।
उचित क्रम पहिले ख्रीष्ट हुनुहुन्छ, र त्यसपछि अरुहरु मसँगै, केवल म आफैं मात्र होइन । आत्मिक व्यक्तिले प्रार्थना गर्ने तरिका यही होः केवल आफ्नै आवश्यकताहरुको लागि मात्र होइन । ऊ स्वभाविक रुपमा आफ्ना बच्चाहरुको बारेमा चिन्तित हुन्छ, तर ऊ अरु कसैको बच्चाहरुको बारेमा पनि चिन्तित हुन्छ । उसले तिनीहरुलाई तुच्छ ठान्दैन । अरुका छोराछोरीहरुका लागि जति बोझ हाम्रा आफ्नै बच्चाहरुको लागि हो, त्यति बोझ हुनु मानवीय रुपमा सम्भव छैन । हामी यथार्थवादी हुनुपर्छ, तर हामीले तिनीहरुको लागि केही चिन्ता गर्नुपर्छ । आज हामीलाई हाम्रो दैनिक रोटी दिनुहोस् ।
"हाम्रा पापहरु क्षमा गर्नुहोस् जसरी हामीले अरुलाई क्षमा गरेका छौं ।" यो एउटा महत्वपूर्ण अनुरोध हो । यो येशूले अन्त्यमा दोहोर्याउनुभएको एउटा अनुरोध हो । उहाँले मत्ती ६ः१४ पदमा भन्नुहुन्छ, "यदि तिमीहरुले मानिसहरुका अपराधहरु क्षमा गर्यौ भने, तिमीहरुका स्वर्गीय पिताले पनि तिमीहरुलाई क्षमा गर्नुहुनेछ ।" यो परिस्थितिलाई बुझ्नु धेरै महत्वपूर्ण छ, किनकि येशू आफैंले यो व्यवस्था लेख्नुभएको थियोः यदि तिमीहरुले मानिसहरुलाई क्षमा गरेनौं भने, तिमीहरुका पिताले तिमीहरुका अपराधहरु क्षमा गर्नुहुनेछैन । के यो सत्य हो, वा होइन ?
के परमेश्वरले क्षमा दिन वञ्चित गर्नुहुन्छ जब तपाईंले अरु कसैलाई त्यो व्यक्तिले तपाईंको विरुद्धमा गरेको कामको लागि क्षमा गर्नुहुन्न ? पक्कै पनि । यदि तपाईंले अरु मानिसहरुलाई क्षमा गर्नुभएन भने उहाँले तपाईंलाई क्षमा गर्नुहुने छैन । कृपया यो कुरा ध्यान दिनुहोस् । मानिसहरुसँग गरिने परमेश्वरको व्यवहारमा यो एउटा आधारभूत सिद्धान्त हो कि उहाँले हामीलाई हामीले अरु मानिसहरुलाई गरेजस्तै व्यवहार गर्नुहुन्छ । यदि हामी अरु प्रति दयालु हुन्छौं भने, परमेश्वर हामी प्रति दयालु बन्नुहुन्छ । यदि तपाईंले अरुलाई क्षमा गर्नुभयो भने, परमेश्वरले तपाईंलाई क्षमा गर्नुहुन्छ । हामीले मत्ती ५ः७ मा देख्यौं, "धन्य दयालुहरु, किनभने तिनीहरुले दया पाउनेछन् ।" यहाँ हामीले भन्न सक्छौं, धन्य ती मानिसहरु जसले अरुलाई क्षमा दिन्छन्, किनकि तिनीहरुलाई क्षमा गरिनेछ; र जसले अरुलाई क्षमा गर्दैनन् तिनीहरुलाई क्षमा गरिनेछैन ।
यसलाई स्पष्ट पार्नलाई येशूले एक पटक यस सम्बन्धमा मत्ती १८ः२१-३५ मा एक कथा भन्नुभयो । यो एउटा धेरै महत्वपूर्ण दृष्टान्त हो जुन हामीले बुझ्नु आवश्यक छ । एक जना राजा थिए जसका धेरै दासहरु थिए र तिनीहरु सबैले उनलाई धेरै पैसा तिर्नुपर्ने थियो । एकजना मानिसले उसलाई १०,००० सिक्का तिर्नुपर्ने थियो, जुन एक अर्ब रुपैयाँ बराबर हो - यो ठूलो ऋण जुन तपाईंले कहिल्यै तिर्नसक्नुहुन्न । राजा दयालु थिए र उनलाई माफी दिए । यो माफी पाएको व्यक्ति बाहिर निस्कियो र अर्को व्यक्तिलाई भेट्टायो जसले उसलाई सय रुपैयाँ दिनुपर्ने थियो, उसको कठालो समातेर उसले भन्यो, 'यदि तिमीले मलाई तिर्न सकेनौं भने, म तिमीलाई अदालत लैजानेछु र तिमीलाई जेल हाल्नेछु,' अनि त्यसपछि उसले त्यसै गर्छ । जब अरु दासहरुले यो देखे, तिनीहरु गएर राजालाई खबर गरे । राजाले दासलाई बोलाएर भने, 'ए दुष्ट दास, तिमीले भर्खरै मसँग आफ्नो ऋण माफ गर्न मसँग बिन्ती गर्यौ र मैले तिमीलाई माफ गरिदिएँ ।' मैले तिमी माथि दया गरे झैं के तिमीले पनि आफ्नो साथी नोकरमाथि दया गर्नु पर्दैन र ? अनि ऊ रिसले भरियो । राजाले त्यो नोकरलाई उसको सबै ऋण चुक्ता नहुन्जेल यातना दिनेहरुको हातमा सुम्पिदिए ।
अर्को शब्दमा, त्यो क्षमा गरिएको ऋण उसको टाउकोमा फिर्ता राखियो । यसको लागि तपाईंले कसरी जवाफ दिनुहुन्छ ? के हामीलाई क्षमा गर्नुहुने परमेश्वरले हामीलाई क्षमा गर्नुहुन्न ? के उहाँले पहिले नै क्षमा गरिसक्नुभएका पापहरु हाम्रो टाउकोमा फिर्ता राख्नुहुन्छ ? यस पद अनुसार, हो । बाइबलले कहिल्यै भन्दैन कि परमेश्वरले हाम्रा पापहरु बिर्सनुभएको छ । उहाँले भन्नुहुन्छ, "म अब तिम्रा पापहरु सम्झने छैन," जसको अर्थ हो, "म तिम्रा पापहरु तिमीहरुका विरुद्धमा राख्ने छैन ।"
परमेश्वरले पूर्णरुपमा बिर्सनुहुन्छ भनेर भन्ने कुनै पनि पद छैन । मैले गरेका पापहरु म आफैंले बिर्सन सक्दिन, त्यसोभए परमेश्वरले कसरी बिर्सन सक्नुहुन्छ ? होइन, उहाँलाई अझै पनि थाहा छ, तर उहाँले हामी विरुद्ध ती पापहरु राख्नुहुन्न । यो दृष्टान्तले हामीलाई सिकाउँछ कि यदि तपाईंले अरुलाई क्षमा गर्नुभयो भने, परमेश्वरले तपाईंलाई क्षमा गर्नुहुन्छ, र यदि तपाईंले क्षमा गर्नुभएन भने, परमेश्वरले तपाईंलाई क्षमा गर्नुहुने छैन ।
अनि अन्तिम अनुरोध यो हो, "हामीलाई परीक्षामा पर्न नदिनुहोस् ।" यसको अर्थ के हो ? परमेश्वरले हामीलाई हाम्रो क्षमता भन्दा बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन (१ कोरिन्थी १०ः१३), तर यो प्रार्थना गर्न हाम्रो लागि असल हो, किनभने केही परीक्षाहरु हाम्रो सामना गर्ने क्षमताभन्दा बाहिरका छन् भनेर बुझ्नु हाम्रो लागि असल हो । हामीलाई थाहा छ कि परमेश्वरले हामीलाई हाम्रो क्षमता भन्दा बाहिरको कुरामा परीक्षित हुन दिनुहुने छैन, तर हामीले प्रार्थना गर्नुपर्छ कि हामी त्यस्तो परीक्षामा नपारिऔं जुन हाम्रो लागि अत्यधिक शक्तिशाली छ । "तर मलाई दुष्टबाट छुटकारा दिनुहोस् ।" म नम्र भएर भन्दैछु, "मलाई थाहा छैन कि यो परीक्षाबाट कसरी पार गर्ने । मसँग यो परीक्षालाई जित्ने क्षमता छैन । त्यसैले प्रभु, मेरो पिता, कृपया मलाई त्यस्तो कुरामा पुग्ननदिनुहोस् जुन मेरो लागि धेरै शक्तिशाली छ ।" जब म यसरी प्रार्थना गर्छु, म मेरो कमजोरी र असहायपन व्यक्त गरिरहेको हुन्छु । परीक्षा प्रति यो असल विचार हो ।
हामीले यो सोच्नुहुन्न कि हामी परीक्षाबाट पराजित हुन नसक्ने गरी धेरै बलियो छौं । यही कारणले गर्दा धेरै मानिसहरुले पापमाथि विजय प्राप्त गर्दैनन् । धेरैजसो ख्रीष्टियानहरु पापबाट पराजित हुनुको कारण तिनीहरुमा धेरै आत्मविश्वास हुनु हो । तिनीहरुले सोच्छन् कि तिनीहरुसँग क्षमता छ - तिनीहरुले सोच्छन् कि केही राम्रा संकल्पहरु गर्नाले र दाह्राकिटाइले तिनीहरुलाई विजेता हुन मद्दत गर्नेछ । अहँ, त्यसो हुन्न । हामीले स्वीकार गर्नुपर्छ, "प्रभु, मलाई धेरै परीक्षामा नलैजानुहोस्, र जब मैले कुनै परीक्षाको सामना गर्छु, मलाई दुष्टबाट बचाउनुहोस्, किनकि म आफैंले दुष्टतालाई जित्न सक्दिन ।" यदि हामीले यति कुरा बुझ्यौं कि दुष्टता हाम्र्रो लागि धेरै बलियो छ, अरुलाई क्षमा गर्ने सन्दर्भमा पनि, तब हामी येशूले सिकाउनुभएझैं प्रार्थना गर्नेछौं । यदि तपाईंलाई कसैलाई क्षमा गर्न गाह्रो लाग्छ - यदि कसैले तपाईंलाई वा तपाईंको परिवारलाई भयानक हानि पुर्याएको छ भने, र तपाईंलाई त्यो व्यक्तिलाई, र त्यो व्यक्तिले गरेको दुष्टताको लागि क्षमा गर्न धेरै गाह्रो लाग्छ भने, तपाईंले परमेश्वरसँग अनुग्रह माग्न सक्नुहुन्छ । भन्नुहोस्, "प्रभु, कृपया मलाई मद्दत गर्नुहोस्, मलाई क्षमा नगर्ने यो दुष्ट आत्माबाट बचाउनुहोस् । मसँग यो व्यक्तिलाई क्षमा गर्नसक्ने क्षमता छैन, तर मलाई त्यो व्यक्तिलाई क्षमा गर्न मद्दत गर्नुहोस् भनी अनुरोध गर्दछु ।"
प्रार्थना हाम्रो कमजोरी र परमेश्वर माथिको हाम्रो असमर्थतामा निर्भरताको अभिव्यक्ति हो, र विश्वास भनेको परमेश्वरले मलाई मद्दत गर्नुहुन्छ भन्ने भरोसा हो किनभने उहाँ स्वर्गमा हुनुहुने मेरो पिता हुनुहुन्छ, जसले सबै पापहरुबाट मलाई मुक्त गर्न आफ्नो पुत्रलाई मर्न पठाउनुभयो । रोमी ८ः३२ ले भन्छ, "यदि उहाँले तिमीहरुका सबै पापहरुबाट मुक्त गर्न आफ्नो पुत्र दिनुभयो भने, उहाँसँगै तिमीहरुलाई चाहिने सबै कुरा कति धेरै दिनुहुनेछ !"
प्रार्थना मत्ती ६ः१३ मा यसरी समाप्त हुन्छ, "किनकि राज्य, शक्ति र महिमा सदा सर्वदा तपाईंकै हुन्, आमेन" ।
हामीले हाम्रो प्रार्थना यसरी समाप्त गर्नु र भन्नु धेरै महत्वपूर्ण छ, "प्रभु, सबै कुराको अन्त्यमा, जब तपाईंले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ र मैले मागेको सबै कुरा पूरा गर्नुहुन्छ, म स्वीकार गर्न चाहन्छु कि राज्य तपाईंकै हो, र शक्ति तपाईंकै हो । मसँग यो जीवन बिताउनसक्ने शक्ति छैन; मसँग पापमाथि विजय प्राप्त गर्नसक्ने शक्ति छैन । शक्ति तपाईंको हो । र जब म पापमाथि विजय प्राप्त गर्छु, महिमा पनि तपाईंको नै हुन्छ ।"
त्यसपछि प्रार्थना "आमेन" बाट समाप्त हुन्छ, जसको अर्थ हो, "यस्तै हुनेछ" ।