"जब तिमी प्रार्थना गर्छौ, कपटीहरु जस्तो नहोओ...." (मत्ती ६ः५) । प्रार्थना कसरी गर्ने भनेर हामीलाई सिकाउनु अघि, येशूले हामीलाई चेतावनीको रुपमा प्रार्थनाको बारेमा धेरै कुराहरु बताउनुहुन्छ ।
सर्वप्रथम, कपटीहरु प्रार्थना गर्दा देखिन मन पराउँछन् । "तिनीहरु देखिनको लागि सभाघरहरु र सडकको किनारमा उभिएर प्रार्थना गर्छन् । तिनीहरुको पूरा इनाम छ ।" यहाँ सिद्धान्त यो हो कि यदि तपाईं सार्वजनिक रुपमा प्रार्थना गर्दैहुनुहुन्छ, र तपाईंको उद्देश्य अरु मानिसहरुले तपाईंको प्रार्थनाको कदर गरुन् भन्ने हो भने, त्यो मानिसबाट सम्मान खोज्नु हो । सार्वजनिक रुपमा प्रार्थना गर्न सुरु गर्ने लगभग सबैले स्वीकार गर्नुपर्नेछ कि प्रार्थना गर्दा तिनीहरुले सम्मान खोजिरहेका हुन्छन् ।
आफैंलाई सोध्नुहोस्, के तपाईं एकान्तमा प्रार्थना गरे जस्तै सार्वजनिक रुपमा प्रार्थना गर्नुहुन्छ ? जब तपाईं ओछ्यानको छेउ घुँडा टेक्नुहुन्छ, तपाईं कसरी प्रार्थना गर्नुहुन्छ ? तपाईं परमेश्वरलाई के भन्नुहुन्छ ? के तपाईं सार्वजनिक रुपमा प्रार्थना गर्दा त्यही भन्नुहुन्छ ? अथवा धेरै मानिसहरुले सार्वजनिक रुपमा प्रार्थना गरे जस्तै के तपाईं आफ्नो भाषालाई अझ सुन्दर बनाउनुहुन्छ र आफ्नो आवाजमा कलिकति कम्पन ल्याउनुहुन्छ र एक अभिनेता जस्तै व्यवहार गर्नुहुन्छ, तिनीहरु धेरै गम्भीर र तिनीहरु धेरै भावुक छन् भनेर मानिसहरुलाई प्रभाव पार्नलाई ?
यो सबै पाखण्ड हो । परमेश्वरले यो घृणा गर्नुहुन्छ । म चाहन्छु हामीले यो महसुस गरौं कि सार्वजनिक रुपमा गरिने त्यो प्रकारको प्रार्थना परमेश्वरको अगाडि घृणित छ । परमेश्वर यसलाई घृणा गर्नुहुन्छ र सुन्नु पनि हुन्न । मण्डलीहरुमा सार्वजनिक प्रार्थना गर्नेहरु धेरैजसो यस श्रेणीमा पर्छन्, जहाँ अरु मानिसहरुको अगाडि कति प्रार्थना गर्न सक्छन् भनेर प्रदर्शन गर्नको लागि मानिसहरु प्रार्थना गरिरहेका हुन्छन् । यो पूर्णरुपमा येशूको शिक्षाको बिरुद्धमा छ, र मानिसहरुले यो गर्छन् किनभने तिनीहरुलाई येशूले आज्ञा गर्नुभएको सबै कुरा सिकाइएको छैन ।
हामी यसबाट कसरी शुद्ध हुने ? हामीले प्रार्थना गर्दा हरेक पटक आफूलाई जाँच्नु पर्छ । मैले पहिलो पटक सार्वजनिक रुपमा ख्रीष्टियानको रुपमा प्रार्थना गरेको मलाई याद छ । मैले स्वीकार गर्नुपर्छ कि मैले प्रार्थना गर्दा मानिसहरुबाट सम्मान खोजिरहेको थिएँ । जब म घर गएँ र आफ्नो जाँच गरें, मैले भनें, "प्रभु, मैले प्रार्थना गर्ने तरिका त्यस्तो होइन ।" अर्को पटक जब म उठेर सार्वजनिक रुपमा प्रार्थना गरें, मैले अझै पनि सम्मान खोजिरहेको थिएँ, त्यसैले म घर गएर फेरि आफूलाई जाँचें । सार्वजनिक प्रार्थनामा मानिसहरुबाट सम्मान खोज्ने यो इच्छाबाट आफूलाई शुद्ध पार्न मलाई धेरै बर्ष लाग्यो, तर अन्ततः धेरै वर्ष पछि, मैले सर्वशक्तिमान परमेश्वरलाई मात्र प्रार्थना गर्न सिकें, मेरो स्वर्गीय पितालाई । के तपाईं त्यो स्थानमा पुग्नु भएको छ ? यदि होइन भने, म तपाईंलाई मानिसहरुको सम्मान खोज्नबाट आफ्नो मुक्तिको लागि काम गर्न प्रोत्साहित गर्न चाहन्छु ।
त्यसपछि येशूले भन्नुभयो, "जब तिमी प्रार्थना गर्छौ, आफ्नो भित्री कोठामा जाऊ; र जब तिमी ढोका बन्द गर्छौ, आफ्नो पितालाई गुप्तमा प्रार्थना गर ।" हामी यो सार्वजनिक रुपमा कसरी गर्छौं ? यदि हाम्रो दिमागमा हामीले बन्द गर्नसक्ने ढोका छ भने हामी यो सार्वजनिक रुपमा यो गर्न सक्छौं । म १०० जना मानिसहरुको बीचमा उभिरहँदा पनि मेरो दिमागमा एउटा ढोका हुन्छ । म यसलाई बन्द गर्छु, र त्यसपछि मैले भन्छु, "म अहिले सर्वशक्तिमान परमेश्वर, मेरा पिताको अगाडि एक्लै उभिरहेको छु ।" मेरो वरिपरि मानिसहरु हुन सक्लान्, तर म तिनीहरुको बारेमा सचेत हुन चाहन्न । प्रार्थना गर्दा हामीले आँखा बन्द गर्नुको एउटा कारण यही हो । प्रार्थना गर्दा आँखा बन्द गर्नुपर्छ भनेर कुनै व्यवस्था छैन । तपाईं आँखा खुल्ला राखेर प्रार्थना गर्न सक्नुहुन्छ, किनकि येशूले पनि कहिलेकाहीं त्यसो गर्नुभयो ।
हामी आफ्नो वरपरको वातावरणबाट बिचलित नहोऔं, आफ्नो वरपरका मानिसहरुबाट सम्मान खोज्नतिर हामी नलागौं भनेर हामीले आफ्नो आँखा बन्द गर्छौं । एक अर्थमा हामीले आँखा बन्द गर्दा मानिसहरुलाई बाहिर निकालिरहेका हुन्छौं । हामीले आफ्नो दिमाग पनि बन्द गर्नुपर्छ र भन्नुपर्छ, "बुबा, मैले अब ढोकाहरु बन्द गरेको छु र म तपाईंलाई प्रार्थना गरिरहेको छु ।" प्रार्थना गर्ने तरिका यही हो, र हामी सार्वजनिक रुपमा पनि त्यो गर्न सक्छौं । हामीले हाम्रा पितालाई गुप्तमा प्रार्थना गर्छौं, र हाम्रा पिता, जसले गुप्तमा देख्नुहुन्छ, उहाँले हामीलाई प्रतिफल दिनुहुनेछ । तपाईं पूर्ण रुपमा निश्चित हुन सक्नुहुन्छ कि यदि तपाईं परमेश्वर आफ्ना पितालाई प्रार्थना गर्दै हुनुहुन्छ, र मानिसहरुबाट सम्मान खोज्दै हुनुहुन्छ भने, उहाँले तपाईंलाई निश्चित रुपमा प्रतिफल दिनुहुनेछ र त्यो प्रार्थनाको जवाफ दिनुहुनेछ ।
येशूले मत्ती ६ः७ मा प्रार्थना कसरी नगर्ने बारेमा थप सल्लाह दिनुहुन्छ, "मूर्तिपूजकहरुले जस्तै अर्थहीन दोहोर्याएर नबोल्नुहोस् किनभने तिनीहरु सोच्छन् कि तिनीहरुका धेरै शब्दहरुको कारण तिनीहरुको सुनुवाइ हुनेछ ।" अन्य जातिहरुले गर्ने एउटा गलत कुरा भनेको अर्थहीन तवरले दोहोर्याएर बोल्नु हो । केही धर्महरुमा केही जप गर्ने बानी हुन्छ । तिनीहरुले केही धार्मिक बाक्यांश दोहोर्याउँछन्, र यो अर्थहीन कुरा बन्छ ।
केही आत्मिक भाषा लिएर त्यसलाई दोहोर्याउन सकिन्छ । हामीले "हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह" भन्न सक्छौं र केही समय पछि यो अर्थहीन हुन्छ । यो एउटा अनुष्ठान बन्छ । "प्रभुको प्रशंसा गर, प्रभुको प्रशंसा गर, प्रभुको प्रशंसा गर" जस्ता वाक्यांशको लागि पनि यही कुरा सत्य हो । येशूले भन्नुभयो, "अर्थहीन दोहोर्याउने कुरा नगर ।" यदि तपाईंले नयाँ नियम पढ्नुभयो भने, तपाईंले प्रकाश १९ मा मात्र हल्लेलूयाह शब्द आएको भेट्नुहुन्छ, र यसले भन्छ,, "यसको कारणले गर्दा हल्लेलूयाह," र त्यसपछि अर्को पटक भन्छ, "यसको कारणले गर्दा हल्लेलूयाह ।" हामीले प्रभुको प्रशंसा गर्नुको कुनै कारण हुनुपर्छ, त्यसैले हामी केवल "हल्लेलूयाह" भन्नु हुँदैन । हामीले सबै कुरामा धन्यवाद दिनुपर्छ, तर यदि यो अर्थहीन तवरले दोहोरिने हो भने, यो धेरै मूर्खतापूर्ण हुनसक्छ, र यो परमेश्वरको अगाडि केही पनि होइन । यो प्रभुको नाम व्यर्थमा लिने कुरामा पनि हुनसक्छ किनभने हल्लेलूयाहको अन्तिम भाग, 'याह' यहोवाको छोटो रुप हो, र यहूदी मानिसहरु त्यो नाम उल्लेख गर्न पनि धेरै डराउँथे, नत्रता तिनीहरुले प्रभुको नाम व्यर्थमा लिनेछन् । म विश्वास गर्छु कि धेरै ख्रीष्टियानहरुले "हल्लेलूयाह" अर्थहीन तवरले भन्दै प्रभुको नाम व्यर्थमा लिइरहेका छन् । म प्रभुको प्रशंसा गर्दा प्रायः यो भन्छु, तर म यसलाई हरेक पटक अर्थपूर्ण रुपमा भन्न खोज्छु । म यो शब्द प्रयोग गर्ने कुराको विरुद्धमा छैन, र न त परमेश्वर नै हुनुहुन्छ, तर यो अर्थपूर्ण हुनुपर्छ, र अर्थहीन दोहोर्याइ होइन ।
के तपाईंले देख्नुभयो कि ख्रीष्टियानहरुले यस्तो साधारण आज्ञालाई कसरी गम्भीरतापूर्वक लिएका छैनन् ? येशूले भन्नुभयो कि गैर-ख्रीष्टियानहरुले अर्थहीन रुपमा मन्त्र जस्तै कुरा दोहोर्याउँछन्, र त्यो हाम्रो जीवनमा सत्य हुनु हुँदैन । हामीले परमेश्वरको आदर गर्नुपर्छ र हामीले भन्न खोजेको कुरा भन्नुपर्छ । तपाईं भारतका राजा, राष्ट्रपति, वा प्रधानमन्त्रीको सामु गएर केही कुरा दोहोर्याइरहन सक्नुहुन्न, जब तपाईंलाई के भनिरहनुभएको छ भन्ने थाहा पनि हुँदैन । हामीले परमेश्वरप्रति धेरै श्रद्धा राख्नुपर्छ । अर्थहीन तवरले दोहोर्याउने कुराबाट बच्नुहोस् ।
येशूले यो पनि भन्नुहुन्छ, "धेरै शब्द बोल्दा तिम्रो सुनुवाई हुनेछ भनेर नसोच ।" धेरै मानिसहरुले प्रार्थनामा गर्ने यो अर्को गल्ती हो । तिनीहरु सोच्छन् कि यदि तिनीहरुले लामो समयसम्म प्रार्थना गरे भने, परमेश्वरले अवश्य सुन्नुहुनेछ । "मैले ३ घण्टा प्रार्थना गरें, त्यसैले पक्कै पनि परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ ।" त्यो धेरै बकवास हो, र गैर-ख्रीष्टियानहरुले पनि यही सोच्छन् - यदि तिनीहरुले लामो समयसम्म प्रार्थना गरे भने, परमेश्वरले अवश्य पनि सुन्नुहुनेछ । यो सत्य होइन ।
कर्मेल डाँडामा, बालका अगमवक्ताहरुले धेरै घण्टा प्रार्थना गरे - सायद छ घण्टा वा सो भन्दा बढी - तर केही भएन । एलिया उठे र आधा घण्टा प्रार्थना गरे र आगो बस्र्यो । प्रार्थनाको लम्बाइले प्रभुलाई सुन्न बाध्य तुल्याउँदैन । यो बुझ्नु धेरै महत्वपूर्ण छ ।
धेरै मानिसहरुले सोच्छन् कि रातभरि प्रार्थना गर्दा उनीहरुको सुनुवाइ हुनेछ । "मैले रातभरि प्रार्थना गरें, त्यसैले अवश्य पनि परमेश्वरले मेरो प्रार्थनाको जवाफ दिनुहुनेछ ।" त्यो कसले भन्यो ? यो विश्वास हो जसले प्रार्थनाको जवाफ दिन्छ र पापबाट मुक्त हृदय दिन्छ । ती सबैभन्दा महत्वपूर्ण कुराहरु हुन् । भजनसंग्रह ६६ः१८ ले भन्छ, "यदि मैले मेरो हृदयमा अधर्म राखें भने, परमप्रभुले मेरो कुरा सुन्नुहुनेछैन ।"
रातभर प्रार्थना गरे पनि केही फरक पर्दैन, र तपाईंको प्रार्थना कति राम्रो सुनिन्छ भन्ने कुराले फरक पर्दैन । यदि कुनै पाप छ जुन समाधान गरिएको छैन, यदि तपाईंको हृदयमा स्वीकार नगरिएको पाप छ, यदि तपाईं र तपाईंको भाइ बीच गलत सम्बन्ध छ, यदि तपाईंले कसैलाई चोट पुर्याउनुभयो र तपाईं आएर परमेश्वरलाई प्रार्थना गर्नुभयो भने, परमेश्वरले तपाईंको प्रार्थना सुन्नुहुनेछैन । जानुहोस् र भाइसँगको त्यो मामिला सल्टाउनुहोस् । यदि तपाईं र परमेश्वर बीच, वा तपाईं वा तपाईंको भाइ बीच कुनै पाप छ, जुन स्वीकार गरिएको छैन र समाधान गरिएको छैन भने, तपाईं पक्का हुनसक्नुहुन्छ कि तपाईंले प्रार्थना गरेर आफ्नो समय बर्बाद गरिरहनुभएको छ, चाहे तपाईं १ मिनेट प्रार्थना गर्नुहोस् या १० घण्टा ।