परमेश्वरले “अहंकारी र आफैंमा आनन्दितहरुलाई” मण्डलीबाट हटाउनुहुन्छ (सपन्याह ३ः८–१७) ।
प्रेरित यूहन्नाले आफ्नो समयमा यो भइरहेको देखे । उनले भने, “तिनीहरु हामीबाट निस्के, तर तिनीहरु हामी मध्येका थिएनन्; किनकि यदि तिनीहरु हामी मध्येका भएका भए, तिनीहरु हामीसँगै रहने थिए; तर तिनीहरु मध्येका होइनन् भनी देखाउनलाई तिनीहरु बाहिर निस्के ।” (१ यूहन्ना २ः१९) ।
प्रत्येक मण्डलीका एल्डरहरुले आफ्नो मण्डलीमा कस्तो आत्मिक स्तर कायम राख्न चाहन्छन् भन्ने कुरा निर्धारण गर्छन् । पवित्रताको कुनै मापदण्ड नभएका मण्डलीहरुलाई कसैले पनि छोड्ने छैन । तर येशूले सिकाउनुभएको मापदण्ड अनुसार जीवन बिताउन चाहने मण्डलीहरुले जसरी येशू आफैंले भेट्टाउनु भयो, धेरैले ती छोड्नेछन् । र हामीले हाम्रो बीचमा पनि यो भइरहेको देखेका छौं ।
हाम्रा मण्डलीहरु छोड्नेहरु सबैभन्दा पहिले धनी र शक्तिशाली व्यक्तिहरु थिए जो संसारमा र अन्य मण्डलीहरुमा हामीले पाउने प्राथमिकता नपाएको कारणले गर्दा आक्रोशित भए । येशूको चेला बन्नबाट उनीहरुलाई रोक्ने उनीहरुको धन वा पद थिएन, तर यी कुराहरुमा उनीहरुको घमण्ड थियो । हामीले कसैको पार्थिव सम्पत्ति वा पदको वास्ता गरेनौं । हामीले नम्र र परमेश्वरको भय बोकेकाहरुलाई मात्र सम्मान गर्यौं – चाहे तिनीहरु धनी हुन् वा गरिब (भ.सं. १५ः४) ।
अरु कोही कोहीले हामीलाई छोडे किनभने तिनीहरु हाम्रा मण्डलीहरुमा एल्डर बन्न चाहन्थे – तर एल्डरको रुपमा नियुक्त भएनन् । अनि एल्डरको रुपमा नियुक्त भएका केहीले हामीले उनीहरुलाई एल्डरको पद त्याग्न भन्दा छोडे, किनभने तिनीहरु जिम्मेवारीे प्रति विश्वासयोग्य थिएनन् । तिनीहरु मध्ये कोही कोही आफ्ना प्रचार क्षमताद्वारा पैसा कमाउन चाहन्थे (१ पत्रुस ५ः२) – र हामीलाई पैसा कमाउन सुसामाचार प्रचार गर्ने सबैबाट टाढा रहन आज्ञा दिइएको छ (१ तिमोथी ६ः३) । अरुले बगालमाथि प्रभुको रुपमा शासन गरे (१ पत्रुस ५ः३) । अनि तिनीहरु मध्ये कोही कोहीले मानिसहरुलाई प्रभुमा होइन तर आफैंमा जोडे (प्रेरित २०ः३०) ! परमेश्वरले यी सबै एल्डरहरुलाई असल मानिसहरुले प्रतिस्थापन गर्नुभयो र यसरी हामीलाई पुष्टी गर्नुभयो कि उहाँ आफैंले तिनीहरुलाई हटाउनुभएको थियो ।
अरुले हामीलाई छोडेर गए किनभने तिनीहरु कुनै धनी, पश्चिमी मण्डलीसँग जोडिन चाहन्थे – र हाम्रो जस्तो गरिब भारतीय मण्डलीसँग होइन । धेरैजसो भारतीय ख्रीष्टियानहरु विश्वास गर्छन् कि पश्चिमी ख्रीष्टियानहरु आत्मिकरुपमा उच्च छन्, र त्यसैले तिनीहरु उनीहरुको अधीनमा छन् । भारतका धेरै मण्डलीहरुले कहिल्यै पनि कम्तिमा एक अमेरिकी वा यूरोपेली प्रचारकलाई मुख्य बक्ताको रुपमा नराखी कुनै विशेष बैठकहरु बस्दैनन् । यसरी मात्र तिनीहरुले मानिसहरुलाई आफ्नो बैठकहरुमा आकर्षित गर्न सक्छन् ! यद्यपि, हामीले सबै जातिका मानिसहरुलाई समान व्यवहार गर्यौं र आत्माको अभिषेक र हामीले प्रचार गरेको सन्देशद्वारा मानिसहरुलाई हाम्रा मण्डलीहरुमा आकर्षित गर्न खोज्यौं – प्रचारकको छालाको रंगले होइन ! धेरै भारतीय ख्रीष्टियानहरु आर्थिक लाभको लागि र पश्चिममा निःशुल्क यात्राहरु प्राप्त गर्न पश्चिमी समूहहरुमा संलग्न हुन्छन् !! “आफ्नै लागि खोजी गर्ने ” त्यस्ता सबैका विरुद्धमा हामी उभिएका थियौं ।
त्यसपछि त्यहाँ धेरै मानिसहरु थिए जसले हामीलाई छोडेर गए किनभने उनीहरुले हामीले प्रचार गरेको पवित्रताको स्तर धेरै उच्च छ भन्ने महसुस गरे ! हामीले चेलापन, पवित्रआत्माको वप्तिस्मा (र उहाँका वरदानहरु), सबै सचेत पापमाथि विजय, डाँडाको उपदेश (मत्ती अध्याय ५,६,७), सिद्धतातर्फ अघि बढ्ने, येशू हिँडे झैं अघि बढ्ने, ईश्वरीय पारिवारिक जीवन, दैनिक क्रुस बोक्ने, संसारको आत्माबाट अलग रहने, पैसाको प्रेमबाट स्वतन्त्रता, उपवास र प्रार्थना, हृदयदेखि नै सबैलाई क्षमा दिने, येशूले हामीलाई प्रेम गरेझैं अरुलाई प्रेम गर्ने, स्थानीय मण्डलीलाई ख्रीष्टको शरीरको रुपमा निर्माण गर्ने, आदि प्रचार गर्यौं । यस्तो प्रचारले धेरै मानिसहरुलाई ठेस पुर्यायो र त्यसैले तिनीहरुले हामीलाई छोडे । तर यसले हामीलाई बिचलित पारेन – किनकि हामीलाई थाहा थियो कि धेरैजना येशूको सन्देशबाट पनि रिसाएका थिए र उहाँलाई छोडेर गएका थिए (यूहन्ना ६ः६०,६६) । तर हामीलाई अचम्म लाग्यो कि आफ्ना छोराछोरीको शिक्षाको लागि उत्तम स्कूलहरु र आफ्ना चिकित्सा उपचारको लागि उत्तम अस्पतालहरु छनौट गर्ने ख्रीष्टियानहरुले आफ्ना आत्मिक संगतीको लागि पवित्रताको कम स्तर भएका मण्डलीहरु छनौट गरे । यसले यो प्रमाणित गर्यो कि तिनीहरुले आध्यात्मिक चीजहरु भन्दा पार्थिव चीजहरुलाई बढी र आफ्नो शरीरलाई आफ्नो आत्माभन्दा बढी महत्व दिए ।
तर हामीले यो देखेर अझ छक्क पर्यौं कि ईश्वरीय जीवनको कुनै चाहना नभएका केही मानिसहरु अझै पनि हाम्रो मण्डलीमा बस्न रोजे । यद्यपि, हामीले पत्ता लगायौं कि तिनीहरु बसे किनभने तिनीहरु हाम्रो बीचमा आफ्नो परिवारको लागि राम्रो वातावरण पाएका थिए । हाम्रो मण्डली एउटा राम्रो क्लब जस्तै थियो जसले कुनै सदस्यता शुल्क लिँदैनथ्यो !! अनि त्यसैले धेरै “बेबिलोनी” ख्रीष्टियानहरु अझै पनि हाम्रा मण्डलीहरुमा बसे । येशूको मण्डलीमा एक यहूदा इस्करियोत पनि थियो !
यद्यपि हामीले मण्डलीहरुमा एल्डरहरु माझ उच्च स्तर कायम राख्न खोज्यौं, विशेषगरी तिनीहरुका लागि बारम्बार बैठकहरु र सम्मेलनहरु आयोजना गरेर । परमेश्वरले हाम्रा मण्डलीहरुमा एल्डर हुन केही असल मानिसहरुलाई खडा गर्नुभयो । तिनीहरु मध्ये धेरैजना प्रभावकारी प्रचारकहरु थिएनन्, तर तिनीहरुले ख्रीष्टको महिमा खोजेका थिए र परमेश्वरका जनहरुको कल्याणको लागि साँचो चासो राख्थे (फिलिप्पी २ः१९–२१) । कुनै ठाउँमा त्यस्तो एकजना पनि भाइ नभेट्टिँदा हामीले त्यहाँ मण्डली सुरु गरेनौं – किनभने ईश्वरीय गोठालो बिना, हामीले महसुस गर्यौं कि भेडाहरु केवल बरालिनेछन् ।
आज हामी हाम्रा मण्डलीहरुलाई हेर्दा, हामी देख्छौं कि हामी अझै पनि परमेश्वरले हामीलाई जे बनाउन चाहनुहुन्छ त्यो भन्दा धेरै तल छौं । तर हामी पूर्णतातर्फ अघि बढिरहेका छौं र येशूले सिकाउनुभएको पवित्रताको स्तर कायम राख्न खोजिरहेका छौं – हामीसँग को सामेल हुन्छ वा कसले छोड्छ भन्ने कुराको वास्ता नराखी ।
मण्डली परमेश्वरको बासस्थान हो – जसरी वेदी पुरानो नियममा बासस्थान थियो । त्यो बासस्थानमा तीन भागहरु थिए – बाहिरी चोक, पवित्र स्थान र अति पवित्र स्थान । बाहिरी चोकमा वेदी र बाटाको वरिपरि धेरै मानिसहरुको भीड हुन्थ्यो (पापहरुको क्षमा र पानी–वप्तिस्माको प्रतीक) । यद्यपि, पवित्रस्थानमा संख्या धेरै कम थियो । त्यहाँ दीपदान, रोटीको टेबल, र पवित्र आत्माको अभिषेक, परमेश्वरको वचनको अध्ययन र प्रार्थनाको प्रतीकको रुपमा वेदी थियो । तर पुरानो नियमको समयमा सबैभन्दा पवित्रस्थानमा कोही पनि प्रवेश गर्न सक्दैनथे । यो पवित्र जगह आज परमेश्वरसँग संगती खोज्ने, उहाँलाई आफ्नो सबैकुरा समर्पण गर्ने, र आत्मा र सत्यतामा उहाँको आराधना गर्न खोज्ने सबैको लागि खुला छ ।
वेदीका यी तीन भागहरुले परमेश्वरसँगको घनिष्ठताको तीन घेराहरुलाई प्रतिनिधित्व गर्छन् । र प्रत्येक मण्डली (हाम्रो सहित) मा ती मानिसहरु हुन्छन् जसले यी तीन क्षेत्रहरु मध्ये एकमा बस्नलाई रोज्छन् । यद्यपि, विजयीहरु ती हुन् जसले सधैं सबैभन्दा पवित्रस्थानमा बस्नको लागि छनौट गर्छन्, र तिनीहरु अन्तसम्मै प्रभुप्रति विश्वासी रहनेछन् । तिनीहरुले नै हाम्रा मण्डलीहरु – र प्रत्येक मण्डलीको वास्तविक शक्ति गठन गर्छन् ।