पुरानो नियममा, व्यवस्थाले भन्यो, "तिमीले झूटो भाकल नगर्नु तर परमप्रभुको निम्ति गरेको भाकल पूरा गर्नु," र "तिमीले आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनु ।" आजको भनाइमा, भाकल भनेको शपथ ग्रहण गर्नु जस्तै हो । मानिसहरु बाइबलमा हात राखेर भन्छन् कि हामी सत्य बोल्नेछौं । त्यसको वास्तविक अर्थ के हो भने, "धेरैजसो समय म झूट बोल्छु, तर म अब सत्य बोल्नेछु ।" यदि कसैले बाइबलमा हात राखेर कसम खान्छ भने भाकलको अर्थ यही हो । यद्यपि, याकूबमा यो भनिएको छ कि तपाईंले सधैं सत्य बोल्नुपर्छ (याकूब ५ः१२), र येशूले यहाँ यही भन्नुभएको छ ।
मत्ती ५ः३३-३७ को सारांश यो हो कि हामी सधैं सत्यवादी हुनुपर्छ । हामी हाम्रा शब्दहरुमा सृजनात्मक, चलाख र चतुर हुनुहुँदैन, अदालतमा बोले झैं कानूनी रुपमा सत्य बोलेको दाबी गर्नु हुँदैन । हामी सत्यवादी मानिसहरुको रुपमा चिनिनुपर्छ र कुनै पनि कुरामा झूट बोल्नु हुँदैन । हाम्रो "हो" "हो" हुनुपर्छ र "होइन" "होइन" हुनुपर्छ । त्यो बाहेक अरु जे पनि खराब हो । यदि मलाई कपटी तरिकाले "हो" भन्नुपर्यो भने, त्यहाँ केही गलत छ र त्यसले अन्ततः पाखण्डतर्फ डोर्याउनेछ ।
यदि तपाईंले प्रस्थान २० मा दश आज्ञाहरु पढ्नुभयो भने, यसले यसो भनेको थिएन, "तैंले झूट नबोल्नु ।" नवौं आज्ञा थियो, "तैंले आफनो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनु ।" त्यसले मूलतः कानूनी अदालतलाई जनाउँदै थियो, र कानूनी अदालतमा तपाईंले झूट बोल्नु हुँदैन । अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईंले कुनै कुराको लागि कसम खानुभयो भने तपाईंले सत्य बोल्नुपर्छ । पुरानो नियममा त्यो मापदण्ड थियो किनभने परमेश्वरलाई थाहा थियो कि कसैले पनि झूट नबोल्ने आज्ञा पालन गर्न सक्दैन । त्यसैगरी पुरानो नियममा, "तिमीले आफ्नो रिस नियन्त्रण बाहिर जान नदिनु" भन्ने कुनै आज्ञा थिएन किनभने परमेश्वरलाई थाहा थियो कि कसैले पनि त्यस्तो आज्ञा पालन गर्न सक्दैन । त्यतिबेला, "तिमीले हत्या नगर्नु" भन्ने आज्ञा थियो । त्यसैगरी पुरानो नियममा, "स्त्रीको लालसा नगर्नु" भन्ने कुनै आज्ञा थिएन किनभने परमेश्वरलाई थाहा थियो कि यो कसैले पालन गर्न सक्दैन । त्यसैले, "शारीरिक व्यभिचार नगर्नु" भन्ने आज्ञा थियो ।
तर अब नयाँ करारमा, पवित्र आत्माको वरदान भन्ने कुरा आउँछ, र यस्तो जीवन बिताउन सम्भव बनाउँछ । जब पवित्र आत्मा शक्तिमा आउनुहुन्छ, उहाँ विजुली जस्तै आउनुहुन्छ जसले बत्ती बाल्छ वा पंखा चलाउँछ वा हाम्रा ग्याजेटहरु चलाउँछ । त्यसपछि हामीले पवित्र आत्माको शक्ति बिना गर्न नसकिने निश्चित कामहरु गर्न सक्छौं । अब आँखाको अभिलाषालाई जित्न सम्भव छ, रिसलाई जित्न सम्भव छ, आफ्नो जीवनसाथी माथि चिच्याउने कुरा बन्द गर्न सम्भव छ, सधैं सत्य बोल्न सम्भव छ, र तपाईंको "हो" लाई "हो" र तपाईंको "होइन" लाई "होइन" हुन दिन सम्भव छ ।
अझ समय सापेक्ष उदाहरण प्रयोग गर्नः यदि तपाईंले साक्षीको रुपमा कानूनी अदालतमा बिक्री सम्झौता वा अन्य कुनै सम्झौतामा हस्ताक्षर गर्नुभयो भने, तपाईंले हस्ताक्षर गर्नु अघि त्यो सम्झौता पढ्दा धेरै सावधानी अपनाउनुहुन्छ किनभने तपाईंलाई थाहा छ कि यो अदालतमा लागू गरिनेछ । एक ख्रीष्टियानको लागि, त्यो हस्ताक्षर गरिएको सम्झौता जत्तिकै उसको वचन असल हुनुपर्छ । के तपाईं आफ्नो जीवनमा यो सत्य हो भनी भन्न सक्नुहुन्छ ?
मलाई याद छ एक पटक मेरो जीवनमा मैले कसैसँग सम्झौता गरेको थिएँ जो मेरो घरमा बेच्न राखेको सामान किन्न चाहन्थ्यो । यो एकदमै महँगो थियो र हामी मूल्यको लागि सहमत भयौं, तर ऊ धेरै महिनासम्म यसलाई लिनको लागि फर्केर आएन । त्यतिन्जेलसम्म त्यो चीजको मूल्य बढिसकेको थियो र मैले उसलाई भन्नसक्थें, "हे, यसको मूल्य बढिसकेको छ र तिमीले त्यतिबेला लिएनौं ।" मैले सम्झौतामा हस्ताक्षर गरेको थिइनँ, यद्यपि मैले मौखिक रुपमा नै त्यो विशेष मूल्यमा उसलाई त्यो दिनको लागि सहमति जनाइसकेको थिएँ, र प्रभुले मलाई भन्नुभयो, "तपाईंको 'हो' लाई 'हो' र 'होइन' लाई 'होइन' हुन दिनुहोस् ।" ऊ संकटमा परेको भाइ थियो र त्यही कारणले गर्दा म उसलाई मेरो वचन राख्न चाहन्थें । मैले भनें, "अवश्य पनि तिमीले त्यो मूल्यमा यो पाउन सक्छौ" र निश्चय नै ऊ खुशी भयो । मैले के भोगें ? सायद आर्थिक रुपमा मलाई केही नोक्सान भयो होला । सायद म उसलाई त्यो भन्दा बढी मूल्यमा बेचेर केही हजार रुपैयाँ कमाउन सक्थें, तर मेरो "हो" "हो" नभएकोले मेरो विवेक खराब हुन्थ्यो ।
इमानदार हुन र हाम्रो आचरणमा ख्रीष्ट जस्तै हुनको लागि थोरै पैसा गमाउनु उचित नै हुन्छ । धेरै पटक पैसाको क्षेत्रमा हामी जाँचिन्छौं कि हामी हाम्रो होलाई हो र हाम्रो होइनलाई होइन बनाउन इच्छुक छौं कि छैनौं ।
परमेश्वरले हामीलाई माथि लैजानु अघि यस क्षेत्रमा हाम्रो जाँच गर्नुहुन्छ । मैले मेरो जीवनमा धेरै पटक पाएँ कि परमेश्वरले मलाई त्यस्ता ठाउँहरुमा जाँच्नुभयो जहाँ मैले केही गुमाउनु परेको थियो वा केही त्याग गर्नुपरेको थियो । म ती अनुसार जिउँछ कि जिउँदिन भनेर हेर्नको लागि उहाँले मलाई ती आज्ञाहरु द्वारा जाँच्नुहुन्छ । त्यसपछि मैले थाहा पाउँछु कि म साँच्चै विश्वास गर्छु कि गर्दिन । आज धेरै अवस्थाहरु छन् जहाँ सत्य बोल्दा हामीलाई कुनै मूल्य पर्दैन । त्यहाँ कुनै जाँच हुँदैन, तर सत्य बोल्दा तपाईंको जागिर गुम्न सक्छ, उदाहरणका लागि - तब परमेश्वरले तपाईंलाई उच्च सेवामा डोर्याउन सकिन्छ कि भनेर हेर्नको लागि तपाईंको जाँच गर्नुहुन्छ । मलाई विश्वास छ कि यी धेरै क्षेत्रहरु छन् जहाँ परमेश्वरले हामीलाई जाँच्नुहुन्छ । र धेरै, धेरै युवाहरु परमेश्वरको जाँचमा असफल भएका छन् ।
परमेश्वरले कसैलाई पनि उहाँको विश्वासी सेवक बन्न जबरजस्ती गर्नुहुन्न । मलाई विश्वास छ कि उहाँले चाहनुहुन्छ कि तपाईं र म उहाँको विश्वासी सेवक बनौं, तर तपाई विश्वासयोग्य हुनुहुन्छ कि हुनुहुन्न, तपाईं परमेश्वरको वचनको स्तरमा अडिग रहनुहुनेछ कि रहनुहुनेछैन, र मानिसहरुलाई खुशी पार्न उहाँसँग सम्झौता गर्नुहुनेछ कि गर्नुहुन्न भन्ने कुराले तपाईं कहिल्यै परमेश्वरको साँचो सेवक बन्नुहुनेछ कि बन्नुहुनेछैन भन्ने कुरा निर्धारण हुनेछ ।
उदाहरणको लागि एउटा परीस्थितिको बारेमा सोच्नुहोस्, यदि तपाईं कुनै कार्यालयमा काम गर्दै हुनुहुन्छ र सायद त्यहाँ एउटा महँगो मेशिन छ जुन तपाईंले गल्तीले दुरुपयोग गर्नुभयो र बिगार्नुभयो, तर तपाईंले त्यो गरेको कसैले देखेनन् । धेरै मानिसहरुले त्यो मेशिन प्रयोग गर्छन् र केही समय पछि कसैले पत्ता लगाउँछन् कि मेशिनले काम गरिरहेको छैन, र अधिकारीहरु अनुसन्धान गर्न आउँछन् । हाकिम आउँछन् र सोध्छन् कि मेशिन कसले बिगार्यो । तपाईंलाई थाहा छ कि त्यो व्यक्ति तपाईं नै हुनुहुन्छ, तर तपाईं चुप लाग्नुहुन्छ किनभने उनीहरुले पत्ता लगाउन सक्दैनन्, किनकि धेरै मानिसहरुले यो प्रयोग गरिरहेका थिए । तपाईंलाई लाग्नसक्छ कि तपाईंले झूटो बोल्नु भएको छैन किनभने तपाईंले आफ्नो मुख खोल्नु भएको छैन, तर वास्तवमा तपाईंले झूटो बोल्नुभयो । तपाईंले मुख नखोली झूटो बोल्नुभयो । आफ्नो जागिर जोगाउनको लागि तपाईंले स्वीकार गर्नुभएन कि तपाईंले यसलाई अन्तिममा प्रयोग गर्नुभयो र कुनै न कुनै रुपमा बिगार्नुभयो । यदि तपाईंले त्यो स्वीकार गर्नुभएको भए हुनसक्छ तपाईंलाई जागिरबाट निकाल्ने थिए किनभने यो महँगो मेशिन हो ।
त्यो क्षणमा कुन बढी महत्वपूर्ण छ ? शैतान तपाईंकहाँ आउँछ र भन्छ कि झूट सर्वशक्तिमान छ; यदि तपाईंले झूट बोल्नुभयो भने तपाईंले आफ्नो जागिर जोगाउन सक्नुहुन्छ । त्यही समयमा पवित्र आत्माले तपाईंको हृदयमा फुसफुसाउनुहुन्छ कि यो झूट हो । के परमेश्वर सर्वशक्तिमान हुनुहुन्न र ? यदि तपाईंले यस परीस्थितिमा परमेश्वर माथि भरोसा गर्नुभयो र सत्य बोल्नुभयो भने, हुनसक्छ तपाईंले आफ्नो जागिर गुमाउनुहुनेछ, तर परमेश्वरले तपाईंलाई अझ राम्रो जागिर दिनुहुनेछ । के तपाईंसँग त्यो विश्वास छ ? यस्तो परीस्थितिमा हामी जाँचिन्छौं ।
मैले सिद्धान्तमा बोलिरहेको छैन । धेरै पटक परमेश्वरले मलाई यस क्षेत्रमा विभिन्न कुराहरुमा जाँच गर्नुभएको छ, म कुनै परीस्थितिबाट बाहिर निस्कनको लागि चलाख छ कि छैन भनेर हेर्नको लागि होइन, तर म इमानदार छु र सत्यबोल्दा चुकाउनुपर्ने मूल्य तिर्न तयार छु कि छैन भनेर हेर्नको लागि हो ।
यसरी नै उहाँले मलाई अभिषेक गर्नुभयो र मूल्य चकाउनु परेपनि मञ्चबाट सत्य बोल्नको लागि मलाई एउटा सेवा दिनुभयो । मलाई विश्वास छ कि परमेश्वरले आज ख्रीष्टियान जगतमा उहाँका धेरै अगमवक्ताहरु चाहनुहुन्छ जसले मूल्य चकाउनुपरे पनि सत्य बोल्नेछन् - चाहे तिनीहरु बाहिर निकालिए पनि र घृणित, अस्वीकृत, गलत बुझिए पनि, आलोचना गरिएको वा झूटो आरोप लगाइए पनि । परमेश्वरले तपाईंलाई त्यो सेवाको लागि तयार पार्ने तरिका भनेको जीवनको सामान्य परीस्थितिहरुमा तपाईंको जाँच गरेर तपाईंले सत्य बोल्नुहुन्छ कि बोल्नुहुन्न भनेर हेर्नु हो, चाहे तपाईंले यसको लागि मूल्य चुकाउनु परोस् र आफ्नो जागिर गुमाउनु परोस्, वा सत्यको पक्षमा उभिँदा तपाईंले यसको लागि पैसा गुमाउनु परोस् । यो एक धेरै महत्वपूर्ण क्षेत्र हो ।