मानिसको सबैभन्दा ठूलो सम्मान र विशेषाधिकार भनेको परमेश्वरको इच्छा पूरा गर्नु हो । प्रभु येशूले आफ्ना चेलाहरुलाई यही सिकाउनु भएको थियो । उहाँले एकपटक भन्नुभयो कि उहाँको पिताको इच्छा पालन गर्नेहरु मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछन् (मत्ती ७ः२१) । उहाँले यो पनि भन्नुभयो कि जसले परमेश्वरको इच्छा पालन गर्छन् उनीहरु नै उहाँको साँचो भाइहरु र बहिनीहरु हुन् (मत्ती १२ः५०) । यही जोड प्रेरितहरु द्वारा तिनीहरुका पुस्ताहरुलाई विधिवत तवरले हस्तान्तरण गरिएको थियो । पत्रुसले घोषणा गरे कि परमेश्वरले पापबाट मानिसहरुलाई मुक्ति दिनुहुन्छ ताकि तिनीहरुले उहाँको इच्छा पूरा गर्न सकून् (१ पत्रुस ४ः१,२) । पावलले दाबी गर्छन् कि विश्वासीहरु ख्रीष्टमा नयाँ गरि जन्माइएका छन् ताकि तिनीहरु परमेश्वरले पहिल्यै तय गर्नुभएको बाटोमा हिड्न सकून् । त्यसैले उनले एफिसीका ख्रीष्टियानहरुलाई मूर्ख नबन्न, तर प्रभुको इच्छा तिनीहरुको जीवनमा के छ त्यो बुझ्नलाई आग्रह गर्छन् (एफिसी २ः१०; ५ः१७) । उनले कलस्सीका ख्रीष्टियानहरुका लागि प्रार्थना गरे कि तिनीहरु परमेश्वरको इच्छाको ज्ञानले भरिन सकिऊन् । उनले तिनीहरुलाई भने कि उसको सहकर्मी इपाफ्रासले पनि तिनीहरुको निम्ति प्रार्थना गर्दैछन् कि तिनीहरु परमेश्वरको इच्छा पूरा गर्न सकून् (कलस्सी १ः९; ४ः१२) । प्रेरित यूहन्नाले सिकाए कि केवल परमेश्वरको इच्छा पूरा गर्नेहरु मात्र उहाँमा रहिरहन्छन् (१ यूहन्ना २ः१७) ।
प्रेरित १३ः२२ ले दाऊद "परमेश्वरको हृदयको मानिस" भनेर भनिएका कुराको संकेत गरेको देखिन्छ किनकि उसले केवल परमेश्वरको इच्छा पूरा गर्ने चाहना गरे । दाऊद आफैंले अन्यत्र हामीलाई भन्दछन् कि ऊ परमेश्वरकै इच्छामा काम गर्न आनन्दित थियो (भ.सं. ४०ः८) । ऊ सिद्ध मानिस थिएन । उसले धेरै पापहरु गर्यो, केही धेरै गम्भीरहरु पनि, जसको लागि परमेश्वरले उसलाई कडासँग दण्ड दिनु परेको थियो । यद्यपि परमेश्वरले उसलाई क्षमा दिनुभयो र उसँग प्रसन्न हुनुभयो किनकि दाऊदले मुख्यतया परमेश्वरको सबै इच्छा पूरा गर्न चाहन्थ्यो । यसले हामीलाई विश्वास गर्न उत्साह दिन्छ कि यदि हाम्रो हृदय उहाँको इच्छामा काम गर्नलाई केन्द्रित रहेको छ भने हाम्रा सबै कमजोरीहरुका बावजुद पनि हामी परमेश्वरको हृदयको पुरुषहरु वा महिलाहरु बन्न सक्छौं ।
नयाँ करारले विश्वासीहरुलाई येशू झैं, उहाँको उदाहरणलाई पछ्याउँदै हिँड्नको लागि आग्रह गर्दछ । येशूको सम्पूर्ण जीवनमा र सेवकाइमा डोर्याउने सिद्धान्त परमेश्वरको इच्छामा काम गर्नुमा थियो । उहाँ आफ्नो पिताले नभनुन्जेल कहिल्यै पनि अगाडि सर्नुभएन । अनि जब उहाँ अगाडि बढ्नुहुन्थ्यो, न त शत्रुहरुको धम्कीले न त साथीहरुको अनुरोधले उहाँलाई पिताले उहाँको निम्ति इच्छ्याउनु भएको कुरा गर्नलाई रोक्नसक्थ्यो । उहाँको दैनिक भोजन पिताको इच्छा पूरा गर्नु थियो (यूहन्ना ४ः३४) । जसरी मानिसहरुले भोजनको चाह गर्छन् आफ्नो शरीरलाई पोषण दिनलाई, उहाँ आफूलाई पठाउनु हुनेको इच्छा पूरा गर्नलाई भोकाउनुहुन्थ्यो । परमेश्वरको इच्छा पूरा गर्नलाई प्रत्येक विश्वासीमा त्यही खाले भोक हुनुपर्छ । हाम्रो दैनिक जीवनमा परमेश्वरको मार्गदर्शन नखोजीकन "तपाईंको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्" भनी प्रार्थना गर्नु अनि त्यसपछि हामीलाई खुशी लागे बमोजिम मात्रै गर्नु कति सजिलो छ ।
परमेश्वरसँग हामी प्रत्येकको जीवनको लागि एउटा निश्चित योजना छ भनी बाइबलले सिकाउँछ (एफिसी २ः१०) । उहाँले हाम्रो लागि एउटा करियरको योजना बनाउनुभएको छ, हाम्रो लागि जीवन साथी चुन्नुभएको छ र यहाँसम्म कि हामी कहाँ बस्नुपर्छ र प्रत्येक दिन हामीले के गर्नुपर्छ भनी योजना बनाउनु भएको छ । प्रत्येक अवस्थामा, उहाँको छनौट सर्वोत्तम हुनुपर्छ, किनकि उहाँले हामीलाई धेरै राम्रोसँग चिन्नुहुन्छ र उहाँले प्रत्येक थोकलाई विचार गर्नुहुन्छ । ठूलो र सानो सबै कुरामा उहाँको इच्छा खोज्नु चाहिँ धेरै बुद्धिमानी हो ।
जवान अवस्थादेखि परमेश्वरको इच्छा खोज्नमा असफल भएर धेरैले आफ्नो जीवनको जहाज डुबाएका छन् । वास्तवमा "आफ्नो जवानीमा जुवा बोक्नु मानिसको लागि असल हो" (विलाप ३ः२७) । मत्ती ११ः२८-३० मा, येशूले उहाँको जुवा हामीले बोक्नको लागि हामीलाई निमन्त्रणा दिनुहुन्छ । जुवा बोक्नुको अर्थ के हो ? खेत जोत्नलाई प्रयोग हुने गोरुहरु उनीहरुको काँधमा हालिएको एक जुवा द्वारा सँगै राखिएका हुन्छन् । नयाँ गोरुलाई जोत्नको लागि तालिम दिनु छ भने, त्यसलाई अनुभवी गोरुसँगै जुवामा नारिन्छ । त्यसैले नयाँ गोरुलाई एउटै दिशामा र एउटै गतिमा पुरानो गोरुसँगै हिँड्न बाध्य पारिन्छ । येशूको जुवा हामीले बोक्ने भन्नुको अर्थ यही नै हो । हामीले येशूलाई खुशी पार्ने बाटोमा उहाँसँगै हिँड्नुपर्छ, उहाँको नेतृत्व विना कहिल्यै पनि केही गर्न हतार गर्नु हुँदैन, न त उहाँले आज्ञाकारिताको कुनै नयाँ चरणमा बोलाउँदा पछि पर्नुपर्छ । थोरैले जुवाको यो अर्थलाई बुझ्छन् । थोरैले यसलाई स्वीकार गर्नलाई अझै इच्छा गरिरहेका छन् । गोरु उसको मालिक द्वारा उसको काँधमा जुवा बोक्नलाई बाध्य पारिन्छ । तर येशूले हामीलाई निमन्त्रणा दिनुहुन्छ । यहाँ कुनै जबरजस्ती छैन । हामी यो निमन्त्रणालाई इन्कार गर्नलाई कति मूर्ख छौं ! येशूको हलुङ्गो जुवा जसले हामीमा साँचो स्वतन्त्रता र गहिरो विश्राम ल्याउँछ त्यो बोक्नुभन्दा बरु हामी हाम्रो आफ्नै इच्छाको गह्रौं भारी र यो सँगै आउने नैराश्यता, असफलता, र पछुतोलाई बोक्छौं !
हामीले हनोकको बारेमा पढ्छौं कि ऊ "परमेश्वरसँगै हिँड्यो" (उत्पत्ति ५ः२२) - त्यो हो, ऊ हतारिएर अगाडि गएन, न त पछाडि पर्यो, तर परमेश्वरले चुन्नुभएको बाटोमा जुवा मुनिको एक व्यक्ति जस्तो तीनसय वर्ष हिँड्यो । फलस्वरुप, परमेश्वरले प्रमाणित गर्नुभयो कि उहाँ हनोकको जीवन देखि प्रसन्न हुनुहुन्थ्यो (हिब्रू ११ः५) । यही एउटा बाटो हो जसले परमेश्वरलाई प्रसन्न पार्दछ - उहाँको जुवा मुनि जिउँदै र अगाडि बढ्दै, उहाँको सिद्ध इच्छा भित्र । जब उहाँ फेरि आउनु हुनेछ, केवल यसरी नै हामी उहाँको अगाडि पछुतो विना उभिन सक्छौं ।
विश्वासीको लागि परमेश्वरको सिद्ध इच्छा आफ्नो जीवनमा गुमाउनु सम्भव छ । शाऊल इस्राएलमा राजा हुनको लागि परमेश्वरद्वारा चुनिएका थिए, तर उसको अधैर्यता र अनाज्ञाकारिताको कारणले विस्तारै परमेश्वरले उसलाई इन्कार गर्नु परेको थियो । ऊ सिंहासनमा केही अरु वर्षसम्मै रहिरह्यो, साँचो हो, तर उसले उसको जीवनमा परमेश्वरको इच्छा गुमाएको थियो । सोलोमन अर्को उदाहरण हन् । पहिलाका वर्षहरुमा उसले परमेश्वरलाई प्रसन्न तुल्यायो, तर पछि अन्यजातिका स्त्रीहरुसँग विहे गरेर ऊ विफल भयो । नयाँ करारमा दुई चोटि हामीलाई उजाडस्थानमा नाश भएर गएका इस्राएलीहरुको उदाहरणबाट चेतावनी लिनको लागि आग्रह गरिएको छ । तिनीहरु कनानमा प्रवेश गरुन् भन्ने तिनीहरुको लागि परमेश्वरको पूर्ण इच्छा थियो । तर तिनीहरु मध्ये दुई जनाले बाहेक सबैले अविश्वास र अनाज्ञाकारिताको कारणले परमेश्वरको सर्वोत्तम कुरालाई गुमाए (१ कोरिन्थी १०ः१-१२, हिब्रू ३ः७-१४) । धेरै विश्वासीहरुले पनि त्यस्तै अनाज्ञाकारिता र सम्झौता मार्फत आफ्नो जीवनको लागि परमेश्वरको सिद्ध योजना गुमाएका छन् - प्रायः विवाह वा करिएरको छनौटमा ।
हामी प्रत्येकको एउटा मात्रै जीवन छ । धन्य हो त्यो मानिस जसले पावलले जस्तै अन्तमा भन्नसक्छ कि उसले परमेश्वरले नियुक्त गर्नुभएको काम पूरा गरेको छ (२ तिमोथी ४ः७) ।
"संसार र यसका सबै जोसिला इच्छाहरु एक दिन गायब हुनेछन् । तर परमेश्वरको इच्छा पालन गर्ने मानिस स्थायीको अंश हो र मर्न सक्दैन" (१ यूहन्ना २ः१७ - जेबिपी) ।
"त्यसो भए जीवनको अर्थ र उद्देश्य नजान्ने मानिसहरु जस्तै होइन, तर ती जस्तै जसले जानेका छन्, जिम्मेवारीको भावनाका साथ बाँच्नुहोस् । यी दिनहरुका सबै कठिनाइहरुका बावजुद, आफ्नो समयको उत्तम सदुपयोग गर्नुहोस् । अस्पष्ट नहुनुहोस् तर परमेश्वरको इच्छा के हो भनेर तपाईंलाई थाहा छ त्यसलाई दृढतापूर्वक पक्रिराख्नुहोस्" (एफिसी ५ः१५-१७ - एपिबी) ।