द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने चेलाहरू
WFTW Body: 

"म तिमीहरुलाई मानिसहरुका जालहारी बनाउनेछु" (मत्ती ४ः१९) भन्ने सरल भनाइलाई विचार गरौं । कसले तपाईंलाई मानिसहरुको जालहारी बनाउनेछ ? ख्रीष्ट । कुनै पनि मानिसले तपाईंलाई मानिसहरुको जालहारी बनाउन सक्दैन । तपाईं बाइबल कलेज जान सक्नुहुन्छ र वर्षौं बिताउन सक्नुहुन्छ, तर यसले तपाईंलाई मानिसहरुको जालहारी बनाउने छैन । बाइबल अध्ययन गरेर, मिसनरी चुनौती सुनेर र आफ्नो हात उठाएर, अथवा अगाडि आएर परमेश्वरको कामको लागि आफ्नो जीवन समर्पित गर्न घुँडा टेकेर तपाईं मानिसहरुको जालहारी बन्नुहुन्न । होइन, यदि तपाईं मानिसहरुको जालहारी बन्न चाहनुहुन्छ भने, प्रभुले भन्नुहुन्छ, "मेरो पछि लाग" । "बाइबल अध्ययन गर" पनि होइन, तर, "मलाई पछ्याऊ" ।

प्रारम्भिक ख्रीष्टियानहरुसँग बाइबल थिएन । तिनीहरु कसरी मानिसहरुका जालहारी बन्नसके ? येशूलाई पछ्याएर । हामीले यसलाई सही रुपमा बुझ्नुपर्छ । हामीले यस अध्ययनको सुरुमा सिकेझैं, धर्मशास्त्रको अध्ययन अवश्य गर्नुपर्छः "परमेश्वरको मुखबाट निस्कने हरेक वचनले मानिस बाँच्दछ" (मत्ती ४ः४) । तर हामी बाइबलको मूर्तिपूजक बन्नु हुँदैन । बाइबलको मूर्तिपूजक नबन्नुहोस् । बाइबलले हामीलाई येशूलाई राम्रोसँग पछ्याउन मद्दत गर्दछ । पवित्र आत्माले हामीलाई येशू ख्रीष्टको महिमा देखाउन वचन प्रयोग गर्नुहुन्छ । अनि येशूलाई पछ्याउनु भनेको मानिसहरुका जालहारी बन्ने उपाय हो । तपाईंलाई मानिसहरुका जालहारी बनाउने कुनै मिसनरी बाइबल प्रशिक्षण संस्था होइन, तर स्वयम् येशू ख्रीष्ट हुनुहुन्छ । परमेश्वरले मानिसहरुलाई प्रयोग गर्न सक्नुहुन्छ, तर अन्ततः ख्रीष्ट नै हुनुहुन्छ जसले तपाईंसँग व्यक्तिगत सम्बन्ध राख्न चाहनुहुन्छ, उहाँले मात्र तपाईंलाई मानिसहरुको जालहारी बनाउन सक्नुहुन्छ ।

मानिसहरुको जालहारी हुनुको अर्थ के हो ? मानिसहरुको जालहारी हुनु भनेको मछुवा जस्तै हुनु हो जो समुद्र वा नदीमा गएर जाल हान्दै माछा टिप्ने र किनारमा ल्याउने गर्दछ । उनीहरुले तिनीहरुलाई एक वातावरणबाट अर्को वातावरणमा ल्याउँछन् । माछालाई प्राकृतिक रुपमा जमिनमा सहज हुँदैन, यसलाई समुद्रमा सहज हुन्छ ! अनि एकजना मछुवाले त्यो माछालाई पानीबाट उठाएर जमिनमा ल्याउँदैछ, जुन वातावरणमा यो पहिले थियो त्यो भन्दा बिलकुलै फरक ।

यो बुझ्न महत्वपूर्ण छ कि यो सिंह वा हात्तीलाई समातेर खोरमा हाल्नु जस्तो होइन, किनकि सिंह पहिले नै समुद्रमा होइन, पृथ्वीमा बस्न अभ्यस्त भइसकेको छ । तर जब तपाईं माछा समात्नुहुन्छ, त्यसलाई एउटा वातावरणबाट बाहिर निकालेर पूर्णरुपमा फरक वातावरणमा राखिन्छ । जमिन र पानी एक अर्काका विपरीत हुन् । त्यसैले मानिसहरुको जालहारी हुनु - मानिसहरुको वास्तविक जालहारी - भनेको यस संसारको पानीमा रहेका मानिसहरुकहाँ जानु हो, तिनीहरुलाई त्यहाँबाट उठाउनु हो, र तिनीहरुलाई पूर्णरुपमा फरक वातावरणः स्वर्गको राज्यमा ल्याउनु हो ।

यदि तपाईंले कुनै व्यक्तिलाई यस पृथ्वीको राज्यबाट निकालेर स्वर्गको राज्यमा ल्याउनुभएको छैन भने, तपाईंले वास्तवमा त्यो माछालाई बाहिर ल्याउनु भएको छैन । सायद तपाईंले त्यो माछालाई आफ्नो जालमा पार्नुभएको छ होला, तर यदि यो अझै पानीमा नै छ भने, तपाईंले वास्तवमा त्यसलाई बाहिर निकाल्नुभएको छैन । तपाईं साँच्चै मानिसहरुको जालहारी बन्नुभएको छैन । कुन जालहारीले जालमा माछा पारेर पानी मै छोड्छ, जहाँ माछालाई धेरै सहज हुन्छ ? तर एकचोटि तपाईंले यसलाई जमिनमा ल्याएपछि, माछाले कस्तो व्यवहार गर्छ भनेर तपाईंले देख्नुहुन्छ । जब यो जमिनमा हुन्छ, यो यताउता छट्पटाउँछ र भन्छ, "हे, म यहाँ धेरै सहज छैन !"

जब कुनै व्यक्तिलाई पृथ्वीको राज्यबाट निकालेर स्वर्गको राज्यमा लगिन्छ - जसरी माछा पानीबाट निस्केर जमिनमा आउँछ - उसलाई पूर्णरुपमा फरक वातावरणमा ल्याइन्छ । पवित्र आत्माले हामीलाई स्वर्गको राज्यमा आरामदायी तुल्याउनुहुन्छ । त्यसैले तपाईंले आफ्नो काम पूरा गर्नुभयो र तपाईं "मानिसहरुको जालहारी" हुनुहुन्छ भनेर महसुस नगर्नुहोस् किनकि तपाईंले सयौं मानिसहरुलाई "प्रभु येशू, मेरो हृदयमा आउनुहोस्" भन्न लगाउनुभयो । दुर्भाग्यवश, धेरै विश्वासीहरुसँग त्यस्तै भएको छ । तिनीहरुले मानिसहरुको जालहारी हुनुको अर्थ के हो भनेर मनन गरेका छैनन् किनभने अन्य मानिस र शिक्षकहरुले तिनीहरुलाई मानिसहरुको जालहारी बनाएका छन् - ख्रीष्टले होइन । यदि ख्रीष्टले तपाईंलाई मानिसहरुको जालहारी बनाउनुपर्ने हो भने, यो त्यही सिद्धान्तमा हुनेछ जुन उहाँले पहिले दुई पदहरु प्रचार गर्नुभएको थियो, "पश्चाताप गर्नुहोस्, किनकि स्वर्गको राज्य नजिकै छ ।" हामीले यी "माछाहरु" लाई फर्केर स्वर्गको राज्य खोज्न, उनीहरु पहिले भएको भन्दा पूर्णरुपमा फरक वातावरणमा आउन सिकाउनु पर्छ ।

एक मछुवाले त्यही गरिरहेको छ । उसले समुद्रबाट जमिनमा माछा लैजाँदैछ, र यदि हामी मानिसहरुको साँचो जालहारी बन्न चाहन्छौं भने हामीले मानिसहरुलाई पृथ्वीको राज्यबाट निकालेर स्वर्गको राज्यमा - शैतानको राज्यबाट बाहिर निकालेर परमेश्वरको राज्य भित्र लैजानुपर्छ । हामीलाई मानिसहरुका जालहारी बनाउनसक्ने त केवल येशू हुनुहुन्छ । अरु कसैले पनि गर्न सक्दैन ।

मानिसहरुको जालहारी केवल प्रचारक मात्र होइन । प्रचारकले त्यो कामको केही अंश मात्र गरिरहेका छन् । अगमवक्ता, प्रेरित, शिक्षक, गोठाला, पास्टरले पनि यी मानिसहरुलाई उनीहरुको नयाँ वातावरण, स्वर्गको राज्यमा साँच्चै सहज बनाउने काम पूरा गर्नुपर्छ ।

पूर्णकार्य भनेको एक व्यक्तिलाई समुद्रबाट बाहिर निकालेर जमिनमा लैजानु हो - पृथ्वीको राज्यबाट बाहिर निकालेर स्वर्गको राज्यमा । अनि त्यसो गर्ने तरिका भनेको ख्रीष्टलाई पछ्याउनु हो । यदि मैले येशूलाई पछ्याउँछु भने, मैले उहाँले गरे जस्तै गर्नेछु ।