आजका धेरै जसो विश्वासीहरुसँग प्रारम्भिक ख्रीष्टियानहरुमा भएको गहिराइ वा समर्पण वा शक्ति छैन जस्तो देखिन्छ ।
तपाईंलाई यसको कारण के होला जस्तो लाग्छ ?
मुख्य कारण हो तिनीहरुले राम्ररी पश्चाताप गरेका छैनन् ।
येशू आफैले प्रचार गर्नुभएको सन्देश थियोः "पश्चाताप गर्नुहोस् र सुसमाचारमा विश्वास गर्नुहोस्" (मर्कूश १ः१५) । उहाँले आफ्ना प्रेरितहरुलाई त्यही सन्देश प्रचार गर्न आज्ञा दिनुभयो (लूका २४ः४७) । र तिनीहरुले ठीक त्यही गरे (प्रेरित २०ः२१) ।
यस विषयमा परमेश्वरको वचन धेरै स्पष्ट छ । यदि तपाईं राम्रो सँग र साँच्चै परिवर्तन हुन चाहनुहुन्छ भने पश्चाताप र विश्वासलाई अलग गर्न सक्नुहुन्न । परमेश्वरले यी दुईलाई जोड्नुभएको छ । र जे परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई मानिसले अलग गर्नु हुँदैन ।
पश्चाताप र विश्वास वास्तवमा ख्रीष्टियान जीवनको जगको पहिलो दुई तत्वहरु हुन् (हिब्रू ६ः१) । यदि तपाईंले ठीक सँग पश्चाताप गर्नुभएको छैन भने, तपाईंको जग दोषपूर्ण हुन बाध्य छ । र त्यसपछि, निस्सन्देह, तपाईंको सम्पूर्ण ख्रीष्टियान जीवन डगमगाउनेछ ।
हामीले बाइबलमा तिनीहरुका केही उदाहरणहरु देख्छौं जसका पश्चाताप झूटा थिए ।
जब राजा शाऊल परमेश्वर प्रति अनाज्ञाकारी रहे, उनले शमूएललाई स्वीकार गरे कि उनले पाप गरे । तर जनताले त्यो थाहा पाओस् भनी उनले चाहेनन् । उनले अझै पनि मानिसबाट आदर खोजे । उसले साँचो पश्चाताप गरेको थिएन । ऊ समातिएकोमा केवल दुःखित थियो (१ शमूएल १५ः२४-३०) । त्यही नै उनी र राजा दाऊद बीचको भिन्नता थियो जसले खुल्लमखुल्ला आफ्नो पाप स्वीकार गरे जब उनी पतन भए (भजन संग्रह ५१) ।
शाऊल जस्तै अर्को राजा आहाब थिए । परमेश्वरले तिनको न्याय गर्न लाग्नुभएको छ भनी एलियाले चेतावनी दिँदा तिनले आफूलाई साँच्चै दुःखी महसुस गरे । तिनले आफैंमा भाङ्ग्रा लगाएर आफ्ना पापहरुका लागि शोक गरे (१ राजा २१ः२७-२९) । तर उनले साँच्चै पश्चाताप गरेनन् । ऊ परमेश्वरको न्यायबाट मात्र डराएको थियो ।
यहूदा इस्करियोतको मामला झूटो पश्चातापको स्पष्ट उदाहरण हो । जब उसले देख्यो कि येशूलाई मृत्युदण्ड दिइएको छ उसलाई नराम्रो लाग्यो र भन्यो, "मैले पाप गरेको छु" (मत्ती २७ः३-५) । तर उसले पुजाहारीहरु सामु आफ्नो स्वीकारोक्ति जनायो - जसरी आज पनि कतिपयले गर्छन् ! उसले पश्चाताप गरेन - यद्यपि उसले आफूले गरेको कामको लागि दुःखी महसुस गरेको हुनसक्छ । यदि उसले साँच्चै पश्चाताप गरेको थियो भने, ऊ टुटेको अवश्थामा प्रभुकहाँ जान्थ्यो र माफी माग्ने थियो । तर उसले त्यसो गरेन ।
हामीले यी उदाहरणहरुबाट धेरै कुरा सिक्न सक्छौं - कि पश्चाताप के होइन भनेर !
साँचो पश्चाताप भनेको "मूर्तिहरुबाट परमेश्वरतिर फर्कनु" हो (१ थेसलोनिकी १ः९) ।
मूर्तिहरु अविश्वासीहरुको मन्दिरमा पाइने काठ र ढुङ्गाबाट बनेका मूर्तिहरु मात्र होइनन् । मानिसहरुले पूजा गर्ने उत्तिकै खतरनाक मूर्तिहरु त्यति कुरुप देखिंदैनन् । यी हुन् सुख, धन, प्रतिष्ठा, आफ्नै बाटो चाहने, आदिका मूर्तिहरु ।
हामी सबैले धेरै वर्षदेखि यिनीहरुको आराधना गरेका छौं । पश्चाताप गर्नु भनेको यी मूर्तिहरुको आराधना गर्न छोड्नु हो, तिनीहरुलाई छोडेर परमेश्वरतिर फर्कनु हो ।
साँचोपश्चातापलेहाम्रोसम्पूर्णव्यक्तित्वसमावेशगर्दछ -हाम्रोदिमाग,हाम्राभावनाहरुरहाम्रोइच्छा ।
सबैभन्दा पहिले, पश्चातापको अर्थ हामीले पाप र संसारको बारेमा आफ्नो मन परिवर्तन गर्नु हो । हामीले बुझ्दछौं कि हाम्रो पापले हामीलाई परमेश्वरबाट अलग गरेको छ । हामीले यो पनि देख्छौं कि यस संसारको सम्पूर्ण जीवन पद्धति परमेश्वर विरोधी छ । अनि हामी परमेश्वरलाई अपमान गर्ने त्यो जीवन शैलीबाट टाढा जान चाहन्छौं ।
दोस्रो, पश्चातापमा हाम्रा भावनाहरु समावेश हुन्छन् । हामीले जिइसकेको जीवनको तरिकामा हामी दुःखी महसुस गर्छौं (२ कोरिन्थी ७ः१०) । हाम्रा विगतका कार्यहरुको लागि हामीले आफैंलाई घृणा गर्छौं; र त्यो भन्दा बढी, हामीले हामी भित्र देख्ने अरु कसैले देख्न नसक्ने ठूलो दुष्टतालाई घृणा गर्छौं (इजकिएल ३६ः३१) ।
हामी रुन्छौं र शोक गर्छौं कि हामीले आफ्नो जीवनको बाटोद्वारा परमेश्वरलाई धेरै चोट पर्याएका छौं । धेरै महान् पुरुषहरुको प्रतिकृया त्यही नै थियो जब उनीहरुले आफ्ना पापहरुको बारेमा थाहा पाए । दाऊद(भजन संग्रह ५१), अय्यूव(अय्यूव ४२ः६) र पत्रुस(मत्ती २६ः७५) - तिनीहरुले आफ्ना पापहरुबाट पश्चाताप गर्दा धेरै रोए ।
येशू र प्रेरितहरु दुबैले हामीलाई हाम्रा पापहरुका लागि रुन र शोक गर्न प्रोत्साहन दिनुभएको छ (मत्ती ५ः४; याकूब ४ः९) । यही नै परमेश्वरमा फर्कने बाटो हो ।
अन्तमा, पश्चातापमा हाम्रो इच्छा समावेश छ । हामीले हाम्रो जिद्दी स्व-इच्छा समर्पित गर्नुपर्छ - 'हाम्रो आफ्नै बाटो चाहने' - र येशूलाई हाम्रो जीवनको प्रभु बनाउनु पर्छ । यसको मतलब यो हो कि हामी अबदेखि परमेश्वरले चाहनुभएको जस्तोसुकै काम गर्न तयार छौं, जस्तोसुकै मूल्यको र अपमानजनक किन नहोस् ।
उडाउने छोरो आफ्नो बुबाकहाँ टुटेको र समर्पित जवान मानिसको रुपमा घर फर्कियो, जो उसको बुबाले भन्नुभएको कुनैपनि कुरा गर्न इच्छुक थियो । त्यो साँचो पश्चाताप हो (लूका १५ः११-२४) ।
हामीले कुनैबेला गरेको हरेक पापलाई हामीले परमेश्वरसामु स्वीकार गर्नुपर्दैन । कुनै पनि अवस्थामा ती सबै सम्झन असम्भव हुनेछ । उडाउने छोराले त्यसो गरेन । उनले केवल यति बोले, "बुबा, मैले पाप गरें ।" र हामीले पनि त्यति नै भन्नु आवश्यक छ ।
तर याद गर्नुहोस् कि यहूदा इस्करियोतले पनि भने, "मैले पाप गरेको छु ।" तथापि उनको स्वीकारोक्ति र उडाउने छोराको स्वीकारोक्ति बीच भिन्नताको संसार थियो । परमेश्वरले हामीले भनेका कुरा मात्र सुन्नुहुन्न । उहाँले शब्दहरुको पछाडिको भावनालाई बुझ्नुहुन्छ, र त्यसै अनुसार हामीसँग व्यवहार गर्नुहुन्छ ।