धेरै मानिसहरुले चिन्तालाई एक पापको रुपमा सोच्दैनन्, जसरी धेरै मानिसहरुले रिस, पैसाको मोह, मानिसहरुको आदर खोज्ने, आफ्ना शत्रुहरुलाई घृणा गर्ने, वा सेतो झुट बोल्ने कुरालाई पाप मान्दैनन् ।
धेरैले यस्ता कुरालाई कमजोरी भन्दछन् । जबसम्म तपाईंले यसलाई एक "कमजोरी" भन्नुहुन्छ, तपाईं यसबाट स्वतन्त्र हुन सक्नुहुन्न । येशू हामीलाई कमजोरीबाट बचाउनको लागि आउनु भएन; उहाँ हामीलाई पापबाट बचाउनको लागि आउनुभयो । यदि हामीले केही कुरालाई पापको रुपमा स्वीकार्छौं भने, येशूले हामीलाई त्यसबाट बचाउनु हुनेछ । तर यदि तपाईंले यसलाई अझ सुन्दर नाम दिनुभयो भने, तपाईं यसबाट कहिल्यै स्वतन्त्र हुनुहुनेछैन । तपाईंले सोंच्न सक्ने सबैभन्दा फोहोरी नामले नामाकरण गर्नुहोस् - वासनालाई "व्यभिचार" भन्नुहोस्, क्रोधलाई "हत्या" भन्नुहोस्, पैसाको मोहलाई "परमेश्वरको घृणा" भन्नुहोस्, अनि तपाईं यसबाट मुक्त हुनुहुनेछ किनभने यो कति दुष्ट छ भनेर देख्नुहुनेछ ।
यदि तपाईं एड्स र क्यान्सरलाई खोकी वा रुघाखोकी जत्तिकै गम्भीर ठान्नुहुन्छ भने, तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुहुने छैन । येशूले धेरै नै कडा रुपमा यी पापहरुको विरुद्धमा बोल्नुभएतापनि धेरै मानिसहरुले यी पापहरुलाई धेरै हल्का रुपमा लिन्छन् । म तिनीहरुलाई दोष दिन्न किनभने म भन्छु कि तिनीहरुका अगुवाहरु र शिक्षकहरुले तिनीहरुलाई यी कुराहरु सिकाएका छैनन् । परमेश्वरको सम्पूर्ण सत्य प्रचार गर्ने र मानिसहरुको सम्मान नखोज्ने ख्रीष्टियान प्रचारक र शिक्षकहरुको ठूलो अभाव छ । कसैको पैसा नचाहने तर परमेश्वरका मानिसहरुलाई आत्मिक सहयोग तर्फ डोर्याउनको लागि सत्य बोल्न चाहने प्रचारकहरु थोरै छन् । यो एक डाक्टर जस्तै हो जसलाई तपाईंको पैसाको चासो छैन तर तपाईंलाई स्वस्थतातर्फ डोर्याउने चासो राख्छ । त्यस्ता प्रचारकहरु धेरै कम छन् ।
मानिसहरु चिन्तालाई कमजोरी पनि भन्छन् । यो कमजोरी मात्र होइन ।
मत्ती ६ः२५-३४ मा तीन पटक, ब्रम्हाण्डका प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, "चिन्तित नहोओ ।" केवल दशपदहरुको बीचमा, प्रभुले तीन पटक "चिन्तित नहोओ" भन्नुहुन्छ । उहाँ त्यही प्रभु हुनुहुन्छ जसले हामीलाई हत्या नगर्न, व्यभिचार नगर्न र चोरी नगर्न आज्ञा दिनुभयो । ती सबैलाई एक साथ राख्नुहोस्ः "हत्या नगर, व्यभिचार नगर, चोरी नगर, र चिन्ता नगर ।" कुन चाहिं पाप होइन ? के तपाईं भन्न सक्नुहुन्छ, "ओहो, म हप्तामा एक वा दुई पटक मात्र चिन्तित हुन्छु ?" त्यसो भन्नु भनेको "ठीक छ, मैले हप्तामा एक दुई पटक मात्र मानिसहरुको हत्या गर्छु" वा, "धेरै पटक होइन, हप्तामा एक वा दुई पटक मात्रै व्यभिचार गर्छु" भन्नु जस्तै हो ।
हामी किन कुनै पापलाई गम्भीरतापूर्वक लिन्छौं, कुनैलाई लिँदैनौं ? किनभने तपाईंका शिक्षकहरुले तपाईंलाई सिकाएका छैनन् । डर एक कमजोरी होइन, यो पाप हो - जस्तै हत्या पाप हो । पाप के हो भनेर हामीले कसरी थाहा पाउने ?
यदि परमेश्वरले तिमीले यो गर्नु हुँदैन भन्नु भएको छ भने, त्यो पाप हो । यदि परमेश्वरले तिमीले आफ्नी श्रीमतीलाई माया गर्नुपर्छ भन्नुभएको छ भने, तपाईंको श्रीमती दुष्ट भएतापनि, तपाईंले उसलाई माया गर्नुपर्छ किनभने परमेश्वरले त्यसो भन्नुभएको छ । र यदि परमेश्वरले केही नगर्न भन्नुभएको छ भने, तपाईंलाई त्यो नराम्रो कुरा होइन जस्तो लागेतापनि, त्यो नगर्नुहोस् - त्यो दुष्ट हो । यो यसकारणले होइन कि म व्यभिचारलाई नराम्रो ठान्छु । परमेश्वरले भन्नुभएको छ, "यो नगर ।" उहाँले भन्नुभएको छ, "चिन्तित नहोओ, नडराओ ।" म परमेश्वरले "नगर्नू" भनी भन्नुभएको कुरालाई दुष्टताको रुपमा हेर्न चाहन्छु ।
चिन्ताले परमेश्वरसँगको मेरो सम्बन्धलाई नष्ट पार्छ । चिन्ताले भन्छ कि परमेश्वरले मेरो वास्ता गर्नुहुन्न । यो परमेश्वरको अपमान हो । फोहोर फालिने भाँडोबाट चार वर्षको बच्चाले खाइरहेको छ भने तपाईंले के सोच्नुहुन्छ ? त्यस्ता बच्चाहरु हाम्रो देशमा धेरै संख्यामा छन् । अभाग्यवश, तिनीहरुको वास्ता गर्नलाई तिनीहरुसँग बुबाआमा छैनन् । के हाम्रा स्वर्गीय पिता यस्तै हुनुहुन्छ ? के हाम्रा स्वर्गीय पिताले हाम्रो वास्ता गर्नुहुन्न ? ती फोहोरको भाँडोबाट खाना खाने बच्चाहरुका बुबाहरुको श्रेणीमा हाम्रो स्वर्गीय पितालाई पनि राख्नु अपमान हो । यी बच्चाहरुलाई थाहा छैन कि उनीहरुको अर्को छाक खाना कताबाट आउनेछ - उनीहरुलाई चिन्तित हुने अधिकार छ, किनकि उनीहरुका सांसारिक बुबाहरुले उनीहरुको वास्ता गर्दैनन् । तर यदि तपाईंसँग स्वर्गीय पिता हुनुहुन्छ र तपाईं चिन्तित हुनुहुन्छ भने, तपाईंले भनिरहनुभएको छ कि तपाईंको स्वर्गीय पिता पनि त्यही श्रेणीमा हुनुहुन्छ ।
"यसैकारण म तिमीहरुलाई भन्दछु, आफ्नो जीवनको लागि चिन्ता नगर" (पद २५) । आफ्नो जीवनको लागि चिन्ता नगर - तिमीहरु के खान्छौ, के पिउँछौ, वा आफ्नो शरीरमा लगाउने कुराको लागि । के तिमीहरुको जीवन खाना, शरीर र लुगाफाटा भन्दा बढी छैन र ? लूका आकाशमा उड्ने चराहरुको उदाहरण दिन्छन् - तिनीहरुले न रोप्छन्, न कटनी गर्छन्, न भण्डारमा जम्मा गर्छन्, तैपनि तिनीहरुका स्वर्गीय पिताले तिनीहरुलाई खुवाउनुहुन्छ । तपाईंले कति पटक बाटोमा मरेको चरा देख्नुभएको छ ? बाटोमा मरेको चरा देख्नु एकदमै दुर्लभ दृष्य हो । मलाई लाग्छ मेरो सम्पूर्ण जीवनमा मैले बाटोमा कति पटक मरेको चरा देखेको छु भनेर औंलामा गन्न सक्छु । तपाईंले चराहरुलाई भोकाएको कहाँ देख्नु भएको छ ? यो एकदमै दुर्लभ कुरा हो । पृथ्वीमा लाखौं लाख चराहरु छन्, र तिनीहरुले खाना पाउँछन्, यद्यपि तिनीहरुले रोप्दैनन्, कटनी गर्दैनन्, र तिनीहरुले खाना खोज्दै यताउता हिँड्नुपर्छ । तिनीहरुलाई कसले खुवाउँछ ? येशूले भन्नुभयो, तपाईंका स्वर्गीय पिताले तिनीहरुलाई खुवाउनुहुन्छ । उहाँ तिनीहरुका स्वर्गीय पिता हुनुहुन्न; उहाँ तपाईंको स्वर्गीय पिता हुनुहुन्छ, र उहाँले तिनीहरुलाई खुवाउनुहुन्छ, तर तपाईंसँग, उहाँ केवल तपाईंको सृष्टिकर्ता मात्र हुनुहुन्न; उहाँ तपाईंको पिता हुनुहुन्छ । के तपाईं यी चराहरु भन्दा धेरै मूल्यवान हुनुहुन्न ?
मैले एक पटक एउटा सानो कविता पढेको थिएँ जुन एकदमै रोचक छ । यो दुईजना चराहरु एकअर्कासँग कुरा गरिरहेको बारेमा हो । धोबिनी चराले भँगेरालाई भन्यो, "म साँच्चै जान्न चाहन्छु कि यी चिन्तित मानिसहरु कि यति धेरै हतार गर्छन् र चिन्ता गर्छन् ?" भँगेराले धोबिनी चरालाई भन्यो, "मित्र, मलाई लाग्छ कि मलाई र तिमीलाई वास्ता गर्नुहुने जस्तो तिनीहरुको स्वर्गीय पिता हुनुहुन्न" ।
हामीले यो सम्झनु पर्छ कि यो केवल एउटा सुन्दर कथा मात्र होइन । परमेश्वरलाई हाम्रो हरेक चिन्ताको वास्ता छैन भनेर सोच्नु उहाँको अपमान हो ।
समाधान के हो ? बाइबलमा फिलिप्पी ४ः६ मा कुनै कुरामा चिन्तित नहुन भनिएको छ । यो एक पूर्ण कथन हो, "कुनै कुरामा चिन्तित नहोओ ।" तर हामीले चिन्ताको कारणको बारेमा केही गर्न आवश्यक छ । सायद तपाईंले अहिले सामना गरिरहनुभएको कुनै समस्या छ, र तपाईंलाई थाहा छैन कि यो कसरी समाधान हुन्छ । तपाईंले के गर्नुपर्छ ? परमेश्वरले केही नगर्न भनी भन्नुभएको छैन; उहाँले यसको बारेमा प्रार्थना गर्न भन्नुहुन्छ । प्रार्थना भनेको परमेश्वरलाई विशेष अनुरोध गर्नु र समस्या के हो भनेर परमेश्वरलाई ठ्याक्कै बताउनु हो । प्रार्थना पछि, धन्यवाद सहित प्रार्थना पूरा गर्न नबिर्सनुहोस् । धन्यवाद दिनु भनेको "धन्यवाद, बुबा, मेरो प्रार्थना सुन्नुभएकोमा, र मेरो हेरचाह गर्नुभएकोमा धन्यवाद" भनी भन्नु हो । परमेश्वरलाई धन्यवाद दिनु भनेको रसिद जस्तै हो - मेरो पत्र परमेश्वरको उपस्थितिमा पुगेको छ र उहाँले त्यो पत्र प्राप्त गर्नुभएको छ भन्ने कुराको स्वीकृति हो - जब म भन्छु, "मेरो कुरा सुन्नु भएकोमा धन्यवाद ।"
जब तपाईं यी दुई कुराहरु गर्नुहुन्छ, फिलिप्पी ४ः७ ले भन्छ, तब "परमेश्वरको शान्ति जुन हाम्रो समझ भन्दा बाहिर छ, जुन हामीले बुझ्न पनि सक्दैनौं, ख्रीष्ट येशूमा तपाईंको हृदय र मनको रक्षा गर्नेछ (रक्षा भनेको सैन्य शब्द हो - किल्ला जस्तै) ।"
चिन्ता नगर्नु भनेको हामीले पालना गर्नुपर्ने आज्ञा हो । जब म चिन्ताबाट मुक्त हुन्छु, म धेरै निराशाबाट पनि मुक्त हुनेछु । यो हामीले चाल्नुपर्ने एउटा अद्भुत कदम हो ।