WFTW Body: 

१ शमूएल ३० अध्यायमा , हामी केही रोचक कुराहरू देख्छौँ। दाउदलेले आफूलाई सङ्कष्टमा परेको भेट्टाए। जब उनी आफ्ना मानिसहरूसँग युद्ध गर्न गएका थिए तब अमालेकीहरू आएर त्यस शहरलाई ध्वंस्त पारे जहाँ उनका मानिसहरू बस्ने गर्थे र उनीहरूका परिवारलाई कैदि बनाएर लगेका थिए। अवस्था यति नराम्रो थियो कि सबै मानिसहरू रोए र तिनका समस्याहरूका लागि दाऊदलाई दोष दिन थाले। तिनीहरू उनलाई ढुङ्गाले हानेर मार्न चाहन्थे (१ शमूएल ३०:६)। र त्यसपछि हामी यी प्रेमिला शब्दहरू पढ्छौं: "तर दाऊदले आफूलाई परमप्रभु आफ्ना परमेश्वरमा साहसिला तुल्याए(आफैलाई बलियो पारे)" (१ शमूएल ३०:६)। हामीलाइ पछ्याउनको लागि यो कस्तो उदाहरण हो, जब हाम्रा साथीहरू समेत हामी विरुद्ध जान्छन्।


दाऊदले प्रभुलाई खोजे र परमप्रभुले उनलाई अमालेकीहरूको पछि लाग्न भन्नुभयो र उनलाई सबै थोक फिर्ता पाउनेछौ भन्ने निश्चयता दिनुभयो। (१ शमूएल ३०:८ )। तर यी अमालेकीहरूलाई भेट्टाउन कुन दिशा तर्फ जाने भनेर दाऊदलाई थाहा थिएन। परमेश्वरले उनलाई उनीहरूकहाँ कसरी डोर्र्याउनुभयो भन्ने कुरा हेर्नु कति अचम्मको कुरा छ। यो एक मरिरहेको अपरिचित व्यक्तिप्रतिको दयालु कामको माध्यमबाट भयो। दाऊद र उनका मानिसहरुले एक मिस्रीलाई मरूभूमिमा अधमरो अवस्थामा भेट्टाए। तिनीहरूले उसको वास्ता गरे र उसलाई खाने-पिउने कुरा दिए। जब ऊ पुनर्जीवित भयो, तिनीहरूले पत्ता लगाए कि बिरामी भएको कारण ऊ अमालेकीहरूद्वारा मरूभूमिमा छोडिएको थियो।(१ शमूएल ३०:११-१३)। उ त्यही व्यक्ति थियो जसले दाऊदलाई अमालेकीहरूकहाँ पुर्र्यायो। यसले हामीलाई जब हामी अपरिचितहरूसँग दयालु हुन्छौं तब परमेश्वरले हामीलाई कसरी ईनाम दिनुहुन्छ भन्ने कुरा सिकाउँछ। यसरी दाऊदले अमालेकीहरूलाई भेट्टाए र पराजित गरे। त्यसपछि तीन पटक यो लेखिएको छ, "दाउदले सब थोक फिर्ता पाए" जुन अमालेकिहरुले चोरेर लगेका थिए। (१ शमूएल ३०: १८-२०) - शैतानले हामीबाट चोरेर लगेकोको सबै चीज येशुले फर्ता ल्याउनुभएको यो एउटा सुन्दर चित्रण हो!

जब युद्ध समाप्त भयो अनि दाऊद छाउनीमा फर्किए, त्यहाँ उनका २०० मानिसहरू थिए जो अति क्लान्त भएकोले दाउदको पछि आउन सकेका थिएनन् र जो दाऊदका सामानहरू हेरचाह गर्न पछाडी बसेका थिए। तब दाऊदसँग गएका मानिसहरुमध्ये दुष्ट र अधम मानिसहरुले लुटको माल लडाईंमा नजाने व्यक्तिहरूसित बाँड्नेछैनौँ भने। तर यहाँ हामी दाऊदको हृदयको विशालता देख्छौँ। उनले भने कि सामानको हेरचाह गर्न घरमै बसेकाहरूले पनि युद्धमा लड्न गएका व्यक्तिहरुले जस्तै युद्धका लुटको मालहरू बराबर भाग पाउनुपर्छ। र त्यो दिनदेखि यो कुरा इस्राएलमा एउटा नियम र विधि बन्यो।

ती सबै कठिनाइ र परीक्षाहरूद्वारा जो दाउदले सामना गर्नुपरेको थियो (लगभग १३ बर्षको अवधि सम्म), उनी अन्ततः परमेश्वरको मानिस र एक सफल राजा बने। वर्षौंपछि, उनले यी शब्दहरू लेखे: "हे परमेश्वर, तपाईंले हामीलाई जाँचेर हेर्नुभएको छ; जसरी चाँदी खारिन्छ, त्यसरीनै तपाईंले हामीलाई खार्नुभएको छ। तपाईंले हामीलाई जालमा हाल्नुभयो; तपाईंले हाम्रो कम्मरमा कष्ट हाल्नुभयो। तपाईंले मानिसहरूलाई हाम्रा टाउकामाथि सवार गर्न लाउनुभयो: हामी आगोबाट र पानीबाट भएर गयौँ; तर तपाईंले हामीलाई निकालेर भरपुरीको ठाउँमा ल्याउनुभयो। परमप्रभुको प्रशंसा होस् "(भजनसंग्रह ६६: १०-१३)।