द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च भगवानलाई चिन्ने
WFTW Body: 

जब शैतानले देख्छ कि तपाईंले परमेश्वरको वचनलाई आदर गर्न सिक्नुभएको छ, उसले परमेश्वरको वचनको अर्थ त्यसले बिल्कुलै भन्न नखोजेको अर्थमा मोड्ने प्रयास गर्दछ । उसले परमेश्वरको वचनलाई गलत उद्धृत गर्नेछ, र परमेश्वरको वचनलाई सन्दर्भ भन्दा बाहिर निकाल्नेछ । उसले येशूसँग पनि यही गर्याे !

मत्ती ४ः६ मा उसले भन्यो, "यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने, किन तपाईं आफैंलाई मन्दिरको टुप्पोबाट तल फ्याक्नुहुन्न र परमेश्वरको प्रतिज्ञाको दाबी गर्नुहुन्न ?" उसले भजनसंग्रह ९१ पनि उद्धृत गर्याे, "उहाँले आफ्ना स्वर्गदूतहरुलाई तपाईंको विषयमा आज्ञा दिनुहुनेछ । तिनीहरुले तपाईंलाई हातहातै थाम्नेछन्, नत्रता तपाईंको खुट्टा ढुंगामा ठोकिनेछन् ।"

यसले हामीलाई सिकाउँछ कि शैतानले तपाईंलाई पाप गर्न लगाउनको लागि परमेश्वरको वचन पनि उद्धृत गर्नसक्छ ।

यो परीक्षा पहिलो परीक्षासँग सम्बन्धित छ । पहिलो पटक, शैतानले येशूलाई ढुंगाहरुलाई रोटीमा परिणत गर्न भन्यो, र येशूले भन्नुभयो, "ए, मानिस रोटीले मात्र बाँच्दैन, ऊ परमेश्वरको प्रत्येक वचनले बाँच्दछ ।" शैतानले त्यसलाई समात्यो र भन्यो, "परमेश्वरको हरेक वचन, हैन ? ठीक छ, यहाँ परमेश्वरको वचन छः 'उहाँले आफ्ना स्वर्गदूतहरुलाई तपाईंको निम्ति दिनुहुनेछ र तपाईंको खुट्टा ढुंगामा ठोकिनेछैन ।' त्यसोभए मन्दिरबाट किन हाम नफाल्ने ?"

जसरी मैले भने, जब शैतानले देख्छ कि तपाईंले परमेश्वरको वचनलाई आदर गर्न सिक्नुभएको छ, उसले अर्को कुरा गर्न कोसिस गर्नेछ परमेश्वरको वचनको अर्थ त्यसले बिल्कुलै भन्न नखोजेको अर्थमा मोड्ने प्रयास गर्दछ । उसले परमेश्वरको वचनलाई गलत उद्धृत गर्नेछ, र परमेश्वरको वचनलाई सन्दर्भ भन्दा बाहिर निकाल्नेछ । म मेरो जीवनमा भेटेका धेरै ख्रीष्टियानहरुको बारेमा सोच्न सक्छु जसले आफ्नो इच्छा पूरा गर्न यहाँ वा त्यहाँबाट वचनखण्ड सन्दर्भभन्दा बाहिर उद्धृत गरेका छन् । धर्मशास्त्रमा जान र तपाईंले गर्न चाहनुभएको काम गर्नको लागि वचनखण्ड खोज्न धेरै सजिलो छ । धेरै मानिसहरु छन् जो धर्मशास्त्रमा जान्छन् र तिनीहरुले गर्न चाहेको कुरालाई सही ठहराउने वचनखण्ड भेट्टाउँछन् ।

जब हामीले परमेश्वरको वचन ग्रहण गर्नुको महत्व बुझ्छौं, र नियमितरुपमा धर्मशास्त्र पढ्छौं, हामीले यो परीक्षाबाट याद गर्नु आवश्यक छ कि शैतान आएर वचनखण्डलाई गलत उद्धृत गर्न सक्छ । त्यसकारण हामीले वचनखण्डलाई यसको सन्दर्भमा अध्ययन गर्नु महत्वपूर्ण छ, र किन सम्पूर्ण धर्मशास्त्रलाई "परमेश्वरको प्रत्येक वचन" द्वारा अध्ययन गर्नु महत्वपूर्ण छ, किनकि येशूले भन्नुभयो, केवल एउटा वचनखण्ड द्वारा होइन । हामी एउटा मात्र वचनखण्ड द्वारा बाँच्न सक्दैनौं (उदाहरणका लागि, "मानिस परमेश्वरको प्रत्येक वचनद्वारा बाँच्नेछ"), र यसैले सम्पूर्ण धर्मशास्त्र जान्नु जरुरी छ । त्यसैले यसलाई अध्ययन गर्नु महत्वपूर्ण छ । यदि तपाईं जवान हुनुहुन्छ भने, जब पनि तपाईं कुनै विशेष विषयमा धर्मशास्त्रले के भन्छ भनेर बुझ्ने बिचार गर्नुहुन्छ, वचन जान्ने ईश्वरीय बृद्घ मानिसकहाँ जानु र सल्लाह खोज्नु असल हुन्छ । यो धेरै सजिलो छ । मैले धेरै मानिसहरुलाई भेटेको छु जसले सम्पूर्ण वचनखण्डमा होइन केवल एक विशेष वचनखण्डमा जिउन खोजेर आफैंलाई धोका दिएका छन् ।

यो कुरालाई प्रकाश पार्न मलाई एउटा हास्यपूर्ण दृष्टान्त प्रयोग गर्न दिनुहोस्ः अनुग्रह नामक एक केटीसँग धेरै माया बसेको एक युवकलाई बिचार गर्नुहोस् । ऊ परमेश्वरको इच्छा खोज्न चाहन्छ, वा कमसेकम उसले सोच्दछ कि उसले खोज्न चाहन्छ, तर ऊ पहिले नै त्यस केटीसँग धेरै मायामा छ । सत्य चाहिँ, उसले उनीसँग विवाह गर्न चाहन्छ र ऊ केवल परमेश्वरको स्वीकृति चाहन्छ । त्यसैले एक दिन उसले २ कोरिन्थी १२ः९ पढ्छ, "मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ," र ऊ विश्वस्त भएको छ । "ए, परमेश्वरले मसँग बोल्नु भएको छ, मेरो लागि केटी अनुग्रह नै हो," उसले आफैंसँग भन्दछ । उसले आफ्नो इच्छा मात्र पूरा गरिरहेको छ । अब अर्को युवकलाई बिचार गर्नुहोस् जसका आमाबाबुले उसलाई अनुग्रह नामक केटीको सुझाव दिएका छन् । उसले उनीलाई फिटिक्कै मन पराउँदैन र उसलाई कुनै चासो छैन, त्यसैले उसले आफ्ना आमाबाबुलाई भन्छ "मैले परमेश्वरको इच्छा खोज्नुपर्छ ।" उसले त्यही पद पढ्छ, २ कोरिन्थी १२ः९, "मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ ।" ऊ आफ्ना आमाबाबु कहाँ गएर भन्छ, "परमेश्वरले मलाई बताउनु भएको छ कि उहाँको अनुग्रह मेरो लागि पर्याप्त छ ।" एउटै पदबाट कसरी यी दुई युवाहरुले आ-आफ्ना वासना पूरा गर्न दुई फरक जवाफ पाउँछन् भनेर तपाईंले देख्न सक्नुहुन्छ । तिनीहरुले जे गर्न चाहन्छन्, तिनीहरुले परमेश्वरको वचनमा राख्ने प्रयास गर्छन् । त्यो एउटा उदाहरण हो कि कसरी शैतानले वचनखण्ड लिनसक्छ र तपाईंलाई उद्धृत गर्नसक्छ । यदि उसले येशूसँग यो प्रयास गर्याे भने, के तपाईंलाई लाग्दैन उसले तपाईंसँग त्यो प्रयास गर्नेछ ?

येशूको जवाफ शैतानलाई के थियो ? यो हेर्न धेरै रोचक छ, जब शैतानले मत्ती ४ः६ मा भन्यो, "यो लेखिएको छ," येशूले मत्ती ४ः७ मा जवाफ दिनुभयो, "फेरि यो लेखिएको छ ।" वा, "अर्कोतर्फ, यो यस्तो लेखिएको छ ।" उहाँले भन्न खोज्नुभएको थियो "फेरि यो लेखिएको छ ।" यसले हामीलाई सिकाउँदछ कि सम्पूर्ण सत्य "यो लेखिएको छ" मा मात्र पाइँदैन तर "यो लेखिएको छ, र फेरि यो लेखिएको छ ।" मा पाइन्छ ।

जब तपाईंले दुईवटा वचनखण्डलाई एकसाथ राख्नुहुन्छ, तब तपाईंले सत्य थाहा पाउनुहुन्छ । त्यसकारण परमेश्वरले तपाईंलाई के भन्नुहुन्छ त्यो सुन्नको लागि वचनहरु अध्ययन गर्नु आवश्यक छ । अन्यथा, तपाईंले धर्मशास्त्रको एउटा पद लिनुहोला र पूर्णरुपमा गलत कुरामा फस्नुहोला ।