WFTW Body: 

वर्षको अन्त्यतिर आउँदा, हाम्रो जीवनलाई जाँच्न र यो कसरी बित्यो भनेर हेर्न हाम्रो लागि असल हुन्छ । अगमवक्ता हग्गैले आफ्नो समयमा मानिसहरुलाई "तिनीहरुका चालहरुलाई विचार गर्न" आग्रह गरे । हग्गै १ः५,६ मा लेखिएको छः अब सेनाहरुका परमप्रभु यसो भन्नुहुन्छ, "आफ्ना चालहरु विचार गर" ।

"तिमीहरुले धेरै छरेका छौ, तर थोरै कटनी गर्छौ; तिमीहरु खान्छौ, तर तृप्त हुनलाई पर्याप्त हुँदैन; तिमीहरु पिउँछौ, तर मात्तिनलाई पर्याप्त हुँदैन; तिमीहरुले लुगा लगाउँछौ, तर कोही पनि न्यानो हुँदैन; र जसले कमाउँछ, उसले प्वाल परेको थैलीमा राख्नको लागि ज्याला कमाउँछ ।" माथिका प्रश्नहरुलाई हामी आफैंमा यसरी लागू गर्न सक्छौंः प्रभुले हामीलाई चनौती दिँदै भन्नु भएको छ, "तपाईंको जीवनमा कस्तो भइरहेको छ भनेर विचार गर्नुहोस्" ।

के आत्मिकी फल फलेको छ ? तपाईंले धेरै रोप्नु भएको छ, तर थोरै कटनी गर्नुभएको छ । तपाईं धेरै सभाहरुमा जानुभएको छ, धेरै पुस्तकहरु पढ्नुभएको छ र धेरै ख्रीष्टियान टेपहरु सुन्नुभएको छ, तर के आज तपाईंको घर ईश्वरीय घर र शान्तिको घर हो ? के तपाईंले आफ्नी श्रीमती÷श्रीमानलाई कराउने जस्तो साधारण कुरामाथि विजयी हुनुभएको छ ? यदि होइन भने, तपाईंले धेरै रोप्नु भएको भए पनि थोरै कटनी गर्नुभएको छ । तपाईंले लुगा लगाउनु भएको छ तर तपाईं अझै न्यानो हुनुभएको छैन । तपाईंले धेरै पैसा कमाउनुहुन्छ, तर तपाईंको खल्तीमा प्वालहरु छन् र यसको धेरै भाग खेर जान्छ ।

परमेश्वरको लागि केही पनि असम्भव छैन, हामी नराम्ररी र बारम्बार असफल भए पनि हामीलाई उहाँको सिद्ध इच्छामा ल्याउनको लागि असम्भव छैन । हाम्रो अविश्वासले मात्र उहाँलाई रोक्न सक्छ । यदि तपाईंले भन्नुहुन्छ, "तर मैले धेरै चोटी कुराहरु बिगारेको छु, अब मलाई परमेश्वरले उहाँको सिद्ध योजनामा ल्याउन असम्भव छ", त्यसपछि यो परमेश्वरको लागि असम्भव हुनेछ, किनभने उहाँले तपाईंको लागि के गर्न सक्नुहुन्छ भन्ने कुरामा तपाईंले विश्वास गर्न सक्नुहुन्न । तर येशूले भन्नुभयो कि यदि हामीले विश्वास गर्‍यौं भने परमेश्वरले हाम्रो लागि केही पनि गर्न असम्भव छैन ।

"तिमीहरुको विश्वास अनुसार तिमीहरुलाई यो होस्" नै सबै कुरामा परमेश्वरको व्यवस्था हो (मत्ती ९ः२९) । हामीले विश्वास गरेको कुरा हामीले पाउनेछौं । यदि हामीले विश्वास गर्छौं कि परमेश्वरले हाम्रो लागि केही गर्न असम्भव छ, त्यसपछि त्यो हाम्रो जीवनमा पूरा हुनेछैन । अर्कोतर्फ, ख्रीष्टको न्याय आसनमा तपाईंले पत्ता लगाउनुहुनेछ कि तपाईंले भन्दा बढी गडबडी गर्ने अर्को विश्वासीले आफ्नो जीवनको लागि परमेश्वरको उत्तम योजना पूरा गर्‍यो किनभने उसले विश्वास गथ्र्यो कि परमेश्वरले उसको जीवनका टुक्रा टुक्राभएका कुराहरु उठाउन सक्नुहुन्छ र त्यसबाट 'धेरै असल' केही बनाउन सक्नुहुन्छ । त्यो दिन तपाईंको जीवनमा कति पछुतो हुनेछ, जब तपाईंले पत्ता लगाउनुहुनेछ कि तपाईंका असफलताहरु (जति धेरै भए पनि) तपाईंको जीवनमा परमेश्वरको योजनालाई विफल पार्ने कारण थिएन, तर तपाईंको अविश्वास थियो !

"परमेश्वरको पुत्र प्रकट हुनुको कारण शैतानले गरेका कामहरु उल्टाउन (भंग गर्नु) थियो" (१ यूहन्ना ३ः८ एम्प्लिफाइड बाइबल) । त्यो पदको वास्तविक अर्थ यो हो कि शैतानले हाम्रो जीवनमा बाँधेका सबै गाँठोहरु खोल्नको लागि येशू आउनुभयो । यसलाई यसरी कल्पना गर्नुहोस्ः जब हामी जन्मियौं हामीले भन्न सक्छौं कि परमेश्वरले हामी प्रत्येकलाई पूर्णरुपमा बेरिएको धागोको गोलो दिनुभएको थियो । हामी हरेक दिन बाँच्न थालेपछि, हामीले त्यो धागोको गोलो खोल्न थाल्यौं र हामीले त्यसमा गाँठो बाँध्न थाल्यौं (पाप गर्न थाल्यौं) । आज धेरै वर्षसम्म धागो खोलेपछि, हामी निराश हुन्छौं, किनकि हामी यसमा देख्ने हजारौं गाँठोहरु देख्छौं । तर येशू, "शैतानले बाँधेका गाँठोहरु खोल्न" आउनुभएको छ । त्यसैले सबैभन्दा धेरै गाँठो भएका डोरीहरुका लागि पनि आशा छ ।

प्रभुले हरेक गाँठो फुकाउन सक्नुहुन्छ र फेरि एक पटक तपाईंको हातमा सिद्ध धागोको गोलो थमाउनसक्नुहुन्छ । सुसमाचारको सन्देश यही होः तपाईंले नयाँ सुरुवात गर्न सक्नुहुन्छ । तपाईं भन्नुहुन्छ, "यो असम्भव छ !" । ठीक छ, त्यसो भए, तपाईंको विश्वास अनुसार यो हुनेछ । तपाईंको मामिलामा यो असम्भव हुनेछ । तर म सुन्छु कि तपाईंको भन्दा खराब जीवन भएको अर्को व्यक्तिले भनेको छ, "हो, मलाई विश्वास छ कि परमेश्वरले ममा त्यो गर्नुहुनेछ" । उसलाई पनि यो उसको विश्वास अनुसार हुनेछ । उसको जीवनमा परमेश्वरको सिद्ध इच्छा पूरा हुनेछ ।

यदि तपाईंको जीवनमा तपाईंका सबै असफलताहरुका लागि ईश्वरीय दुःख छ भने, तपाईको पापहरु सिंदुरे रंगका वा गाढा रातो रंगका भए पनि, तिनीहरु हिउँ जत्तिकै सेता मात्र हुनेछैनन् - पुरानो करार अन्तर्गत प्रतिज्ञा गरिएझैं (यशैया १ः१८), तर परमेश्वरले नयाँ करार अन्तर्गत प्रतिज्ञा गर्नुहुन्छ, "अबदेखि तिमीहरुका पापहरु सम्झने छैनौं" (हिब्रू ८ः१२) । तपाईंको गल्ती वा असफलता जस्तोसुकै भए पनि, तपाईं परमेश्वरसँग नयाँ सुरुवात गर्न सक्नुहुन्छ । र यदि तपाईंले विगतमा हजारौं नयाँ सुरुवात गर्नुभएको छ र असफलतामा आउनुभएको छ भने पनि, तपाईंले आज १००१ औं नयाँ सुरुवात गर्न सक्नुहुन्छ । परमेश्वरले तपाईंको जीवनबाट अझै पनि केही महिमित कुरा बनाउन सक्नुहुन्छ । जहाँ जीवन छ त्यहाँ आशा छ । त्यसैले परमेश्वर माथि भरोसा गर्न कहिल्यै नबिर्सनुहोस् । उहाँले आफ्ना धेरै सन्तानहरुका लागि धेरै शक्तिशाली कामहरु गर्न सक्नुहुन्न, उनीहरुले विगतमा उहाँलाई असफल तुल्याएको कारणले होइन तर किनभने तिनीहरुले अब उहाँलाई भरोसा गर्दैनन् । त्यसोभए हामी "विश्वासमा बलियो भएर परमेश्वरलाई महिमा दिऔं" (रोमी ४ः२०), हामीले अहिलेसम्म असम्भव ठानेका कुराहरुका लागि आउने दिनहरुमा उहाँमाथि भरोसा राख्दै । सबै मानिसहरु - युवा र बृद्ध - आशा राख्न सक्छन्, चाहे तिनीहरु विगतमा जतिसुकै असफल भए पनि, यदि तिनीहरुले आफ्ना असफलताहरु स्वीकार गरे, नम्र भए र परमेश्वरमा भरोसा गरे भने ।