"धन्य शुद्ध हृदयहरु हुनेहरु, किनभने तिनीहरुले परमेश्वरलाई देख्नेछन्" (मत्ती ५ः८) । हाम्रो हृदयमा शुद्धताको अभावले हाम्रो आँखालाई अन्धो बनाउँछ । परमेश्वरको बारेमा धेरै कुराहरु छन् जुन उहाँले शुद्ध हृदय भएकाहरुलाई प्रकट गर्नुहुन्छ । येशूले लूका ११ः३४ मा आँखा शरीरको बत्ती हो भनेर भन्नुभयो । म त्यो खण्डलाई मत्ती ५ः८ सँग जोड्न चाहन्छु ("धन्य हृदयमा शुद्ध हुनेहरु किनभने तिनीहरुले परमेश्वरलाई देख्नेछन्") ।
"जब तिम्रो आँखा निर्मल हुन्छ, तिम्रो सम्पूर्ण शरीर उज्यालोले भरिएको हुन्छ"(लुका ११ः३४) । यदि तपाईं अन्धो हुनुको अर्थ जान्न चाहनुहुन्छ भने आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईंलाई अन्धोपन के हो भनेर थाहा हुन्छ । बाहिरको सबै प्रकाश अब भित्र आइरहेको छैन र त्यसैले तपाईंले केही पनि देख्न सक्नुहुन्न । "शरीरको बत्ती आँखा हो, तर यदि तपाईंको आँखा खराब वा अन्धो वा मोतिबिन्दुले भरिएको छ भने, तपाईंको सम्पूर्ण शरीर अँध्यारोले भरिएको छ । तब होसियार बस, कि तिमीमा भएको उज्यालो अँध्यारो नहोस् । यदि तिम्रो सम्पूर्ण शरीर उज्यालोले भरिएको छ र त्यसमा कुनै अँध्यारो भाग छैन भने त्यो पूर्णरुपमा उज्यालो हुनेछ" (लुका ११ः३४) ।
यो पद विवेकको सन्दर्भ हो । विवेक हृदयको आँखा हो । जब तपाईंले आफ्नो विवेक सफा राख्नुहुन्छ, तपाईंको हृदय प्रकाशले भरिन्छ, र तपाईंले परमेश्वरलाई देख्न सक्नुहुन्छ । तर जब तपाईं आफ्नो विवेक सफा राख्न वेवास्ता गर्नुहुन्छ, जसको अर्थ तपाईंले केही गल्ती गर्नुभयो र तपाईंले त्यसलाई स्वीकार गर्नुहुन्न - यदि तपाईंले यसको लागि दोष लिनुहुन्न, र तपाईंले अरु कसैलाई दोष लगाउने प्रयास गर्नुहुन्छ भने - आँखा विस्तारै धमिलो हुँदै जान्छ र तपाईंले परमेश्वरको दर्शन गुमाउनुहुन्छ । तपाईंसँग अझै पनि बाइबलको ज्ञानले भरिएको दिमाग हुनसक्छ, तर तपाईंले अब परमेश्वरलाई देख्नुहुने छैन, किनकि यसको दिमागको ज्ञानसँग कुनै सम्बन्ध छैन; त्यसको हृदयको शुद्धता सँग सम्बन्ध छ ।
यस पदलाई हेर्ने अर्को सम्भावित तरिका पनि छ । हामी भन्न सक्छौं कि यसले हाम्रो हृदय शुद्ध हुँदा हाम्रा सबै परिस्थितिहरुमा परमेश्वरलाई देख्नुलाई पनि जनाउँछ । जब मेरो हृदय शुद्ध हुन्छ, म वरिपरि हेर्न सक्छु र मेरो सबै परिस्थितिमा, उहाँले गर्ने सबै कुरामा र उहाँले भन्नुहुने सबै कुरामा परमेश्वरलाई देख्छु । म भन्न सक्छु कि परमेश्वर नियन्त्रणमा हुनुहुन्छ, र अरु मानिसहरुले मलाई गर्ने नराम्रो काममा पनि, परमेश्वरले त्यो मेरो भलाईको लागि प्रयोग गरिरहेको मैले देख्न सक्छु । येशूले आफूमाथि भएको सबैभन्दा नराम्रो घटनामा पनि परमेश्वरलाई देख्न सक्नुहुन्थ्यो । जब रोमी सिपाहीहरु गेतसमनीमा उहाँलाई पक्रन आए, पत्रुसले केवल येशू ख्रीष्टलाई धोका दिने कुटिल धोकेबाज यहूदा र उहाँका मालिकलाई पक्रन आउने दुष्ट रोमी सिपाहीहरु मात्र देख्नसके । तर येशूले तिनीहरुलाई देख्नु भएन । उहाँले भन्नुभयो, "के पिताले मलाई दिनुभएको त्यो कचौरा मैले नपिऊँ ?" हुलाकी यहूदा इस्करियोत, वा फरिसीहरु र प्रधान पुजाहारी हुनसक्ला, तर अन्ततः कचौरा पिताबाट आएको थियो । हुलाकी दुष्ट मान्छे जस्तो देखिएला, यदि चिट्ठी तिम्रो प्रियजनबाट आएको हो भने के फरक पर्छ ?
येशूको हृदय शुद्ध थियो; त्यसैले, उहाँले सबैथोकमा परमेश्वरलाई देख्नुभयो । त्यसैले उहाँले पक्राउ पर्ने, अपमानित हुने र कु्रसमा टाँगिने कुरालाई स्वीकार गर्न सक्नुभयो । उहाँको हृदय शुद्ध थियो र उहाँले सबै कुरामा परमेश्वर देख्नुभयो । जब हामी परमेश्वरलाई हाम्रो सम्पूर्ण हृदयले प्रेम गर्छौं र उहाँको उद्देश्य अनुसार हामी बोलाइन्छौं, तब सबै कुरा राम्रोको लागि मिलेर काम गर्छन् (रोमी ८ः२८) । यदि हाम्रो हृदय शुद्ध छ भने, परमेश्वरले सबै कुरामा राम्रोको लागि काम गर्नुहुन्छ, र जब हामी हाम्रो इच्छासँग मेल नखाने परिस्थितिमा अरु मानिसहरुले हामी माथि गर्ने दुष्ट कुरालाई हेर्छौं, हामी भन्न सक्छौं "परमेश्वर त्यहाँ हुनुहुन्छ ।" यसैकारण हृदयको शुद्धताको पछि लाग्नुमा ठूलो आशिष छ ।
जति हामीले धर्मशास्त्रलाई बुझ्छौं त्यति नै हामीले धर्मशास्त्रमा येशूलाई अझ स्पष्ट रुपमा देख्नेछौं । धेरै मानिसहरुले धर्मशास्त्र अध्ययन गर्छन् तर येशूलाई देख्दैनन् । तिनीहरुले एउटा सिद्धान्त देख्छन् र एउटा सिद्धान्तको लागि लड्छन् । तर जब हाम्रो हृदय शुद्ध हुन्छ र हाम्रा आँखाहरु स्पष्ट हुन्छन्, जहाँ अरु कसैले सिद्धान्त देख्छ, त्यही धर्मशास्त्रले येशूलाई प्रकट गर्नेछ । हामी पवित्र आत्माले ल्याउनुहुने येशूको महिमा देख्छौं, र यसले हाम्रो हृदयलाई उहाँतिर खिच्छ र हामीलाई उहाँलाई अझ नजिकबाट पछ्याउन सक्षम बनाउँछ ।
विधवाको दृष्टान्तमा येशूले भन्नुभए झैं हामीले हाम्रो हृदयमा दिनरात परमेश्वरलाई निरन्तर पुकार्नुपर्छ (लुका १८ः७ हेर्नुहोस् "परमेश्वरका चुनिएकाहरुले दिनरात उहाँलाई पुकार्छन्") । हामीले पनि त्यो विधवाले जस्तै हाम्रो शत्रुको शक्तिबाट मुक्तिको लागि र पवित्रता र शक्तिको जीवनको लागि पुकार्नुपर्छ, जहाँ हामीले कहिल्यै पनि पवित्र आत्माको आगो गुमाउँदैनौं । हामी एड्स रोग भन्दा बढी एउटा पापपूर्ण विचार ( चाहे अशुद्धता होस् वा घृणा होस् वा संसारिकता होस् वा पैसाको मोह होस्) देखि डराउनु पर्छ । परमेश्वरले एक समयमा इस्राएलमा भन्नुभएको थियो कि "परमेश्वरलाई समात्न आफैंलाई उत्तेजित पार्ने" कोही पनि थिएन (यशैया ६४ः७) । तिमोथीले पनि आफू भित्र भएको आत्माको आगोलाई "नयाँ गरी प्रज्वलित" गर्नुपरेको थियो (२ तिमोथी १ः६) । परमेश्वरले हामीमा स्वतः केही गर्नुहुन्न, किनकि त्यसले हाम्रो स्वतन्त्रता खोस्नेछ । तर जब उहाँले हामी भित्र, उहाँको लागि, र हाम्रो जीवनमा उहाँको सर्वोत्कृष्टताको थोरै इच्छा देख्नुहुन्छ, तब उहाँ हामीलाई मद्दत गर्न शक्तिशाली बन्नुहुन्छ ।
धन्य हुन् ती मानिसहरु जसले पावलले जस्तै आफ्नो सम्पूर्ण हृदयले परमेश्वर र मानिसहरुको अगाडि आफ्नो विवेक शुद्ध राख्न खोज्छन्, र जो त्यसरी नै हृदयमा शुद्ध छन्, किनकि तिनीहरुले परमेश्वरलाई सधैं देख्नेछन् - वचनमा र तिनीहरुको परिस्थितिमा ।