WFTW Body: 

जब येशूले आफ्ना चेलाहरुलाई मत्ती २४ मा आफ्नो पुनरागमनको बारेमा बताउनु भयो, उहाँले एक पटक भन्दा बढी जोड दिनुभयो कि तिनीहरु सतर्क हुनुपर्छ (मत्ती २४ः४२,४४; २५ः१३) । त्यसो भए आत्मिक रुपमा सतर्क र सधैं तयार रहनु सबैभन्दा महत्वपूर्ण कुरा हो - अगमवाणीको तथ्यहरुको ज्ञान होइन । मत्ती २५ मा (जुन मत्ती २४ को अगमवाणीबाट अगाडि बढ्छ), येशूले तीनवटा क्षेत्रहरुको बारेमा कुरा गर्नुहुन्छ जहाँ हामीलाई उहाँको आगमनको लागि तयार हुन सतर्क र विश्वासयोग्य हुन बोलाइएको छ ।

१. लुकेको जीवनमा विश्वासयोग्यता

यस दृष्टान्तमा, येशूले दश कन्याहरुको बारेमा कुरा गर्नुभयो (मत्ती २५ः१-१३) । ध्यान दिनुहोस् कि तिनीहरु मध्ये कोही पनि वेश्या थिएनन् (आत्मिक वेश्यावृत्तिको परिभाषाको लागि याकूब ४ः४ पढ्नुहोस्) । तिनीहरु सबै कन्या थिए । अर्को शब्दमा, मानिसहरुको अगाडि तिनीहरुको राम्रो गवाही थियो । तिनीहरुका सबै बत्तीहरु बलिरहेका थिए (मत्ती ५ः१६) । तिनीहरुका असल कामहरु अरुले देखे । तैपनि यी सबै कन्याहरुमध्ये पाँच जना मात्र बुद्धिमती थिए । तर सुरुमा यो कुरा सबैलाई स्पष्ट थिएन । केवल पाँच जनाले आफ्नो भाँडोमा तेल बोकेका थिए (मत्ती २५ः४) ।

भाँडोमा भएको त्यो तेल उज्यालोमा झैं रातमा देखिँदैनथ्यो, र यसले परमेश्वरको सामु हाम्रो लुकेको जीवनको बारेमा बोल्छ जुन मानिसहरुले यस संसारको अन्धकारमा देख्न सक्दैनन् । हामी सबैसँग एउटा बोतल छ । प्रश्न यो हो कि हामीसँग यसमा तेल छ कि छैन । पवित्र आत्माको प्रतीकको रुपमा तेललाई धर्मशास्त्रभरि प्रयोग गरिएको छ र यहाँ यसले परमेश्वरको त्यो जीवनलाई जनाउँछ जुन पवित्र आत्माले हाम्रो आत्मालाई संचार गर्नुहुन्छ । त्यो जीवनको बाहिरी अभिव्यक्ति ज्योति हो (यूहन्ना १ः४) । भित्री सामाग्री तेल हो । धेरैजसो केवल आफ्नो बाहिरी गवाहीमा लागेका हुन्छन् । यो तिनीहरुको मूर्खता हो । परीक्षा र जाँचको समयमा मात्र हामीलाई थाहा हुन्छ कि बाहिरी प्रकाश अपर्याप्त छ । हामीलाई विजेताको रुपमा अगाडि बढ्नलाई ईश्वरीय जीवनको भित्री सामाग्री चाहिन्छ ।

"यदि तपाईं संकटमा कमजोर हुनुहुन्छ भने, तपाईं वास्तविकतामा कमजोर हुनुहुन्छ" (हितोपदेश २४ः१६) । जीवनका संकटहरुले हामीलाई हामी कति बलियो वा कमजोर छौं भनेर देखाउँछन् । यस दृष्टान्तमा, संकट यो थियो कि दुलाहाले आफ्नो आगमनमा ढिलाई गर्नुभयो । यो त्यो समय हो जसले हाम्रो आत्मिकताको वास्तविकता प्रमाणित गर्दछ । जससँग विश्वास छ ऊ अन्तसम्म टिक्छ र बचाइन्छ । समयले पनि प्रमाणित गर्छ कि कसको जीवनमा भित्री सन्तुष्टि छ र कसको जीवनमा छैन । धेरैजसो बीउ जस्तै हुन्छन् जुन तुरुन्तै अंकुरित हुन्छ, तर भित्री जीवन हुँदैन । तिनीहरुको जीवनमा माटोको गहिराइ छैन (मर्कूस ४ः५) । यसैकारण नयाँ विश्वासीहरुको आत्मिकता वा तिनीहरुको पूर्ण हृदयको बारेमा मूल्यांकन गर्न गाह्रो छ । यदि हामीसँग पर्खने धैर्य छ भने, समयले सबैकुरा प्रकट गर्नेछ । ख्रीष्टको आगमनको लागि तयार हुने तरिका भनेको परमेश्वरको अनुहारको सामु शुद्धता र विश्वासयोग्यताको भित्री जीवनमा रहनु हो - हाम्रो विचारमा, मनोवृत्ति र मनसायमा, जुन हाम्रो वरपरका मानिसहरुले देख्न सक्दैनन् । हामीसँग यो नहुँदा पनि हामी सोँच्छौं कि हामी ख्रीष्टको आगमनको लागि तयार छौं त्यो बेला हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं ।

२. हाम्रो सेवकाईमा विश्वासयोग्यता

दोस्रो दृष्टान्तमा, परमेश्वरले हामीलाई दिनुभएको प्रतिभाको विश्वासयोग्य प्रयोगमा जोड दिइएको छ (मत्ती २५ः१४-३०) । यी प्रतिभाहरुले भौतिक सम्पत्ति, पैसा, प्राकृतिक क्षमता, जीवनका अवसरहरु, आत्मिक वरदानहरु, आदिलाई प्रतिनिधित्व गर्दछन् । यस क्षेत्रमा सबै समान हुँदैनन् - किनकि हामीले दृष्टान्तमा देख्छौं कि एकले पाँच, अर्कोले दुई र अर्कोले एउटा मात्र पायो । तर सबैसँग आफूले पाएको कुरामा विश्वासयोग्य हुनको लागि बराबर समय थियो । जसलाई धेरै दिइन्छ, उससँग बढी माग गरिन्छ । त्यसकारण, जसले आफ्नो दुईलाई चारमा परिणत गर्‍यो, उसले आफ्नो पाँचलाई दशमा परिणत गर्नेले जत्तिकै इनाम पायो । तर न्याय त्यसमाथि आयो जसले आफ्नो सिक्का 'माटोमा गाड्यो' (मत्ती २५ः१८) - त्यो त्यही हो जसले आफ्नो परमेश्वरले दिनुभएको प्रतिभा परमेश्वरको लागि होइन तर यस संसारको लागि प्रयोग गर्‍यो । कसैले पनि भन्न सक्दैन कि उसले केही पाएको छैन - किनकि सबैले परमेश्वरबाट कुनै न कुनै प्रतिभा पाएका छन् । प्रश्न यो हो कि हामी यी प्रतिभाहरु केका लागि प्रयोग गर्छौं । हामीले आफ्नो लागि प्रयोग गर्ने कुरा जमिनमा गाडिएको सिक्का बराबर हो । हामीले परमेश्वरको लागि प्रयोग गर्ने कुरालाई मात्र अनन्त धनको रुपमा गणना गरिनेछ । यस मापदण्डबाट हामी बहुसंख्यक विश्वासीहरुको गरिबी देख्न सक्छौं । हाम्रो आदर्श वाक्य "सबै परमेश्वरको लागि र आफ्नो लागि केही पनि होइन" हुनुपर्छ । त्यसपछि हामी ख्रीष्टको पुनरागमनको लागि तयार हुनेछौं । यदि हामीले हामीसँग भएका सबै कुरा त्यागेका छैनौं भने हामी येशूका चेला हुन सक्दैनौं । जसले आफ्नो सबै ईश्वर-प्रदत्त सम्पत्ति र वरदानहरु प्रभुको लागि प्रयोग नगरीकनै यदि उसले ख्रीष्टको पुनरागमनको लागि तयार भएको दाबी गर्छ भने उसले आफूलाई धोका दिइरहेको छ ।

३. हाम्रा सँगी विश्वासीहरुको सेवामा विश्वासयोग्यता

अन्तिम खण्डमा, येशूले आवश्यकतामा परेका हाम्रा सँगी विश्वासीहरु प्रतिको हाम्रो मनोवृत्तिलाई सम्बोधन गर्नुहुन्छ (मत्ती २५ः३१-४६) त्यो आवश्यकता आत्मिक वा भौतिक हुनसक्छ । यहाँ हामी देख्छौं कि कोही कोहीले राज्यको हक प्राप्त गर्छन् किनभने तिनीहरुले आफ्ना सँगी विश्वासीहरुलाई प्रभुको सेवा गरेझैं सेवा गरे । तिनीहरुको सेवा यति धेरै गोप्य थियो कि तिनीहरुको देब्रे हातलाई थाहा थिएन कि तिनीहरुको दाहिने हातले के गरिरहेको छ (मत्ती ६ः३) । यति धेरै कि जब प्रभुले तिनीहरुलाई गरेको असल कामको सम्झना दिलाउनुहुन्छ, तिनीहरुले त्यो सम्झना पनि गर्दैनन् (मत्ती २५ः३८) ।

येशूले यहाँ यो पनि सिकाउनुभयो कि हामीले उहाँका भाइहरु मध्येका सबैभन्दा सानालाई पुर्‍याएको कुनै पनि सेवालाई उहाँप्रति गरिएको सेवा मानिन्छ (मत्ती २५ः४०) । यहाँ उहाँले सबैभन्दा सानो कुराको बारेमा बोल्नुको महत्व छ, किनकि हाम्रो प्रवृत्ति सबैभन्दा महत्वपूर्ण विश्वासीहरुको सेवा गर्ने र गरिब र तुच्छलाई बेवास्ता गर्ने हुन्छ ! येशू फर्कनुहुँदा खाने, पिउने, किन्ने र बेच्ने, बनाउने र रोप्ने काममा मात्र व्यस्त हुनेहरु पक्कै पनि पछाडि छोडिनेछन् (लूका १७ः२५, ३४) । प्रभुको सेवामा आफ्ना सँगी विश्वासीहरुको सेवा गर्नलाई प्रेमपूर्ण चासो राख्दै समावेश भएकाहरुलाई मात्र उठाइलगिनेछ । अर्को खण्डमा, येशूले मानिसहरुको अर्को समूहको बारेमा कुरा गर्नुभयो - जो यस समूहको विपरीत छन् । यी ती हुन् जसले प्रभुको नाममा गरेका सबै असल कामहरु सम्झन्छन् । तिनीहरु न्यायआसनमा पनि छन्, र तिनीहरुले प्रभुलाई सम्झाउँछन् कि तिनीहरुले भूतहरु धपाए, प्रचार गरे, येशूको नाममा विरामीहरुलाई निको पारे, आदि । तर तिनीहरुले यी सबै कामहरु गरेतापनि प्रभुले तिनीहरुलाई अस्वीकार गर्नुभयो, किनभने तिनीहरुमा परमेश्वरको सामु लुकेको पवित्रताको जीवनको पहिलो आवश्यकताको अभाव थियो । तिनीहरु आफूले पाएका वरदानको महानतामा तल्लिन थिए ।