पुरानो नियममा व्यवस्थाले भन्यो, "आँखाको बदला आँखा र दाँतको बदला दाँत ।" यो व्यवस्था परमेश्वरले प्रस्थान २१, लेवी २४ र व्यवस्था विवरण १९ मा पनि दिनुभएको थियो । परमेश्वरले यहाँ भन्दै गर्नुभएको कुरा कसैले तपाईंको आँखा निकाल्यो भने तपाईंले उसको आँखा निकाल्नुपर्छ भन्ने थिएन । उहाँले भन्दै गर्नुभएको यो थियो कि, यदि उसले तिम्रो यौटा मात्र आँखा निकाल्यो भने उसको दुबै आँखा ननिकाल । कुरा के हो भने तपाईंले अपराधीलाई क्षमा गरेर जान दिन सक्नुहुन्छ, र उसको कुनै पनि आँखा निकाल्नुहुन्न । त्यो नै उत्तम तरिका हुनेछ । परमेश्वरले "आँखाको बदला आँखा दाँतको बदला दाँत" भन्दै सजायलाई सीमित गर्दै हुनुहुन्थ्यो ।
तर येशूले स्तरलाई अझै उच्च पार्नुहुन्छ र भन्नुहुन्छ, "दुष्टको प्रतिरोध नगर; यदि कसैले तिम्रो दाहिने गालामा थप्पड लगायो भने, अर्को गाला उसलाई थापिदेऊ । यदि कसैले तिम्रो कमिज लिनको लागि मुद्दा हाल्छ भने, उसलाई तिम्रो कोट पनि दिइदेऊ । कसैले तिमीलाई एक माइल जान बाध्य पार्छ भने ऊसँग दुई माइल गइदेऊ" (मत्ती ५ः३९-४१) । रोमी सिपाहीहरुले कहिलेकाहिं आफ्ना दास यहूदीहरुलाई एक माइलसम्म सामान र सैन्य उपकरणहरु बोक्न बाध्य पार्थे । यहूदीहरु दास थिए त्यसैले तिनीहरुले त्यो गर्नुपथ्र्याे । येशूले हामीलाई भन्नुहुन्छ कि यस्ता परीस्थितिहरुमा हामीले त्यो व्यक्तिसँग दुई माइलसम्म जानुपर्छ, त्यसबारेमा ऊ सँग झगडा गर्नु हुँदैन, तिमीसँग माग्नेलाई दिनुपर्छ, र तिमीबाट ऋण लिन चाहनेलाई इन्कार गर्नु हुँदैन ।
हामीले यी शब्दहरुलाई जुन मनसायमा बोलिएको छ त्यसैमा लिनु आवश्यक छ । हामीले येशूले के भन्न खोज्नु भएको छ त्यो ठ्याक्कै बुझ्नु आवश्यक छ । के उहाँले हामीलाई ढोकामा खुट्टा पुछ्नलाई राखिने चट्टाई जस्तै बन्न भन्नुभएको थियो ? के हामीले मानिसहरुलाई जे गर्न मन लाग्छ त्यही गर्न दिनुपर्छ ? यो हुन सक्दैन । जब तपाईंले धर्मशास्त्र राम्ररी बुझ्नुहुन्न, येशू ख्रीष्टको उदाहरणलाई हेर्नुहोस् - किनकि उहाँ देहधारी वचन हुनुहुन्छ । पुरानो नियममा, तिनीहरुसँग शास्त्रीहरु थिए जसले व्यवस्थाको प्रत्येक अंश र विन्दु व्याख्या गर्न जाँच गर्थे । नयाँ नियममा, हामीले येशूलाई जति हेर्छौं पदहरुको विश्लेषण गर्न आवश्यक पर्दैन, किनकि हामीसँग अहिले उहाँको उदाहरण छ ।
"यदि कसैले तिम्रो दाहिने गालामा थप्पड लगायो भने अर्को गाला पनि थापिदेऊ" भन्नुको अर्थ के थियो ? हामी देख्छौं कि क्रुसमा टाँगिनु भन्दा ठीक अघि जाँच हुँदा येशू आफैंले थप्पड खानु भएको थियो र उहाँले अर्को गाला थापिदिनु भएन । उहाँले यूहन्ना १८ः२३ मा भन्नुभयो, "यदि मैले ठीक भनेको छु भने तिमीहरुले किन मलाई थप्पड हान्छौ ?" तिनीहरुले त्यसको जवाफ दिएनन् (सायद तिनीहरुले उहाँलाई फेरि थप्पड हाने र उहाँले प्रतिकार गर्नुभएन) । जब तिनीहरुले उहाँलाई थप्पड हाने, उहाँले आफ्नो अर्को गाला पनि थप्पड लगाउनको लागि दिनु भएन । त्यसकारण, ख्रीष्टले के भन्दै हुनुहुन्छ त्यो कुराको मनसाय बुझ्न हामी होसियार हुनुपर्छ, अन्यथा हामीले येशू आफैंले प्रचार गर्नुभएको कुराको अभ्यास नगरेको भनेर आरोप लगाउनुपर्ने हुन्छ ।
यहाँ सिद्धान्त यो छः म बदला लिन चाहन्न; मसँग गरिएको व्यवहारको लागि म कसैसँग बदला लिन खोजिरहेको छैन । यदि कसैले मलाई शैतान भन्छ भने, म त्यो व्यक्तिलाई शैतान भन्ने छैन । यदि मैले थप्पड खाएँ भने, म जवाफी थप्पड हान्ने छैन । म बरु पछाडि बसेर परमेश्वरमा भरोसा राख्न चाहन्छु कि यो मौकाको फाइदा ममाथि नलिइओस् भनी उहाँले मलाई जोगाउनुहुनेछ ।
यदि कसैले तिम्रो कमिज लिनको लागि अदालतमा मुद्दा हाल्छ भने, तिम्रो कोट पनि देऊ भनेर उहाँले भन्नुको अर्थ के हो ? उदाहरणको लागि, यदि कसैले अन्यायपूर्वक झुटो बोल्छ र तपाईंको आफ्नै सम्पत्ति उसको सम्पत्ति हो भनी मुद्दा हाल्छ भने - सायद उसले अदालतमा केही झुटा कागजातहरु ल्याएको छ र तपाईंको घर तपाईंबाट खोस्न चाहन्छ भने - तपाईंले के गर्नुहुन्छ ? के तपाईंले उसलाई तपाईंको घर लिन र तपाईंको अर्को घर पनि लिनुहोस् भनी भन्नुपर्ने हो ? के यसको अर्थ त्यही हो ?
येशूले भन्न खोज्नुभएको कुरा त्यो विल्कुलै थिएन । फेरि पनि, हामीले मनसाय बुझ्नु आवश्यक छ । यदि कसैले तपाईंलाई एक माइल जान बाध्य पार्छ भने, उसँग दुई माइल जानुहोस् । अर्को शब्दमा, यदि कसैले तपाईंलाई केही गर्न बाध्य पार्छ भने, अझ धेरै गर्नुहोस् । तपाईंले यसको मनसाय बुझ्नुपर्छ । येशूले हामीलाई हामीबाट ऋण लिन चाहने जो कोहीलाई पनि नफर्काउन निर्देशन दिनुहुन्छ । के उहाँले तपाईंबाट ऋण लिन चाहने प्रत्येक व्यक्तिलाई पैसा दिनुपर्छ भनी भन्दैहुनुहुन्छ । यहाँ भारतमा, यदि तपाईंले एक पटक कसैलाई पैसा दिनुभयो र तपाईंले खुलेर कसैलाई दिने व्यक्तिको रुपमा प्रतिष्ठा पाउनुभयो भने, तपाईं केही समयमै टाट पल्टिनुहुनेछ !
यदि तपाईंले यी शब्दहरुको मनसाय बुझ्नुभएन र आँखा चिम्लेर तिनीहरुलाई शाब्दिक रुपमा लिनुभयो भने, तपाईं धेरै समस्यामा पर्नुहुनेछ । येशूले हामीलाई पाप प्रति गम्भीर दृष्टिकोण राख्न सिकाउँदै हुनुहुन्छ, जसरी उहाँले हामीलाई अन्धा मानिस जस्तै वा काटिएको हात भएको मानिस जस्तै हुन निर्देशन दिनुभएको थियो । यही दृष्टिकोणमा हामीले यी सबै कुराहरु बुझ्नु आवश्यक छः बदला लिन नखोज्नुहोस्, फाइदा उठाइन तयार हुनुहोस्, र आफैंमा मर्न पनि तयार हुनुहोस्; तर यसको अर्थ यो होइन कि मेरो कुनै अधिकार छैन ।
बस चालकको रुपमा काम गर्ने एक भाइले एक पटक मण्डलीको सभामा बयान दिए कि उनी सडकमा गाडी चलाउँदा, कहिलेकाहिं रातमा उज्यालो हेडलाइटहरु भएको कारमा कोही व्यक्ति विपरीत दिशाबाट आफूतिर आउँदै गरेको देख्थे जसले गर्दा उनको आँखा नदेख्ने हुन्थ्यो । विपरीत दिशाबाट अर्को कार आउँदा उनीहरुले आफ्नो बत्ती मधुरो पार्नुपर्ने हो, तर यी मानिसहरुले त्यसो गरेनन् । अर्को चालकलाई पनि नदेख्ने बनाइदिएर पाठ सिकाउन, उसलाई लाग्यो कि उसको बसको हेडलाइलहरु पनि धेरै चहकिलो पारेर उनीहरुतिर फर्काइदिऊँ, किनभने उनीहरुको बत्तीले उसको आँखा अन्धो पारिरहेको थियो । उसलाई अचानक महसुस भयो कि ऊ एक ख्रीष्टियान हो र बदला लिनु हुँदैन, त्यसैले उसले त्यो नगर्ने निर्णय गर्यो । त्यो भाइले बदला लिनुको अर्थ के हो भनेर बुझेको कुरा याद गर्नुहोस्ः अर्को व्यक्तिलाई त्यसरी नै चोट पुर्याउनु जसरी उसले उसलाई चोट पुर्याएको थियो !
यदि मैले येशूले सिकाउनु भएको सिद्धान्त बुझें भने, बाटोमा गाडी चलाउँदा यदि कसैले मेरो आँखामा उसको गाडीको हेडलाइट चम्किन दिइरह्यो भने त्यो बेलामा पनि मैले त्यो सिद्धान्तको प्रयोग पत्ता लगाउनेछु । यो सिद्धान्त धर्मशास्त्रमा कतै लेखिएको नहुन सक्छ, तर म सिद्धान्तहरु बुझ्नेछु र मेरो समय, मेरो पैसा र मेरो उर्जा मुख्यतया प्रभुको हो भनेर स्वीकार गर्दै समर्पण गर्न इच्छुक हुनेछु । म मानिसहरुको दास होइन र म हरेक टम, डिक र ह्यारीलाई मलाई तल झार्दै उनीहरुको दास बनाउनलाई दिने छैन । म मुख्यतया प्रभुको दास हुँ र म मानिसहरुको दास हुने छैन ।
त्यसैले मैले यो कुरा मनमा राखें भने, म यी सिद्धान्तहरु बुझ्छुः म कहिल्यै बदला लिन चाहन्न, म त्यो व्यक्तिलाई उसले मसँग जस्तो व्यवहार गर्छ, म कहिल्यै पनि उसलाई त्यस्तै व्यवहार गर्न चाहन्न, र म उसलाई उसले मसँग जसरी बोलेपनि उसलाई त्यस्तै जवाफ फर्काउन चाहन्न । म समर्पण गर्न चाहन्छु, म दयालु हुन चाहन्छु, र मेरा अधिकारहरु त्याग्न चाहन्छु ।