WFTW Body: 

जब परमेश्वरले इस्राएललाई मिश्रको दासत्वबाट निकालेर उजाडस्थानबाट डोर्‍याउनुभयो, उहाँले तिनीहरुलाई आज्ञा दिनुभयो, "तिनीहरुले मेरो निम्ति एउटा पवित्रस्थान बनाओस् ताकि म तिनीहरुको बीचमा बस्न सकूँ" (प्रस्थान २५ः८) । यो पवित्रस्थानलाई भेट हुने पाल भनिन्थ्यो र पछि इस्राएलीहरु कनान देशमा प्रवेश गरेपछि यसलाई मन्दिरले प्रतिस्थापन गर्‍यो ।

यस पदबाट हामीले देख्छौं कि परमेश्वरलाई आफ्ना जनहरुको बीचमा बास गर्ने इच्छा थियो । ख्रीष्टको आगमन पछि, परमेश्वर अब कुनै पार्थिव भवनमा बास गर्नुहुन्न । उहाँ अब मानव हृदय र घरहरुमा बास गर्न खोज्नुहुन्छ । परमेश्वरले आज पनि भन्नुहुन्छ, 'मेरो लागि एउटा पवित्र स्थान (पवित्र ठाउँ) बनाऊ ताकि म तिमीहरुसँग बस्न सकूँ' । यही उद्देश्यले पति र पत्नीलाई विवाहमा एकताबद्ध गर्नुहुन्छ । तिनीहरुले आफ्नो घर परमेश्वरको लागि पवित्र स्थानको रुपमा निर्माण गर्नुपर्छ ।

परमेश्वरको महिमाको लागि घर निर्माण गर्ने

सामान्यतया, जब मानिसहरु विवाह गर्छन्, तिनीहरुले आफ्नो लागि घर बनाउने कुरा सोच्छन् । प्रत्येक गैर-ख्रीष्टियानको लक्ष्य यही हुन्छ । तर विश्वासीहरुको रुपमा यदि हामीले प्रभु येशू ख्रीष्ट र उहाँको वचनलाई सम्मान गर्ने हो भने, हामीले आफ्नो लागि घर बनाउनु हुँदैन । हामीले परमेश्वरलाई बास गर्न दिनको लागि एउटा पवित्र स्थान निर्माण गर्नुपर्छ । यो साँचो ख्रीष्टियानको घर र गैर-ख्रीष्टियानको घर बीचको आधारभूत भिन्नता हो । धेरै विश्वासीहरुको उद्देश्य यो नभएकोले गर्दा हामीले तिनीहरुको घरमा यति धेरै दुःख र ईश्वरहीनता देख्छौं । तिनीहरुले आफ्नो घर परमेश्वरको लागि होइन, आफ्नै लागि बनाए ।

जब मानिसहरुले विवाह गर्छन्, उनीहरु धेरै खुशी हुनेछन् भन्ने कुराको निकै आशा राख्दछन् । तर छ महिना पछि, वास्तविकता बारे जानकार हुँदै जाँदा, यो पूर्णरुपमा फरक कथा बन्छ । तिनीहरु निरन्तर एकअर्कासँग झगडा गर्ने र कराउने गर्छन् । आफ्नो दशौं वार्षिकोत्सवमा पुग्दा, धेरै जोडीहरु एकअर्का देखि वाक्क र थकित हुन्छन् । किन त्यस्तो ? किनभने तिनीहरु स्वार्थी भएर आफ्नो घर बनाइरहेका थिए । तर परमेश्वरको वचनले हामीलाई सिकाउँछ कि यदि हामीले परमेश्वरको महिमा गर्न खोज्यौं र उहाँको लागि हाम्रो घर बनायौं भने मात्र हामी सुखी वैवाहिक जीवन बिताउन सक्छौं ।

विवाहित जोडीहरुका लागि परमेश्वरको उद्देश्य पुरानो नियममा इस्राएलीहरुका लागि भएको उहाँको उद्देश्य जस्तै हो । उहाँले मानिसहरुलाई विवाहमा एकसाथ ल्याउनुहुन्छ ताकि तिनीहरुले उहाँको महिमाको लागि घर निर्माण गर्न सकून् । प्रस्थानमा, परमेश्वरले इस्राएलीहरुलाई बासस्थानको लागि सटिक निर्माण योजनाहरु दिनुभयो, र तिनीहरुले उहाँले आज्ञा गर्नुभए अनुसार यसलाई निर्माण गर्नुपथ्र्यो । इस्राएलीहरु परमेश्वरको योजनालाई ठ्याक्कै पालना गर्न पर्याप्त नम्र थिए । फलस्वरुप, परमप्रभुको महिमा त्यो बासस्थानमा रह्यो (प्रस्थान ४०ः३४) । यदि तपाईं आफ्नो घरमा परमेश्वरको महिमा बास गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले आफ्नो घर पनि परमेश्वरको योजना अनुसार नै बनाउनुपर्छ । परमप्रभुले धर्मशास्त्रमा आज्ञा दिनुभएको जस्तै गरी आफ्नो विवाह निर्माण गर्ने प्रयास गर्नुहोस् । तब परमेश्वरको महिमा तपाईंको घरमा पनि रहनेछ ।

परमेश्वरको व्यवस्था अनुसार घर बनाउने

हामी धेरै ख्रीष्टियान घरहरुमा तितोपन, ईष्र्या, गनगन र पैसाको मोह देख्छौं । यो गैर-ख्रीष्टियान घरहरु भन्दा धेरै फरक छैन । कारण स्पष्ट छः परमेश्वरको महिमाले घर भर्न सक्दैन, किनकि दम्पत्तीले यसलाई परमेश्वरको वचन अनुसार निर्माण गर्न खोजेका छैनन् । बरु, तिनीहरुले आफ्नै सोंच मुताविक आफ्नो घर बनाए ।

१ कोरिन्थी ११ः३ मा, हामी घरको लागि परमेश्वरको आदेश स्पष्ट रुपमा देख्छौंः "ख्रीष्ट पुरुषको शिर हुनुहुन्छ, र पुरुष स्त्रीको शिर हो ।" हामी प्रायः ख्रीष्टियान घरहरुमा काठको पाटीमा यी शब्दहरु देख्छौं - "ख्रीष्ट घरको शिर हुनुहुन्छ ।" तर वास्तविकतामा, ख्रीष्ट घरको शिर बनाइनुभएको हुँदैन । जब परमेश्वरले आदम र हब्बालाई बनाउनु भयो, उहाँले आदमलाई हब्बाको शिरको रुपमा राख्नुभयो । आदमको शिर परमेश्वर आफैं हुनुहुन्थ्यो । परमेश्वरले एकसाथ तिनीहरुलाई जोड्नुभए पछि, धर्मशास्त्रमा हामीले पढ्ने अर्को कुरा शैतानले त्यहाँ प्रवेश गर्यो । यसले हामीलाई सिकाउँदछ कि, आज पनि, एक पुरुष र महिलालाई विवाहमा जोड्ने वित्तिकै शैतान आउनेछ । त्यसैले, हामी सतर्क हुनुपर्छ । शैतान हाम्रो घरमा प्रवेश गर्न सक्षम हुनुहुँदैन ।

त्यो पहिलो घरमा शैतान कसरी पस्यो ? आदम र हब्बाले परमेश्वरको आदेशलाई पालना गरेनन् भन्ने कुरा हो । जब शैतान हब्बा कहाँ आयो र उनलाई परमेश्वरको आज्ञा उल्लंघन गर्न सुझाव दियो, उनले भन्नुपथ्र्यो, "ठीक छ शैतान, म यो निर्णय आफैं लिन सक्दिन । परमेश्वरले मलाई शिर दिनुभएको छ । पहिले मलाई उहाँसँग परामर्श लिन दिनुहोस् र त्यसपछि म तपाईंलाई जवाफ दिनेछु ।" यदि उनले यसो गरेकी भए कथा कति फरक हुन्थ्यो ! तर उनले शैतानसँग बातचित गरिन् र अन्ततः आफ्नो शिरसँग परामर्श नगरी निर्णय लिइन् । उनले परमेश्वरको व्यवस्था उल्लंघन गरिन्, त्यसपछि आफ्नो पतिलाई पनि परमेश्वरको आज्ञा उल्लंघन गर्न भनिन् । आदमले उनलाई भन्नुपथ्र्यो, "परमेश्वर मेरो शिर हुनुहुन्छ । मलाई उहाँसँग परामर्श लिन देऊ ।" तर उनले पनि परमेश्वरको आदेश पालना गरेनन् । यदि तिनीहरुले आफ्नो घरको लागि परमेश्वरको आदेश पालना गरेको भए, आज संसारमा भएका सबै पाप, दुःख र भ्रमहरु अस्तित्वमा हुने थिएनन् । यसरी नै शैतानले आज पनि धेरै घरहरुमा प्रवेश गर्छ र तिनीहरुलाई ध्वस्त पार्छ । भजन संग्रह १२७ः१ ले भन्छ, "यदि परमप्रभुले घर बनाउनु भएन भने, त्यसलाई बनाउनेहरुले व्यर्थमा परिश्रम गर्छन् ।"

यदि हामीले उहाँको वचनलाई पूर्णरुपमा पालना गर्‍यौं भने मात्र प्रभुले हाम्रो घर बनाउन सक्नुहुन्छ ।