(यो लेख सन् २०१५ मा ब्याङ्गलोरमा आयोजित सीएफसी मण्डलीहरुको अखिल भारत सम्मेलनमा भारतको सीएफसी कोट्टायमका एल्डर जोजी शमूएलद्वारा दिइएको सन्देशको सार हो ।)
(यो सन्देश बिस्तारै र ध्यानपूर्वक पढ्नुहोस्)
ख्रीष्टको आगमन नभएसम्म हामी हाम्रा मण्डलीहरुमा परमेश्वरको महिमालाई कसरी जोगाएर राख्न सक्छौं ?
जब हामी भन्छौं कि हामी हाम्रो माझ परमेश्वरको महिमालाई जोगाइराख्न चाहन्छौं, तब हामी यो मानिरहेका हुन्छौं कि परमेश्वरको महिमा अहिले नै हाम्रो माझमा विद्यमान छ । हामी यस कुरामा कसरी निश्चित हुन सक्छौं ?
विगतका वर्षहरुमा हामीले हाम्रो माझमा केही महिमामय सत्यहरु सुनेका छौं, जसले हामीलाई पापबाट मुक्त गरेका छन् र हाम्रो माझमा ठूलो स्वतन्त्रता ल्याएका छन् । परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने कुरा थाहा पाउने एउटा तरिका यही हो, किनभने येशूले भन्नुभयो कि जब हामी पापबाट मुक्त हुन्छौं तब हामीसँग परमेश्वरको सत्य छ भनी थाहा पाउन सक्छौं (यूहन्ना ८ः३२) । तर अब हामीले यो हेर्नु आवश्यक छ कि हामी कसरी यस स्वतन्त्रतामा रहिरहन र अघि बढ्न सक्छौं ।
आफ्नो जीवनको अन्त्यतिर तिमोथीलाई लेख्दै पावलले उनलाई यसो भनी आग्रह गरेः "आफूमाथि र तिम्रो शिक्षामा राम्रो सँग ध्यान देऊ; तिनै कुरामा तल्लीन होऊ" (१ तिमोथी ४ः१५-१६) । अनि उनले तिमोथीलाई यो पनि बताए कि यदि उनले ती कुराहरु निरन्तर गरिरहे भने, उनले आफ्नै र आफ्नो कुरा सुन्नेहरु दुबैको मुक्तिको सुनिश्चितता गर्नेछन् । विगतका वर्षहरुमा हामीले पनि हामीलाई स्वतन्त्र पार्ने सत्यताहरुको वास्तविकता अनुभव गरेका छौं र हाम्रा भेलाहरुमा हाम्रो माझ परमेश्वरको उपस्थिति महसुस गरेका छौं । यी कुराहरु हाम्रो माझ परमेश्वरको महिमा रहेको प्रमाणहरुमध्ये केही हुन् ।
म एउटा पेन्टिकोस्टल परिवारमा जन्मेको थिएँ र पेन्टिकोस्टल मण्डलीमा जाने गर्थें । तर केही समयपछि, मैले महसुस गरें कि म जुन कुराहरुका बारेमा बोल्थें, ती मेरो आफ्नै व्यक्तिगत जीवनमा भने वास्तविकता थिएनन् । अनि म जाने गरेको मण्डलीका अन्य मानिसहरुको जीवनमा, यहाँसम्म कि मण्डलीका पास्टर र अगुवाहरुको जीवनमा समेत मैले ती सत्यताहरुको वास्तविकता देखिनँ । त्यही समयमा मैले "जयमन्त जीवन कसरी जिउने" शीर्षकको एउटा पुस्तक पढें । त्यसमा मैले विजयी जीवन जिउने सम्भावनाबारे पढ्न पाएँ । त्यसैले मैले त्यो पुस्तकका लेखकलाई सम्पर्क गर्ने सोचें । तर लेखकको नाम "एक अज्ञात ख्रीष्टियान" भनेर उल्लेख गरिएको थियो । त्यही पुस्तकबाट मैले पहिलो पटक विजयी जीवन जिउने आशा पाएँ । तर यस विषयमा मलाई मेरा वरपरका मानिसहरुबाट कुनै सहयोग मिल्न सकेन ।
त्यसपछि मैले भाइ ज्याक पूनेनलाई अझ नजिकबाट चिन्ने मौका पाएँ र उनका पुस्तकहरु पढ्न थालें । मैले उहाँबाट पापमाथि विजय पाउने जीवनको सन्देश मात्र सुनिनँ, बरु उहाँमा ख्रीष्टकोजस्तै जीवनको उदाहरण पनि देखें । उहाँले येशू हाम्रा अग्रणी हुनुहुन्छ भन्ने विषयमा प्रचार गर्नुभयो, जो हाम्रो जस्तै शरीर धारण गरेर आउनुभयो, हामीजस्तै हरेक कुरामा परीक्षामा पर्नुभयो र विजय हासिल गर्नुभयो । यसले मलाइ ख्रीष्टियान जीवनको बारेमा एकदमै नयाँ दृष्टिकोण दियो र म भाइ ज्याकको मण्डली (क्रिश्चियन फेलोसिप चर्च) सँग जोडिन थालें । त्यसको केही समयपछि नै मैले पवित्र आत्माको वास्तविक बप्तिस्माको अनुभव पनि गरें ।
पेन्टिकोस्टल अभियान २० औं शताब्दीको सुरुमा परमेश्वरको कार्यको रुपमा प्रारम्भ भएको थियो । हामी सबैले सुनेका छौं कि कसरी मार्टिन लुथरले (१६ औं शताब्दीमा) विश्वासद्वारा धर्मी ठहर्याइने सत्यतालाई पुनः प्रकाशमा ल्याए, जुन शताब्दीयौंदेखि ओझेलमा परेको थियो । त्यसपछि एनाब्याप्टिस्ट अभियानले पानीको-बप्तिस्माको सत्यतालाई अघि ल्यायो । त्यसपछि जोन वेस्लीले संसारबाट अलग भई पवित्र जीवन कसरी जिउने भन्ने सत्यता लिएर आए । पछि पेन्टिकोस्टल अभियानको उदय भयो र यसले पवित्र आत्माको बप्तिस्मा सम्बन्धीको त्यो सत्यतालाई पुनः स्थापित गरायो, जसको घोषणा पहिलो शताब्दीमा प्रेरितहरुले गरेका थिए ।
तर जब हामी पेन्टिकोस्टल अभियानलाई अझ गहिरिएर हेर्छौं, हामीले पाउँछौं कि उनीहरुका अगुवाहरु पवित्र आत्माको कार्यलाई केवल उहाँका वरदानहरुको प्रयोगसँग मात्र जोडेर हेर्छन् । पवित्र आत्माको शक्तिद्वारा पवित्र जीवन जिउने कुरामा त्यस शक्तिको प्रदर्शन गर्ने कुनै पनि पेन्टिकोस्टल अगुवालाई मैले देखिनँ । उनीहरुको जोड केवल आत्मिक वरदानहरुमा मात्र थियो । मैले यो पनि देखेँ कि पवित्र आत्माको शक्तिको खोजी गरे तापनि, उनीहरुमध्ये लगभग सबैजना पैसा र मान-प्रतिष्ठाको पछि नै दौडिरहेका थिए । उनीहरुमध्ये कसैले पनि विजयी ख्रीष्टियान जीवन जिउने विषयमा कुरा गरेनन् । अरुले पनि यो विरोधाभास देखेका थिए, तर यसबाट कोही पनि विचलित भएको देखिएन ।
यसले मलाई एकजना मानिसको कथा सम्झायो जो कुनै समय व्यापारिक संस्थाको उच्च अधिकारी थिए, तर अवकाशपछि उनमा मानसिक समस्या देखिन थाल्यो । त्यसपछि उनी आफ्नो कार्यालयको पार्किङ स्थलमा जान्थे र आफूले अझै पनि कार चलाइरहेको कल्पना गर्थे । उनी कार चलाइरहेझैं गरी शरीरका विभिन्न चालहरु गर्थे - जस्तै ब्रेक लगाउने र आफ्नो काल्पनिक कारलाई खाली ठाउँमा पार्क गर्ने । त्यसपछि उनी आफ्नो काल्पनिक कारको ढोका खोल्थे, बाहिर निस्कन्थे, "ढोका बन्द गर्थे" र सुरक्षाकर्मीकहाँ गएर "आफ्नो कारको रेखदेख गर्न" भन्थे ! केही बेरपछि उनी फेरि पार्किङ स्थलमा आउँथे र कारभित्र पसेझैँ, ब्याक गरेझैं र गाडी चलाएर गएझैँ अभिनय गर्थे । उनको यस्तो व्यवहार देखेर एक दिन केही मानिसहरुले सुरक्षाकर्मीलाई सोधे कि ती व्यक्तिले के गरिरहेका थिए । सुरक्षाकर्मीले उनीहरुलाई बताए कि ती व्यक्ति ठूलो अधिकारी हुँदा त्यहाँ आफ्नो वास्तविक कार लिएर आउँथे, तर अहिले उनी मानसिक रुपमा अस्वस्थ भएका छन् । सुरक्षाकर्मीले भने, "तर, उहाँले कसैलाई कुनै समस्या दिनुहुन्न । उहाँ केवल आफ्नो काल्पनिक कार पार्क गर्नुहुन्छ, जानुहुन्छ र केही बेरपछि फर्केर त्यसलाई चलाएर लैजानुहुन्छ ! त्यसैले मैले उहाँलाई केही भन्दिनँ (उहाँलाई उहाँकै हालमा छोडिदिन्छु) !" मानिसहरुले फेरि उनलाई सोधे कि उनले ती व्यक्तिलाई किन सच्याउँदैनथे । त्यसको जवाफमा सुरक्षाकर्मीले भने, "मैले उहाँलाई किन सच्याउने ? उहाँले मलाई हरेक हप्ता नियमित रुपमा पार्किङ शुल्क दिनुहुन्छ; अनि त्यसका अतिरिक्त, हरेक दुई हप्तामा कार धुनका लागि सय रुपैयाँ पनि दिनुहुन्छ नि त !!"
आज धेरै पेन्टिकोस्टल मण्डलीहरुमा भइरहेको दृश्य यस्तो छः मानिसहरु पवित्र आत्माले भरिएझैँ गरी अभिनय गर्छन् र विभिन्न किसिमका हाउभाउ तथा आवाजहरु निकाल्छन् । यी सबै हर्कतहरु हेरिरहने तिनका पास्टरहरु भन्छन्, "हामीले उनीहरुलाई किन बाधा पुर्याउने ? उनीहरु हरेक महिना आफ्नो दशांश बुझाउँछन् र हामी पास्टरहरुलाई नियमित रुपमा भेटी पनि दिन्छन् । त्यसैले, पवित्र आत्माले भरिएको वास्तविक विजयी जीवनको वास्तविकताका बारेमा हामीले उनीहरुलाई किन भन्ने ?" वास्तवमा, ती पास्टरहरु आफैंले पनि विजयीको जीवन जिएका हुँदैनन् ! धेरै पेन्टिकोस्टल मण्डलीहरुमा यस्तै भ्रम व्याप्त छ ।
धेरै मण्डलीहरुमा देखिएको यही भयावह अवस्थाका कारण परमेश्वरले हाम्रो माझमा एक जना व्यक्तिलाई पठाउनुभयो, एक यस्ता व्यक्ति जसको हृदयमा परमेश्वरको मण्डलीभित्र वास्तविकताको लागि गहिरो बोझ थियो ।
लुका १२ः५६ मा, येशूले फरिसीहरुलाई उनीहरु बाँचिरहेको समयलाई नबुझेकोमा हप्काउनुभयो । हामीले पनि आफू बाँचिरहेको समयलाई बुझ्नु र हामी आफैं कहाँ उभिएका छौं भन्ने कुरा ठिम्याउनु आवश्यक छ । साथै, हामी प्रभुसँगै अघि बढ्नु जरुरी छ । जसले वर्तमान समयलाई बुझ्छ, यस समयका लागि प्रभुको भार ग्रहण गर्छ र त्यो भार बोकेर उहाँसँगै अघि बढ्छ, उही नै साँचो अगमवक्ता हो ।
बाइबलमा यस्ता धेरै अगमवक्ताहरु थिए जसले आ-आफ्नो समयका लागि प्रभुबाट भार प्राप्त गरेका थिए । बप्तिस्मा दिने यूहन्ना एक अगमवक्ता र परमेश्वरद्वारा पठाइएका व्यक्ति थिए । यदि हामीले उनको जीवनलाई हर्यौं भने, एक साँचो अगमवक्ताका केही विशिष्ट गुणहरु देख्न सक्छौं ।
सर्वप्रथम, यूहन्नाको एउटै मात्र सन्देश थियो । त्यो थियो, "पश्चाताप गर, पश्चाताप गर", र उनले यो सन्देश ठूलो आत्मिक बोझका साथ घोषणा गरे । के यूहन्नाको सन्देश "सन्तुलित" थियो ? कदापि थिएन । उनको एउटै मात्र सन्देश थियोः पश्चाताप गर । हरेक साँचो अगमवक्तासँग परमेश्वरबाट प्राप्त एउटा विशेष बोझ हुन्छ, र त्यसैले उनको सन्देश कहिल्यै 'सन्तुलित' हुँदैन । बप्तिस्मा दिने यूहन्नाको समयमा 'सन्तुलित' सन्देश दिने मानिसहरु को थिए ? ती फरिसीहरु थिए जसले धर्मशास्त्रको गहिरो अध्ययन गरेका थिए । उनीहरुले आफ्ना सभाघरहरुमा 'सन्तुलित' सन्देश प्रचार गर्थे, तर उनीहरु सबै आत्मिक रुपमा मृत थिए ! अनि मानिसहरु सभाघरमा बसेर ती तथाकथित 'सन्तुलित' सन्देशहरु सुन्थे र उनीहरु पनि उत्तिकै आत्मिक रुपमा मृत रहन्थे । तर तीमध्ये जसभित्र परमेश्वरको लागि भोक थियो, उनीहरु परमेश्वरका साँचो अगमवक्ता, बप्तिस्मा दिने यूहन्नाको 'असन्तुलित' सन्देश सुन्न उजाडस्थानतिर गए । यसरी उनीहरु आत्मिक विनाशबाट जोगिए ।
यूहन्नामा देखिएको एक साँचो अगमवक्ताको अर्को विशेषता भनेको उनको कडा भाषा हो । धेरै प्रचारकहरुले आफ्ना सन्देशहरु सुरु गर्दा सर्वप्रथम श्रोताहरुलाई आदरपूर्वक अभिवादन गर्छन् । तर यूहन्नाले आफ्ना सन्देशहरु "हे विषालु सर्पका सन्तानहरु हो !" भन्दै सुरु गर्थे । उनले मानिसहरुको मनोरञ्जनका लागि होइन, बरु उनीहरुलाई आफ्ना पापहरुबारे सचेत गराउन र दोषी महसुस गराउन प्रचार गर्थे ।
कहिल्यैपनि सम्झौता नगर्नु सच्चा अगमवक्ताको तेस्रो विशेषता हो । राजा हेरोदलाई यूहन्नाको प्रचार सुन्न मन पर्थ्यो र उनी त्यसको निकै कदर गर्थे । जब मानिसहरुले हाम्रो प्रचारको प्रशंसा गर्छन्, तब उनीहरुलाई तिनीहरुको आत्मिक अवस्थाबारे सत्य कुरा बताउन गाह्रो हुन सक्छ । तर यूहन्नाले त्यस्तो कुनै संकोच वा अवरोध महसुस गरेनन् । उनले हेरोदको मुखैमा गएर हप्काए र भने कि आफ्नी दाजुकी पत्नीसँग विवाह गरेकोले उनी व्यभिचारी हुन् । यूहन्ना सम्झौतावादी वा मानिसहरुलाई खुसी पार्ने व्यक्ति थिएनन् । सत्य बोलेकै कारण उनले आफ्नो ज्यान गुमाउनुपर्यो । तर पनि, परमेश्वरले उनलाई सुम्पनुभएको सन्देशप्रति उनी अन्तिम क्षणसम्मै वफादार रहे । हरेक सच्चा अगमवक्ता यस्तै हुन्छन् ।
इजरायलका केही मानिसहरुले यूहन्ना परमेश्वरको सन्देश बोकेका एक साँचो अगमवक्ता हुन् भनी चिने र उनीसँगै उजाडस्थानमा सामेल भए ।
यदि हामी हाम्रो समय र हामी आबद्ध रहेको अभियान (सीएफसी - क्रिश्चियन फेलोसिप चर्च) लाई हेर्यौं भने, बप्तिस्मा गराउने यूहन्नाको सेवकाईमा देखिएका कुराहरुसँग यसमा धेरै समानताहरु पाउन सक्छौं ।
सर्वप्रथम, यूहन्नाजस्तै हामी पनि एउटै सन्देश प्रचार गर्छौंः पवित्र आत्माको शक्तिद्वारा ख्रीष्टको स्वरुपमा रुपान्तरित हुनु । जब नयाँ मानिसहरु हाम्रा सभाहरुमा आउँछन्, उनीहरुमध्ये कोही-कोही हामीलाई सोध्छन् कि हामी किन हरेक आइतबार सधैं एउटै विषयमा प्रचार गर्छौं । उनीहरु हामीलाई भन्छन् कि हामी सन्तुलित सन्देश प्रचार गरिरहेका छैनौं ! तर यस समयमा आफ्ना जनहरुका लागि प्रभुको हृदयमा रहेको मुख्य भार यही हो । तर कति जना ख्रीष्टियानहरुले यो बुझेका छन् कि यो यस समयका लागि प्रभुको सन्देश हो - अर्थात् आफ्ना जनहरुका लागि प्रभुको वर्तमान भार यही हो ? अनि कति जना ख्रीष्टियानहरु उहाँका अगमवक्तासँग रहनका लागि "उजाडस्थान" मा जान तयार छन् ?
अनि अझै भन्नुपर्दाः यूहन्नाको समयमा जस्तै, सीएफसी मा हामीले सुन्ने प्रचार पनि अत्यन्त सशक्त र पूर्ण रुपमा सम्झौताहीन छ । अनि यूहन्नाको समयमा परमेश्वरको भय मान्ने ती मानिसहरुले गरेजस्तै, प्रभुले आज पनि आफ्ना जनहरुलाई उहाँको निन्दा बोकेर उहाँसँगै 'छाउनी बाहिर' जान बोलाईरहनुभएको छ ।
के तपाईंले यस समयमा आफ्ना जनहरुप्रति प्रभुको हृदयमा भएको त्यो 'बोझ' लाई देख्नुभएको छ ? यदि "देख्नुभएको" छ भने, के तपाईं प्रभुको पक्षमा, र प्रभुको साथमा उभिनुहुनेछ ? तर यसका लागि तपाईंले मूल्य चुकाउनुपर्नेछ ।
के तपाईंले कहिल्यै चराहरुको बथान कसरी उड्छ भनेर याद गर्नुभएको छ ? बथानको अगाडि एउटा चराले नेतृत्व गरिरहेको हुन्छ, र बाँकी सबै चराहरु त्यसको पछाडि 'तिर' (वा 'भी' आकार) मा उड्दै त्यसलाई पछ्याउँछन् । अगाडि रहेको त्यो चराले नै सम्पूर्ण बथानको अगुवाइ गर्छ । बथानको अगाडि बिजुलीका तार, टावर वा अन्य विभिन्न अवरोधहरु हुन सक्छन् । ती सबै खतराहरुको सामना सबैभन्दा पहिले अगुवा चराले नै गर्छ र तिनलाई सावधानीपूर्वक छल्छ । त्यसपछि अन्य चराहरु सुरक्षित रुपमा उसको पछि लाग्छन् र यसरी सुरक्षित रहन्छन् । हाम्रो हकमा पनि कुरा उस्तै हो, परमेश्वरको भार बोक्ने र हामीलाई बाटोमा आउने सबै प्रकारका आत्मिक खतराहरुबाट जोगाउँदै अघि बढाउने परमेश्वरका जनसँग जोडिन तथा उहाँको उदाहरण पछ्याउन पाउनु ठूलो सौभाग्यको कुरा हो ।
वाचम्यान नीले एकपटक भन्नुभएको थियो कि हामीले हाम्रो समयमा "आत्माको वर्तमान लहर" सँगै अघि बढ्नुपर्छ । यदि हामी मार्टिन लुथरको समयमा जीवित हुन्थ्यौं भने, मार्टिन लुथरको पक्षमा उभिनु सही हुने थियो । तर यदि हामी जोन वेस्लीको समयमा जीवित हुन्थ्यौं भने, हामीले केवल मार्टिन लुथरले समर्थन गरेका कुराहरुको पक्षमा मात्र उभिनु हुँदैनथ्यो; किनकि त्यतिन्जेलसम्म परमेश्वरले जोन वेस्लीमार्फत मण्डलीमा आफ्ना सत्यताहरु अझ बढी प्रकट गरिसक्नुभएको थियो । त्यसैले, ती उच्च सत्यताहरुका लागि हामीले जोन वेस्लीको पक्षमा उभिनुपर्ने थियो । अन्यथा, हामी त्यस समयमा "आत्माको लहर" सँगै अघि बढिरहेका हुने थिएनौं ।
बीसौं शताब्दीको सुरुवाती चरणमा, पवित्र आत्माले पेन्टिकोस्टल अभियान मार्फत कार्य गर्न थाल्नुभयो, जसले पवित्र आत्माको बप्तिस्मामाथि विशेष जोड दिन्थ्यो । तर अहिले प्रभुको आत्माले परमेश्वरका जनहरुलाई अझ अघि, अर्थात् विजय र पापमाथि जय प्राप्त गर्ने जीवनतर्फ डोर्याउँदै हुनुहुन्छ । त्यसैले, हामी सबै पवित्र आत्माको यस वर्तमान कार्यसँगै अघि बढ्नुपर्छ । अनि, आत्माको यस वर्तमान कार्यसँगै अघि बढ्ने निर्णय गर्नेहरु परमेश्वरका अगमवक्ताको पक्षमा उभिनेछन् र प्रचतिलत "धार्मिक क्रिश्चियन समूह" भन्दा बाहिर रहँदा आइपर्ने निन्दा वा अपमान सहनसमेत तयार हुनेछन् ।
विगतका पुस्ताहरुमा जब-जब परमेश्वरले नयाँ ढंगले कार्य गर्नुभयो, तब-तब अन्य ख्रीष्टियानहरुबाट सधैं विरोध भयो; उनीहरु कडा आलोचनामार्फत त्यस नयाँ अभियानलाई समाप्त पार्न चाहन्थे । परमेश्वरको कार्यलाई निस्तेज पार्ने मानिसहरुको सबैभन्दा सामान्य तरिका भनेको त्यसलाई "झूटो शिक्षा" को संज्ञा दिनु हो । र दुर्भाग्यवश, अधिकांश ख्रीष्टियानहरु गम्भीर पाप गर्नुभन्दा झूटो शिक्षा वा सिद्धान्तदेखि बढी डराउँछन् ! त्यसैले, आजका दिनमा केही बाइबल कलेजहरुले आफ्ना विद्यार्थीहरुका लागि पठ्याक्रममा "सीएफसी मण्डलीहरुः एक सम्प्रदाय" शीर्षकको विषय समावेश गरेको सुन्दा आश्चर्य मान्नुपर्दैन !
विगतका वर्षहरुमा, जब-जब ख्रीष्टियान जगतमा परमेश्वरको नयाँ कार्यको सुरुवात गर्ने कुनै साँचो अगमवक्ताको उदय भयो, तब-तब त्यस अभियानलाई सधैं एउटा 'पन्थ' वा सम्प्रदायको रुपमा लिइन्थ्यो । त्यसैले, आज पनि ख्रीष्टियान जगतमा उस्तै घटना दोहोरिएको देख्नु कुनै अचम्मको कुरा होइन ।
ख्रीष्टियान विश्वाससम्बन्धी एउटा पुस्तक, जुन प्रेरित यूहन्नाको समयतिर अर्थात् सन् १०० को आसपासमा लेखिएको थियो, त्यसले झूटा अगमवक्ताका (नयाँ करारको समयमा) तीनवटा लक्षणहरु बारे चर्चा गर्दछ ।
सर्वप्रथम, त्यसमा भनिएको छ कि एक झूटा अगमवक्ताले सधैं आफ्ना श्रोताहरुसँग आफ्नै लागि पैसा माग्ने गर्छन् । जब पावलले १ कोरिन्थी र २ कोरिन्थीमा मण्डलीमा भेटी संकलन गर्ने विषयमा कुरा गरे, त्यो सधैं अन्य मण्डलीहरुका गरिब विश्वासीहरुका लागि थियो, आफ्ना लागि कहिल्यै थिएन । प्रभु येशूले स्पष्ट पार्नुभयो कि कसैले पनि परमेश्वर र धन दुबैको सेवा गर्न सक्दैन । प्रत्येक ख्रीष्टियानले यी दुईमध्ये कसको सेवा गर्ने भन्ने कुरा रोज्नुपर्छ, परमेश्वर वा धन । उसले एउटाको पूर्ण हृदयले सेवा गर्नुपर्छ र अर्काको सेवा पूर्ण रुपमा बन्द गर्नुपर्छ ।
हामी सबैलाई थाहा छ कि भारतमा मानिसहरुसँग निरन्तर पैसा माग्ने ख्रीष्टियान प्रचारकहरुका कारण परमेश्वरको नाम कति धेरै अपमानित भइरहेको छ । भारतमा धेरै प्रचारकहरुले सुसमाचार प्रचार गर्ने नाममा आफ्ना लागि ठूलो धनराशी जम्मा गरेका छन् । तिनीहरुले आज यति धेरै कमाइ गरिरहेका छन् कि जति उनीहरुले कुनै संसारको काम वा सामान्य जागिर गरेको भए कहिल्यै कमाउन सक्ने थिएनन् । यी सबै कुराले स्पष्ट रुपमा प्रमाणित गर्छ कि त्यस्ता प्रचारकहरुले प्रचार गर्ने सुसमाचारमा गम्भीर त्रुटि छ । उनीहरु भन्छन् कि ब्रम्हाण्डका राजाका छोराहरु भएकाले उनीहरुले पृथ्वीका राजाहरुजस्तै जीवन बिताउनुपर्छ !! यो एउटा यस्तो धोका हो जसले दुर्गन्ध फैलाएको छ र भारतमा ख्रीष्टको गवाहीलाई नष्ट गरेको छ ।
यो पुस्तकमा उल्लेख गरिएको दोस्रो विशेषता यो हो कि (नयाँ करारको समयमा) एक साँचो अगमवक्ता केवल एउटै ठाउँमा नबसी आफ्नो सन्देश प्रचार गर्न सधैं एक ठाउँबाट अर्को ठाउँमा यात्रा गरिरहन्छन् । यसको विपरीत, झूटा अगमवक्ताहरु भने एउटै ठाउँमा आरामसँग बसोबास गर्छन् । जब मानिसहरुले येशूलाई आफूहरुसँगै बस्न आग्रह गरे, उहाँले भन्नुभयो कि परमेश्वरको वचन प्रचार गर्न उहाँ अन्य ठाउँहरुमा पनि जानुपर्छ (लुका ४ः४२, ४३) । पत्रुसले भनेका थिए कि येशू सधैं "यता-उता हिँड्दै भलाइको काम गर्नुहुन्थ्यो" (प्रेरित १०ः३८) । हरेक साँचो अगमवक्ताको स्वभाव यस्तै हुन्छ । प्रभुले उहाँलाई सुम्पनुभएको भारले उहाँलाई त्यो भारको घोषणा गर्दै एक ठाउँबाट अर्को ठाउँमा जान प्रेरित गर्छ । झूटा अगमवक्तासँग त्यस्तो कुनै भार हुँदैन । उनी एउटै ठाउँमा बस्छन् र आफ्नो सेवकाईका लागि एउटा विशाल मुख्यालय खडा गर्छन् - जुन संसारको नजरमा ठूलो देखिन्छ ! तर साँचो अगमवक्ताले आफ्ना प्रभुको अनुसरण गर्छन्, जसले भन्नुभएको थियोः "मेरो राज्य यस संसारको होइन" (यूहन्ना १८ः३६) ।
झूटा अगमवक्ताको तेस्रो लक्षण (पुस्तकमा उल्लेख भएअनुसार) यो हो कि तिनका शब्द र काम, अर्थात् तिनका शिक्षा र जीवनशैली बीच ठूलो अन्तर हुन्छ । येशूको जीवनमा उहाँका शब्द र उहाँको जीवन एक-अर्कासँग मेल खान्थे; ती सँगसँगै अघि बढ्थे । प्रेरित १ः१ मा हामी पढ्छौं कि येशूले पहिले काम गर्नुभयो र त्यसपछि मात्र आफूले गरेका कुराहरु सिकाउनुभयो । एक साँचो अगमवक्ताको व्यक्तिगत जीवनशैलीले तिनले प्रचार गर्ने सन्देशको सशक्त गवाही दिनेछ । आफ्नो जीवनमा कुनै कमी-कमजोरी देख्दा साँचो अगमवक्तालाई ठूलो पीडा महसुस हुनेछ । अगमवक्ता यशैयाले एकपटक यसो भन्दै विलाप गरेका थिएः "धिक्कार मलाई ! म त नष्ट भएँ; किनभने म अशुद्ध ओठ भएको मानिस हुँ... किनकि मेरा आँखाहरुले राजालाई देखेका छन्" (यशैया ६ः५) । पावलले एकपटक भनेका थिएः "म कस्तो अभागी मानिस ! मृत्युको यो शरीरबाट मलाई कसले मुक्त गर्ला ?" (रोमी ७ः२४) । येशूको पाइला पछ्याउने हरेक साँचो अगमवक्ताको हृदयमा यस्तो विलाप र तीव्र चाहना हुन्छ कि तिनको जीवन तिनले प्रचार गर्ने कुरासँग ठ्याक्कै मेल खान्छ । तर झूटा अगमवक्तालाई भने आफ्नो जीवनशैली आफूले प्रचार गर्ने कुराभन्दा बिल्कुलै फरक छ भन्ने तथ्यले कहिल्यै विचलित बनाउँदैन । झूटा अगमवक्ताले मूलतः मानिसहरुलाई यसो भन्छन्ः "बाइबल त मलाई प्रचार गर्नका लागि हो, अनि तिमीहरु सबैलाई चाहिँ व्यवहारमा उतार्नका लागि हो !"
अन्त्यमाः कुनै अगमवक्ता अन्त्यसम्मै परमेश्वरप्रति वफादार रहे तापनि, समय बित्दै जाँदा तिनको अभियानमा ह्रास आउने वा त्यो कमजोर हुँदै जाने सम्भावना हुन्छ; किनभने सुरुमा ठूलो निष्कपटताका साथ उक्त अभियानमा सामेल भएका मानिसहरु बिस्तारै सम्झौता गर्न थाल्छन् । परमेश्वरको अभियानको नेतृत्व गर्ने अगमवक्ताले यो कुरा बुझ्छन् र यस्तो "पतन" वा "मार्गबाट विचलित हुने अवस्था" लाई सकेसम्म रोक्ने गम्भीर दायित्व महसुस गर्छन् । तर, उनी त्यस्तो पतनलाई रोक्न सफल नहुन पनि सक्छन् । हामी पढ्छौं कि पावलका सहकर्मी डेमासले उनलाई छोडेर गए (२ तिमोथी ४ः१०) । डेमासले किन पावललाई छोडे ? किनभने पावलमा यो काम शुद्धताका साथ अघि बढ्नुपर्छ भन्ने गहिरो बोध थियो, र सम्झौतागर्ने खाले स्वभाव बोकेका डेमासलाई त्यो कुरा आफू अनुकूल लागेन वा उनले त्यसलाई सहन सकेनन् । पछि, एसियाका मण्डलीहरुमा रहेका अन्य धेरै मानिसहरुले पनि पावललाई छोडे (२ तिमोथी १ः१५) । कुनै साँचो अगमवक्तासँगै परमेश्वरको अभियानमा सामेल भएका मानिसहरु किन पछि गएर छोड्छन् ? किनभने ती अगमवक्ता कुनै पनि हालतमा सम्झौता गर्दैनन् र केवल परमेश्वरलाई मात्र खुसी पार्न चाहन्छन्; उनले आफ्ना अनुयायी वा अन्य कुनै पनि मानिसलाई खुसी पार्ने प्रयास कहिल्यै गर्दैनन् । त्यसपछि उनका धेरै अनुयायीहरु उनीबाट टाढिन्छन्, किनभने उनीहरु त्यस्तो मूल्य चुकाउन तयार हुँदैनन् ।
एक साँचो अगमवक्ता कहिल्यै पनि ठूला जमघटहरु आयोजना गर्नमा तल्लिन हुँदैन, न त ऊ आफ्नो प्रचारमा कुटनीतिक हुनेछ । जो कुटनीतिक छन् उनीहरुले ठूला जमघटहरु आयोजना गर्न चाहन्छन्, र तिनीहरुले कहिल्यै पनि कसैलाई आफ्नो समूह छोडेर जाओस् भनी चाहँदैनन् । येशू कहिल्यै त्यस्तो हुनुभएन । उहाँले सधैं मानिसहरुलाई भन्नुभयो कि उहाँलाई छोड्न चाहनेहरु जुनसुकै बेला पनि जान सक्छन् । एक साँचो अगमवक्ताले पनि त्यस्तै काम गर्छन् । उहाँको बोझ यो हो कि अभियानको गुणस्तर कहिल्यै बिग्रनु हुँदैन । उहाँको राज्य यस संसारको होइन, र त्यसैले उहाँले कुनै राज्य सुरक्षित राख्नुपर्ने अवश्था छैन । यो अर्को चिन्ह हो जसद्वारा हामी हाम्रो समयका साँचो अगमवक्ताहरुलाई पहिचान गर्न सक्छौं ।
याद गर्नुहोस्, येशूले भन्नुभयो कि जब हामी साँचो अगमवक्तालाई ग्रहण गर्छौं, हामी वास्तवमा येशू स्वयम्लाई ग्रहण गर्नेछौं । त्यसैले हामीले हाम्रो समयमा परमेश्वरका साँचो अगमवक्ताहरुलाई चिन्नुपर्छ र तिनीहरुलाई पूर्ण हृदयले ग्रहण गर्नुपर्छ । येशूले भन्नुभयो कि जसले साँचो अगमवक्तालाई ग्रहण गर्छ उसले पनि अगमवक्ताको इनाम पाउनेछ (मत्ती १०ः४०,४१) ।
हामी सबैलाई अगमवक्ता हुने बोलावट हुँदैन । तर जब हामी कुनै साँचो अगमवक्तालाई देख्छौं, तब हामी उहाँको पक्षमा उभिनुपर्छ, उहाँसँगै छाउनीबाहिर जानुपर्छ र उहाँसँगै निन्दा सहनुपर्छ । तब हामीले पनि अगमवक्ताको प्रतिफल प्राप्त गर्नेछौं (हिब्रू १३ः१३) ।
त्यसैले, आउनुहोस्, यी सत्यहरुलाई गम्भीरतापूर्वक लिऔं र तिनलाई आफ्ना जीवनमा लागू गरौं । यसरी हामी आफूलाई मात्र धोकामा पर्नबाट बचाउँदैनौं, तर हाम्रा वरिपरि भएका अन्य धेरै मानिसहरुलाई पनि बचाउनेछौं ।
यस्तै होस् ।
जसको सुन्ने कान छन्, उसले सुनोस् ।