प्रकाश २ः१२–१७ मा हामी पढ्छौं, “अनि पर्गाममको मण्डलीको स्वर्गदूतलाई लेखः धारिलो दुईधारे तरवार बोक्नेले यसो भन्नुहुन्छः ‘मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ जहाँ शैतानको सिंहासन छ; र तिमीले मेरो नाउँलाई बलियोसँग पक्रेका छौ, र मेरो विश्वासलाई इन्कार गरेनौं, मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि, जो तिमीहरुको माझमा मारिएको थियो, जहाँ शैतान बस्छ...’” ।
पर्गामम एउटा शहर थियो, जुन यति दुष्ट थियो कि परमप्रभुले भन्नुहुन्छ शैतानको पार्थिव मुख्यालय त्यस स्थानमा थियो । प्रस्थान २ः१३ मा यो कुरा दुई पटक उल्लेख गरिएको छ । अनि त्यो शहरको ठीक बीचमा परमप्रभुले आफ्नो मण्डली राख्नुभएको थियो ।
परमप्रभुले तिनीहरुलाई भन्नुहुन्छ, “मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ” । हामी कहाँ बसिरहेका छौं र कस्तो परिस्थितिमा बाँचिरहेका छौं भन्नेकुरा उहाँलाई राम्ररी थाहा छ । अनि हामी बसेको ठाउँमा शैतानको पार्थिव सिंहासन भए पनि उहाँले हामीलाई शुद्ध र विजयी राख्न सक्नुहुन्छ । आत्माको तरवारले हामीले पनि जित्न सक्छौं ।
वरपरको वातावरण यति अँध्यारो छ कि उज्यालो पार्नै सकिँदैन भनेर कुनै पनि सामदानले कहिल्यै गुनासो गर्दैन । सामदानको चमकलाई यसको वरपरको वातावरणसँग कुनै सरोकार हुँदैन । यसको उज्यालो यसमा राखिएको तेलको मात्रामा मात्र निर्भर गर्दछ ।
कुनै पनि स्थानीय मण्डलीको हकमा पनि यस्तै हुन्छ । वरपरको वातावरण दुष्ट हुनसक्छ । त्यो शहरमा शैतानको सिंहासन हुनसक्छ । तर यदि मण्डली पवित्र आत्माको तेलले भरिएको छ भने, प्रकाश चम्किलो रुपमा चम्किनेछ । वास्तवमा, वरपर जति अँध्यारो हुन्छ, त्यस्तो वातावरणमा कुनै पनि प्रकाश त्यति नै उज्यालो देखिनेछ । ताराहरु रातमा देखिन्छन् – दिनमा होइन ।
प्रभुले यस मण्डलीलाई उहाँको नाम दृढतापूर्वक पक्रिराखेको र सतावटको समयमा पनि विश्वासलाई अस्वीकार नगरेकोमा प्रसंशा गर्नुहुन्छ । उहाँले विशेषगरी एन्टिपासलाई उल्लेख गर्नुहुन्छ, जो एक विश्वासयोग्य साक्षी थिए, जसले आफ्नो विश्वासको लागि आफ्नो जीवन अर्पण गरे ।
एन्टिपास परमेश्वरको सत्यको पक्षमा उभिने व्यक्ति थिए, चाहे त्यसको लागि एक्लै उभिन परे पनि । उनी दृढ विश्वास भएका मानिस थिए र मानिसहरुलाई खुशी पार्न खोज्ने व्यक्ति थिएनन् । परमेश्वरलाई चिन्नेहरुले आफूले विश्वास गरेको कुरामा कतिजनाले विश्वास गर्छन् भनेर हेर्नलाई वरिपरि हेर्न पर्दैन । यदि आवश्यक परेको खण्डमा, सम्पूर्ण संसारका सबैको विरुद्धमा, तिनीहरु प्रभुको लागि एक्लै उभिन इच्छुक छन् । एन्टिपास यस्तै मानिस थिए । र परिणामस्वरुप, उनी मारिए ।
यदि उनी मानिसहरुलाई खुशी पार्ने व्यक्ति भएको भए, उनी मृत्युबाट बच्न सक्थे । उनी मारिए किनभने उनी प्रकट भएको परमेश्वरको सत्यको लागि सम्झौतारहित उभिएका थिए । मानिसहरुले उनलाई सम्भवतः संकुचित विचारधारा भएको, जिद्दी, मिल्न गाह्रो र पागल भनेका थिए । तर यसले उनलाई कुनै फरक पारेन । उनी केवल आफ्नो प्रभुप्रति सत्यनिष्ठ रहे, सबै पाप, सांसारिकता, सम्झौता, परमेश्वरको वचनको अवज्ञा र शैतानको विरुद्धमा उभिए । यहाँ एक जना मानिस थियो जो शैतानको राज्यको लागि खतरा थियो ।
सायद एन्टिपास पर्गामममा भएकोले शैतानले आफ्नो सिंहासन त्यो ठाउँमा राख्ने निर्णय गर्यो । यदि शैतान पनि एन्टिपास देखि डराउँथ्यो भने, ऊ कस्तो खाले मान्छे हुनुपर्छ !
आज संसारको हरेक भागमा परमेश्वरलाई एन्टिपास जस्ता मानिसहरुको आवश्यकता छ । चाँडै नै त्यो समय आउँदैछ जब हामीले हाम्रो विश्वासको लागि मूल्य चुकाउनुपर्नेछ । हाम्रा वरपरका सबै बेबिलोनी ख्रीष्टियान जगतले सम्झौता गर्नेछन् र ख्रीष्ट विरोधीको सामु झुक्नेछन् । के हामी एन्टिपास जस्तै त्यस दिन दृढ रहनेछौं ? वा आफ्नो जीवन बचाउनको लागि हामी शैतानको सामु घुँडा टेक्नेछौं ? के हामी विश्वस्त छौं कि परमेश्वरको सत्यताको खातिर हाम्रो जीवन गुमाउनु उचित छ ?
आज परमेश्वरले हामीलाई साना परीक्षाहरु मार्फत जाँच्दै हुनुहुन्छ । यदि हामी यी साना परीक्षाहरुमा विश्वासयोग्य छौं भने मात्र हामी भविष्यमा आउने ठूला परीक्षाहरुमा विश्वासयोग्य रहन सक्छौं । शैतानले तपाईंलाई आफ्नो राज्यको लागि यति खतरा ठान्छ कि उसले आफ्नो सिंहासन तपाईं बसेको शहरमा सार्छ ।
दुःखको कुरा यो थियो कि एन्टिपासको मृत्युपछि पर्गाममको मण्डली आत्मिकरुपमा पतन भयो । एन्टिपास जीवित हुँदा सम्भवतः मण्डलीको सन्देशवाहक थिए । जब उसको मृत्यु भयो अरु कसैले जिम्मा लिए र मण्डली ओरालो लाग्यो । यो धेरै मण्डलीहरुको दुखद इतिहास हो ।